Nagarik

१५ लाखमा किनेर बिहे गरेको रहेछ
[2015-03-05 오후 2:00:00]

अघिल्ला तीन दिनझैं त्यस दिन पनि चिनियाँ युवकले उनलाई जबर्जस्ती गर्न खोज्यो। उनले मानिनन्। चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिज' गरी चीनकै एक विकट गाउँमा पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिइन्, ‘बरु मर्छु, शरीर सुम्पिन्नँ।' घटना यही २०७१ माघ २४ गते रातको हो। जबर्जस्ती गर्न खोज्ने व्यक्ति अरू होइन, आफ्नै लोग्ने थिए, कागजी हिसाबले। व्यवहारमा भने उनीहरुबीच यसअघि पति–पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन।

पर्वतकी संगीता घिमिरे (नाम परिवर्तन) लाई कागजी पतिको नाम धरी याद छैन। करिब ९ बजेको हुँदो हो। त्यस दिन जबर्जस्ती गर्न नपाएपछि त्यो चिनियाँ पुरुषले रक्सीको बोतल खोल्यो र चुरोट सल्काउँदै कोठाको एकछेउ बसेर पिउन थाल्यो। बेलाबेला संगीतातिर खाउँलाझैं गरी हेर्थ्यो। उनी निदाएझैं गरिरहेकी थिइन्। केही बेरपछि फेरि उठेर आयो र सुमसुम्याउन थाल्यो। संगीता उठ्दै नउठेपछि ऊ पनि भुतभुताउँदै ओछ्यानको अर्को छेउ पल्टियो।
‘आज (माघ २४ गते) जसरी पनि यहाँबाट भाग्छु भन्ने सोचेको थिएँ। त्यसैले निदाएको एक्टिङ गरेँ,' भागेर नेपाल फर्कन सफल संगीताले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयमा नागरिकसँग आफ्नो कथा सुनाइन्।

भाग्ने दिन उनले कपडा दिउँसै प्याक गरेर दराजमा राखेकी थिइन्। मौसम चिसो थियो। चार–पाँच जोर शरीरमै लगाइन्। करिब साढे १० बजेतिर ऊ घुरेको आवाज आयो। संगीताले आँखा खोलिन् । पछाडि सानो झ्याल थियो। सिसा खोल्न मिल्ने, ग्रिल नभएको। बिस्तारै दराज खोलेर आफ्ना दुइटा झोला झिकिन्। पहिला दुई झोला झ्यालबाट बाहिर झारिन्, त्यसपछि जुत्ता, अन्त्यमा बिस्तारै आफू पनि हाम्फालिन्।
एकतले घर भएकाले हाम्फाल्न खासै गाह्रो भएन।

बाहिर जताततै हिउँ। उनी हाम्फालेको आडैमा केटोका बाउआमाको थियो कोठा थियो, बत्ती बलिरहेको थियो। टेलिभिजन पनि खुलै। जुत्ता लगाएर दुई पाइला नचाल्दै उनी रोकिइन्। उनको जुत्ताको ‘टकटक' आवाज पनि रोकियो। उनले तत्कालै जुत्ता खोलिन्। खाली खुट्टा हिउँमा १५ मिनेट हिँडेपछि मुख्य सडक पुगिन् र जुत्ता लगाइन्।

‘सर्लक्क हिँडेँ, चिसोले खुट्टा हिउँझैं थिए,' संगीताले त्यो क्षण सुनाइन्।
सडकमा गाडी द्रुत गतिमा हुइँकिएका थिए। उनले रोक्ने प्रयास गरिन्। धेरैपटक हात तेर्स्याइन्। कसैले दया देखाएन। तीन दिनअघि हार्विन विमानस्थलबाट त्यहाँ आउँदा उनले बाटो याद गरेकी थिइन्। विमानस्थलबाट गाडीमा दुई घन्टा लागेको थियो। गाडी नरोकिएपछि उनले साहस गरिन्, ‘अब हिँडेरै हार्विन पुग्छु। त्यहाँ कसै न कसैले सहयोग गर्ला।'
साथमा राहदानी, नागरिकता केही थिएन। ती दुवै कागजी पतिले खोसेका थिए। सडकको दुवैतर्फ बत्ती बलेका। नेपालमा यस्तो झलमल्ल उनले देखेकी थिइनन्। उज्यालोले उनलाई खासै डराउन दिएन। गाडी रोक्ने प्रयास गर्दै उनी अघि बढिन्। करिब तीन घन्टापछि अचानक सडक बत्ती सबै निभे। सडक चुकअमिलो पोखेझैँ निष्पट्ट अँध्यारो भयो। उनले टाउको छामिन्, हिउँले ढाकेको थियो। गलबन्दी निथु्रक्क भिजेको। घडी हेरिन्, १ बजेछ।

‘एक्कासि बत्ती निभेपछि डर लाग्यो, अब अगाडि बढ्न सक्दिनँ भन्ने भयो,' उनले त्यो कहालीलाग्दो रात सम्भि्कइन्।
सडकको केही पर एउटा घरमा बत्ती बलिरहेको देखिन् उनले। देउताकै दर्शन पाएजस्तो भयो। सडक छाडेर उनी त्यता के दौडिइन्, त्यो पनि झ्याप्प निभ्यो। उनले घरको ढोका ढकढक्याइन्। कोही निस्केन।
‘अंकल,' अनायसै उनको मुखबाट निस्क्यो। तर घरबाट कोही निस्केन। उनी फेरी सडकतिरै आइन्। के सोचिन्, एकैछिनमा फेरि त्यही घरको ढोका ढकढक्याउन पुगिन्। त्यो घरको ढोका खुलेन। चिसोमा काँप्दै उनी अँध्यारो सडकै सडक अघि बढिन्।
‘अब मेरो मृत्यु यही सडकमा हुनेछ,' आतंकित मनले यस्तै सोच्दै उनी अघि बढ्दै थिइन्। पछाडिबाट उज्यालो आयो। झसंग भइन्, भूत आएजस्तो लाग्यो। ‘मर्ने दिन आजै रहेछ,' उनले सोचिन्।
उज्यालो नजिकै आयो, त्यो त गाडी रहेछ। उनले हात दिइन्। रोकिएन। केही अघि पुगेपछि गाडी उनीतिरै मोडियो। नजिकै आएर रोकिएको गाडीमा दुई जना पुरुष थिए। प्रहरी रहेछन्। प्रहरीका अगाडि उनी रोइन् र आफ्नो कथा सुनाइन्। तर उनीहरुले बुझेनन्। प्रहरी चिनियाँ भाषामा कुरा गरिरहेका थिए। ‘एउटा सँगै लैजाऊँ भन्थ्यो, अर्को नबुझी त्यसै लैजान हुँदैन भन्थ्यो सायद,' उनीहरुका हाउभाउ संगीता अनुमान लाउँदै बलिन्द्रा आँसुका धारा बहाइरहेकी थिइन्।
आफ्नो परिचयपत्र देखाउँदै प्रहरीले संगीतासँग राहदानी मागे।
‘छैन,' संगीताले हात जोडिन्।
उनीहरु इशाराले सोध्दै थिए, ‘कहाँबाट आएको?'
‘नेपालबाट' उनले भनिन्।
‘ओ, निगवोर,' उनीहरु उत्साही भए।
त्यसपछि दुवै प्रहरीले दया देखाएर उनलाई गाडीमा राखे। उनी हिउँजस्तै भएकी थिइन्। उनीहरु इशारामै केही न केही सोधिरहेका थिए। उनले पनि इशाराले यातना सहन नसकी भागेर हिँडेको बताइन्। ‘चिन्ता नगर, हामी छौं,' इशारामै उनीहरुले संगीतालाई आश्वासन दिए।
उनको मन बल्ल चंगा भयो।

प्रहरीले उनलाई दुई घन्टा गाडीमा लिएर हिँडे। उनले आफूले केही नखाएको बताइन्। प्रहरीले बाटोमा पर्ने सबै होटलका ढोका ढकढकाए तर कुनै खुलेनन्। केही सीप नलागेपछि प्रहरीले उनलाई एउटा ठूलो अस्पतालमा लगेर त्यहीँ सुत्न भने। खानाका लागि २ सय चिनियाँ युआन पनि दिए र भोलि आउने बाचा गर्दै प्रहरी अस्पतालबाट बाहिरिए। उनी अस्पतालको टिकट काउन्टरअघिको बेन्चमा पल्टिइन्। निन्द्रा किन पर्थ्यो र! कोल्टे फेर्दैमा बिहान भयो। बिहानसम्म खाना त के पानी पनि पिउन पाएकी थिइनन्।
बिहान ६ बजेको हुँदो हो, संगीता अस्पतालबाट बाहिर निस्किइन्। ट्याक्सीलाई उनले हार्विन पुर्यासइदिन भनिन्। ट्याक्सी चालकले एक सय ५० चिनियाँ युआन लिएर पाँच मिनेटअघि लगी उनलाई बस चढाइदिए। बसको कर्मचारीले सुरुमै पैसा मागे। उनले बाँकी रहेको ५० युआन देखाइन्। पाँच युआन लिएर बाँकी ४५ उनलाई फिर्ता गरिदियो। दुई घन्टा बसको यात्रापछि संगीता हार्विन पुगिन्।
‘रातभर नसुतेकाले म त बसमा निदाएछु। सबै झरिसकेका रहेछन्। म नझरेको देखेपछि ड्राइभर आई मलाई ब्युँझाए,' उनले सुनाइन्।

हार्विन त पुगिन् तर अब कहाँ जाने? विमानस्थल कहाँ छ उनलाई थाहा थिएन। न नेपाली बुझ्ने भेटिन्छन् न अंग्रेजी। चिनियाँ भाषा उनी बुझ्िदनन्। केहीछिन अलमल्ल परिन्। उनी सानो पसलभित्र छिरिन् जहाँ एक चिनियाँ युवती बसिरहेकी थिइन्। उनले आफूसँगै चीन आएका छवटा केटीका कागजी पतिको फोन नम्बर टिपेकी थिइन्। उनले ती नम्बर लुकाएर काठमाडौंबाट साथमा राखेकी थिइन्।
‘सबु,' पसलबाट फोन गरिन्। सबुको कागजी पतिले फोन सबुलाई दिए।
‘म भागेर आएको, विमानस्थल देखिनँ,' संगीताले भनिन्।
‘म बूढालाई पठाइदिन्छु,' सबुले भनिन्।
उनी दुई घन्टा त्यही पसलभित्र बसिन्। एकछिनपछि उनको मुख खुलेको खुल्यै भयो। उनका सामुन्ने त्यही कागजी पति र त्यस केटासँग विवाह गराइदिने एजेन्ट त्यहीँ आइपुगे।
... ... ...
पवर्तको एक निम्नवर्गीय परिवारमा जन्मिएकी संगीता १९ वर्षकी भइन्। उनी प्लस टु पढ्दै स्कुल पढाउँथिन्। नत्र पढ्ने खर्च पुग्दैनथ्यो। बाबा बितेपछि सम्पूर्ण परिवारको जिम्मेवारी उनको काँधमा थियो। आमा, बहिनी र दुई भाइको रेखदेख उनैले गर्नुपर्ने। दुवै भाइ बौद्धिक अपांग। उनी पोखरामा पढ्दै र पढाउँदै थिइन्।
गत मंसिरको एक दिन एक जना अंकलले उनले चिनेको एक युवतीलाई विवाह गरी कोरिया पठाइदिने आश्वास दिएका थिए। त्यो कुरा ती युवतीले संगीतालाई पनि सुनाइन्। कोरियनसँग विवाह गरेर जाने, महिनाको एक–डेढ लाख रुपैयाँ नेपाल पठाउन पाइने, ६० हजारको जागिर लाइदिने, ६ महिनापछि परिवार लान पाउने– संगीतालाई प्रस्ताव आकर्षक लाग्यो। उनले ती अंकलमार्फत आफू पनि जाने इच्छा राखेर कुरा अघि बढाइन्।
ती अंकलले काठमाडौं रहेर यही धन्दा गर्ने छेरु शेर्पाको नाम र मोबाइल नम्बर दिए। काठमाडौं चुनदेवीस्थित ‘छेरु इन्टरनेसनल म्यारिज ब्युरो' की सञ्चालिका छेरु। इपिएस प्रणालीमार्फत कोरिया जान संगीताले पहिल्यै कोरियन भाषा सिकेकी थिइन्। तर इपिएस परीक्षामा उनी पास हुन सकिनन्। त्यति नै बेला उनले राहदानी पनि बनाएकी थिइन्। मंसिरकै एक दिन उनले छेरुलाई फोन गरिन्, कुरा अघि बढ्यो। त्यसपछि छेरु आफैंले फोन गर्न थालिन्।
संगीता काठमाडौं आइन्। माघ ९ गते। छेरुको अफिस राम्रै लाग्यो उनलाई।
छेरुले उनको फोटो खिचेर चीन पठाइन् जुन संगीताले पत्तै पाइनन्। ‘नानी, कोरिया ढिला हुन्छ। चीन जाने भए तुरुन्तै हुन्छ। तिमी चीन जाऊ,' छेरुले प्रस्ताव गरिन्। छेरुले चिनियाँ पुरुषको फोटो पनि देखाइन्। उनले ‘ओके' गरिन्। भोलिपल्ट ७ जना चिनियाँ केटा आए। त्यही दिन अन्य ६ जना केटी पनि छेरुको अफिस आइपुगे। काठमाडौंमा चिनेजानेको कोही नभएर संगीता पनि छेरुकै अफिसमा बसेकी थिइन्। अफिस गेस्टहाउसजस्तै थियो। चिनियाँ पुरुष र केटीहरुको पहिलो भेट त्यहीँ भयो। केटाहरुलाई ठमेलस्थित एक होटलमा राखिएको थियो। त्यसको पर्सिपल्ट कोट म्यारिज भयो। संगीताले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा गएर विवाह दर्ता गरिन्। उनले विवाह गरेको केटाको उमेर २८ वर्ष थियो, उनको बढाएर २१ बनाइयो। कागजात बनाउन जिल्ला प्रशासनका कर्मचारीलाई १० हजार रुपैयाँ बुझाइन्।
‘एक दिनमा तीन जना लगेका थिए विवाह गर्न,' संगीतले सुनाइन्।
विवाह दर्ता गर्न जानुअघि नै उनीहरुलाई सबै कुरा छेरुले सिकाएकी थिइन्, आफ्नाबारे केही नखोल्न।
‘किन विवाह गर्न लागेेको?,' जिल्ला प्रशासनका कर्मचारीले सोधे।
‘दाइभाउजू चीनमा हुनुहुन्छ। उहाँहरुले चिनेको, मसँग पनि पहिल्यैदेखि चिनजान भएको मान्छे भएर विवाह गर्न लागेको सर,' संगीताले सिकाएअनुसार खर्खर भनिन्।
‘भाषा आउँछ त?'
‘आउँछ'
बिहे सकियो।
पर्सिपल्ट बालुवाटारको एक रेस्टुरेन्टमा भोज गरियो। विवाह गर्ने सात जना चिनियाँ पुरुष र सातै नेपाली युवती सँगै बसेर खाना खाए। एक घन्टामा बिहेभोज सकियो। सबै केटी आ–आफ्ना घर गए, चिनियाँ पुरुष होटलतिर। संगीता भने छेरुकै अफिस गइन्। उनीहरु विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग पुगे। कन्सुलर विभाग जानुअगावै छेरुले के भन्ने के, नभन्ने सबै सिकाएकी थिइन्।

‘जहाँ पनि नभन भन्ने, मलाई शंका पस्यो। अरू केटीसँग हामीलाई बेच्न लग्न लागेका त होइनन् भनेपनि। उनीहरुले होइन भने। मलाई भने भित्रभित्रै डर लागेको थियो,' उनले सुनाइन्।
‘कसरी चिनेको?' विवाह दर्ता प्रमाणपत्र हेर्दै कन्सुलर विभागका कर्मचारीले सोधे।
‘दिदीले चिनाउनुभएको,' सिकाएको कुरो।
‘कहाँ भेटेर लभ पर्योन त?'
‘ठमेल'
‘भाषा आउँछ त?'
‘अँ, आउँछ'
भोलिपल्ट भिसाका लागि चिनियाँ दूतावास पुगे। त्यहाँ पनि के सिकाएकै जवाफ दिए उनीहरुले।
‘अरू त ठुल्ठूला छन्, तिमी सानी छ्यौ, सबै बुझेर विवाह गरेकी हौ नि?' चिनियाँ दूतावासमा काम गर्ने एक जना महिलाले सोधिन्।
‘बुझेकी छु,' संगीताले भनिन्।
‘तिमीलाई डर लागेको छैन? त्यहाँ दुःख पाए कसरी फर्कन्छौ?'
संगीता केही बोलिनन्।
तेस्रो दिन भिसा आयो।
भिसा लागेपछि अरू केटीहरु चिनियाँ पुरुषसँग विभिन्न ठाउँ घुम्न गए। उनी भने कतै गइनन्। विवाह गरेको परिवारलाई थाहै दिइनन्। माघ २० गते विवाह गर्ने सातै जोडी चीन प्रस्थान गर्योह। एयर चाइनामार्फत उनीहरु ल्हासा, चेन्दु हुँदै हार्विन पुगे। जहाजमा केटीजति एकतिर, केटाहरु अर्काेतिर बसे। चीनबाट केटा ल्याउने एजेन्ट पनि सँगै थियो। संगीता एजेन्टलाई पापा भनेर सम्बोधन गर्थिन्। माघ २१ गते उनीहरु चीनको उत्तरपूर्वी सहर हार्विन पुगे। हार्विन विमानस्थलमा केटाहरुको परिवार स्वागत गर्न बसेको थियो। उनीहरु ट्याक्सी चढेर केटाको घरसम्म पुगे। ट्याक्सी चढ्नुअघि उनको कागजी पतिका भिनाजुले एजेन्टलाई एक बिटो चिनियाँ युआन थमाए। एजेन्टका आँखा संगीतासँग जुध्यो, ऊ पैसा लिन हच्कियो। भिनाजुले कर गरे, उसले लियो। एजेन्ट आफ्नो बाटो लाग्यो।
ट्याक्सीमा दुई घन्टा यात्रापछि केटोको घर पुगिन् संगीता। अरू केटीलाई त १० घन्टासम्म लाग्यो रे। केटोको घर पुगेपछि उनलाई दिक्दार लाग्यो। जे भनिएको थियो, त्यो थिएन। जम्मा दुई कोठाको एकतले घर। बेकारमा आएँजस्तो लाग्यो। ‘नेपालमा हुँदा केटोले महिनामा २ लाख कमाउँछ, जागिर लगाइदिन्छ। विवाह गरेर गए पनि सँगै बस्नुपर्दैन। घर बजारमा छ,' छेरुले भनेको उनले सम्भि्कइन्।
चारैतिर हिउँ नै हिउँ छ। संगीताको मन खुसी थिएन। खाना दिए। खाना देख्नेबित्तिकै उनको नाक खुम्चियो। घीन लाग्यो। खाना खाननन्। साँझ परेपछि उनी कोठामा गइन्। केटो रक्सी, चुरोट खाँदै टेलिभिजन खोल्यो र बर्बराउन थाल्यो।
‘तँलाई १५ लाखमा किनेर ल्याएको हो, किन सुतेकी यति छिट्टै,' केटोले इशारामा भन्यो। उनी केही बोलिनन्।
‘तैँले अब एउटा बच्चा जन्माउनुपर्छ, मलाई बच्चाको बाउ बन्नु छ,' उसले झम्टियो। उनले मानिनन्। दोस्रो दिन, तेस्रो दिन त्यसरी नै बित्यो। कोठामै थुनेर राखियो।
‘म ट्वाइलेट जान्छ,' चौथो दिन संगीताले भनिन् तर दिएनन्। केटोको घरमा ट्वाइलेट पनि थिएन। सबै खुलै ठाउँमा गर्ने। बाहिर जताततै हिउँ छ। ‘चार दिन त लङ ट्वाइलेट पनि नगई बसेँ,' संगीताले सुनाइन्।
चौथो दिन बिहानैदेखि केटो निहुँ खोजिरहेको थियो। उनले काठमाडौंबाटै टाउको दुख्दा खाने औषधि लगेकी थिइन्। औषधि खान लागेको देखेपछि केटोले खोसेर फालिदियो।
‘मेरो बच्चा फाल्न तैँले औषधि खाएकी?,' ऊ फेरि जाइलाग्यो।
उनले डस्बिनबाट झिकेर औषधि खाइन्।
ऊ रोकिएन, ‘अबदेखि औषधि नखा। मेरो बच्चा अपांग हुन्छ।'
‘नाइँ' संगिताले टाउको दायाँबायाँ हल्लाइन्।
त्यसपछि केटाले हात, खुट्टा दुवैले कुट्न, गोद्न सुरु गर्‍यो। संगीता चिच्याइन्। घरमा रहेका केटाका बाउआमा निस्केनन्। उनी अझ चिच्याइन्। केटोले उनको घाँटी समात्यो। लाइटर बालेर शरीरमा झोसिरह्रयो। उनी चिच्याउन छाडिनन्। ऊ अझ लातै लातले हान्दै थियो। उनले ब्याग प्याक गर्न खोजिन्। उसले फ्याँकिदियो। यो घम्साघम्सी तीन घन्टा चल्यो। ‘ठूलो स्वरले रोए मुख थुन्न आउँथ्यो,' उनको बोली अवरुद्ध भयो।
त्यसपछि त्यो दिन जसरी पनि भाग्ने योजना बुनिन् उनले।
... ... ...
अन्ततः हार्विनमा फेरि एजेन्ट र कागजी पतिको फेला परिन्। एजेन्ट कोरियन थियो, त्यसैले संगीता कोरियन भाषामा कुरा गर्न सक्थिन्। ‘पापा म मरे पनि त्यो केटाको घर जान्नँ। मलाई मार्छ त्यसले,' संगीताले भनिन्। उसले आफ्नो घर जाने भनी उनलाई सम्झायो। एजेन्टले नेपाल पठाउने आश्वासनसमेत दियो। सात घन्टा गाडीको यात्रापछि एजेन्टको घर पुगिन् उनी।
घर पुगेपछि एजेन्टले फकाउन थाल्यो। केटो राम्रो छ, धेरै पैसा कमाउँछौ– थुप्रै आश्वासन दियो। केटाहरुको आफन्त बोलायो। तर संगीता केटोको घर जान मानिनन्। तीन दिन एजेन्टकोमा बसिन्। तीन दिनपछि केटोले सुनको सिक्री, औंठी, झुम्का, आइफोन किनेर उनलाई दियो। उनले लिन मानिनन्। त्यसपछि त्यहाँबाट उनलाई जबर्जस्ती केटोको घर लगियो। केटोको घर छिर्न मानिनन्। दुई महिनाअघि त्यसरी नै विवाह गरेर त्यहीँनेर आएकी अर्की नेपाली युवती गंगाको घर पुर्यामइदिन आग्रह गरिन् उनले। उनीहरुले त्यो प्रस्ताव स्विकारे।

गंगाको कथा पनि उस्तै रहेछ। उनले आफ्नो कथा पनि गंगालाई सुनाइन्। उनले नेपाल जान उनलाई सुझाव दिइन्। आइफोन किन्दा सिम पनि केटोले किनेको थियो, जुन सिम संगीताले आफ्नो मोबाइल सेटमा राखेकी थिइन्। उनले त्यहीँबाट छेरुलाई फोन गरिन्। छेरुलाई सबै कुरा सुनाइन्।
‘केटोले एक/दुई झापड त हानिहाल्छ नि! किन फर्कनुपर्योस, त्यहीँ बस,' छेरुले भनिन्। छेरुले फर्काउन मानिन्।
‘मेरो मामा प्रहरीमा हुनुहुन्छ, म अब मामालाई फोन गर्छु, सबै कुरा भनिदिन्छु,' संगीताले धम्क्याइन्।
‘मेरी छोरीलाई म जसरी पनि ल्याइहाल्छु नि,' छेरुको बोली फेरियो। त्यसपछि उनले त्यहीँबाट केही दिनअघि आफूलाई सघाउने चिनियाँ प्रहरीलाई फोन गरिन्। त्यसको केही बेरमै चार जना प्रहरी त्यहाँ आइपुगे, एक जना त अंग्रेजी पनि बुझ्थे। संगीताले अंग्रेजीमा सबै कुरा लेखेर प्रहरीलाई बुझाइन्। उनी माघ ५ गते प्रहरीसँगै चौकीमा गइन्। कागजी पति र एजेन्टलाई पनि त्यहीँ बोलाइयो। त्यहीँ डिभोर्स गरियो। एजेन्ट भने अझै फकाउँदै थियो। उनी एजेन्टसँगै उसैको घर गइन्। गरगहना, मोबाइल एजेन्टले फिर्ता माग्यो, उनले दिइन्। एजेन्टले टिकट बुक गर्योा र फागुन ८ गते उनी नेपाल फर्किइन्।
... ... ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगीतालाई स्वागत गर्न बसेकी थिइन् छेरु। उनैले संगीतालाई ट्याक्सीमा राखेर आफ्नो अफिस पुर्यामइन्। विमानस्थलमा कसैले सोधे एउटा कागज नपुगेर बनाउन आएको भन्न छेरुले सिकाएकी थिइन्। अफिसमा ४–५ जना केटी थिए, कोरिया र चीन जाने पर्खाइमा। ‘किन छिटो फर्किनुभा'को त?,' ती केटीहरुले सोधे। केटीहरुलाई केही नभन भनेकी थिइन् छेरुले। उनले भनिन्, ‘कागज नमिलेर!' संगीताको राहदानी र नागरिकता छेरुले लिइन्।
एक साता उनी छेरुकै अफिसमा बसिन्। त्यहाँ बस्दा कोरिया जान त्यहीँ बसेकी एक जना युवतीसँग उनको घनिष्टता बढ्यो। संगीताले सबै कुरा ती युवतीलाई खोलिन्। उनीहरु प्रहरीकोमा जान पनि सकेनन्। प्रहरीलाई पनि किनेका छन् भन्ने शंका उनीहरुमा थियो।
‘दुई/चार दिनमा कोरियन आउँछन्, त्यसैसँग विवाह गरिदिन्छु। कोरिया जाऊ,' छेरुले नयाँ प्रस्ताव ल्याइन्।
‘अब कतै जान्नँ, यहीँ राम्रो जागिर खोजिदिनू,' उनले प्रस्ताव ठाडै अस्वीकार गरिन्।
कोरियन पुरुषसँग विवाह गरेर भाषा सिक्दै गरेकी तामाङ थरकी युवतीले संगीताप्रति निकै रुचि राखिन्, जो छेरुकै अफिसमा बस्थिन्। तामाङ युवतीले संगीताको कुरा आफ्नो दाजुलाई सुनाइन्। अर्को दिन भाउजूको जन्मदिन छ भनी संगीता र ती तामाङ युवती दाइको घर गए। छेरुले पहिले जान दिएकी थिइनन्, उनीहरुले ढिपी गरेपछि छाडिन्। त्यसपछि योजना बन्यो। संगीता छेरुको अफिस फर्किनन्।
तामाङ युवतीका दाइले सोमबार नौ जना केटा साथीलाई छेरुको अफिस पठाए। ‘तपाईं केटी बेच्नुहुन्छ रे हो?' उनीहरुले सोधे। छेरुले उनीहरुको आरोप स्विकारिनन्।
संगीतातर्फ देखाउँदै उनीहरुले भने, ‘यो बहिनीलाई चीन कसरी पठाउनुभयो?'
‘चीनमा मैले केटी पठाएकै छैन,' छेरुले भनिन्।
त्यत्तिकैमा छेरुले दुई युवकलाई माथि बोलाइन्। १५ मिनेटपछि उनीहरु तल झरे र भने, ‘ल बहिनी! तिमी अब घर जाऊ।'
उनलाई जे शंका लागेको थियो त्यही भयो। छेरुले केटाहरुलाई किनिन्। ९ जना केटामध्ये एक जना भने अलि दयालु निस्के। संगीता उसैको मोटरसाइकलमा बसेर त्यहाँबाट निस्किइन्। माथिल्लो तलामा जाने दुई केटा भने छेरुसँग अँगालो मारेर बिदा हुँदै थिए। संगीता ठमेल के पुगेकी थिइन्, फोन आयो।
उनलाई फोन गरेकी थिइन्, केन्द्रीय अनुसन्धान ब्युरोकी एसपी किरण बज्राचार्य जतिबेला उनी छेरुको कार्यालय छापा मार्दै थिइन्। त्यहीँ रहेकी एक बहिनीले संगीताको कथा सुनाएर मोबाइल नम्बर दिएपछि बज्राचार्यले फोन गरेकी रहिछन्। त्यसपछि तुरुन्त एक टोली पठाई बज्राचार्यले संगीताको उद्धार गरिन्।
बज्राचार्यको टोलीले सोमबार छेरुसहित उनका सहयोगी विपुल नगरकोटी र कोरियन एजेन्ट ६१ वर्षीय पार्क हि चाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ‘विवाहका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय र्याकेट नै रहेछ,' एसपी बज्राचार्यले भनिन्, ' एसपी बज्राचार्यले भनिन्, ‘छेरुको टोलीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छांै।'
संगीता भने अन्योलमा छिन्। अब कहाँ जाने, परिवार कसरी पाल्ने– चिन्तै चिन्ताले टोलाइरहन्छिन्। ‘नहुनु भइसक्यो, अब के गर्ने, कहाँ जाने सोच्नै सकेकी छैन,' उनले लामो सास तानिन्।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com