बाला राई

प्रवासमा सिर्जना पस्कदै डी.आर.अटु
[2015-02-12 오전 9:19:00]

सिर्जना गर्नेलाई नत कुनै व्यस्तताले नै रोक्न सक्छ नत कोलाहलताले नै । आफु जन्मेको भूगोलभन्दा टाढा प्रवासी भूमिमा पसिना बगाउदै पनि साहित्य र संगीत सिर्जनामार्फत् आफ्नो प्रतिभालाई प्रस्फुटन गरिरहेका छन् युवा गीतकार एवं संगीतकार डी.आर. ‘अटु’ । ‘चौबन्दी चोलीले’, ‘दिक्तेल बजारैमा’, ‘घाम छाँया’, ‘पोखराको बजारै राम्रो’, ‘गुडीजाने रेल’ ‘पञ्च है बाजा बज्छ रुएर’ लगायतका दुई दर्जन भन्दा बढी गीतमा संगीत भरिसकेका डी.आर.का अधिकांश पुर्वेली भाका र आधुनिक गीत चर्चित छन् ।

चारवर्ष अघि वैदेशिक रोजगार भिसामा दक्षिण कोरिया आएका खोटाङका यी बहुप्रतिभाशाली युवा कहिले दिनको ड्यूटी त कहिले रातको ड्यूटीबाट निस्केको अलिकति फुर्सदको समय गीतसंगीत र साहित्य सिर्जनामा बिताउँछन् । अहिले अन्य गीतकारहरुको समेत संगीत भर्दै गरेका उनी काम सजिलो भएकोले कहिलेकाँही काम गर्दागर्दै पनि गीत लेख्ने र संगीत सिर्जना गर्ने बताउँछन् । संगीत संयोजन पनि आफैं गर्ने डी. आर. ‘अटु’ को शब्द र संगीतलाई सबैभन्दा बढी गायक गायक राजेश पायल राईले स्वर दिएका छन् ।

त्यस्तै उनको संगीतलाई प्रमोद खरेल, अन्जु पन्त, रुपकुमार राई, आभा मुकारुङ, सत्यकला राई, पार्वती राई, सरला राई, मेलिना राई, चक्रभुषण राई, रमिला ग्याङमी, कविराज राई जस्ता गायकगायिकाले स्वरवद्ध गरेका छन् । ‘प्रविधिको विकासले भूगोललाई यति नजिक बनाइदियो कि, मान्छे भेट्नै पर्दैन’, संगीत सिर्जनामा व्यस्त डी.आर. भन्छन् ।

उनले कोरियामा बसेर संगीत भर्छन् छिनभरमै काठमाडौंमा उनको गीत रेकर्ड भइसक्छ । फोनबाटै गायकगायिकालाई गीत सिकाउने डी. आर. ‘अटु’ सुनाउँछन्, ‘संगै बसेर सिकाए जस्तो त हुन्न तैपनि गाइराख्ने कलाकारलाई दुईतीनपटक गाएर सुनाएपछि टिपिहाल्छन् ।’ अग्रज संगीतकर्मीहरुको संगतले गर्दा संगीतमा लागेका उनी संगीतका विद्यार्थी भने होइनन् । उनले संगीतमा कुनै औपचारिक शिक्षा पनि लिएका छैनन् । ‘संगीतप्रतिको झुकाव र साधना नै मेरो गुरु हुन्,’ उनी सुनाउँछन् ।

उनको शब्द संगीतमा चक्रभूषण राई र सत्यकला राईले गाएको ‘गुडी जाने रेल’ बोलको गीतले २०५६ सालको हिट्स एफएम म्युजिक अवार्ड पाएको थियो । त्यस्तै रुपकुमार राईले गाएको ‘पोखराको बजारै राम्रो’ गीतले पनि २०६८ सालको हिट्स एफएम म्युजिक अवार्ड पाएको थियो । २०६४ सालमै चौतारी नामक एकल गीतिएल्बम निकालिसकेका डी.आर.आफ्नै शब्द संगीतमा नयाँ एल्बम निकाल्ने तयारीमा जुटेका छन् । प्रवासमा रहेर पनि नेपाली सांंगीतिक क्षेत्रमा चम्किएका डी.आर.‘अटु’ नेपाल फर्केपछि व्यवसायिक रुपमै सांगीतिक क्षेत्रमा लाग्ने बताउँछन् । प्रवासी भूमिमा कामको व्यस्ततासँगै साहित्य र संगीत सिर्जनामा तल्लिन डी.आर.राम्रो बाँसुरी बाद्यवादक पनि हुन् ।

हाल दक्षिण कोरियामा रहेको सुनाखरी सांगीतिक व्याण्डसँग आवद्ध रहेर कोरियाको विभिन्न ठाउँमा नेपाली र कोरियाली कलाकारहरुसँग सांगीतिक प्रस्तुति पस्किसकेका छन् । कविता लेखनमा समेत दख्खल राख्ने उनी २०६१ सालमा भएको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम समेत भएका थिए । उनी कविता संग्रह समेत निकाल्ने सोचमा छन् । उनको सिर्जना, गीतसंगीत र कवितामा मात्र सिमित छैन । भर्खरै उपन्यास लेखनमा समेत हात हालेका उनले ‘आमा र सपना’ नामक सामाजिक परिवेशलाई चित्रण गरिएको यथार्थवादी उपन्यास लेख्दै छन् । ‘उपन्यास लेख्ने मेरो रहर हो । आफ्नो जन्मभूमि र आमालाई छाडेर विदेशिन वाध्य हजारौं युवाहरुको कथा र व्यथाको एउटा पाटो पनि हो’, उनी भन्छन् ।

स्रष्टा डी.आर. ‘अटु’ले आफ्नो परिवारको सक्रिएतामा केही समय अघि आफ्नी ममतामयी आमा स्व.दया राई र फूपू स्व. लिला राईको सम्झनामा ‘दया–लिला स्मृति प्रतिष्ठानको स्थापना गरेर सामाजिक क्षेत्रमा समेत हात हालेका छन् । भविष्यमा गीतसंगीत सिर्जनामै निरन्तर लाग्ने सोच बनाएका डी.आर.लाई आधुनिक र ‘सेन्टीमेन्टल’ गीत मन पर्छ तर उनका अधिकांश मायाप्रेमका ‘रोमान्टिक’ गीतहरु चलेका छन् । समसामयिक विषयवस्तुलाई आफ्नो सिर्जनामार्फत् उर्तार्दै आएका उनले देशभक्ति गीतहरु पनि लेखेका छन् ।

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलले सन् २०१३ मा आयोजना गरेको विश्वव्यापी देशभक्त गीत लेखन प्रतियोगितामा हाम्रो हर नशाभरी बग्छ मेचीकाली, जहाँ पुगेनि मनले भन्छ जय गोरखाली बोलको उनको गीत उत्कृष्ठ भएको थियो ।

‘विदेशिनु रहर होइन वाध्यता हो तर कतिपयले ‘तिमीहरु सच्चा नेपाली होइनौ । तिमीहरुको मनमुटुमा देशप्रति कुनै माया छैन । नत्र आफ्नो घरबारी बाँझो राखेर किन अर्काको देशमा गुलमी गर्न जान्छौं ?’ भन्दा हाम्रो मन चसक्क हुन्छ’, उनी भावुक हुँदै आफु विदेशिदाको पिँडा पोख्छन् । ‘आफु जन्मेको माटोको माया कसलाई हुन्न ?’ यिनै तितो अनुभव समेटेर काम गर्दागर्दै आआफ्नो वाध्यताले परदेसिएका प्रवासीहरुको लागि स्वदेश गीत सिर्जना गरेर संगीत पनि तत्कालै भरेका छन् । ‘अहिले यो गीत देशविदेशमा रहेका कलाकारहरुको सामुहिक स्वरमा रेकर्ड हुने क्रममा छ । नेपाली नयाँ वर्षसम्ममा भिडियो पनि तयार गर्ने सोच छ,’ उनी आफ्नो गीत सुनाउदै भन्छन् ।

दुईचार दिनको परदेशी, भयो भन्दैमा
सात समुद्र तरी मुग्लान, गयो भन्दैमा
हामीलाई नेपाली होइन नभन्नु
‘जहाँ गएपनि, जहाँ बसेपनि
हाम्रो देश हामीलाई प्राणभन्दा प्यारो छ’
पहाडमा पहिरो गा’को, खबर सुन्दाखेरी
कोशी फुटी अनायसै, मधेस दुब्दाखेरी
परदेशीको मुटु यहाँ, छियाछिया हुन्छ
के भन्नु खै दिनरात यो मन, कति रुन्छ रुन्छ
कुल्ची हिडेको छैन हामीले, नेपाल आमाको छाती
आफ्नै देश सजाइ हिड्छौं, सधैं शीरमाथि
कोही सामु स्वाभिमानलाई, चुक्न दे’को छैन
चन्द्र –सूर्य झण्डालाई, झुक्न दे’को छैन



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com