रामरिझन यादव

मैनाली र ओलीले किन काटे धर्मप्रसाद ढकालको टाउको ?
[2015-01-23 오후 7:53:00]

२००७ सालसम्ममा १ प्रतिशत पहाडी मूलका बासिन्दामात्र मधेस झरेका थिए भने झापामा सतार, झाँगड, बाँतर, ताजपुरिया, राजवंशीलगायतका जातिको वर्चस्व थियो र कैलाली कञ्चनपुरमा थारुहरूको । ती आदिवासीहरू नै अहिले झापामा आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् भने कैलाली–कञ्चनपुरमा थारुको हैसियत नाममात्रको बाँकी छ ।

आजभन्दा केही दशकअघि सीपी मैनाली, खड्गप्रसाद ओली, कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकीका पुर्खा झापा झर्दा त्यहाँका आदिवासीको अवस्था कस्तो थियो ? आज उनीहरूले झापालगायत तराई–मधेसका केही जिल्ला पहाडमा गाभ्नुपर्छ भन्ने उर्दी जारी गरिरहँदा त्यहाँका आदिवासीको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक अवस्था कस्तो छ ? यस्ता प्रश्नको छिनोफानो नगरी रैथानेहरूविरुद्ध बोल्ने अधिकार कसैलाई छैन ।

यही सन्दर्भमा केही प्रश्न उठ्छः सीपी मैनाली र खड्गप्रसाद ओलीले धर्मप्रसाद ढकालको टाउको किन काटे ? वीरेन राजवंशीजस्ता आदिवासी किन सुखानीको जंगलमा सहिद भए ? यस्ता प्रश्नले एकातिर झापाका राजनीतिमा चार दशकदेखि वर्चस्व स्थापित गरेकाहरूको भण्डाफोर गर्दछन् भने अर्र्कोतर्फ पीडित आदिवासीहरूको स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दछन् ।

जातिवादी पञ्चायती व्यवस्था सुरु हँुदा झापामा पहाडी मूलका बासिन्दाको संख्या रैथानेको भन्दा निकै न्यून थियो । जंगलैजंगलले भरिएको झापामा मलेरिया प्रकोपसँग लड्ने क्षमताको विकास गरिसकेका आदिवासीहरूले भरिएको थियो । तर एकात्मक, केन्द्रीकृत, राजतन्त्रात्मक राज्यसत्ताले रैथानेको अस्तित्वलाई संकटमा पार्ने काम गर्‍यो । जंगलमा स्वामीजस्तै बसिरहेका आदिवासीहरूको जग्गाजमिन शासक वर्गको षड्यन्त्रमूलक कानुनी व्यवस्थाले गर्दा नवआगन्तुकहरूको हातमा पर्नगयो भने अधिकांश आदिवासी उनीहरूका गोठाले, हुक्के र हलिया बन्न बाध्य भए । कतिपय त भारतको झारखण्ड राज्यमा पलायन भए ।

तराईको बहुमूल्य चारकोसे झाडीका सालको रुख फडानी गरेर पहाडी मूलका कुलीनहरूले ठूल्ठूला काठका घर ठड्याए । तत्पश्चात पहाडबाट झरेकाहरूका लागि सरकारले नै पुनर्वास कम्पनी स्थापना गरेर कानुनी रुपमा घरजग्गा उपलब्ध गराए । २०३७ सालको बहुदल÷निर्दलको नारा उनीहरूका लागि वरदानै साबित भयो । र, सायद त्यसैले होला झापामा निर्दलको जित (७२ हजार ३ सय ३७) र बहुदलको हार (५४ हजार १ सय ५८) भयो ।

तराईका जिल्लामध्ये सबैभन्दा बढी पहाडीमूलका मानिस बसोबास भएको जिल्ला पूर्वमा झापा, मध्यमा चितवन र पश्चिममा कैलाली–कञ्चनपुरै हुन् । पहाडी मूलका जनताको बसोबाससँगै ती जिल्लामा विकासको मूल पनि नफुटेका होइनन् । चितवन त विकसित जिल्लाको रुपमा स्थापित भइसकेको छ । तर त्यसबाट कैलाली–कञ्चनपुर र चितवनका कति आदिवासी–जनजाति लाभान्वित हुन सके भन्ने कुरा नै आजको प्रश्न बन्न गएको छ ।

उच्चजातीय पहाडी बसोबासले गर्दा झापा पनि कोल्टे नै फे¥यो र पूर्वको सुन्दर जिल्लाको रुपमा स्थापित हुनपुग्यो । औलो उन्मूलनपछि जसले जहाँ पाए त्यही चारकोसे झाडी जंगललाई फडानी गरेर घर ठड्याए । घरकै वरिपरि खेतीका लागि जमिन खने । ठूल्ठूला सामन्तदेखि सानातिना किसानसम्म सबै यस प्रक्रियामा सामिल भए । तर यतिको बह्मलुट भइरहँदा पनि त्यहाँका आदिवासी सतार, झाँगरलगायतका रैथानेको यस प्रक्रियामा सहभागिता हुन सकेनन् । बरु तिनीहरूले पहाडबाट झरेकाहरू र भारतीय व्यापारीहरूका लागि जंगल काटे, खेत खने । उनीहरूले आफ्ना सन्ततिका लागि अन्न फलाउन एकमुठी माटो जोहो गर्न सकेनन् ।

आज दमकबाट तल झर्दा देखिने लहलहाउँदो खेत आदिवासी रैथानेका होइनन् । खेतमा बनाइएका सुन्दर काठका घरमा पनि तिनको स्वामित्व छैन । खेतमा चरिरहेका गाई, भैंसी, बाख्रा पनि तिनका होइनन् । तिनै ठूल्ठूला काठका घरको, हाल ईंट्टाको पक्का घरमा रुपान्तरण हुन थालेका महलको छेउमा हरेका छाप्रा नै उनीहरूका घर हुन् । तिनै झोपडीमा तिनको पुर्खाले जीवन बिताए, बाउबाजे जिन्दगी गुनारे, आज उनीहरूका सन्ततिहरूले जीवन धान्दैछन् । हले, गोठाले र हुक्के भएर बाँच्नु उनीहरूको नियति बनाइएको छ ।

त्यसो त ढकाल, उप्रेती, सिटौला र बुढाथोकी परिवारदेखि मैनाली र ओली परिवारसम्मका कैयांै व्यक्तिले पटक पटक सत्ताको स्वाद चाखेका छन् । तर उनीहरूले झापाका आदिवासीहरूको विकासका लागि के कस्ता योजना ल्याए ? सही ढंगले विकास गरिएको भए सायद आदिवासीहरूको यो दारुण अवस्था झापामा हने थिएन । त्यसैले यहाँ भन्नैपर्छ, जुन सत्ताका लागि ओलीले सशस्त्र विद्रोहको शंखनाद गरे, त्यसको ब्याजसहित उनले असुले ।

पहाडमा बस्ने सामन्ती राजनीतिक पृष्ठभूमि र व्यवहार भएका यस्ता नेताबाट आदिवासीले केही आशा र भरोसा गरेका थिएनन् । तर दुःखलाग्दो कुरा के छ भने सामान्य घरपरिवारमा जन्मेका हुर्केका नेता र बुद्धिजीवीहरूलाई पनि सतार, झाँगड, बातरको याद आएन ।

जुन उद्देश्यका लागि वीरेन राजवंशी सहिद भए, त्यसको फल आदिवासी रैथानेहरूले पाएनन् । एक–दुईजना पढ्दैमा वा मन्त्री हुँदैमा रैथानेहरूको विकास भएको भए गोपाल राजवंशी र पोहातु चोधरीले आजभन्दा तीस वर्षअघि नै आदिवासीहरूलाई उकासीसक्थे । भारतीय स्वतन्त्रता संग्रामपश्चात नै जयपाल सिंह पनि भनिने आदिवासी नेता मोरेङ्ग सुनवाले झारखण्ड मागेका थिए । तर विजयको उन्मादमा जवाहरलाल नेहरूले उनको मागलाई लत्याइदिए । त्यसैले आज कांग्रेसका लागि झारखण्ड महँगो साबित भएको छ ।

झापाको दक्षिणी भेकको नियति मधेसका अन्य कतिपय जिल्लाभन्दा भिन्न छैनन् । तिनताक भद्रपुर सबैभन्दा विकसित मानिन्थ्यो, अहिले धुलाबारी, बिर्तामोड, दमक, चन्द्रगढीले उसलाई उछिनेका छन् । यसको मूल कारण तराई–मधेसमा बसोबास गर्ने आदिवासीहरूप्रति पहाडी शासकहरूको अविश्वास हो । बनिबनाइएको हुलाकी राजमार्गको स्तरोन्नति नगर्नु र अत्यन्तै बहुमूल्य सालको जंगल भएको चारकोसे झाडीलाई फडानी गरेर सडक बनाउनु तराई–मधेसप्रति षड्यन्त्रबाहेक अरु के थियो र ? ‘नेपालको धन हरियो वन’ नारालाई चरितार्थ गर्दै हुलाकी सडकलाई बनाएर पनि पहाडी मूलका बासिन्दालाई त्यसको वरिपरि बसाउन सकिन्थ्यो । अहिले पनि केही स्वस्फूर्त रुपमा बसेका छन् । तर त्यसो गरिएन किनभने मधेसप्रति शासक वर्गको सकारात्मक दृष्टिकोण कहिले रहेन ।

२०१५ सालको निर्वाचनमा प्रचण्ड बहुमत पाएको कांग्रेसले चुनावी प्रतिबद्धताअनुरुप हुलाकी सडकको स्तरोन्नतिका लागि माटोसम्म हाल्ने काम गर्यो । उसले पूर्वपश्चिम राजमार्गको सर्वे पनि गरायोे । सडक बनाउने जिम्मा पनि सोभियत संघलाई दियो । महेन्द्रले त अपुतालीमा पाएको कांग्रेसी योजनालाई लागुमात्रै गरे ।

कांग्रेस मधेसमा मत सुरक्षित पार्न प्रजातन्त्रको नाममा पाँच दशकभन्दा बढी समयदेखि पानीमाथि ओभानो बन्दै आएको छ । मूलतः कांग्रेसको अहिलेको सोचाइलाई त्यसकै निरन्तरता भन्न सकिन्छ । त्यसैले झापाका सिटौला होस वा नेपालगंजका कोइराला सबैको विचार समान भए पनि त्यसै पार्टीका अमरेश सिंहको सोच फरक हुन गएको छ । यस अर्थमा संघीयताको सवालमा झापाका आदिवासीहरूको विचार ओली, मैनाली, बुढाथोकी, सिटौलासँग नमिल्नु स्वाभाविकै हो ।

मूलतः राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक अवस्थाले नै सबैजसो कुराको निर्धारण गर्दछन् । झापाका आदिवासीहरूको राजनीतिक चेतना, आर्थिक विकास, सामाजिक शैक्षिक जागरण तथा सांस्कृतिक उन्नयन हुन सकेको भए अहिलेको अवस्था सृजना हुने थिएन । आज पनि अधिकांश आदिवासी अठाह्रौं शताब्दीको जीवन बाँचिरहेको देख्दा लाग्छ, यसको मूल दोषी पहाडी उच्च जातिका कुलीन हुन् ।

त्यसैले झापाको रैथानेको भविष्य निर्धारण गर्ने अधिकार उनीहरूलाई छैन, बरु रैथाने मूलनिवासी आदिवासीसँग मात्रै सुरक्षित छ । जसले आफ्नो माटो गुमाए, जसको माटो र पानि (प्रतिष्ठा) लुटियो, जो आफ्नै घरमा बेघरबा भए, ती रैथानेसँग अब संघर्ष गर्नु बाहेक अर्को विकल्प छैन ।

त्यसैले अहिले शान्तिपूर्ण संघर्षबाट तिनीहरूले भारतको बिहार राज्यबाट अलग्गिएका झारखण्डजस्तै प्रक्रियाको लागु गरिरहेका छन् । पछिल्लो शान्तिपूर्ण झापा बन्द यसको ज्वलन्त उदाहरण हो । होइन भने आसामको उल्फा बन्ने वा सीके राउतको बाटो लाग्ने अधिकार उनीहरूसँग सुरक्षित छँदैछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com