स्वप्निल स्मृति

इमानसिंह चेम्जोङको अपूरो इच्छा
[2015-01-02 오후 5:32:00]

नेपालको पूर्वी पहाडमा बसोबास गर्दै आएका मङ्गोल नश्लीय लिम्बु, राई, याक्खा र सुनुवार जातिको प्राग्ऐतिहासिक पृष्ठभूमिदेखि आधुनिक अवस्थालाई समेत सम्बोधन गर्ने एक साझा पहिचान हो ‘किरात’ । समाजविकासक्रमसँगै यस शब्दलाई हाल आएर अर्थगतरुपमा विराट क्यानभासमा बुझ्नु पर्ने अवस्था छ । शुरुमा नश्ल, गण, राज्य, सभ्यता, संस्कृति, जाति आदिलाई बुझाउने यस शब्दले अहिले आएर किरात धर्मको नाममा धर्मिक पहिचानलाई पनि बोक्दछ ।

प्राचीनकालमा काठमाडौँ उपत्यकामा घटीमा २९ औँ पुस्तासम्म शासन गरेका किरातहरु तेश्रो शताब्दितिर लिच्छिवी वंशबाट पराजित भएर वर्तमान नेपालको पूर्व भेगतर्फ लागे र आपुङ्गी (स्वतन्त्र) राज्यहरु खडा गरे भन्नेमा इतिहासकारहरु एक मत छन् । ती आपुङ्गी राज्यहरु गोर्खाली राजा पृथ्वीनारायण शाहको राज्यविस्तार कालमा वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) नामले स्थापित रहेको कथ्य नेपालको आधुनिक इतिहासमा दर्ज छ । तर, ती किरात को थिए ? यसको तथ्य उजागर हुन भने इतिहासले एउटा व्यक्तित्वलाई शताब्दीयौँ कुर्नुपर्‍यो, उनी थिए किरात इतिहासकार इमानसिंह चेम्जोङ ।

सन् १९०४ जनवरी १ तारिक । भारत पश्चिम बङ्गालअन्तर्गत् दार्जिलिङ जिल्लाको रिन्केबुङ । दम्पत्ति मेघबरसिंह चेम्जोङ र दवापुहाङ्माबाट एक सामान्य सन्तानको जन्म हुन्छ । त्यै सन्तान नै सामयिक दृष्टिले क्रमशः असमान्य व्यक्तित्वको रुपमा विकसित हुँदै जान्छ र ‘पहिलो किरात इतिहासकार’ बन्छ अर्थात् इमानसिंह चेम्जोङ ।

प्राचीन नेपालको इतिहासको विवेचना गर्ने क्रममा फ्रान्सिस बुचानिन हेमिल्टनले किरातहरुको राज्य काठमाडौँ उपत्यकादेखि कामरुपसम्म फैलिएको उल्लेख गर्छन्, हेमिल्टनको मतलाई मान्ने हो भने इमानसिंह आदिम किरात भूमिमै जन्मिए । तर, राजनीतिक सिमानाका दृष्टिले भने अङ्ग्रेज औपनिवेशिक ‘इष्ट इण्डिया’मा जन्मिएका थिए । अङ्ग्रेज उपनिवेश गलत थियो, तर त्यै उपनिवेशवादीले दार्जिलिङ जस्तो दूर्गम पहाडमा गोर्खा भर्ती, चिया र शिक्षाको बगान हुर्काएकै थियो, त्यसैले शिक्षाको दृष्टिले इमानसिंह सही ठाउँमा जन्मिए ।रिन्केबुङ गाउँको प्राथमिक तहमा शिक्षाको ताते गर्दै थिए इमानसिंह, भनिन्छ, उनलाई एकजना भारतीय शिक्षकले ‘किरातीहरु जङ्गली हुन्छन्’ भनी फरेब लाइदिए । त्यतिखेर नेपालमा राणाहरुको जहानीया शासन थियो, शायद त्यो फरेब हिन्दू बैदिककालीन ‘कोर्स’कै निरन्तरता थियो । जनतालाई जङ्गलमा थुनेर दरबारमा जुँगाको ताऊ मिलाउने राणा शासकहरु त्यस्ता नयाँनयाँ फरेब सिर्जना गर्थे र आफूलाई मन नपरेकाहरुलाई मृत्युदण्ड या त देश निकाला गर्थे । इमानसिंहको पुख्र्यौली थातथलो लिम्बुवान पान्थर, आङसराङ थुम्बुङ (मेहेलबोटे) थियो । साहित्यकार नवल फाइबेलीको सूचनालाई मान्ने हो भने इमानसिंहका बाजे भैरवनाथ पल्टनका सुबेदार थिए, जो राणाहरुबाट बच्नलाई भागेर कालिम्पोङ पुगेका थिए ।

जे होस्, शिक्षकको त्यो फरेबी कोर्षले इमानसिंहको बालमनोविज्ञानमा एउटा ‘डिस्कोर्स’ जन्माई दियो, के किरातीहरु जङ्गली हुन्छन् ? घरमा आएर उनले बुबासँग सोधिखोजी गरे । बुबाले किरात लिपिमा लेखिएको एउटा हस्तलिखित पाण्डुलिपि थमाइदिए । ती शिक्षक झुटो रहेछन्, किरातीहरुसँग पनि मौलिक भाषा, धर्म, संस्कृति रहेछ । त्यसपछि नै उनी किरात भाषा, संस्कृति, इतिहासको खोजीमा लाग्ने प्रण गरे भनिन्छ । हुन पनि उनी इतिहासमा लुप्त किरात इतिहास, भाषा, संस्कृति र सभ्यताका तथ्यहरुलाई सतहमा ल्याएर सत्ता र शक्तिले निर्माण गरेको इतिहास समानान्तर किरात डिस्कोर्सलाई स्थापित गर्न सफल पनि भए ।

इमानसिंह लिखित इतिहासले नै भन्छ, सन् १७३५/३६ तिर लिम्बुवान याङवरोक थुमबाट सिक्किम गएका लिम्बु भाषा, लिपि, मुन्धुम प्रचारक त्येअङ्शी शिरिजङ्गा थेबेलाई पेमेयोङ्ची गुम्बाका ठासाङ लामाहरुले उनका आठ जना शिष्यसहित हत्या गरेपछि त्यहाँ लिम्बु भाषालिपिमाथि प्रतिबन्ध लाग्यो । वि.सं.१८३१ तिर लिम्बुवान गोर्खा राज्यको अधिनस्थ भएपछि नेपालमा पनि लिम्बु भाषा, लिपिमाथि व्यापक दमन शुरु भयो । यसो हुँदा अब लिम्बु भाषा साहित्यको ओतिलो ठाउँ दार्जिलिङ, खर्साङ, कालिम्पोङ र सिलगढी बन्न पुग्यो जहाँ अङ्ग्रेजहरुबाट मातृभाषा र लिपिमा लेखनको कुनै बन्देज थिएन ।

गोर्खा भर्तीको केन्द्रसमेत दार्जिलिङ डिपो भइदिँदा पढेलेखेका, आधुनिक शिक्षामा जोड दिने पल्टनेहरुको केन्द्र पनि बन्न पुग्यो । बाघचालको नियमलाई मान्ने हो भने नेपाल र सिक्किममा थुनिए पनि ‘लिम्बुबाघ’ले दार्जिलिङ, कालिम्पोङलाई आफ्नो ‘खेलकोठा’ बनाइरहेको थियो । जहाँ शिरिजङ्गा लिपि खोज्ने र सिक्ने लिम्बुभावना व्याप्त थियो, इमानसिंह चेम्जोङले त्यही खेलकोठामा आफूलाई चाल्दै गए ।

१९२५ जुलाई २६ मा कालिम्पोङको डोङ्ग्रा बस्तीमा लिम्बु तुम्याहाङहरु भेला हुन्छन् र मैतसिंह थेगिमको सभापतित्वमा ‘याक्थुङहाङ चुम्लुङ’ निर्माण हुन्छ । जसलाई साहित्यकार पी.एस.मुरिङ्लाले बीसौँ शताब्दीमा लिम्बू जातिले बनाएको प्रथम संस्था भनेर दाबी गरेका छन् । यै बूढाहरुको सभामा एक लक्का लिम्बु तन्देरी पनि सहभागी हुन्छन्, चुम्लुङ स्थापना गर्नै पर्ने प्रस्ताव प्रस्तुत गर्छन् । उनी थिए इमानसिंह; साहित्य, इतिहास, दर्शनका तर्कहरुले वास गर्न थालेको, जीवन र जगत्का रहस्यहरुदेखि जिज्ञाशु जतिबेला ८–९ कक्षामा अध्ययनरत थिए ।

सभामा इमानसिंहले सिरिजङ्गा लिपिमा हस्तलिखित दुईवटा पाण्डुलिपि पनि पेश गर्छन् । पढ्छन् । अक्करको पत्थर सम्झेको सिरिजङ्गा लिपिलाई ती तन्देरीले एकएक खरखरी उप्काइदिँदा सप्पैजना छक्क पर्छन् । कुरा के भने लिम्बुवान आठराईतिर गाउँगाउँ घुम्दै शिरिजङ्गा लिपिको प्रचारप्रसार गरेकोमा राजद्रोहको आरोप लागेर सिक्किम पुगेका ८४ वर्षीय लालसोर सेन्दाङबाट इमानसिंह चेम्जोङ लगायत कालिम्पोङका लिम्बु युवाहरुले सिरिजङ्गा लिपि सिकिसकेका थिए । यसरी सन् १९२६ बाट दार्जिलिङ क्षेत्रबाट लिम्बु साहित्यको समृद्धिको सुरुवात हुन्छ ।

अर्को संयोग, त्यही साल मेट्रिक पास गरेर इमानसिंह उच्च शिक्षाको लागि कलकता सेन्टजेभियर कलेजमा हानिए, जहाँ बर्मा प्रहरीमा सुवेदार पदमा कार्यरत बाजवीर थलङसँग उनको भेट हुन्छ । मातृभाषा र लिपि भनेपछि मरिमेट्ने थलङलाई सिरिजङ्गा लिपि पढ्नलेख्न सिकाउँछन् इमानसिंह । फलस्वरुप त्यसको दुई वर्षमा (सन् १९२८) थलङको ‘तुम् याक्थुङ साप्ला’ नामक पहिलो लिम्बु पुस्तक साइक्लोस्टाइल मेसिनबाट छापिन पुग्यो । त्यसका नयाँ संस्करणहरु क्रमशः नेपाल, सिक्किम, भुटान, आसाम र बर्माका लिम्बु गाउँगाउँमा प्रचार गर्न थालिए । उच्च शिक्षाको लागि सेन्ट जेभियर कलेज कलकत्ता पुगेका इमानसिंह र सुवेदार बाजवीरको चार वर्षे सहकालमा ११८ श्लोकको ‘निसाम्माङ सेवा साम्लो’ नामक संयुक्त कविता कृति पनि प्रकाशित हुन्छ । उसो त इमानसिंहले सन् १९२४ मै ‘सिरिजङ्गा मुन्धुम साप्ला’ पाण्डुलिपि लेखिसकेका थिए ।

बुबाको मृत्यु भएपछि कलकत्ताबाट १९३० मा कालिम्पोङ फर्केका इमानसिंह एकाएक बाह्र वर्ष हराएका थिए । कहाँ गए, कता छन्, कालिम्पोङ पूरै बेखबर थियो । तर, उनी त्यतिखेर किरात सिरिजङ्गा लिपिमा लेखिएका पुराना कागजपत्र, विजयपुर, मकावानपुर, सिक्किम, गोर्खा राज्यका राजाहरुले लिम्बु सुब्बाहरुलाई दिएका लालमोहर, तसल्ली, काश्य, रुक्काजस्ता महत्वपूर्ण अभिलेख खोज्दै कहिले भूटान, कहिले सिक्किम, कहिले लिम्बुवान, कहिले बर्मा घुमिरहेका थिए ।

सन् १९४२ मा सिक्किमको गेजिङमा प्राथमिक विद्यालयको शिक्षकका रुपमा चेम्जोङ पढाउन थाल्छन्, सन् १९४४ मा गान्टोकको सरकारी उच्च विद्यालयमा नियुक्त हुन्छन् । यसको दुई वर्षपछि त्यही स्कुलमा अर्का साहित्यानुरागी ‘अपतन’ साहित्यिक आन्दोलनका एक अभियन्ता पदमसिंह मुरिङ्ला पनि शिक्षकको रुपमा नियुक्त भई आए र दुई साहित्यानुरागीले लिम्बु साहित्यको समृद्धिका लागि काँध नारेको पाइन्छ । जसमा लिम्बु भाषा साहित्यसेवी मनबहादुर खाम्धाक र इन्जिनीयर सन्तवीर खाम्धाक पनि सामेल थिए ।

इमानसिंह जहाँ पुग्थे, किरातसँग सम्बन्धित चासो र अध्ययनको अभिरुचिका साथ पुग्थे । अनादिकालदेखि लिम्बुले बसोवास गर्दै आएको सिक्किम (गान्टोक) उनको लागि थप खोज अनुसन्धानका लागि अत्यन्तै फलदायी साबित भयो । जहाँ टी.डी. डेन्जोङ्पा लगायतका महत्वपूर्ण विद्वानहरुसँग उनको उठवस हुन्छ । डेन्जोङ्पाकै सहयोगबाट सिक्किमको इतिहाससम्बन्धी महत्वपूर्ण कागजातहरु प्राप्त गरे । गान्टोक ह्वाइट हलको पुस्ताकालयमा भारतीय तथा अङ्ग्रेज इतिहासकारका पुस्तकहरु र आफ्ना सङ्कलनमा रहेका दुर्लभ किरात कागजातहरुको तुलनात्मक अध्ययन गर्न भ्याए र आफ्नो बीसौं वर्षको अनुसन्धानको निष्कर्ष स्वरुप सन् १९४८ मा ‘किरात इतिहास’ प्रकाशनमा ल्याउँछन् । यही कृतिमार्फत् पहिलो किरात इतिहासकारको रुपमा इमानसिंह उदाएका त हुन् नै, ‘किरातीहरु जङ्गली हुन्छन्’ भन्ने इतिहासदेखि घिसारेर ल्याइएको ‘झुट् र नियतपूर्ण’ इतिहासलाई समेत प्रमाणिक किरात इतिहासले नाजवाफ बनाइदिन्छ ।

इमानसिंहको सिक्किम बसाईले लिम्बु भाषा र लेप्चाभाषालाई ठूलो टेवा पुग्छ । यसैसमयमा लिम्बू भाषाका पुस्तकहरु लेख्ने र प्रकाशन गर्ने इमानसिंह, पी.एस. र खाम्धाकद्वयको योजना बन्छ र साइक्लोस्टाइल मेसिन किनिन्छ । तर, इमानसिंह रेभेन्यू अफिसर र मनबहादुर खाम्धाक रेभेन्यू इन्स्पेक्टर भएर गान्टोकबाट पश्चिम सिक्किम जानुपर्ने हुन्छ । पत्रमार्फत् लेखरचना आदानप्रदान हुन्छ । ‘तुम् निङ्वाभु साप्ला’ नामक पुस्तक एक हजारप्रति छापिन्छ । छपाइमा मुरिङ्लाको प्रमुख भूमिका थियो, त्यसपछि सन् १९५१ मा त्यसको दोश्रो भाग पनि छापिन्छ । जुन पुस्तकहरु सिक्किममा लिम्बू भाषा अध्यापनका प्रारम्भिक सामग्री बने । सिक्नको लागि कुनै आइतबर नबार्ने इमानसिंहले सिक्किममा रहँदा लेप्चा भाषा पनि सिके । पछि सन् १९६९ मा गएर लाप्चा–नेपाली–अङ्ग्रेजी शब्दकोष नै प्रकाशित गरेको पाइन्छ ।

नेपालमा २००७ सालको क्रान्ति सम्पन्न हुन्छ । राजा र राणाहरुको अत्याचारबाट पेदुपेदु भएको नेपाली समाज, त्यसमा पनि भाषिक, साँस्कृतिक, धार्मिकजस्ता विशिष्ट दमनबाट थङथिलो पारिएका उत्पीडित किरात लिम्बु जाति आफ्नो राजनीतिक अधिकारका लागि जुर्मुराउन थाल्यो । मूलतः १८३१ मा गोर्खा राज्य–लिम्बुवानबीच भएको सह–राज्यको सम्झौतालाई केन्द्रसरकारले श्रृङ्खलाबद्ध रुपमा उल्लङ्घन गर्दै लिम्बुवान प्रादेशिक स्वायत्तताको सिद्धान्तलाई नामेट पार्दै लगेकोमा लिम्बुवानका किपटीया सुब्बाहरु किपटजस्तो सामूहिक भूमिप्रणालीको रक्षाको लागि सङ्गठित हुन थाले ।

यसैताका राणाहरुबाट खुकुरी दल गठन गरेर काँग्रेसले किपट खोस्छ भनी लिम्बुवानमा साम्प्रदायिक दङ्गा भड्काएर आफ्नो सत्तालाई टिकाउने यत्न समेत गरेका थिए । कयौँ गैरलिम्बुहरु तेह्रथुम आठराई, पाँचथरबाट लुटिए, लखेटिए । तर, सचेत सुब्बाहरु राणाको षड्यन्त्रलाई चिर्दै प्रजातन्त्रको पक्षमै उभिएका थिए । अन्ततः क्रान्ति सम्पन्न भयो । तिनै १० लिम्बु सत्र थुमका सुब्बाहरुलाई एउटा यस्तो पात्रको खाँचो पर्‍यो जसले उनीहरुले केन्द्र सरकारलाई भन्न खोजेको कुरा ‘खास भाषा’मा भन्न सकोस् । त्यो भाषा ऐतिहासिक, राजनीतिक, भौगोलिक, साँस्कृतिक, भाषिक, आर्थिक र मनोवैज्ञानिक रुपले समेत पल्लो किरात लिम्बुवानको भाषा होस् । त त्यस्तो कामयावी व्यक्तित्व को हुनसक्थ्यो ? निरङ्कुश राणाकालीन अशिक्षाको भूमरीले लपेटेको लिम्बुवानमा दिउँसै राँको बाल्नुपर्ने अवस्था थियो । यसको एउटै निर्विकल्प उत्तर थियो, इमानसिंह चेम्जोङ । त्यसैले लिम्बुवानका सुब्बाहरुको अनुरोधममा सन् १९५३ मा सिक्किमबाट इमानसिंह चेम्जोङको नेपाल प्रवेश हुन्छ ।

सं. २००९ सालमा लिम्बुवानका धनकुटा, ताप्लेजुङ, इलाम र विशेष गरी पाँचथरका आङ्देम्बे, नेम्बाङ र तेह्रथुमका तुम्बाहाम्फे तथा अन्य गन्यमान्य किपटिया सुब्बाहरुको पहलकदमीमा तेह्रथुममा बृहत लिम्बुवान चुम्लुङ (सभा) भयो र अखिल नेपाल लिम्बुवान सुधार सङ्घ गठन भयो । जसको सभापतिमा चुनिए उनै इमानसिंह । सम्पूर्ण लिम्बुवानवासीलाई समेटिएको यस सङ्घको उपाध्यक्षमा गणेशप्रसाल रिजाल र महामन्त्रीमा तेजबहादुर प्रसाइँ थिए ।

सुधार सङ्घले लिम्बुवानका पछौटे र पीडित जाति त्यसमा पनि लिम्बुहरुको हकहितका लागि लड्न, सामाजिक विकृतिमा सुधार गर्दै जान तथा भूमि व्यवस्थाको सम्बन्धमा किपट⁄रैकरसम्बन्धी विवादहरुमा आपसी सहयोग र परामर्श गर्न सरकारप्रमुखसँग भेटघाट गर्ने प्रतिबद्धता जाहेर गर्‍यो । सोही अनुसार इमानसिंहको नेतृत्वमा २००९ साल कार्तिक २५ गते र ०१० जेष्ठ २१ गते राजा त्रिभूवनकहाँ एक स्मृतिपत्र चढाई लिम्बुवान प्रतिनिधिमण्डलले आफ्ना मागहरु प्रस्तुत गर्‍यो । मागहरुमा लिम्बुवान सुधारसङ्घको क्षेत्र महोत्तरी, सप्तरी, झापा, मोरङ, पूर्व १ नम्बर, २ नम्बर, ३ नम्बर, भोजपुर, धनकुटा इलाम आदिलाई समाविष्ट गरिएको थियो । यस क्षेत्रलाई परराष्ट्र फौज, यातायात बाहेकको अधिकार लिम्बुवानलाई हुनुपर्ने स्पष्ट किटान गरिएको थियो । केन्द्रबाट उत्पीडन कायम गरेमा अलग राष्ट्रको रुपमा छुट्टिन सक्ने आत्म निर्णयको अधिकारको सिद्धान्तलाई समेत सुधार सङ्घले आफ्ना मागहरुमा उल्लेख गरेको थियो ।

सं २००२ सालमा पनि लिम्बुवानको ठूलो प्रतिनिधिमण्डल दरबार आएकै थियो । त्यसैले क्रान्ति सम्पन्न हुनेवित्तिकै २००८ सालमै राजाबाट लिम्बुहरुको रीतिथीति थामिबक्सेको लालमोहर भइसकेको थियो, राजाबाट लालमोहर हुनु एउटा ‘इन्डोर्समेन्ट’ अवश्य थियो तर लिम्बुवानको विद्यामान अवस्था कुनै मोहोरले थेगिहाल्ने खालको थिएन । तै बदलिँदो राजनीतिक परिवर्तनमा लिम्बु सुब्बाहरु आफ्नो बचेखुचेको लिम्बुवानी अधिकार सुरक्षित मात्र होइन सुनिश्चित गर्न चाहन्थे तर, स्वयम् क्रान्तिको नेतृत्वकर्ता नेपाली काँग्रेस पार्टी लिम्बुवान र किपटको विषयमा उति सकारात्मक थिएन । नेपाली काँग्रेसका तत्कालीन केन्द्रीय सदस्य प्रेमराज आङ्देम्बेको अनुसार बी.पी.कोइराला तत्काल किपट हरण गर्ने पक्षमा थिएनन् तर अर्को नेता गणेशमान सिंहको भने किपटउपर रोचक टिप्पणी थियो, उनी भन्थे, ‘लिम्बुहरुको किपट भनेको सिसाभित्रको पैसा हो ।’

नेता सिंहको भनाइ कुन अर्थमा सत्य थियो भने भूमिउपर लिम्बुहरुको स्वामित्वलाई कमजोर पार्न राज्यले पटकपटक भूमिनापजाँचका क्रममा किपटको ओइलानीकरण, रैकरण गर्दै लगेको थियो । किपटलाई छिन्नभिन्न पार्नका लागि रु. ३० वा ६० मुरी अन्न चढाएपछि नयाँ ‘तिरुवा सुब्बा’ हुने प्रथा चलाइको थियो । वैरागी काइँलाको सूचना अनुसार २००६ सालसम्ममा तेह्रथुमको माल रेकर्डमा मात्र ४५,०० जना लिम्बुले सुब्बा पदवी पाइसकेका थिए । यसरी लिम्बुवानलाई केन्द्रराज्यले घुमाउरो पारामा खोक्रो बनाइसकेको थियो । यसअवस्थामा अखिल नेपाल लिम्बुवान सुधार सङ्घ लिम्बुवानवासीको आशा र भरोशाको केन्द्र बन्न पुग्यो ।

यसै सुधार सङ्घको नामबाट २०१५ सालसम्म लिम्बुवान हकिअधिकारको लागि ज्यादै ठूलो जनपरिचालन र चेतनाको उभार आएको थियो । यसको श्रेय सुधार सङ्घका महामन्त्री तेजबहादुर प्रसाइँले इमानसिंहलाई नै दिएका छन् । अझ उनले त लिम्बु र गैरलिम्बुबीचको सेतुको संज्ञा समेत पनि दिएका छन् । त्यसबेला सभापतिको हैसियतले इमानसिंह लिम्बुवानका पहाड र तराईसम्मका गाउँगाउँमा सङ्गठन गर्थे । लिम्बुवान प्रतिनिधिमण्डल काठमाडौँ जान र अन्य खर्चका लागि लिम्बुहरुबाट चन्दा सङ्कलन गर्थे । गाउँ–गाउँमा लिम्बुवान सुधार सङ्घका पर्चा वितरण र चुम्लुङहरु हुन्थे ।

२०११ सालमा जेठ २०, २१ र २२ गते इलाममा भएको सुधार सङ्घको दोश्रो सभामा लिम्बुवानका पाँच सयभन्दा बढी सुब्बाहरुको सहभागिता थियो । यही सभाले लिम्बुवान अधिकारका अतिरिक्त खम्बुवान अधिकारलाई समेत समेट्ने निर्णय गरेको थियो । राजाको स्वतन्त्र न्यायालयमाथि हस्तक्षेपको विरोध गर्दै प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सुझावमा गठित तत्कालीन सल्लाहाकार सभालाई विघटन गर्न पनि माग गरेको थियो ।

सुधार सङ्घ विशुद्ध सामाजिक संस्था भनिए पनि यसका माग र साङ्गठनिक भाव राजनीतिक तवरको थियो । जसले २००९ सालदेखि २०१५ सालसम्म लिम्बुवान प्रान्तीय अधिकारका निम्ति शान्तिपूर्ण सङ्घर्षहरु चलायो, इमानसिंह यसको वैचारिक, राजनीतिक, साङ्गठनिक कमाण्डर थिए । उनी लिम्बुवानका लिम्बू र गैरलिम्बु सबैका प्रिय थिए, कतिले सुधार सङ्घलाई ‘साम्प्रदायिक’ सङ्गठन पनि भने तर यसको मूल नारा नै थियो, ‘साम्प्रदायिकता नाश होस् ।’ भलै उनको लिम्बुवान प्रान्तीय राजनीतिक सपनाले आकार लिन सकेन । सुधार सङ्घमा विस्तारै नेपाली काँग्रेसको राजनीति हाबी हुन थाल्यो ।

२०१५ सालको आमनिर्वाचनमा सुधार सङ्घको तर्फबाट इमानसिंहलाई उम्मेदवार बनाउने सुब्बाहरुको प्रयास विफल भयो । बरु सुधार सङ्घकै उपध्यक्ष गणेशप्रसाद रिजाललाई नेपाली काँग्रेसले टिकट दियो र उनी विजयी पनि भए । शायद यो राजनीतिभित्रको राजनीति थियो । ‘हात’ चिन्ह लिएर नेपाल प्रजातान्त्रिक महासभा पार्टीबाट उठे इमानसिंह तर आफ्नै उपाध्यक्षबाट पराजित भए । यसपछि राजनीतिबाट उनले सदाको लागि हात उठाउनुपर्‍यो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि सुधार सङ्घ जस्ता सामाजिक राजनीतिक उद्देश्यले प्रेरित संस्थाहरुमाथि पनि प्रतिबन्ध लाग्यो ।

लिम्बुवान सुधार सङ्घको अभियानले इमानसिंहलाई लिम्बुवानसम्बन्धी ऐतिहासिक कागजात, वंशावली, संस्कृति, लालमोहर आदिको खोजअनुसन्धानमा विश्वास, उत्साह र सहजता दिलाएको थियो । यसैको परिणाम थियो २०१२ सालमा प्रकाशित उनको दोश्रो इतिहासमूलक कृति ‘किरात साहित्यको इतिहास ।’ जुन कृतिले सेन–मकवानकालेदेखि आधुनिक नेपालसम्मको किरात साहित्यको इतिहासलाई सङ्क्षेपमा उजागर गर्दछ । यही समयअवधिमा सिक्किमका भेटिएका भनिएका ‘कुहिएका लिम्बू कागज’ जो अङ्ग्रेज विद्वानहरुले लण्डन इण्डियन पुर्‍याएका थिए, त्यसका करिब १ सय थान र १४ वटा किताबका फोटोकपी लिएर अङ्ग्रेज विद्वान आर.के. स्प्रीङ्ग नेपाल आइपुगे ।

अर्का लिम्बु लिपि ज्ञाता रनधोज नेम्बाङ र इमानसिंहबाट सिरिजङ्गा लिपिमा लेखिएका ती कुहिएको कागजपत्रको फाल्टाफाल्टै अध्ययन हुन्छ जहाँबाट सिरिजङ्गा लिपिमा प्रयोग हुने चुक्सक (अर्ध अक्षर) र केदुम्बा सक् (संयुक्ताक्षर) गरी ११ वटा नयाँ अक्षरहरु पत्ता लाग्छ । सिरिजङ्गा लिपिका लागि यो अति नै महत्वपूर्ण उपलब्धि थियो । यसले सिरिजङ्गा लिपि लेखनमा पूर्णता र मौलिकता पायो । इमानसिंहले यी पत्ता लागेका नयाँ अक्षरहरुको प्रयोग गरी ‘तुम् याक्थुङ निङ्वाभु साप्ला’ नामक पुस्तक निकाल्छन् र सुधार सङ्घकै अभियानमा व्यापक प्रचार प्रसार गर्न पनि भ्याउँछन् ।

आफ्नो लिम्बुवान राजनीति असफल भएको तर गोर्खा लिगमार्फत् राणाहरुले दार्जिलिङबाटै झिकाएका रणधीर सुब्बा त्रिभूवन विश्वविद्यालयको उपकूलपतिदेखि परराष्ट्र मन्त्रीसम्म बनेकोमा इमानसिंहले दुखेसो पोखेको महामन्त्री प्रसाइँले उल्लेख गरेका छन् । यो दुखेसो स्वभाविक थियो । यसले उनीभित्र राजनीति वितृष्णा जागेको ठहर गर्न सकिन्छ । तर, एकातिरको वैरागले अर्कोतिर राग जाग्नु मानवीय स्वभाव नै हो । राजनीतिक डुङ्गा डुबे पनि इमानसिंहले टेक्ने अर्को किरात डुङ्गा तम्तयार थियो, डुङ्गा खियाउने बहाना पनि उनकै हातमा थियो, किरात इतिहास, भाषा, साहित्य तथा लिपिको डुङ्गा । अन्ततः उनी पुरानै डुङ्गामा फर्किन्छन् तर डुङ्गाले दिशा बदल्छ । उनी लिम्बुवान छोडेर काठमाडौँ बस्न थाल्छन् ।

वि.सं. २०१८ सालमा नेपाल सरकारबाट त्रिभूवन विश्वविद्यालयमा किरात भाषा तथा संस्कृति विशेषज्ञको रुपमा नियुक्त हुन्छन् । यसैअवधिमा उनका अत्यन्त महत्वपूर्ण कृतिहरु प्रकाशित भएको पाइन्छ, ‘किरात दन्त्य कथा, (सं २०१८), किरात मुन्धुम (वेद) (२०१८), लिम्बु–नेपाली–अङ्ग्रेजी शब्दकोष २०१८, किरात मुन्धुम खाहुन (२०२३), हिष्ट्री एण्ड कल्चर अफ किरात पिपल (सन् १९६७), किरात दर्शनको सारांश (सं. २०२७), किरात पाठ्य पुस्तक (लिम्बु–नेपाली–अङ्ग्रेजी) (सं.२०२९), किरात व्याकरण (सं.२०२९) र किरातकालीन विजयपुर सङ्क्षिप्त इतिहास (ई.सं. १९७५) आदि । किरात विशेषज्ञको रुपमा १५ वर्षको कार्यकाल पूरा गरेपछि उनी सन् १९७५ सालमा अवकाश जीवन बिताउन फेरि पहाडकी रानी दार्जिलिङको काखमा घुर्ता हुन्छन् । मुटुको व्यथाको कारण सन् १९७६ अक्टुबर २२ तारिखमा उनको देहान्त हुन्छ ।

इमानसिंह आजीवन किरात साहित्य, भाषा, लिपि, मुन्धुम र साहित्यका लागि समर्पित भए । अहिले सिक्किममा उच्चशिक्षासम्म लिम्बु भाषामा पढाइ हुन्छ । सिक्किम लिम्बु भाषा साहित्यका लागि समृद्ध छ । लिम्बु भाषा साहित्य, संस्कृति, मुन्धुम, इतिहास खोजअनुसन्धानको पाटोले नेपालमा यथेष्ट फड्को मारिरहेको छ । सिक्किममा चेम्जोङसँग सङ्गतमा परेका पी.एस मुरिङ्ला, बी.बी. मुरिङ्ला, मनबहादुर खाम्धाक, एस.आर खजुमदेखि बिर्ख पेघा, एचबी खाम्धाक, बल मरिङ्ला हुँदै युवा पुस्तासम्ममा भाषासेवी र साहित्यकारहरुको ताँती छ ।

कालिम्पोङमा जसहाङ मादेन, लक्ष्मण लावती हुँदै नेपालमा वैरागी काइँला, चैतन्य सुब्बा, विक्रम सुब्बा, थाम्सुहाङ पुष्प सुब्बा, येहाङ लावती, मञ्जुल याक्थुङ्बा, अमर तुम्याहाङ, अर्जुन माबुहाङ, आइत खजुम, मलिसा याक्थुङ्बा लगायत दर्जनौँ लिम्बु लेखकहरु छन् । यसलाई कालिम्पोङबाट शुरु भएको इमानसिंहको किरात भाषा, लिपि तथा साहित्य पुनर्जागरणको प्रतिफल मान्नुपर्ने हुन्छ ।

इमानसिंहले आजीवन एउटा झुटो आरोप पनि खेप्नु पर्‍यो– इसाइको । हो, उनका बुबा इसाइ धर्मावलम्बी थिए । बुबा इसाइ भएकै कारण इमानसिंहलाई इसाइको पगरी गुथाएर उनको कार्यलाई विषयान्तर गर्ने प्रयास भइरहेका छन् । डा. स्वामी प्रपन्नाचार्यले एक ठाउँमा लेखेका छन्, ‘इमानसिंह ईसाई धर्म प्रचार गर्न नै कालिम्पोङबाट नेपाल पसेका हुन् ।’ धर्म व्यक्तिगत मामिला हो तर किरात धर्म परिवर्तन गरेर हिन्दू बनेका स्वामीजीले शायद अरुलाई पनि आफू जस्तै देखेका मात्र हुन् ! किनभने इमानसिंह इसाइधर्मी नभएर युमाधर्मी थिए । प्रत्येक विहान युमाको सेवा गर्थे । परिवार इसाइधर्मी भएकाले मात्र उनको अन्त्येष्टि इसाइ परम्परा अनुसार गरिएको थियो । यसबारे पी.एस. मुरिङ्लाले एकठाउँमा लेखेका छन्, ‘त्यसबेला ओछ्यान परेका इमानसिंहले भन्नुभयो, म मरेँ भने लिम्बू रीतिअनुसार चिहान बनाई मेरो शव राखेर कपुरखाना बनाइदिनू अनि लिम्बू रीतिअनुसार नै चारदिनमा नुन तेल गरी मेरो बरखी गरिदिनू ।’ तर उनको त्यो इच्छा पूरा हुन पाएन ।

इमानसिंहको पूरा हुन नसकेको अर्को इच्छा थियो लिम्बु प्रेस । इमानसिंहसँग लामो समयसम्म निरन्तर पत्राचार तथा भेटघाट गरेका साहित्यकार येहाङ लावतीका अनुसार लिम्बु भाषा र लिपिको प्रचार बढ्दै गएपछि शिरिजङ्गा लिपिको छापाखाना खोल्ने महसुस भयो । तर, त्यसको लागि अत्यन्तै महङ्गो खर्च हुने भएकाले इमानसिंहकै सल्लाहबमोजिम लिम्बु लिपिको टाइप बनाउन रु. १३ हजार चन्दा उठाएर बनारसमा अर्डर दिइयो । फ्रेमसहित ब्लकहरु तयार भएर नमूनाहरु पनि आइसकेको थियो तर सोहीसमयमा इमानसिंहको पनि देहान्त भएको थियो र प्रेसको सपना पनि तुहिएको थियो ।

अन्त्यमा, साहित्यकार वैरागी काइँलाका शब्दमा ‘समग्र विश्वमा किरात वंश तथा विविध किरात जातिहरुको परिचय गराउने ठूलो काम चेम्जोङले गरेका छन् । नेपाली मूलका विद्वानहरुमा किरात शब्द, भाषा, संस्कृति र धर्मका कुरा विश्वसामु पुर्‍याउने पहिलो व्यक्ति उनै हुन् भन्दा अत्युक्ति हुँदैन ।’ त्यसो त चेम्जोङकृत इतिहासमा रहेका छुटफुट गलत तथ्यहरुमा अडेस लागेर किरात इतिहासमाथि नै शङ्का गर्ने नेपाली विद्वानरु पनि नभएका होइनन् ।

चेम्जोङको योगदानको कदर गर्दै प्रा.डा. नोबलकिशोर राई एकठाउँमा लेख्छन्, ‘उहाँले फोर्नुभएको पटबाँझो कति चाम्रो हो भन्ने कुराको आज अनुमान मात्र लाउन सक्छौँ हामी । आज हाम्रो कर्तव्य भनेको फोरिएको बाँझो दोहोरो तेहोरो चास्ने र छेउकुनाका राँटाहरु मिलाउने जिल्याउने काम नै हो ।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com