Setopati

अमेरिकामा महजात्रालाई विवादमा ल्याउने को थिए?
[2014-12-26 오후 8:58:00]

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिका र क्यानाडामा सम्पन्न तीन महिना लामो महजात्रालाई केही व्यक्तिले संघीयता र जातीयताको विरोधीका रूपमा प्रस्तुत गर्न कोशिस गरेका थिए ।

आखिर ती को थिए त ? कुनै जनजाति संगठन वा त्यसमा आवद्ध व्यक्ति थिए। ‘ती मेरै जातका मान्छे थिए,’ भ्रमण पूरा गरी नेपाल फर्केपछि कलाकारद्वय, अन्य सहयोगी कलाकार र परिवार सदस्यको सम्मानमा पत्रकार कनक दीक्षित र शान्त दीक्षितले आयोजना गरेको कार्यक्रममा हरिवंशले हँसाउँदै भने, ‘बिगारेको जातीय पार्टीहरूले होइन बाहुनहरूले हो ।’

जातीय सद्भाव र एकताका निम्ति नेवार समुदायका मदनकृष्ण बाहुनबहादुर र बाहुन समुदायका हरिवंश नेवारबहादुर बनेर उनीहरूले महजात्राको प्रमुख आकर्षण पस्केका थिए । काठमाडौंमा प्रदर्शन गरिसकेको यो कार्यक्रम अमेरिकामा पुगेपछि भने विवादास्पद बनाइएको थियो । महले दिएको जानकारी अनुसार न्यूयोर्कको कार्यक्रममा टिकट बिक्री नभएको खबर पाएपछि आयोजकहरूकै सल्लाहमा जनजाति संगठनका व्यक्तिहरूलाई भेटेका थिए ।

हरिवंशले उनीहरूकै सल्लाहमा विज्ञप्ति जारी गरेपछि भव्य सहभागिता भएको थियो । त्यतिमात्र होइन जनजातिकै व्यक्तिहरूले दुबैलाई कार्यक्रमपछि मोटरसम्म पु¥याउने, नाटकका सामग्रीहरूलाई बोकेर लोड गरिदिने काम गरेका थिए । महलाई विवादमा तानेपछि जनजातिकै व्यक्तिहरूले विज्ञप्ति समेत जारी गरेको जानकारी उनीहरूले दिए ।

अमेरिकामा ८३ दिनसम्म ३४ वटा कार्यक्रम गर्न सफल महजोडीका निम्ति यो निकै थकानपूर्ण यात्रा भए पनि फर्केर आएपछि यस्तै कार्यक्रम गर्न फेरि आँट नआउने मदनकृष्णले बताए । पार्किन्सनको उपचारपछि महजात्रा लिएर काठमाडौंका मञ्चमा देखिका मदनकृष्णका निम्ति अमेरिका र क्यानाडाका यी कार्यक्रम पनि उत्तिकै प्रभाव छोड्न सफल भएको छन् ।

आफूहरूलाई अनावश्यक विवादमा तान्न खोज्ने र कार्यक्रममा दर्शकले स्वतःस्फूर्त उभिएर तालीले स्वागत गर्दा समेत यस्तो गर्नु आवश्यक छैन भनी केहीले लेखेको उदाहरण पनि महले प्रस्तुत गरे । नेवारबहादुर र बाहुनबहादुरजस्तो कार्यक्रम आफूहरूले जातीय सदभाव कायम गर्नैका लागि गरेको र कार्यक्रम हेरिसकेपछि जनजाति संगठनका व्यक्तिहरूले समेत ठूलो प्रशंसा गरेको उनीहरूले बताए ।

हरिवंश आचार्य: काठमाडौंभन्दा बढ्ता राजनीति न्यूयोर्कमा

हामीले हामीले कार्यक्रम जातीय सद्भाव र एकताका निम्ति गरेका थियौं । हामी जहिल्यै मिलेर बसेका छौं । म सानो हुँदा ‘ए बाहुन’ भनेर होच्याउँथे । म नेवार साथीहरूलाई पनि ‘ए नेवार’ भनेर बोलाउँथे ।

त्यो हाम्रो एक किसिमको लोक परम्परा हो । बाहुनलाई ‘काठा’ भन्छन् । नेवारलाई ‘खर्पन’ पनि भन्छन् । सानोमा प्रयोग गरेका लोक शब्द राखेर हामीले बाहुनबहादुर र नेवारबहादुर बनायौं ।

त्यो कार्यक्रमको मुख्य सन्देश जातीयताको कुराले कसैको पनि भलो हुँदेन र यसले विखण्डनतिर लैजान्छ भन्ने हो। त्यसलाई कुनै–कुनै मानिसले गलत ब्याख्या गरेर मह जोडीले संघीयता र जातीयताको विरूद्धमा कार्यक्रम आयोजना गर्न लागे भनेर वेब साइटमार्फत् हल्ला फैलाएका थिए ।

न्यूयोर्कमा प्रधानमन्त्री (सुशील कोइराला)ले भन्नु पनि भएको रहेछ– ‘यहाँ म भन्दा पनि जान्ने धेरै नेताहरू छन्।’ प्रधानमन्त्रीले एक जनालाई गाली गर्दै तिमी जान्ने भए आफैं संविधान बनाऊ न त पनि भन्नु भएको रहेछ । बाबुराम भट्टराईलाई पनि कालोझण्डा देखाएका रहेछन् । उहाँले पनि भन्न भएको रहेछ, ‘मैले देखेदेखे बस्नुहोस् (हाँसो) ।’

काठमाडौंभन्दा पनि बढी नेपालीहरूको राजनीति हुने ठाउँ न्यूयोर्क हो । त्यहाँको ससानो संगठनले यहाँका पार्टीलाई पैसा पठाउँदा रहेछन् सहयोगका रूपमा । त्यहाँ भातृसंगठनहरू खोलेका रहेछन्। त्यो संगठनले सहयोग गरेबापत यहाँका प्रधानमन्त्री र मन्त्रीले उहाँहरूलाई एकदम ठूलो ‘प्ल्याटफर्म’ दिनु हुँदो रहेछ ।

काम सानोठूलो हुँदैन । सबै काम राम्रै हुन्छ । तर, त्यहाँ जस्तोसुकै काम गने भए पनि प्रधानमन्त्रीलाई सीधै फोन गर्नु पाउनु हुँदो रहेछ कहिलेकाहीं १०÷२० हजार डलर फण्ड पठाए बापत ।

मैले यो अहिलेको प्रधानमन्त्री (कोइराला)लाई भन्न लागेको होइन । पहलेदेखिकै यस्तै परम्परा रहेछ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री जसलाई पनि त्यहाँका संगठनहरूले फोन गर्न, कुरा राख्न सक्ने वातावरण रहेछ । त्यहाँ त्यही किसिमले नेपाल हामीले नै चलाएका छौं भन्ने भ्रम पनि रहेछ (हाँसो) ।

मैले जोसँग पनि कुरा गर्न सक्छु । मेरो पहुँच यति छ, हामीले हामीले भनेको नेपालका राजनीतिक व्यक्तिहरूले सबै मान्छन् भन्ने भ्रम पनि त्यहाँ छ । त्यसले पनि काम गरिरहेको छ एकदुई जनामा ।

हामीले संघीयता र जातीयताको विरुद्धमा कार्यक्रम गर्न लाग्यो भनेर न्यूयोर्कमा हाम्रो कार्यक्रमको टिकट ठ्याप्पै बिक्री भएन । हल बुक भइसक्यो । आयोजक अलि आत्तिए । आयोजकहरू अलि बढी क्षेत्रीबाहुनहरू थिए र हिन्दू मन्दिर बनाउन सहयोगार्थ भनेर त्यो कार्यक्रम गरिएको थियो ।

आयोजकमा विशेषग गरी बाहुनहरू बढी भएकाले उनीहरूको आयोजनामा जातीयताको विरोधमा कार्यक्रम गर्ने भन्ने हल्ला भएपछि टिकट किन्ने मान्छेहरु अलि सशंकित भएछन् । त्यसपछि आयोजकहरू आत्तिनु भयो ।

मदनदाइ र म छुट्टाछुट्टै घरमा बाँडिएर राति बसेका थियौं । मदन दाइ सुत्न गइसक्नु भएको थियो । आयोजकले भोलिको प्रदर्शनी भए पनि टिकट विक्री नभएको र विभिन्न हल्ला फैलिइरहेको जानकारी दिँदै जातीय पार्टीहरूसँग बैठक गर्न पाए हुन्थ्यो भन्नुभयो । राति १२ बजे मैले उसो भए बोलाउनुहोस्म कुरा गर्छु भनेपछि उहाँहरू राति १ बजे आउनुभयो।

आइसकेपछि मैले कुरा गरेँ । हाम्रो उद्देश्य जातीय सदभाव, राष्ट्रिय एकता र सदियौंदेखि नेपालीहरू मिलेर बसेको कुरालाई नबिथलौं, नेताहरूले विखण्डनतिर लगे पनि हामी त्यतातिर जानु हुँदैन भन्ने बताएँ ।

हाम्रो उद्देश्य बताइसकेपछि उहाँहरूले भन्नुभयो, ‘दाइले एउटा प्रेस विज्ञप्ति दिनुभयो भने राम्रो हुन्थ्यो ।’ विज्ञप्तिअनुसार आफूहरूले संगठनका साथीहरूलाई सम्झाउन पाउथ्यौं भनेपछि मैले सबै जातजाती भाषाभाषीहरूको पहिचान, राष्ट्रिय एकता र जातीय सदभावको पक्षमा कार्यक्रम गरेको हो भन्दै विज्ञप्तिमा यस कार्यक्रमबारे अरूले गलत व्याख्या गरे भने पनि भ्रममा नपर्न आग्रह गर्छु भनेँ । उहाँहरूले विज्ञप्तिलाई आफ्नो वेबसाइटमा राख्नुभयो।

जातीय पार्टीहरूले होइन, म के भन्छु भने बाहुनहरूले बिगारेको हो (हाँसो)। त्यहाँ पत्रिका चलाउने धेरैजसो मेरै जातका मान्छे थिए (हाँसो) । अनि मेरै जातका मान्छेहरूले महजोडीलाई रातारात कागज गराइयो भनेर लेखे (हाँसो) ।

आजभन्दा चार वर्षअगाडि मदनबहादुर हरिबहादुर, आमा र थुप्रै सामाजिक सन्देश बनाएका थियौं। त्यसको मुख्य प्रायोजन गर्ने युएसएड अन्तर्गतको केमोनेक्स भन्ने एउटा संस्था थियो। केमोनेक्सले नेपालका धेरैवटा मिडियामा आउने कार्यक्रमलाई प्रायोजन गरेको थियो । हामीले पनि टेलिफिल्महरु बनाउन पैसा नपुग्ने भएकोले प्रायोजनका निम्ति माग गरेका थियौं ।

मदनबहादुर हरिबहादुर र आमा र शान्ति प्रक्रियासम्बन्धी विज्ञापनलाई उसैले लगानी गरेको हुनाले हामीले त्यहाँ कार्यक्रम गरेका थियौं। त्यो बेला केमोनेक्समा काम गर्ने एउटा मान्छेले योयो संस्थाले यतियति पैसा लिएको छ भनेर उनीहरूको संगठनको विरूद्धमा वेबसाइटमा राखिदियो ।

हामीले हाम्रो कार्यक्रम बनाउन हस्ताक्षर गरेका छौं । त्यसमा हामीले कर तिरेका छौं । उनीहरूले हाम्रो त्यही कागज भेट्टाएछन् । मेरै जातका मान्छेहरूले (हाँसो) मह जोडीलाई संघीयता र जातीयताको विरुद्धमा काम गर्न पाँच करोड रुपैयाँ दिएको प्रमाण यही हो भनेर वेबसाइटमा राखेछन् । तर, त्यो चार वर्षअगाडि गरेको कार्यक्रम हो। उनीहरूले त्यो किसिमको भ्रम फैलाएको थिए ।

यो घटनापछि जातीय पार्टीहरूले पनि एकदमै चित्त दुखाए । भोलिपल्ट हाम्रो कार्यक्रम हाउसफुल भयो । टिकट बिक्री भयो । हामीले न्यूयोर्कमा दुईवटा प्रदर्शनी ग¥यौं । कार्यक्रम हेर्नलाई जनजातिहरूकै बाहुल्य थियो। अझ कार्यक्रम सकिएपछि जनजातिहरूले हामीलाई गाडीमा लगेर राखिदिने, ड्रामाको सुटकेस समेत ओसारिदिएर सहयोग गर्नुभयो। उहाँहरू एकदम खुसी हुनु भएको थियो। र, भोलिपल्ट पनि फेरि हामीले प्रदर्शन ग¥यौं।

महलाई कागज गराए भन्ने कुरा मिडियामा आइसकेपछि जनजातिहरूले खण्डन गर्नु भएको थियो । महजोडीको त्यसमा अलिकति बखान पनि गर्नु भएको छ । महलाई सहयोग गरेका छौं र उहाँहरूसँग कुनै भ्रम छैन भनेर पनि उल्लेख गर्नुभएको थियो । जसले त्यो गरेको हो त्यसपछि खेद व्यक्त गर्छौं भनेर पछि विज्ञप्ति पनि निकाल्नुभयो । हामीले यो विषयलाई चलाइराख्नु उपयुक्त ठानेनौं ।

नेपाल फर्केर आएपछि धेरै मानिसले यो विषयमा के भएको हो भनेर सोधिरहनु भएको छ । आज थुप्रै मानिस यहाँ उपस्थित हुनु भएको छ । यही भएको थियो भनेर लेखिदिनु भए हुन्छ (हाँसो) ।

मदनकृष्ण श्रेष्ठ: मानव तस्करी गर्न आएका पनि भने

खासै भन्नु पर्ने केही छैन । हरिबंशले भन्दा पहिले मैले बोलेको भए यही भन्ने हो (हाँसो)। अमेरिका यसपटक धेरै घुमियो । गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेको रवि लामिछाने भाइले आयोजना गरेको यो कार्यक्रम हाम्रा लागि गिनिज बुकमै राखेको जस्तो भयो ।

अमेरिका र क्यानडामा ३४ ठाउँमा कार्यक्रम गर्न मलाई त फेरि आँट आउँदैन । त्यत्रो कार्यक्रम होलाजस्तो लागेको थिएन । थपिँदा थपिँदा कहाँकहाँ गरियो गरियो । त्यो ३४ ठाउँमा कार्यक्रम गर्नु भनेको आज काठमाडौंमा, भोलि नेपालगन्जमा, पर्सि झापामा, त्यसपछि बर्मामा, त्यसपछि बैंककमा, सिंगापुरमा, कोरियामा अर्को फेरि जर्मनमा भनेको जस्तो भयो ।

दिमागै चक्कर खाने किसिमको कार्यक्रम गरियो । सबैतिर कार्यक्रम सोल्डआउट भएको छ । सबैतिर नेपालीहरू यति भीडभाडका साथ भेट भयो । त्यत्रो नेपाली यो देशमा बेरोजगार भएर बसेको भए काटामार पनि हुन्थ्यो कि जस्तो पनि लाग्यो ।

सबैतिर राम्रो सदभाव पायौं । धेरै ठाउँमा सामाजिक कामका निम्ति रकम संकलनको काम पनि भयो । सामाजिक कार्यकर्ताहरूसँग हामो सामिप्यता बढ्न गयो । त्यत्रो ठाउँमा कार्यक्रम ग¥यौं सबैबाट माया र सद्भाव पाइरहेका थियौं तर त्यो बासिङटन र न्यूयोर्कमा जाँदाखेखि पहिल्यैदेखि कहिले यिनीहरूले स्वास्नी छोराछोरीलाई (अमेरिका) देखाउन ल्याएको भन्छन् । कहिले यिनीहरुको कार्यक्रम स्तर छैन भन्छन् । अझ यसपटक त मानव तस्करी गर्न आए भनेर पनि लेखे (हासो) ।

जानुभन्दा एक साता अगाडि नै मानव तस्करी गर्न आउँदै छन् भनेर लेखे । अन्यत्र कार्यक्रम गरुञ्जेल केही छैन न्यूयोर्कमा कार्यक्रम हुँदा महजात्राको टिकट एकदम महँगो भयो पनि भने । कतिपय ठाउँमा हाम्रो कार्यक्रममा स्ट्याण्ङि ओवेसन (उभिएर सम्मान प्रकट गर्ने काम) पनि भए । दर्शकहरू सबैले उठेर ताली बजाएका छन् ।

तिनीहरूको लागि किन उठ्नु प¥यो भनेर पनि छापेका छन् (हासो) । यो उनीहरूको काम हो उठ्नु पर्दैन भनेर पनि छापे । केके हो केके यो सब ? हामीले नराम्रो काम गरेका छैनौं भन्नेमा ढुक्क छौं । जातीय सदभाव राख्ने काममा अगाडि बढिरहेका छौं ।

देशमा जातीय गोलमाल गराउने स्थिति देखिएको हुनाले हामी त्यो चिजमा सतर्क भयौं । पहिलादेखि नै सार्वजनिक सचेनताको कार्यक्रममा लाग्यौं । जातीय एकताको बिम्ब बन्न पाए हुन्थ्यो भनेर हामी दुई जनताले ३४ वर्षदेखि काम गर्दै आयौं । त्यही चिजलाई हामीले कार्यान्वयन गर्न खोज्यौं । जातीय एकताको काम गर्दा स्वाभाविकरूपमा यस्तो कुरा आउन सक्छ भनेर हामीले सहजरूपमा पनि लियौं ।

त्यसमा पनि नेवारबहादुर बाहुनबहादुरमा पनि हामीले बाहुनलाई नै बढी व्यंग्य गरेका छौं । नेवारलाई केही भन्ने बेलामा हामी सतर्क पनि भएका छौं । ऊ (हरिवंश) नेवार भएको छ म बाहुन भएको छु । झुक्किए ए नेवार भन्नु पर्नेमा बाहुन पनि भनिएको छ ।

कार्यक्रममा बाहुनहरूलाई मज्जाले भनेका छौं । कहिलेकाहीं हामी यसो छलफल गर्छौ– हुन पनि जताततै बाहुनहरू छन् । देश बिगार्ने बाहुन, मान्छे मार्ने पनि बाहुन, त्यसलाई समात्ने पुलिस पनि बाहुन, न्यायाधीश पनि बाहुन, प्रधानमन्त्री पनि बाहुन, ब्यूरोक्रेसीमा पनि बाहुन, मुख्य सचिव लीलामणि पौडेल पनि बाहुन, मदनकृष्ण श्रेष्ठको साथी हरिवंश पनि बाहुन, मेरी श्रीमती पनि बाहुन (हाँसो) ।

छोराछोरी आधी बाहुन आधी नेवार

मदनकृष्णले जताततै बाहुन प्रशंग सुनाउँदै ‘मेरी श्रीमती पनि बाहुन’ भन्ने वाक्य भुइँमा नखस्दै हरिवंशले थपे– ‘छोराछोरी आधी बाहुन आधी नेवार ।’ त्यही भएर बाहुन पति र नेवार पत्नीका सन्तानमा जातीयताको कुनै रंग नभएको र उनीहरू बढी समझदार भएको ठान्छन् मदनकृष्ण ।

आमाको भाषालाई जय! बाको भाषालाई जय!!

मदनकृष्णले फेरि आफ्नो अनुभव अघि सार्दै भने– नेवारी कार्यक्रम हुँदा मेरो अरु साथीहरूले जय माइभ्या (मातृभाषा) भन्छन् । मेरो छोराले भने जय बाभ्या (बाको भाषा) भनेर आउँछ । अन्तरजातीय विवाह गरेर मैले राम्रै काम गरे भन्ने लाग्छ । किनभने मेरो छोराछोरीमा जातीय कट्टरताबाट माथि उठेका छन् । सबै जातलाई सम्मानका रूपमा हेर्छन् ।

पहिले पहिले सानो हुँदा मेरो परिवारमा पनि केहीमा कट्टरता थियो । उनीहरूले छोराछोरीलाई ख्य्ँ (खस) भन्दा जुरुक्क उठेर हिड्थे । त्यस्तै आमाको माइतीमा केही कट्टर व्यक्तिले ‘न्यार’ भन्दा पनि यिनीहरूको स्तर यति नै रहेछ भनेर फर्केर आउँछन् । भनेपछि अरु ठूल्ठूलो मान्छेको भन्दा यिनीहरूको दिमाग बिकसित रहेछ भनेर खुसी लाग्छ ।

त्यो नेवारबहादुर बाहुनबहादुर पनि हामीले जातीय एकताको निम्ति गरेको हो । जातीय सद्भाव हुनुपर्छ । जातीय सद्भाव भएन भने देशमा राम्रो हुँदैन । संसारमा जाती र धर्मको कारणले युद्ध भइरहेको छ । मान्छे मरिरहेका छन्, मारिरहेका छन् । सबै हामीले देखिरहेका छौं । यो चिज हाम्रो देशमा नआओस् भनेर गर्दा रीस गर्छन् भने गरिरहुन् । आज नभए भोलि बुद्धि आउला । आज पनि बुद्धि नआए जुनबेला रक्तपात होला त्योबेला बुद्धि आउला । त्यो नहोस् भनेर सतर्क गराउने काममा हामी लागेका छौं ।

अमेरिकामा धेरै धपेडी पनि भयो । शुक्रबार, शनिबार, आइतबार तीन दिन कार्यक्रम हुने बेलामा शुक्रबार र शनिबार हामीलाई एकदम गाह्रो हुन्थ्यो । राति कार्यक्रम ग¥यो, फक्र्यो । कार्यक्रमपछि फोटो खिच्नेको घुइँचो हुन्थ्यो । त्यसपछि डिनर खायो । राति २ बजे सुत्यो । चार बजे उठ्यो, पाँच बजे एअरपोर्ट पुग्यो, छ बजे फेरि नयाँ ठाउँमा पुग्यो । दिउँसो एकछिन यसो खाना खाएर सुत्ने । उठेर फेरि स्टेजमा गइहाल्ने । त्यस्तो त कतिचोटी भयो भयो ।

हाम्रो क्यामेरा पर्सन गौरीशंकर ध्वजुलाई पहिलोपटक घुमाउन लगेको उसको लागि अमेरिका भनेको त सबै बाटो मात्रै रहेछ । उसले अरु केही देखेन बाटैबाटो मात्र । हामी चाहिँ धेरै घुमिसकेको हुनाले घुम्न मन नलाग्ने उनीहरूलाई घुम्नु पर्ने । हामीहरू अल्छी गर्ने उनीहरूका लागि भने अमेरिका भनेको बाटो, साइनबोर्ड र ससाना गाउँका घर थिए ।

जेहोस् राम्रो भयो । यसपटक दशैं तिहार उतै मनाइयो । दशै हेम पाठकको घर अस्टिनमा मनाइयो । राम्रो मनाइयो । थुप्रै मानिससँग भेटघाट भयो । छोरीकै घरमा दाजु बहिनीले तिहार मनाउन पाए । जताततै माया पायौं । यो हामीले तपाईंहरूसँग बाँड्न पनि पायौं ।

बाहुन कलाकार छन्, जेपायो त्यो भन्लान्

हरिबंशका अनुसार, क्यानडाको कार्यक्रम आयोजक एकजना शेर्पा रहेछन् । ‘एउटा एसएमएसमा आएको रहेछ,’ उनले भने, ‘बाहुन कलाकारहरू छन् जेपायो त्यही भन्लान विचार गर्नु है भनेको रहेछ ।’

अमेरिका र क्यानाडाका रोकक यात्रा वृतान्त र जातीय विद्वेषको राजनीति गर्न खोज्नेहरूका व्यवहार सुनेपछि पत्रकार कनक दीक्षितले भने अहिलेको अप्ठ्यारो बेलामा एउटा नेवारले बाहुन र बाहुनले नेवारको भूमिका खेलेर मल्हम लगाउन खोजेको रुपमा चित्रण गरे ।

‘हामी संक्रमणकालको सामान्यीकरणतिर कुनै न कुनै किसिमले पुगिरहेका छौं,’ उनले भने, ‘सकारात्मक हिसाबले हेर्ने हो भने गतिशील समाजमा त्यस्ता कुरा कुनै न कुनै किसिमले निस्किहाल्छन् ।’

कलाकारका रूपमा दुबैजनाले मञ्चमा भूमिका निर्वाह गर्दा र त्यसपछि पनि व्यक्तिहरूसँगको भेटमा सामना गर्दाको अप्ठ्यारो बुझ्न सकिने भएको दीक्षितले बताए । ‘पहिचानको सन्दर्भमा यति गाह्रो छ कि तपाईंहरूले मात्र यसको सामना गर्न सक्नुहुन्छ,’ उनले भने, ‘तपाईंहरूको जय होस् ।’

यात्रामा मह बाहेक कलाकार किरण केसी र शिवहरि पौडेल, वशुन्धरा भूसाल, मोहितवंश आचार्य, रमिला आचार्य, गौरीशंकर ध्वजू र यमन श्रेष्ठ थिए । किरण र शिवहरिले उनीहरूलाई यात्राभरि हँसाएका थिए ।

किरणको अनुपम अनुभव

मदनकृष्णका अनुसा, किरण तत्काल जवाफ दिन सक्ने प्रत्युत्पन्न मतिका छन् । उनले किरणसम्बन्धी सुनाएको एउटा प्रशंग यस्तो छ ः
१५ गते सुटिङ गर्दाखेरी हामी यहाँबाट गाडी रिजर्भ गरेर बिराटनगर गएका थियौं । ठ्याक्क राजाको बर्थडे पुस १४ को दिन परेको थियो । त्यो बेला ढल्केबरमा बस रोकियो । यसो हेर्दा त्यहाँ एउटा मेचमा राजाको फोटा राखिराखेको थियो । अनि सुन्तला, केरा चढाएर धुप पनि बालिराखेको थियो ।

किरणलाई त्यो राजालाई चढाएको सुन्तला खान मन लागेछ । त्यहाँ एकजना सिपाही पनि बसिरहेको थियो । त्यो सुन्तला म लिएर आऊँ भन्यो । ‘हुन्छ’ भनेपछि ऊ सरासर गएर पहिला राजाको फोटोलाई नमस्कार ग¥यो । तीन पटिक घुम्यो । र, नमस्ते गरेर त्यहाँको सुन्तला पनि ल्यायो ।

किरणका निम्ति महसँगको यो यात्राको बेग्लै महत्व छ । उनले २२ सय जना अट्ने ठूला हलदेखि ४ सयजना अट्ने हलसम्ममा कार्यक्रम हेरे । प्रत्येक ठाउँमा उद्घोषकले महको नाम लिएपछि एक मिनेटसम्म उठेर ताली पिट्दा उनलाई गर्वको अनुभव हुन्थ्यो । उनका आँख रसाइरहेका हुन्थे ।

‘महको टिकटलाई एक सय डलर तिरेर आएका व्यक्तिले त्यसो गर्नु जरुरी थिएन,’ किरणले भने, ‘त्यो बेला मलाई के अनुभव भयो भने मसँग एउटा सिंगो नेपाल छ ।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com