कमल कोइराला

काश्मिर अड्केको छ: नेपालतिर मुख नबाऊ
[2014-12-03 오후 9:58:00]

महामहिम नरेन्द्र मोदी ,प्रधानमन्त्री भारत, नयाँदिल्ली ,तपाईं दोस्रोपटक काठमाडौं आई नयाँदिल्ली फर्कनुभयो । मैले यो खुलापत्र लेख्नुभन्दा पहिला तपाई यहीँ काठमाडौं हुँदाहुँदै केही नेपालका दैनिक र साप्ताहिकहरूले लेखेका कुराहरू पढें ।

तपाईले पहिलोपटक वि.सं.२०७१ को असार(सन् २०१४ को अगस्ट)मा नेपालको संसदलाई सम्बोधन गर्दै बोल्नुभएको कुराले धेरै नेपालीको मनलाई धेरै नै राम्ररी छोएको थियो र तपाईप्रति ठूलो विश्वासको संचार पनि माथिदेखि तलसम्म सबै नेपालीमाझ भएको थियो । सँधैजसो भारतको सरकारको आलोचना गर्ने पत्रपत्रिकाहरूले समेत तपाईप्रति राम्रो भाव देखाउँदै लेख्न थालिसकेका थिए । भारत सरकार र यसका गुप्तचर एजेन्सीहरूप्रतिको अविश्वास र शंका त्यसबखत धेरै मात्रामा हटेको तथ्य तपाईलाई पनि राम्ररी अवगत भएकै हुनुपर्छ । किनभने नेपालमा दुईजनाले कानेखुसी गर्दा पनि भारतका प्रशस्त कानहरू छन्, जुन नयाँदिल्ली पुगिहाल्छ ।
यसपटक सत्र बर्ष पहिले आईके गुजराल आउँदा नै बन्ने भनिएको ट्रमा सेन्टर बनेर पनि कयौं बर्ष बितेपछि यसपटक बल्लतल्ल नेपाल सरकारलाई हस्तान्तरण गर्ने अवसरमा नेपालका प्रधानमन्त्री र संसदका सभामुख र संविधान निर्माण गर्ने संविधानसभाको प्रमुखहरूका सामु जुन कुरा भन्नुभयो त्यसबारे भारत र नेपालका समाचारपत्रहरूमा छापिएका केही अंश महामहिम समक्ष साह्रै विनम्रतापूर्वक प्रस्तुत गर्दैछु ।

भारतको प्रसिद्ध दैनिक अंग्रेजी अखबार ‘द हिन्दू’ मा दमकान्त जैसी र सुहासिनी हैदरको तपाई काठमाडौंमा रहँदारहँदै १० गते मंसिर २०७१ (२६ नोभेम्बर २०१४) मा प्रकाशित संवाद अनुसार अरु त अरु जुन एनेकपा(माओवादी)लाई खुसी पार्न वा उचाल्न तपार्इंको ट्रमा सेन्टरको सम्बोधनमा माओवादी भनेर विशेष रुपले नाम लिनुभयो त्यही पार्टीका ठूला नेता राम कार्कीले समेत ‘द हिन्दू’लाई तपाईको भनाइबारे भन्नुभएछ–‘उहाँले केवल संविधान लेखनको काममा अबेर हुनु राम्रो हँुदैन भन्नेसम्मको कुरामा आफ्नो टिप्पणी सीमित राख्नुपर्दथ्यो, किनभने विशेषगरी यसबेला जुनबखत दुईवटा राजनीतिक पक्ष नयाँ संविधानका विषयवस्तुमा लडिरहेका छन् ।’तपाईको ट्रमा सेन्टरको सम्बोधनमा नाम लिइएको मधेशीहरूको आफूलाई मसिहा भन्ने जनअधिकार फोरमका नेता उपेन्द्र यादवले भने भारतका प्रधानमन्त्रीको यो भनाइको स्वागत गर्दै भन्नुभएछ –‘उहाँले ठीक कुरा भन्नुभयो, हामीहरूले सँधै संविधान सहमतिले बन्नुपर्छ भन्दै आएका छौं ।’

नेपाली कांग्रेसको कार्यसमितिका सदस्य र सभासद् डा.शेखर कोइरालाले अनुभव गर्नुभएछ कि मोदीले यो कुरा प्राइभेटमा भन्नुपर्ने थियो । मोदीको यो टिप्पणीपछि विरोधी दलहरू उचालिएको मनस्थिति(अपबिट) हुनेछन् । ‘द हिन्दू’ले नेकपा एमालेका शंकर पोखरेलको भनाइ पनि छापेको छ–‘सहमति आदर्श लक्ष्य हो तर मतदानबाट निर्णय हुने कुरा लोकतान्त्रिक र संविधानसभाको सार्वभौम अधिकारको कुरा हो ।’

मैले त्यसपछि मंसिर ११ गते बिहीबार तपाईं काठमाडौंमै छँदा नेपालको एउटा दैनिक कान्तिपुरको सम्पादकीय पनि पढें । शीर्षक छ –‘मोदीका राजनीतिक सुझाव’ । यसमा लेखिएको छ –‘भारतीय प्रधानमन्त्री मोदीको आगमनका अवसरमा दुई देशबीचका आपसी सहयोगका पंक्तिमा दश सम्झौताहरू भएका छन् ….. । थुप्रै क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल हुनु नेपाल र भारत सम्बन्ध सुदृढीकरणको दृष्टिकोणले सकारात्मक छ ।’ तर, तपाईको ट्रमा सेन्टरको सम्बोधनबारे सम्पादकीयमा लेखिएको छ–‘सहमति बाहेक कुनै पनि बाटोबाट संविधान लेख्दा नेपालले नयाँ संकटको सामना गर्नुपर्ने चेतावनीजन्य टिप्पणी पनि उनीबाट आएको छ । सहमति जुटाउन दलहरूलाई आग्रह अन्तर्राष्ट्रिय क्षेत्रले पहिलेबाट नै गर्दै आएको हो । तर, मोदी त्यतिमा मात्र सीमित रहेका छैनन् उनले संविधानसभाको संख्याको आधार निर्णयमा नपुग्न सुझाव दिएका छन् । यसले अन्तरिम संविधानद्वारा निर्दिष्ट प्रक्रियालाई बेवास्ता गरेको देखिन्छ ।’ कान्तिपुर सम्पादकीय अगाडि लेख्दछ –‘भारतीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई सार्वजनिक मञ्च र बन्द कोठाबाट दिएका दबाबमूलक सन्देशहरूको उद्देश्य एउटै विषय केन्द्रित संविधान लेखन हो । त्यसका निम्ति उनले अपनाएको तरिकाले चाहिं कुटनीतिक लक्ष्मणरेखा नाघेको छ । ’

म धेरै दैनिक र साप्ताहिकहरू पनि पढ्दैछु भोलि के हुन्छ भन्न सक्दिन । तर, हालसम्म उपेन्द्र यादव छाडि तपाई काठमाडौंमा रहँदारहँदै तपाईको ट्रमा सेन्टरको सम्बोधनको प्रशंसा अरु कुनै उल्लेख्य व्यक्तिबाट सुन्न पाएको छैन । पहिलोपटक असारमा आउँदा नेपालको संसद र त्यसपछि भारतमा र अमेरिकामा पनि बोलेको कुराले आमरुपमै नेपाली जनताका माझ पहिलोपटक भारतको एउटा प्रधानमन्त्रीको व्यक्तित्व छाएको थियो । तर, यसपटक तपाईंको नेपालका प्रधानमन्त्री र सभामुख समक्ष ट्रमा सेन्टरमा भनेको कुराको केही पत्रपत्रिकाहरूको प्रतिक्रिया मैले माथि लेखेर तपाईलाई अवगत फेरि गराएँ ।

महामहिम नरेन्द्र मोदी इन्दिरा गान्धी र राजीव गान्धी प्रधानमन्त्री रहँदा श्रीलंकामा तमिलहरूको पक्षमा भारत र तमिलनाडुका सरकारहरूले हस्तक्षेप गर्न थालेपछि २७ बर्ष तमिल र सिंहलहरूमाझ युद्ध चल्यो तर आज के छ भने, चीन भन्दा हजारौं किलोमिटर पर श्रीलंकामा चिनियाँ सेनाका पानीमुनि हिँड्ने पनडुब्बी जहाजहरू देखापरेका फोटोहरू मैले अखरबारहरूमा हेरें । साथै, यो पनि पढें भारत सरकारले विरोध जनाउँदा श्रीलंकाका रक्षामन्त्री हालै नेपालको लुम्बिनी भ्रमण समेत गर्नुभएका राष्ट्रपति महेन्द्र राजापाक्षेका भाइ (श्रीलंकाका रक्षामन्त्री) गोटाभया राजपाक्षले भारतको यस्तो चिन्ता बेकार हो भनेको पनि पढ्न पुगें ।

कुनै बखत भारत स्वतन्त्र भएको र श्रीलंका पनि स्वतन्त्र भएको लगभग बीस बर्ष जवाहरलाल नेहरू र लालबहादुर शास्त्री भारतको प्रधानमन्त्री रहँदा भारत र श्रीलंकाबीच साह्रै सौहार्दपूर्ण सम्बन्ध देखिन्थ्यो तर इन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनेको केही बर्षपछिको स्थितिबारे कलकत्तास्थित देशविदेशका कयौं अखबारहरू समेतमा लेख छापिने राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयता प्राप्त भारतीय पत्रकार सीमासेन गुप्ता भन्दछिन्– (केही पुरानो समय) अमेरिकाको नौ सेनाका पानीजहाजहरूलाई श्रीलंकामा विश्राम दिने कुरा आयो तब त्यसबखत अमेरिका र पश्चिम खेमा विरोधी समाजवादी सोभियत संघसँग बीस बर्षे सामरिक प्रकृतिको गठबन्धन गरेकी इन्दिरा गान्धीले रुसको सुझाव अनुसार भारतको छिमेकमा अमेरिकन नौ सेनाका जहाजहरूलाई विश्राम लिने सुविधाको बन्दोवस्त हुन नदिनका लागि तमिल सेन्टिमेन्ट उचाल्न र त्यो क्षेत्रलाई अशान्त र तनावग्रस्त गर्ने काम थालिन ।

आज परिणाम इन्दिरा गान्धी, राजीव गान्धीजस्ता प्रधानमन्त्रीहरू, तमिलनाडूका प्रान्तीय सरकारहरू र भारतका कयौं गुप्तचर एजेन्सीहरूको चलखेलका कारण त्यहाँ अमेरिकन नौ सेना त आउन पाएन तर आज चीनको नौ सेनाका पनडूब्बी जहाजहरू देखापर्दा भारतले मेरो सुरक्षा र सामरिक हित विपरीत भन्दा पनि श्रीलंकाको बेकारको चिन्ता भन्ने जवाफ सुनेर बस्नुपरेको छ । एउटा सानो कुरो, अर्का भारतीय पत्रकार सिद्धार्थ बद्र्धराजनले भनेका छन् ‘काश्मिर घाँटीमा अड्केको छ, नेपाल खान मुख बाएको छ’ । के गर्नु मोदीजी हामी केही नेपाली, भारतीय पत्रकारहरूले लेखेका लेख र भारतीय गुप्तचर एजेन्सीका धुरन्धर र भारतको क्याबिनेटको एडिशनल सचिवजस्तो महत्वपूर्ण व्यक्ति बि.रामन र ‘रअ’ कै आर.के यादव र एस.डी.मुनिका पुस्तकहरू पनि काठमाडौंमा उपलब्ध हुँदा पढ्छौं ।

आर.के.यादवले इन्दिरा गान्धीले नेपालको तराई टुक्र्याउन चाहन्थिन् भन्ने कुरा पनि लेखेका छन् । त्यसैले कुनै पनि विदेशी शासकले मधेशी र पहाडे छुट्याउँदा हामीहरूले आज झस्किनु स्वभाविक हो । आफ्नो स्वार्थ छाडि छिमेकी देशको आन्तरिक फुट र वैमनस्यमा सानोभन्दा सानो भूमिकामा पनि देखापर्दा त्यस देशका नागरिकहरूमा के प्रतिक्रिया हुन्छ त्यो मैले तपार्इंजस्तो विशाल भारतको प्रधानमन्त्रीलाई बताउन खोज्दा केही भनाइ तलमाथि परे क्षमा गर्नुहोला ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com