प्रदीप/कान्तिपुर

गुमेको चमक फर्काउँदै धरान
[2014-08-19 오후 7:46:00]

अलिकति लेफ्ट
अलिकति राइट
अलिकति लेफ्ट एन्ड राइट
आफैंमा छ हैरान
बिचरा धरान
कवि भूपि शेरचनले २५ वर्षअघि रचेको कविताको अंशले धरानको इतिहास र वर्तमानलाई सुन्दर ढंगमा चित्रण गरेको छ। कम्युनिस्टहरूले लालकिल्ला भन्दै आएको लेफ्ट, उनीहरूलाई टक्कर दिँदै आएका कांग्रेस अर्थात् राइट। स्थानीय राजनीतिमा दुवै पक्षको जगजगी चल्दै आए पनि नीति निर्माण तहमा पहुँच बनाउन नसकेको लेफ्ट एन्ड राइट अर्थात् लाहुरेहरूको सहर धरान केन्द्रीय योजना नपाउँदा हैरानी खेपेर 'बिचरा' बन्दै आएको छ।

बहुदल बहालीपछि २०४८ को पहिलो संसदीय चुनावमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी यहाँबाट निर्वाचित हुँदा आशा जाग्नु स्वभाविक थियो। अझ २०५१ को मध्यावधि चुनावपछि उनी अल्पमत सरकारमा प्रधानमन्त्री भए। धरानको अवस्थामा भने खासै बदलाव आएन। उनको चाहना नभएको भने होइन। प्रधानमन्त्री हुँदा उनी भन्थे, 'यो भेडियाटार (भेडेटार) लाई पर्यटकीय बनायौं भने धरान पूर्वकै केन्द्र बन्छ।'

भेडेटारको आधा भाग भर्खरै मात्र धरानमा गाभिएको छ। नगरपालिकाको नयाँ संरचनामा सुनसरीको पाँचकन्या गाविस धरानमा गाभिएपछि त्यहाँको वडा ९ स्थित भेडेटार बजारको दक्षिणी आधा भाग धरान वडा २० मा कायम भएको छ। त्यसबेलाको मध्यावधि चुनावमा कांग्रेसका विद्रोही उम्मेदवार बनेका गिरिराज आचार्य भन्छन्, 'मनमोहनजीपछि लीला श्रेष्ठ सुब्बा संसदको उपसभामुख बन्नुभो, यहाँको अवस्थामा भने कुनै परिवर्तन भएन।'

फुटपाथमा सुन, चाँदीको गहना बिक्री हुने बजारले अधिकारी प्रधानमन्त्री बन्दासम्म पर्यटन नै यहाँको भविष्य भएको पहिचान गरिसकेको हो। २०४२ सालमा लेखक मदनमणि दीक्षितले धरानबारे भनेका थिए, 'फुटपाथमा सुन बिक्री हुने नेपालको एक मात्र सुन्दर सहर धरान।' उनले देखेको पुरानो चमक अहिले गुमिसकेको छ। अहिले देखिने धरानको नयाँ चमकमा राज्यको लगानीभन्दा धरानवासीको विकासमा साझेदारीको निर्णायक भूमिका छ।

धरानको आर्थिक, सामाजिक, राजनीतिका अध्येता सहप्राध्यपक राजेन्द्र शर्मा भन्छन्, 'धरानले कहिल्यै पनि मूलधारको राजनीति पछ्याएन। जहिले पनि मुलुक एकातिर बगिरहेको बेला अर्कैतिर दौडिरहने प्रवृत्ति त्याग्न सकेन।' २०३६ को जनमत संग्रहमा निर्दलले जितेका बेला धरानमा भने बहुदलीय पक्षको मत बढी थियो। पञ्चायती व्यवस्थाको विरोध गरिरह्यो, २०४६ पछि शासनमा कांग्रेसको पकड चल्दै आएकाले 'लालकिल्ला' उपेक्षित भएको शर्मा बताउँछन्।

पञ्चायतकालमा राजाले राजनीतिक रूपमा धरानलाई कोसी अञ्चल सदरमुकाम बनाउन थालेका थिए। पञ्चायत ढलेपछि ओझेलमा पर्दै गएको धरानबाट २०३५ देखि २०५५ सम्ममा ७ वटा क्षेत्रीय कार्यालय एकपछि अर्को गर्दै अन्यत्र सारिए। अञ्चल अदालत २०४९ मा विराटनगर लगियो। २०४० मा क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा पुर्‍याइयो। २०५० मा राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगर लगियो। २०५५ मा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर पुर्‍याइयो।

त्रिविको प्रमाणपत्रसम्म अध्ययन हुने मेडिसिन कलेज राजधानीको महाराजगन्ज फिर्ता गरियो। २०५० मा पूर्वाञ्चल क्षेत्रीय अस्पताल, कोसी अञ्चल अस्पताल विराटनगरमा गाभियो। नेपाली सेनाको बाहिनी सारेर इटहरीस्थित पूर्वी पृतनामै समावेश गरियो। यसबीच बेलायती सरकारले पनि गोर्खा भर्ती केन्द्र घोपा क्याम्प पनि पोखरामा सार्‍यो।

शर्मा भन्छन्, 'यो स्थितिले केन्द्रीय नीति निर्माण तहमा हाम्रो पहुँच नपुगेको बुझाउँछ थपिनु केन्द्रीय योजना झन् गुमाउँदा धरानले काठमाडौंलाई हेर्ने दृष्टिकोण अहिलेसम्म सकारात्मक हुन सकेन।' २०५४ को पहिलो स्थानीय निर्वाचनमा धरान 'मृत सहर' बन्नबाट जोगाउने नारा प्रबल रूपमा उठ्यो। मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसबीच यहाँको विकासकै मुद्दाबारे जोडदार आरोपप्रत्यारोप चल्यो। यसैबीच त्ात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धरानमा भारतीय सहयोगमा दक्षिण एसियाकै ठूलो अस्पताल बनाउने घोषणा गरे। त्यसपछि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना भएको हो।

धरानमा बस्ती बस्न थालेको सय वर्ष नाघे पनि नगरपालिका भने २०१७ मा बनेको हो। इतिहासका सहप्राध्यापक हरिप्रसाद दाहाल धरान अन्य नगरपालिकाको तुलनामा सांस्कृतिक, प्राकृतिक, सामाजिक रूपमा फरक रहेको बताउँछन्। आदिवासी जनजातिका सांस्कृतिक विविधता र सम्मिश्रण यहाँको विशेषता हो। भन्छन् 'जनजाति संस्कृति पूर्वका विभिन्न थात थलोमा उत्पत्ति भए पनि धरानबाटै हङकङ, बेलायत पुगेका छन्।' पछिल्लो समय गैरमधेसीले समेत छठपूजा गर्ने चलन बढेकोछ। राज्यले नहेरे पनि प्रकृति, प्रवृत्ति र संस्कृतिको संगमस्थलको रूपमा धरान अब्बल रहेको मान्न कर लाग्छ।

पाँचकन्या गाविस गाभिएपछि धरानको क्षेत्रफल र जनसंख्या थपिएको छ। जनसंख्या १ लाख ३३ हजार पुगेको छ। वडा संख्या १९ बाट बढेर २४ वटा पुगेको छ। उपमहानगरपालिका बन्ने सबै मापदण्ड पुगेको नगरपालिकाको आन्तरिक आय भने ५ करोड ५० लाख मात्र छ। मापदण्डअनुसार उपमहानगरको आय १० करोड हुनुपर्छ। तैपनि नगरपालिकाले वाषिर्क ३० करोडको बजेट परिचालन गर्दै आएको छ।

माओवादी द्वन्द्वकालयता बसाइँसराइका साथै अवसर खोजीमा सहर झर्नेको चाप बढेकाले सुकुम्बासी समस्या पनि उत्तिकै बढेको नगरपालिका कार्यकारी अधिकृत भोजराज खतिवडा बताउँछन्। पूर्वका पहाडी जिल्लाका आदिवासी भूतपूर्व गोर्खा सैनिकले अवकाशको जीवन बिताउने ठाउँका रुपमा धरानलाई रोजेपछि यहाँको आधुनिक विकासक्रम सुरु भएको हो। २०५८ देखि नगरपालिकाले आन्तरिक विकासमा जनसहभागिताको योजना अघि बढाएपछि धरानलाई नमुना बनाउने काममा पूर्वगोर्खा समुदायको अग्रणी भूमिका छ। दाहाल भन्छन्, 'लाहुरे समुदायको देनले धरान नेपालकै नमुना बनेको छ, सँगै रवाफिलो पनि। अन्य सहरको तुलनामा खर्चिलो झनै छ।'



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com