भवानी बराल

गोबर र खरानीको कथा
[2014-07-25 오후 7:24:00]

एकादेशमा हैन, यहि देशमा किरातकालीन राज्य र सभ्यताको अन्त्य भएपछि अर्थात विजयपुर राज्य नेपाल अन्तरगत आएपछि यो कथा सुरु हुन्छ । त्यही विजयपुरको काखमा रहेको घना चारकोशे झाडी फाँड्दै धरान भन्ने शहरको उदय भयो । राणा प्रधानमन्त्रीहरु जुद्ध शमसेरले जुद्ध नगर र चन्द्र शमसेरले चन्द्र नगरको नाममा बसाएको नयाँ र पुरानो बजारको कुल जोड नै आजको धरान हो । पछि औलो (मलेरीया) उन्मुलन भएपछि धरान शहरको बस्ती झनै बढ्न थाल्यो । विसं २०१३ सालदेखि.अंग्रेजले बृटिस गोर्खा डिपो (गोर्खा भर्ती केन्द्र) खोलेपछि यसको फैलावट झनै बढ्यो । त्यसैबखत भारतले कोशी आयोजना सुरु ग¥यो । धरानबाट भिमनहर कोशी ब्यारेजसम्म हालको धरान १७ बाट ढुङ्गा ढुवानी गर्ने रेल चल्दथ्यो । त्यसैले अहिलेसम्म त्यो ठाउँलाइ ‘रेल्वे’ भन्ने गरिन्छ । रेल्वे त्यतिखेर घोपा गाउँ अन्तरगत पर्दथ्यो । त्यसो त धरानको पूर्वपट्टी अहिलेको १५ नम्बर वडा बाँझगरा गाउँ थियो । बाँझगरालाई ‘बाँझोगरा’ पनि भन्ने गरिन्थ्यो । त्यसको नाम बाँझोगरा किन रहन गयो भन्ने किस्सा पनि साँच्चै रमाइलो छ । बाँझोगरासंग जोडिएर कुमालेको रमाइलो कथा आउँछ । आजभोली त बाँझोगरा राजधानीको नयाँ बानेश्वर जत्तिकै अकासिएको छ । तर आजको कथा गोबर र खरानीको भएकोले त्यसैमा केन्द्रित हुनु रमाइलो हुन्छ । घोपा गाउँ, बाँझगरा र कुमालेको किस्सा अर्कै दिन कहुँला ।

उहिले नै उहिले धेरै नै पहिले धरानको बस्ती यति बाक्लो थिएन । कुरा पञ्चायती कालको हो । त्यत्तिखेर देशब्यापी कांग्रेस र कम्युनिष्टको मारामुङ्ग्री हुन्थ्यो । दुबै समूह पञ्चायतको विरोध गर्थे तर भिड्दा पञ्चायतसंग हैन आफै भिड्थे । दुबै थरीलाइ पञ्चायतले बोकेर एक अर्कामा भिडाउँथ्यो । नुवाकोटमा गोरु भिडाउने चलन झैं कांग्रेस कम्युनिष्ट थाहै नपाइ भिडिरहेका हुन्थे । पञ्चायतको तिन दशक यसरी नै भिडे कांग्रेस–कम्युनिष्ट । यस्तो लडन्तभिडन्त गर्नमा धरान पनि नामुद थियो । तर जब ०४६ सालमा यि दुइभाइ मिले यिनले पञ्चायतलाई नै सदाका लागि लडाए ।

पञ्चायत यस्तो राजनैतिक व्यवस्था थियो जस्का कार्यकर्ता कांग्रेस कम्युनिष्टले उत्पादन गरेर पञ्चायतमा निर्यात गर्थे । कम्युनिष्ट उद्योगमा उत्पादित कार्यकर्ताले ‘गाउँफर्क अभियान’ चलाउँथे । कांग्रेसी उत्पादनले ‘पञ्चायतको नीति तथा जाँचबुझ’ चलाउँथे । कम्युनिष्टबाट गएका ‘अनुदार पञ्च’ कहलिन्थे । कांग्रेसबाट गएकाहरु स्वभावैले ‘उदार पञ्च’ मा गनिन्थे । जतिन्जेल पञ्चायत चल्यो कांग्रेस र कम्युनिष्टले निर्यात गरेका कार्यकर्ताको काजले चल्यो । पञ्चायतले त केबल हुल्लडबाज ‘मण्डले’ मात्रै जन्मायो ।

कुरो पञ्चायतकालकै हो । कथा हाल्न खोजेको गोबर खरानीको हो । तर कथा हाल्नलाइ कुराको बाना मिलाउनै पर्ने भएकोले यति कुरा कथ्नु प-यो । धरान शहर तेतीबेला कम्युनिष्ट कार्यकर्ता उत्पादन गर्ने प्रमुख औद्योगिक क्षेत्र मानिन्थ्यो । कम्युनिष्ट पार्टीका उपल्ला नेता नभएपनि नखटे पनि धरानमा गर्भमै कम्युनिष्ट भए झैं यहाँ प्रकट हुन्थे । धरानमा कांग्रेस नभएका भने होइन । भैंसी खाने जातका र भैंसी नखाने जातका एक से बढकर एक सभ्रान्त लोकल गर्भे कांग्रेसी जनहरु थिए । तर धरानमा विस्तारै कम्युनिष्टको फैलावट चिप्ले किरा सरह भैरहेको थियो । माओको दीर्घकालीन जनयुद्धको रणनीति गाउँले शहर घेर्ने जस्तै पहाड र गाउँबाट धरान पसेकाहरु भियतकंग गुरिल्ला झै पदेन कम्युनिष्ट हुन्थे ।

चिनको ‘रोमान्टिक क्रान्तिकारिता’को प्रचारले बाहिरबाट आउनेलाइ ‘कम्युनिष्ट पथ’ तिर आकर्षित गरेको थियो । चिन र सोभियत संघबाट आउने रंगीन पत्रिका चीन सचित्र, पेकिङरिभ्यु, सोभियत भूमि माओका ‘रेडबुक’ र सम्पन्न चिनिया राजनैतिक साहित्यले तिनलाइ आकर्षित गर्दथ्यो । जुन कुरा कांग्रेसी संसारमा पाइन्न थियो । फलस्वरुप तिनीहरु जानेर, नजानेर, चाहेर, नचाहेर कम्युनिष्ट हुनु एउटा रमाइलो पक्ष थियो । धरानको यहि शब्दचित्रले गर्दा भारतको तत्कालीन कम्युनिष्ट गढ केरला र चिनको सांघाइ शहरसंग यो शहरलाइ तुलना गरिन्थ्यो । केरला र संघाइ उपनाम धरानले पाएको थियो ।

त्यसबखत पार्टीहरु प्रतिबन्धित थिए । युवा विद्यार्थीहरुको क्रियाकलाप नै पार्टीको क्रियाकलाप हुने गर्थे । त्यसमध्ये मारामुङ्ग्री पनि पार्टीकै क्रियाकलाप हुनु स्वभाविकै थियो । विद्यार्थीका संगठनका क्रियाकलाप पार्टीका पनि कार्यक्रम थिए । गोबर र खरानीको कथा पनि मारामुङ्ग्रीले नै रचेको हो ।

यस्तै परिदृश्यमा धरानका कांग्रेसीजनमा कम्युनिष्ट प्रतिको बढ्दो समर्थन चिन्ताको विषय हुन थालेछ । कम्युनिष्ट प्रति बढ्दो आकर्षणको गुदी कुरा केलाउन लागेछन् । कांग्रेसी केम्पमा तर्कतरङ्ग चलेछ । अहिलेको भाषामा अन्तरक्रिया, बहस, छलफल, बैठक र संगोष्ठीहरु भएछन् । कम्युनिष्ट बढ्ने अनेककारणहरु मध्ये मूख्यकारण तत्कालीन सोभियत र चिनिया पुस्तक, पत्रपत्रिका नै दोषी ठहरिएछन् । उत्तिखेर सानो शहर भएकोले त्यस्ता पुस्तक, पत्रपत्रिका जफत गर्न पनि सजिलै थियो । अतः त्यही निर्णयमा पुगेर कांग्रेसीजनले धरानमा भएका सारा कम्युनिष्ट जात, थरका पुस्तक, पत्रिका सार्वजनिक समारोह गरेर जलाइ दिएछन । र, समारोहमा ‘आज उप्रान्त कम्युनिष्टहरु खरानी भए’ भनेर सगौरब घोषणा गरेछन् । त्यही घटनादेखि कम्युनिष्टहरु ‘खरानी’ नामले चिनिए ।

यो घटनापछि कम्युनिष्ट पनि के कम कांग्रेसीहरुलाइ लखेट्दै कसैलाइ घरैबाट थुतेर पिट्दै विजय जुलुस निकाले छन् । र, त्यही विजय जुलुसमा ‘ज्ञानगुन दिने पुस्तक, पत्रिका जलाउने कांग्रेसीहरु गोबर हुन’ भनेर सगौरब घोषणा गरेछन् । त्यहिदेखि कांग्रेसीहरु ‘गोबर’ उपनामले चिनिन थाले । अझैपनि धरानका पुराना बासिन्दाहरु कांग्रेस र कम्युनिष्टलाइ गोबर र खरानी भनेर चिन्छन ।

यो त भयो गोबर र खरानीको पुरानो कथा । यो कथालाइ सम्झाउने गरिकन हालै त्रिचन्द्र कलेजमा अखिल र नेविसंघका विद्यार्थीबीचको मारामुङ्ग्रीमा पुस्तकालय जलेर खरानी भएको छ । एमाले अखिलका विद्यार्थीले कटाइमात्र खाएनन् । कलेजको सम्पन्न पुस्तकालय पनि खरानी भएको छ । नेविसंघले पुस्तकालय जलाउनेमा आफ्नो संगठनको हात नभएको पष्टीकरण दिएको छ । तर घटनाकै दौरानमा पुस्तकालय जल्नु ‘स्याल पनि कराउनु सिँगारी पनि हराउनु’ जस्तै भएको छ । दोषी नेविसंघ इत्तर हो भन्ने पुष्टी नहुन्जेल यो गोबरे प्रबृत्ति कै निरन्तरता मान्नु पर्छ । इतिहासका कालखण्डमा भएका नकारात्मक प्रबृत्तिलाइ नसच्याउँदा यस्ता कथा दोहो-याइ तेह-याइ कहनु पर्ने हुन्छ । पढ्नेलाइ फूलको माला । पुस्तकालय जलाउनेलाइ हेक्का रहला । यो कथा छ भने बैकुण्ठ जाला ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com