दीपेन्द्र राई

दुई छाक खान नदिने कामकै माया
[2014-07-02 오후 7:27:00]

गीत गाएरै दुई छाक खान पुग्ने गायक–गायिका नेपालमा कति होलान् ? यति भन्न सकिन्छ, ‘औँलामा गन्न सकिने अवस्थामा छन् ।’ त्यसो भए बाँकीले कसरी जीवन निर्वाह गरिरहेका होलान् ? दुई छाक खान नदिने कामप्रति किन यत्ति धेरै लगाव ? ‘गाउँदै जाँदा एक दिन सफलता पाइएला भनेर लागिपरेको नि,’ गायिका देशु सुहाङ भन्छिन्, ‘दुई छाक खान नदिने कामकै माया लाग्छ ।’

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसबाट संगीत विषयमा आईएसम्मको अध्ययन पार लगाएकी गायिका सुहाङले करिब चार सय गीतमा आवाज भरिसकेकी छन् । गीत गाएर दुई छाक खान नपुगे पनि उनी आत्तिएकी छैनन् । उनले सुनाइन्, ‘गीत गाएरै खानुपर्ने बाध्यता पनि छैन ।’ त्यही भएर पनि उनी गीत–संगीतबाट टाढा हुन सक्दै–सक्दिनन् । गीत–संगीतले उनलाई मोहनी लगाएको छ भन्दा अत्युक्ति नहोला । त्यसैले त लगानी माया मारेरै भए पनि गीतिएल्बम निकाल्नेक्रम बाक्लिएकै छ । भनिन्छ, ‘प्रविधिले मानिसको हरेक काम सहज बनाइदिएको छ ।’ तर, गायिका देशु सुहाङहरूको सन्दर्भमा भने यो भनाइ त्यति मेल खाँदैन । ‘पछिल्लो समय भित्रिएको अत्याधुनिक प्रविधिले सीडी बिक्री हुन छाडेको छ,’ उनले दुःखेसो पोखिन्, ‘पाइरेसीले त झन् धुरुक्कै रुवाएको छ ।’

संवत् २०५० मै स्वर परीक्षा पास गरेकी उनको अहिलेसम्म चार गीतिएल्बम सार्वजनिक भइसकेको छ । उनको पहिलो गीतिएल्बम ‘मनको बह’ हो । यो लोकगीतसम्बन्धी गीतिएल्बम हो । पूर्वेली लोकभाकामा देशुलाई नसुन्ने सायदै होलान् । त्यसपछि ‘रुमाल सुकाइदेऊ’ नामक (लोकदोहोरी गीतिएल्बम) सार्वजनिक गरेकी उनको आधुनिक गीतिएल्बम हो– ‘छोपिएको जून’ । उनले नेपाली भाषामा मात्रै नभएर, मातृभाषामा समेत गीत गाएकी छन् । त्यसको दसी–प्रमाण हो– ‘आहिङमन’ । यो लिम्बू भाषाको गीतिएल्बम हो । उनी खस नेपाली भाषामा मात्रै नभएर, मातृभाषामा समेत गीत गाउने क्षमता राख्छिन् । मातृभाषामा कि नेपाली भाषामा गीत गाउन सजिलो ? गायिका देशुको बुझाइ छ, ‘गाउन त नेपालीमै सजिलो । लिम्बू भाषाको गीत गाउँदा भनेजस्तो जिब्रो फड्कारिँदैन । म लिम्बू भाषा प्रस्टसँग बोल्न सके पनि कतिपय शब्द स्वाभाविक रूपमा उच्चारण गर्न नसक्दा अलि गाह्रो हुँदोरहेछ ।’

देशु सुहाङ नेपाली गीत–संगीतको संघर्षै संघर्षको पिरामिड हुन् भन्दा फरक पर्दैन । आईए पास गरेर बीए पढ्ने सुरसार गरिरहेकै बेला उनले बीए पढ्न त्यागेर बिहे गरिन् । एउटै जिल्लाका भए पनि देशु र श्रीमान् टंकविक्रम नेम्वाङबीच चिनजान थिएन । देशु आरआर क्याम्पस काठमाडौँमा पढ्थिन् भने टंक मेची बहुमुखी क्याम्पस झापामा पढ्थे । श्रीमान्ले सर्वप्रथम देशुलाई गायिकाका रूपमा चिने पनि देशुले श्रीमान्लाई चिन्दिनथिन् । गीत सुनेपछि टंक देशुप्रति समर्पित भए । समर्पितमात्रै होइन, श्रोता, शुभचिन्तक हुँदै टंकले बिहेको प्रस्ताव राखे । देशुले अतीत सुनाइन्, ‘मैले पनि नाइँ भन्न सकिनँ ।’ बिहेपछि देशु गायिकाबाट घर–व्यवहार सम्हाल्न थालिन् । यो ०५५ सालको कुरा हो । बिहेपछि सांगीतिक यात्राले गति लिन सकेन । फुटकर रूपमा गीत गाइरहे पनि त्यसले त्यति अर्थ राखेन । ०६५ सम्म उनी चुलाचौकामा बढी समय बिताउन बाध्य भइन् । सन्तानसुखले चाहेर पनि उनलाई स्वतन्त्र चरीझैँ उड्न दिएन । दस वर्षसम्म उनी छोरी इक्सा नेम्वाङ र मिङ्सोहाङ नेम्वाङकी ममतामयी आमाको भूमिकामा सीमित भइन् । श्रीमान् राजनीतिमा लागेकाले बाबुको भूमिका पनि आमाले नै निर्वाह गर्नुपर्ने अवस्था थियो ।

बिहेपछि श्रीमान्ले नगाऊ नभने पनि व्यावहारिक जीवनले थिचेपछि उम्कन गाह्रो भएको उनले सुनाइन् । दस वर्षपछि देशु पुनः सांगीतिक यात्रामा फर्किन् । यो ०६५ सालको कुरा हो । नीलगिरि माध्यमिक विद्यालय सुभाङ पाँचथरमा हुने कार्यक्रममा गीत गाएको सुनेर देशुका शिक्षक–शिक्षिका तीनछक पर्थे । यता, विद्यालयमा हुने सांगीतिक कार्यक्रममा पहिलो भएर धेरैपटक कापी, कलम पुरस्कार पाउँदा उनी आफूलाई हिमालसरि अग्लिएको अनुभव गर्थिन् । यो ०४५ सालतिरको कुरा हो । त्यतिमात्रै होइन, जिल्लाव्यापी सांगीतिक प्रतियोगिता हुँदा उनी पहिलो भएर आफू अध्ययनरत विद्यालयको गरिमा बढाइदिइन् । यो ०४७ सालको कुरा हो । उनी त्यतिबेला ९ कक्षामा पढ्थिन् । मादलको भरमा गाउनुपर्ने त्यतिबेला शिक्षकले मादल बजाएर सांगीतिक लय निकाल्थे भने देशु हृदयदेखि नै गीत गाउँथिन् । उनी अतीततिर फर्किन्, ‘तात्कालिक समय नै मेरो सांगीतिक पाठशाला हो ।’

गीत गाएरै घर–व्यवहार चलाउनुपर्ने बाध्यता नभए पनि पछिल्लो समय गीत गाएबापत हात लाग्ने पारिश्रमिकले घर–व्यवहारमा टेकोपिरो भएकै छ । सबै क्षेत्रमा नातावाद, कृपावाद हाबी भए पनि देशु सुहाङलाई सम्झनेहरू पनि छन् । उनी गीत गाउन हङकङसम्म पुगेकी छन् । कलाकारलाई योभन्दा ठूलो सफलता अरू के हुन सक्छ ?

गायिकामात्रै भने देशुको परिचय अपूरो हुन्छ । उनी लिम्बू भाषाका चलचित्र ‘थथ्थमा’ की सहनायिका पनि हुन् । ०५३ निर्मित थत्थमामा सहनायिकाको भूमिका निर्वाह गर्दा रमाइलो अनुभूति भएको उनले सुनाइन् । त्योअघि अभिनयसम्बन्धी खासै ज्ञान नभए पनि आफ्नै संस्कृतिसँग सम्बन्धित फिल्म भएकाले काम गर्न उनलाई खासै अप्ठ्यारो भएन । थत्थमा प्रदर्शनपछि थुप्रै फिल्म अभिनय गर्ने प्रस्ताव आए पनि उनी गीत–संगीतमै रमाउन चाहिन् ।

तेहोरो भूमिका निर्वाहमा रहेकी उनी ९ कक्षामा अध्ययनरत छोरी र ६ का छोराकी ममतामयी आमा मात्रै नभएर, ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (डोलिडार) की जागिरे हुन् । नेपाल विद्यार्थी संगठन केन्द्रीय उपाध्यक्षसमेत रहेका श्रीमान्को ०६५ कात्तिक १७ मा निधन भएपछि घरपरिवार चलाउने सम्पूर्ण जिम्मा उनकै काँधमा सरेको छ । नेविसंघको शैक्षिक जनजागरण अभियानक्रममा पाँचथरको ट्याक्टर दुर्घटना श्रीमान्को निधन भयो । आइडल मोडल स्कुल हात्तीवन ललितपुरमा छोराछोरी पढाइरहेकी उनलाई घर–व्यवहार धान्न धौ–धौ परेको छ । नेविसंघले छोरालाई दस जोड दुईसम्म निःशुल्क पढाइदिने व्यवस्था मिलाइदिए पनि छोरीलाई आफैँले पढाइरहेकी छन् । उनले दुःख बिसाइन्, ‘आफू कार्यरत कार्यालयले दिने मासिक तलबको आधाभन्दा बढी रुपैयाँ छोरीको शुल्क बुझाउँदैमा ठिक्क हुन्छ, तपाईं नै कल्पना गर्नुस् मैले कसरी धानेकी हुँला ।’

छोराछोरीको पठनपाठनका लागि उनले सरकारसँग पटक–पटक गुहार मागिन् । तर, सरकारले नसुनेको उनले बताइन् । सभासद् गगन थापा र मेरा श्रीमान् अनन्य मित्र हुन् । त्यही नातो लगाएर उहाँलाई दुःखेसो पोखे पनि सुनुवाइ नभएकोमा उनको चित्त दुखेको छ । प्रधानमन्त्री सुशील कोइरालाका निजी सचिव श्रीमान्कै साथी हुन् । त्यही नातो पहिल्याउँदै छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि रोइकराइ गरे पनि केही लागेन । उनी सबैले बलेकै आगो ताप्दारहेछन् भन्ने निष्कर्षमा पुगेकी छन् । छोरालाई निःशुल्क पठनपाठनका लागि व्यवस्था मिलाइदिने नेविसंघ पूर्वअध्यक्ष प्रदीप पौडेल र महामन्त्री मनोजमणि आचार्यले लगाएको गुन उनले बिर्सने कुरै भएन । गायिका देशु कांग्रेसको १२ औँ महाधिवेशन पाँचथरका महिला प्रतिनिधिसमेत हुन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com