फणिन्द्र दाहाल

एनआरएनको खोल ओड्दै नाम र दाम हत्याउनेहरु
[2014-06-04 오후 7:43:00]

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य मलेसियाका भवानी तिवारी केही समय अगाडि अवैध काम गरेको आरोपसँगै मलेसियाको जेलमा परेपछि सम्पूर्ण एनआरएनहरुमा एक प्रकारको तरङ्ग छाएको छ । एनआरएनको खोल ओडेर नाम र दाम कमाउने दाउमा रहेका अधिकांश एनआरएनहरुको मनमा यतिवेला ढ्यांग्रो बज्न शुरु गरेको छ । औंलामा गन्न सकिने केही एनआरएनहरु बाहेक एनआरएनको कार्यसमितिको उच्च पदमा पुगेकाहरु नै पदको दुरुपयोग गर्दै फाइदा लुट्ने दाउमा रहेको तथ्यहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।

एनआरएनहरुवाट नेपाल सरकार र नेपालीहरुले धेरै अपेक्षा गरे पनि उनीहरुबाट अहिलेसम्म उल्लेख्य र उपलव्धिमूलक केही काम हुन सकेको छैन । एनआरएनको प्रत्येक विश्व सम्मेलनमा नेपालका राष्ट्रपतिले संवोधन गर्ने र सरकारले उनीहरुलाई पैसा दिदै आएको भए पनि आजको दिनसम्म आइपुग्दा एनआरएनहरुवाट देशले केही पाउन नसकेको कुरा घाम झै छर्लङ्ग छ । दुई वर्षसम्म विदेशमा वस्ने अनि दशैं–तिहार मनाउन नेपाल आएको बेला दिवा सपना बाँड्ने एनआरएनहरुका कर्तुतहरु विस्तारै बाहिर आउन थालेका हुन् ।

अथाह पैसा कमाएर नाम र शान कमाउन एनआरएनको अध्यक्षमा पैसा पेलेर आएका वर्तमान अध्यक्ष शेष घलेको स्वार्थ पनि विस्तारै उदाङो भइरहेको छ । उनको एनआरएन संस्थामा रहेर गर्ने कार्यशैलीलाई आज कसैले मन पराएका छैनन् । निजी कम्पनी हाँक्न सक्ने तर एनआरएनजस्तो गरिमा बोकेको संस्थालाई कुनै कुनाबाट पनि वुझ्न नसकेकाले घले दिनप्रतिदिन आलोचित बन्दै गएका छन् । एनआरएनको अध्यक्षमा पुग्नका लागि विभिन्न देशमा रहेका नेपालीहरुलाई मीठो आश्वासन बाँडेका घलेलाई आज एनआरएनका सदस्यले मात्र होइन, चाहेको वेलामा उनको कार्यसमितिका पदाधिकारीले नै सम्पर्क गर्न पनि सक्दैनन् ।

‘खोपीका देउता’ भनेर चिनिने घले न मिडियासँग भेट्छन् नत एनआरएनका पदाधिकारीहरुलाई नै समय दिन्छन् । एनआरएनको नाम बेच्दै नेपालमा लगानी बढाउन चाहेका घले सरकारसँग पहुँच बढाउँन र शक्ति प्रयोग गरेर करौडांै नेपालबाट लुट्न लागेको उनी निकट केही जानकारहरु नै आरोप लगाउँछन् ।

घले एनआरएनको अध्यक्षमा आएपछि पैसा हुने एनआरएन र अवैध सम्पत्ति कमाउनेहरुको हालिमुहाली बढेको बताइन्छ । संस्थालाई कसरी हाँक्नुपर्छ भन्ने पटक्कै ज्ञान नभएका घलेलाई भाषण मात्र होइन संस्थामा रहेर कुनै काम गर्न पनि आउने रहेनछ भन्ने कुरा भर्खरै बहराइनमा सम्पन्न मध्यपूर्व क्षेत्रीय भेलामा धेरैले थाहा पाए । कार्यक्रमलाई संबोधन गर्न स्टेजमा पुगेका घलेलाई पूर्व तयारीमा रहेको भाषण पढ्न समेत बाह्र बज्यो भने ४० लाख नेपालीहरुको नेतृत्व कसरी गर्न सक्लान् कार्यक्रममा सहभागी एक एनआरएनले प्वाक्कै मुख खोलिहाले ।

एनआरएनमा लागेर अनैतिक प्रयोग गर्नेमा घले मात्र होइन एनआरएनका पूर्वजहरु पनि छन् । विश्वमा रहेका नेपालीहरुलाई एकीकृत गर्न शुरुवात गरेका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि यतिवेला सेलाएका छन् । आफ्नो व्यक्तिगत लगानी गर्न धेरै रुचाउने महतो नामका लागि जेसुकै गर्न पछि पर्दैनन् । उनले रसियामा एनआरएनको क्षेत्रीय सम्मेलनको क्रममा ४ वर्ष अगाडि वैदेशिक रोजगार राहत कोष स्थापना गरेर ५ करोड हाल्ने उद्घोष गरे पनि आजसम्म सो रकम हालेका छैनन् । कसरी नाम अगाडि ल्याउन सकिन्छ भनेर जानेका महतो सामूहिक लगानी भन्दा पनि व्यक्तिगत लगानी गरेर पैसा कुम्ल्याउन माहिर मानिन्छन् । उनले हरेक एनआरएनहरुको कार्यक्रममा यति पैसा दिन्छु भन्दै बोल्ने तर पैसा नदिने गरेको एनआरएनहरुले नै बताउँदै आएका छन् ।

देशले एनआरएनहरुवाट धेरै अपेक्षा गरेको भए पनि उनीहरुले देश र जनताका लागि सिन्को भाँच्न त सकेन् नै उल्टै देशको बदनाम गरिरहेका छन् । एनआरएनका उपाध्यक्ष टेकबहादुर (टिवी) कार्की एनआरएनको नाम बेच्नमा सवैभन्दा अगाडि छन् । आफै मेनपावर व्यवसायी समेत रहेका कार्की एनआरएनको वैदेशिक रोजगार टाक्स फोर्सका संयोजक भएर मेनपावरको डिमाण्ड हत्याउन पछि परेका छैनन् । एनआरएनमा लागे पनि एमालेको खाँटी कार्यकर्ता भन्न रुचाउने कार्की बेलाबेलामा सार्वजनिक कार्यक्रममा बोल्न नजानेर विवादमा आइरहन्छन् । शैक्षिक योग्यता कमजोर रहेका कार्की भावी अध्यक्षको दावी गरिरहँदा एनआरएनको गरिमा नै सकिने हो कि भन्ने अड्कल यतिवेला बजारमा छ । एनआरएन अभियानमा खासै योगदान नदिएका तर टुप्पाबाट उम्रिएका कार्की उपाध्यक्षमा निर्वाचित भएपछि उनी कतारमा गएर सुतिरहेका छन् । वैदेशिक रोजगारको क्षेत्रमा यति धेरै समस्या आउँदा समेत उनी गुपचुप रहनु अनि अध्यक्षको दावी गर्नु हाँस्यास्पद मात्र नभएर पद मोहको हावी प्रस्ट देखिन्छ ।

एनआरएनको नामको खोल ओढेर नेपालमा वीवी एयरवेज उडाउने महत्वकांक्षी ‘प्रोजेक्ट’ लिएर आएका एनआरएनका वर्तमान उपाध्यक्ष भवन भट्ट पनि विवादास्पद व्यक्ति हुन् । उनले वीवी एयरवेजका नाममा एनआरएन तथा विदेशीहरुबाट पैसा उठाएर ठगी गरेको आरोप लागेको छ । उनले उपाध्यक्षमा जितेपछि भने पैसाको तुजुक देखाउन कम गरेका छैनन् । प्रत्येक दिन एक सहयोग गर्छु भन्दै हिंडेका भट्टको दाउ एनआरएनको अध्यक्ष हत्याएर वीवी ब्यूँत्याउने रहेको उनी निकटले वताएका छन् । उनलाई एनआरएनको अध्यक्ष हुनुभन्दा पनि त्यो पदलाई प्रयोग गर्दै आफ्नो व्यापारलाई वढाउनु रहेको खुलासा उनी आफै गर्दछन् ।

एनआरएनको पदमा पुग्नका लागि जस्तोसुकै चाल चाल्न पछि नपर्ने देवमान हिराचन, रामेश्वर शाह, तेञ्जी शेर्पा, रामप्रताप थापा, क्याप्टेन हिक्मत गुरुङ यतिवेला चुपचाप छन् । एनआरएनका निवर्तमान अध्यक्ष जीवा लामिछाने यतिवेला रसियामा गुमनाम हुनु र एनआरएनको अभियानवाट चटक्कै वाहिरिनुलाई अध्यक्ष पद मात्र सबै रहेछ भन्ने देखाएका छन् ।

नेपाली राजनीतिमा झै पदलोलुपता बोकेका एनआरएनहरुबाट अब नेपाली जनता आजित भइसकेका छन् ।एनआरएनको अभियानकर्ता तथा कार्यसमितिमा रहेकाहरुबाट नै अनैतिक अनि दाम र नामका लागि मात्र काम गर्ने देखिएकाले एनआरएनहरुबाट अब नेपालीहरु टाढिदै गएका छन् । एनआरएनहरु धनीको संस्था हुनु र अन्य प्रवासी नेपालीहरु यसमा अटाउन नसकेको जनगुनासो आइरहँदा एनआरएनका उच्च पदमा रहेकाहरुबाट नै यसको दुरुपयोग गर्ने हो भने अरुले के आशा राख्ने ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com