Rochar Sansar

बामदेवले कति सम्म देशलाई खोक्रो बनाउदै छन्????
[2014-06-03 오전 9:22:00]

भ्रष्टहरूको सूचीमा अग्रणी मानिएका वामदेव गौतम स्वच्छ छविका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेपछि उनको चरित्रमा सुधार हुने आशा गर्नेहरूलाई उनले निराश तुल्याइदिएका छन्।

पछिल्लो समयमा वामदेव आफ्नो सम्पूर्ण शक्ति लगाएर नगद सङ्ग्रहमा केन्द्रित भएपछि उनका शुभचिन्तकहरूसमेत निराश बन्न पुगेका हुन्। वामदेव गौतमले नगद सङ्ग्रहका लागि आफ्नी पत्नी र छोरा (तुलसा र हरिश) का अतिरिक्त पार्टीका मझौला साइजका नेता बलराम बास्कोटा र व्यापारी दीपक भट्टलाई विशेष रूपले खटाउने गरेका छन्।

गृहमन्त्री गौतमले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्न कम्तीमा डेढ करोड रुपैयाँ दिन सक्ने डीआईजीपीहरूको खोजी गर्न दीपक भट्ट र बास्कोटालाई खटाएकोमा भट्टले बरियताक्रममा पछाडि रहेका प्रतापसिंह थापा मात्र फेलापारेको बुझिएको छ। योग्यता र कार्यक्षमताका आधारमा गरिएको मूल्याङ्कनमा राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा र सुरेन्द्रबहादुर शाह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका छन्।

तर, गृहमन्त्री गौतमले योग्यता र क्षमतालाई भन्दा ‘अन्य’ कुराहरूलाई नै प्राथमिकतामा राखे र कम्तीमा डेढ करोड रुपैयाँ बुझाउन सक्ने व्यक्तिको खोजी गरिरहे। बढुवामा पर्ने सम्भावना जो–जसको थिएन उनीहरूले दीपक भट्ट र परिवारका सदस्यहरूमार्फत तोकिएको नगद पनि बुझाएको जानकारी आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र आपूर्ति गरिनुपर्ने गोलीगठ्ठा, हतियार र अन्य सामग्रीहरू दीपक भट्टमार्फत नै खरिद गर्न गौतमले ठाडो आदेश दिएका छन्। गौतमको आदेशले दुवै प्रहरी प्रधान कार्यालयहरूमा तनाव उत्पन्न भएको बुझिएको छ।

दीपक भट्ट कृषि सामग्री संस्थानमा रहँदा भ्रष्टाचार गरेका कारण कानुनी कारबाहीमा परेका चतुर्भुज भट्टका छोरा हुन्, तर उनी वामदेव गौतमलाई पनि बुबा सम्बोधन गर्दै हातमा ढोग्ने गर्दछन्। प्रचण्ड प्रधानमन्त्री भएका बेला गृहमन्त्री रहेका वामदेवले बरियताक्रममा अगाडि रहेका रवीन्द्रप्रताप शाहलाई पन्छाएर रमेशचन्द ठकुरीलाई आईजीपी बनाउने क्रममा पनि यिनै दीपकमार्फत नगद तीन करोड रुपैयाँ बुझेका थिए। अहिले प्रतिगोटा बीस रुपैयाँ पर्ने गोली अठचालीस रुपैयाँका दरले दीपकमार्फत खरिद गर्न वामदेवले गृहसचिवमार्फत आईजीपीहरूलाई दबाब दिइरहेको जानकारी प्राप्त भएको छ। स्मरणीय छ, दुई प्रहरी सङ्गठनलाई गरी करिब पन्ध्र करोड रुपैयाँबराबरको गोली खरिद गराउने योजना वामदेवले बनाएका छन्।

यसबापत वामदेव एक्लैले पाँच करोडभन्दा बढी नगद कमाउने छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आपूर्ति गर्नुपर्ने सबैजसो सामग्री दीपक भट्टमार्फत खरिद गरेर गौतमले मासिक पचास लाखदेखि एक करोडसम्म असुल गर्ने गरेको भट्टकै निकटवर्तीहरूले बताउने गरेका छन्। एआईजीपी बढुवामा पनि गृहमन्त्री गौतमले पार्टीको नाममा पाँच करोडभन्दा बढी असुल्ने योजना बनाएका थिए। तर, आईजीपी उपेन्द्रकान्त अर्यालले बरियता, योग्यता र कार्यक्षमतालाई मात्र आधार बनाएर बढुवा गर्नुपर्ने अडान लिइदिएका कारण उनी अप्ठ्यारोमा परे।

गत आइतबार (जेठ ११) देखि आफ्ना खास–खास मानिसलाई डीआईजीपीहरूसँग नगदका विषयमा कुरा गर्न पठाएका भए पनि कसैबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी निराश बनेका थिए। दीपक भट्टले सम्पर्कमा ल्याइदिएका दुई डीआईजीपीहरूबाट मात्र वामदेवले ‘नगदको वचन’ पाएको बुझिएको छ। आईजीपी अर्यालले अडान नलिएका भए सुरेन्द्र शाह, विज्ञानराज शर्मा र राजेन्द्रसिंह भण्डारीको सट्टामा पनि गौतमले अन्यलाई एआईजीपी बनाउने सम्भावना थियो।

गौतमले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउनसमेत नगदको बार्गेनिङ गरेको जानकारीमा आएको छ। विभागमा प्रमुख मोती गुरुङको उत्तराधिकारीको रूपमा रहेका जितबहादुर केसीबाट नगद नझर्ने भएपछि गौतमले नेपाल प्रहरीका नगदधारीमध्ये कसैलाई अनुसन्धान विभागको प्रमुख बनाउन चाहेको बुझिएको छ। बरियताक्रममा अगाडि रहेका केसीलाई प्रमुख बनाउँदा लाभ नहुने भएकाले नेपाल प्रहरीका सुरेन्द्रबहादुर शाह र राजेन्द्रसिंह भण्डारी या अरू कोही धनवान प्रहरी अधिकृतलाई प्रमुख बनाउने प्रयास वामदेव गौतमबाट भइरहेको छ।

वामदेवबाट अवाञ्छित प्रयास भएपछि गृहसचिव सूर्य सिलवालले समेत बरियतामा पछाडि रहेका विश्वराजसिंह शाहीलाई एआईजीपी बनाउन जोडबल लगाएको बुझिएको छ। उल्लिखित घटनाक्रमले कुनै बेला एमाले पार्टीबाटै ‘नम्बर एक भ्रष्टाचारीको दर्जा’ पाएका वामदेव गौतममा कुनै सकारात्मक परिवर्तन नआएको पुष्टि गरेको छ।

ज्ञातव्य छ, डेढ दशकअघि गृहमन्त्री रहेका बेला रवि श्रेष्ठ नामक प्रहरी अधिकृतलाई प्रयोग गरेर वामदेवले विमानस्थलबाट प्रहरीकै गाडीमा तस्करीको सुन भित्र्याउने गरेका थिए। निज रवि श्रेष्ठ (एसएसपी) विजय गच्छदार गृहमन्त्री भएका बेला विमानस्थलमा सरुवा गएको र त्यहाँ उनले पुनः तस्करी धन्दा सुरु गरेको प्रमाणित भएपछि प्रहरी सेवाबाट नै निष्कासित भइसकेका छन्।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com