nepalikhabar

पत्रकारको अर्का अवतार झुत्रे, कैदी, निष्ठुरी, विरही र वनमान्छे
[2014-05-29 오후 7:33:00]

पागलखानाभित्रको वास्तविकता सार्वजनिक गर्न नेली ब्लाई पागल बनिन् । न्युयोर्कको कुख्यात पागलखाना ब्ल्याक वेल्स आइल्यान्डभित्र डाक्टर र निर्णायकलाई समेत छक्काएर उनी पागलखाना छिरेकी थिइन् । दुई दिनपछि पागलखानाबाट बाहिरिँदा उनले त्यहाँ गरिने दुव्र्यवहारलगायतका भयावह अवस्था सार्वजनिक गरिन् । अमेरिकाकी प्रथम विशेष संवाददात्री नेली ब्लाईको न्वारनको नाम भने एलिजावेथ कोक्रेन हो ।

अमेरिकी पत्रकार कोक्रेनजस्तै नेपालका पत्रकारले पनि आफ्नो नामको पछि उपनाम जोड्ने गरेका छन् । नेपाली पत्रकार कोही विरही, कोही झुत्रे, कोही कैदी, कोही निष्ठुरी, कोही गाउँले, कोही वनमान्छे त कोही तुफान छन् ।

प्रेस काउन्सिल पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार हरिहर आचार्यले आफ्नो नामको पछाडि ‘विरही’ उपनाम लेख्ने गर्छन् । उनले २०२४/०२५ तिर जनकपुर क्याम्पस पढ्दाताका आफूले आफैंलाई विरही बनाए । सामान्यतयाः कथा र कविता विधामा कलम चलाउने हरिहर भन्छन्, ‘आचार्यले जातीय बोध गराउने भएकाले जातिवादविरोधी मानसिकता र समतावादी सोचले आचार्य थरलाई हटाएर विरही लेख्न थालेको हुँ ।’ स्मरणरहोस्, टनकपुर मुद्दासम्बन्धी खोकनाको कार्टुन प्रकाशित गरेको र ‘राजाले कि जनतालाई शासनाधिकार सुम्पिनुप¥यो कि राजाले कडा शासन चलाउनुपर्यो’ भन्ने योगी नरहरिनाथको अन्तर्वार्ता जनज्योति साप्ताहिकमा प्रकाशन गरेको आरोप लगाउँदै उनलाई जेल चलान गरिएको हो । दुईपटक कारावास सजाय भोगेका विरहीलाई पहिलोपटक ११ महिना र दोस्रोपटक सात दिन र पाँच सय रुपैयाँ जरिवाना गराइएको थियो ।

एकताका पत्रकार किशोर नेपालले आफूलाई ‘झुत्रे’ भनेर चिनाउँथे । पछिल्लो समयमा आएर उनले झुत्रे उपनाम लेख्न छाडेका हुन् । त्यस्तै, पत्रकार प्रेम शाही आफूलाई ‘कैदी’ भन्न रुचाउँछन् । नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष विष्णु घिमिरे भने ‘निष्ठुरी’ बनेका छन् ।

अन्नपूर्ण दैनिकसम्बद्ध राजकुमार दिक्पालको थर सुब्बा हो । उनी आफैंले आफ्नो न्वारन गरे पनि त्यति सन्तुष्ट छैनन् । ‘दिक्पाल’ उपनाम राख्दा आफैंलाई पछुतो लागेको उनको स्वीकारोक्ति छ । पत्रकारिताका अलावा कविता, गीत, गजल र कथा विधामा कलम चलाउने उनले ०४७ देखि आफूलाई दिक्पाल भनेर चिनाउन थालेका हुन् । पछिल्लो समय जातीय, धार्मिक र सांस्कृति चेतना परिष्कृत र फराकिलो बन्दै गयो, उनलाई ‘दिक्पाल’ भन्ने शब्द (हिन्दू मिथक) ले बेस्कन चिमोट्न थालेपछि आफैंले राखेको उपनाम मन पर्न छोडेको हो । यही उपनामबाट आफू स्थापित भएकाले राजकुमार सुब्बाले आफ्नो उपनाम दिक्पाल हटाइहाल्न भने सकेका छैनन् ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोशका अनुसार तुफानको शाब्दिक अर्थ हुन्छ– जोडसँग चल्ने हावा, आँधीबेहरी, हुरीबतास, आँधी, समुद्रतिर आउने आँधीबेहर, सबैतिर जलमग्न पार्ने समुद्री महावात, हुन्डरी । ठूलो उपद्रो मच्चाउने, उत्पाती शब्द ‘तुफान’ उपनाम राखेका छन्– राष्ट्रिय समाचार समितिमा कार्यरत रमेश आचार्यले । पत्रकारितामा लाग्नुअघि उनी साहित्यिक व्यक्तित्वका रूपमा चिनिन्थे । उपनाम राख्न आफूलाई रहर र बाध्यता दुवै नभएको उनको दाबी छ । भने, ‘यो उपनाम राख्न एउटा वियोगान्त घटना कारक बनेको छ । तसर्थ, आक्रोशपूर्ण अभिव्यक्ति व्यक्त गर्न ०३९ देखि यही शब्द मैले छानेको हुँ ।’ राससबाट अवकाश पाएका समालोचक वासु रिमालले पनि ‘यात्री’ लेख्ने गर्थे ।

पत्रकारितामा लागेकाबीच नाम जुध्ने भएकाले पृथक पहिचान बनाउन पनि उपनाम सहायकसिद्ध भएको युवराज विद्रोहीको बुझाइ छ । ०५१/५२ देखि विद्रोही लेख्न थालेका उनको नागरिकताको नाम– युवराज भण्डारी हो । साहित्यिक पृष्ठभूमिबाट पत्रकारितातिर लागेका प्रायले उपनाम लेख्ने गरेको पाइन्छ । कतिपयले भने नाम जुधेर त कतिले रहरै रहरमा नामको पछि उपनाम लेख्ने गरेको पाइन्छ ।

नागरिक दैनिकसम्बद्ध उजिर मगरको वास्तविक नाम इन्द्र बुढामगर हो । पत्रकार स्वागत नेपाल (हाल : कानुन व्यवसयी) को वास्तविक नाम भद्रप्रसाद नेपाल हो भने पत्रकार श्रीभद्र आचार्यले श्री आचार्य, राजनलाल जोशीले रास जोशी लेख्ने गर्छन् ।

विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकामा उपनाम लेख्ने पत्रकार थुप्रै छन् । नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा, नागरिक दैनिकसम्बद्ध अमृत भादगाउँले न्यौपाने, हिमाल खबर साप्ताहिकका समाचार संयोजक डम्बरकृष्ण श्रेष्ठले ‘अनुशील’ लेख्ने गर्छन् । यसैगरी कान्तिपुर दैनिक (हाल : होइनन्) का अनमोलमणि पौडेलले एकताका ‘वनमान्छे’ र पछि ‘अनाथ’ लेख्थे । उनले पछिल्लो समय दुवै लेख्दैनन् ।

पत्रकार महिलाले पनि उपनाम लेख्ने गरेका छन् । पत्रकार शुभेच्छा बिन्दुको खास नाम बिन्दु तुलाधर हो । पत्रकार महासंघ उपाध्यक्ष छन्– अनिता बिन्दु । राजधानी दैनिकका पूर्वसम्पादकसमेत रहेका पत्रकार कुमार यात्रुको थर तामाङ हो । अन्नपूर्णपोस्ट दैनिकसँग सम्बद्ध पत्रकार छन्– यम विरही, राजकुमार दिक्पाल, अशोक प्यासी राई ।

यसैगरी, हिन्दू साप्ताहिकका सम्पादक पवन थापा ‘कुन्तल’ विवशराज पोखरेल (विवश वस्ती) बुधवार साप्तहिक सम्पादक (हाल होइनन्) जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक स्व. कृष्ण सेन ‘इच्छुक’, नागरिक दैनिकका छत्र कार्की ‘क्षितिज’ (हाल लेख्दैनन्) रहेका छन् । एकताका जनआस्था साप्ताहिकमा कार्यरत प्रदीप थापामगरले प्रथा मगर लेख्ने गरेका थिए ।

स्वतन्त्र पत्रकारिता गर्ने पनि यो मामिलाबाट अछुतो छैनन् । कृष्ण शाह ‘यात्री’, गुणराज लुइँटेल ‘स्मित’, मणिराज गुरुङ ‘राममणि दाजुभाइ’, गोरखा सैनिक आवाजका भूतपूर्व सम्पादक शुभचन्द्र राई शुभ मुकारुङबाट परिचित छन् । सोही पत्रिकाका पूर्वउपसम्पादक जनकऋषि राई हेन्कुबुङ चाम्लिङ, चोमा तामाङको नामबाट परिचित छन् । पत्रकार विद्याधर गुरागाईंले सुविद गुरागाईं लेख्छन् ।

पत्रकार महासंघ पूर्वअध्यक्ष शिवराज कोइरालाले ‘शिव गाउँले’ लेख्ने गर्छन् । एकताका हिमाल खबर पाक्षिकमा काम गर्थे विप्लव प्रतीकले । एकताका कामना मासिक सम्पादक श्याम स्मृत थिए । उता विजयपुर एफएमको स्टेसन मेनेजर जसकुमार राई ‘बेखर्ची’ छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com