अमित ढकाल

जनताले रुचाउने, प्रहरी सिस्टमले नरुचाउने रमेश खरेल
[2014-05-28 오전 8:56:00]

काममा एकदमै अनुशासित यी एसएसपी संगठनको आलोचनामा भने मुख राेक्न सक्दैनन्
रमेश खरेल धेरै वर्षअगाडि नगरकोटमा इन्स्पेक्टरको रुपमा स्थानीय प्रहरी कमाण्ड सम्हाल्थे। एक साँझ उनले सञ्चार सेटबाटै आफू मातहतका प्रहरीलाई उर्दी दिए- दसैं तिहारको मौसममा नगकोटतिर जुवातास खेल्न ठूलाबडा आउँछन्, हाम्रै हाकिमहरु पनि आउलान्। कसैलाई नछोड्नू। मलाई राति होइन, बिहान मात्रै खबर गर्नू।



नेपालको राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान खरेल एकताका प्रहरी तालिमकेन्द्र महाराजगन्जमा पोस्टिङमा थिए। उनी त्यहाँ रहँदै प्रहरीको नयाँ ब्याच तालिम सकेर पोस्टिङमा जाने तर्खरमा थियो। उनका सिनियर र अहिलेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि तालिम केन्द्रमै थिए। तालिम समापन समारोहलाई सम्बोधन गर्न प्रहरीका एक डिआइजी आएका थिए।

रिसेप्सनपछि साँझ डिआइजीलाई पनि बिदा गर्ने समय भयो। सबै लाइन लागेर बिदाइका लागि उपस्थित भए। खरेल पछाडि ठूलो स्वरमा कराउँदै थिए- यस्तो घुस्याहा हाकिमकहाँ छाती तन्काउन गइन्न। अर्याललाई भने डिआईजीले सुन्लान् भन्ने ध्याउन्न थियो। उनले नै खरेललाई सम्झाए- जे पायो त्यही नकराऊ, हिँड लाइनमा जाउँ।

आफूसँग अति मिल्ने अर्याललाई जिस्क्याउँदै खरेलले भने- सर पनि घुस्याहाको पक्षमा हो कि के हो?



खरेल अघिल्लोपटक काठमाडौंका एसपी हुँदाको कुरा हो। नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए। नेपालीहरुको प्रवेशले मात्र क्यासिनोमा प्राण भर्न सक्थ्यो, त्यसैले क्यासिनो मालिकहरु आतंकित थिए।

क्यासिनो र काठमाडौंको सुरक्षाको विषयमा गृहमन्त्रीको कार्यकक्षमा मिटिङ थियो। गृहमन्त्री, सचिव, आईजिपी, एआइजी र खरेल मिटिङमा थिए। खरेल आफ्नो कुरा राख्दै थिए। एआइजीले खरेललाई सम्झाउने भाकामा भने- हैन रमेश कुरो यसो हो ....।

खरेलले एआइजीको कुरा भुइँमा झर्न दिएनन्। उनले भने, 'तपाइँको कामको ट्र्याक रेकर्ड र इमान सबैलाई थाहा छ। मलाई सम्झाउन नखोज्नुहोस्।'
.............
अस्ति शनिबार मात्र सार्वजनिक रुपमा बोलेका कुराले खरेल फेरि विवादमा छन्। प्रहरी क्लबमै आयोजित एक कार्यक्रममा खरेलले डिआईजीहरु ब्रिफकेश बोकेर एआईजी बन्न हिँडेको अभिव्यक्ति दिए। खरेलका यी सबै अभिव्यक्तिहरु पदीय मर्यादा बाहिर छन्। आफ्नो संगठन र आफ्ना सिनियरहरुका बारेमा मुख नखोल्ने 'कठोर' अनुशासनमा बाँधिएका सुरक्षा अंगभित्र यस्ता अभिव्यक्ति अराजक मानिन्छन्।

तर यो सत्यको एउटा पाटो मात्र हो। यसले सबै सत्य उद्घाटित गर्दैन। न त यसले खरेलको 'सनक' को जरो उधिन्छ। खरेल विगत २५ वर्षदेखि नेपाल प्रहरीमा आफ्नो जिम्मेवारीमा निरन्तर खटिइरहेका छन्। कार्यकुशलताका हिसाबले उनी एक अब्बल प्रहरी अधिकृत हुन्।

खरेल काममा कसैसँग सम्झौता गर्दैनन्। यिनले शक्तिशाली र सर्वसाधारणसँग एउटै व्यवहार गरेका छन्। दुवैसँग यिनको निष्ठा एकनास प्रदर्शन हुन्छ। त्यसैले जुन जुन जिल्लामा गए, आम मानिसको मन जितेका छन्। प्रशंसा बटुलेका छन्।

अहिले हनुमान ढोकामा एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहन्छ। भ्याएसम्म सबैको कुरा आफैँ सुन्छन् खरेल, समस्या समाधानका लागि तुरुन्त पहल गर्छन्। त्यसैले हनुमान ढोका जानेहरुले राज्य आफ्नो समस्याप्रति संवेदनशील भएको महसुस गर्ने गरेका छन्।

खरेलले नेपाल प्रहरीलाई आम पत्रकार र पाठकभन्दा धेरै नजिकबाट बुझेका छन्। त्यहाँभित्रको बेथिति र भ्रष्टाचार देखेका छन्। नेपाल प्रहरी जुन 'सिस्टम'मा चल्छ, त्यसको राम्रो हेक्का छ उनलाई। तर, उनी त्यो सिस्टमको अंग होइनन्।

खरेल र नेपाल प्रहरीबीच त्यही सिस्टमको बेमेल छ। औँलामा गन्न सकिने केही अधिकृतहरुबाहेक नेपाल प्रहरी कर्तब्य निर्वाहमा खुकुलो छ। काममा जुम्सो छ। आत्म समीक्षामा कमजोर छ। संगठनका बारे सार्वजनिक र आन्तरिक रुपमा हुने आलोचनाप्रति भने कठोर छ।

खरेल त्यसको ठीक उल्टा छन्। आफ्नो काम र जिम्मेवारप्रति उनी कठोर रुपले अनुशासित छन्। आफ्नो निष्ठामा सम्झौता गर्दैनन्। प्रहरी महानिरीक्षक अर्यालले नै नेपाल प्रहरीमा धेरै इमान्दार अधिकृत रहको तर खरेलको तुलना कसैसँग हुननसक्ने बताएको म आफैंले सुनेको छु।

खरेल आफ्नो काममा जति अनुशासित छन्, संगठनको आलोचनामा त्यत्ति नै 'अनुशासनहीन।' उनी संगठनको आलोचना रोक्न सक्दैनन्।

मेरी एकजना बहिनी पेटमा अण्डा पर्नेबित्तिकै वमन गर्थिन्। खरेलको आन्तरिक 'सिस्टम' ले पनि संगठनको आलोचनालाई धेरै लामो समयसम्म पेटमा राख्न सक्दैन। बाहिर फाल्छ।

सुध्रिने छाँट नदेखिएको आफ्नै संगठनप्रतिको रोष, विरक्ति र अधैर्य प्रतिविम्बित हुन्छन् उनका अभिव्यक्तिमा। वेथितिप्रति अलिकति पनि उदार हुन जानेका छैनन् उनले। उनको यो 'कमजोरी' प्रति नेपाल प्रहरीले कहिलेकाहिँ आँखा चिम्लने गरेको हो। यसपालि भने संगठनको मर्यादाभन्दा बाहिर गएकोमा उनलाई नेपाल प्रहरीले कारबाही गरेको छ। उनलाई काठमाडौंको प्रहरी प्रमुखबाट हटाइएको छ।

सत्य के हो भने, रमेश खरेलजस्ता एकदुई जना नैतिकवान र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका कारणमात्र सर्वसाधारणको भरोसा नेपाल प्रहरीजस्ता संस्थाबाट पूर्ण रुपमा उडेको छैन। नेपाल प्रहरीमात्र होइन, हामीले अहिले बाँचेको राजनीतिक-सामाजिक व्यवस्थाले झिनो वैधता पाएको नै रमेश खरेल, मुख्य सचिव लीलामणि पौडेल, डाक्टर गोविन्द केसी जस्ता केही नामले गर्दा हो। सार्वजनिक जीवनबाट यी नाम निकालिदिने हो भने नेपाली समाजबारे हाम्रो आफ्नै मूल्याङ्कन धेरै निराशाजनक हुनेछ।

त्यसैले समाजले भरोसा गरेका यस्ता व्यक्तिहरुले गर्ने गरेका स-सना गल्तीमाथि कारबाही गर्नुअघि राज्य सचेत हुनुपर्छ। गल्ती र कारबाहीबीच तादाम्य हुनुपर्छ। भीडमा खुट्टा कुल्चनेलाई थुन्यौँ र बगलीमारालाई क्षमा दियौँ भने त्यसले न्यायमाथिको विश्वास उड्नेछ।

जुन राज्यमा एआइजीजस्ता सुरक्षासँग जोडिएका संवेदनशील पदहरु ६-६ महिनासम्म खालि राखिन्छन्, त्यहाँ प्रश्न उठ्नु स्वाभाविक हो। सरकार बनिसकेपछि तीन-तीन महिनासम्म पनि एआइजी पद किन खालि राखियो भन्ने प्रश्नको जवाफ यो सरकारसँग छैन। सार्वजनिक नियुक्तिमा हुने यस्ता ढिलाइसँग विभिन्न चलखेल जोडिने गरेको सत्य कोहीबाट लुकेको छैन। रमेश खरेलको एआइजी नियुक्तिसम्बन्धी सार्वजनिक टिप्पणी पदीय मर्यादा विपरीत हुँदा-हुँदै पनि यही कटु सत्यसँगै जोडिएको छ।

उनले नामै किटेर कसैलाई लान्छित गरेका छैनन्। प्रवृत्तिप्रतिको असन्तुष्टि हो खरेलको अभिव्यक्ति। त्यसैले खरेलमाथि हुनुपर्ने कारबाही भनेको स्पष्टीकरण र संगठनको छविमाथि आँच आउने गरी नबोल्न नसिहत हो। खरेलले भने सरुवाको कारबाही पाए तर प्रहरी संगठन र त्योसँग जोडिएको राजनीति भने फेरि पनि नसुध्रने देखिँदैछ। खरेलको अमर्यादित अभिव्यक्ति जति अक्षम्य छ, त्योभन्दा अक्षम्य र हानिकारक छ, गृह प्रशासनमा हुने अपारदर्शी सरुवा, बढुवा र त्योसँग हुने लेनदेन।

अनुशासनको बहिखाता संगठनसँग मात्र हुन्न। लोकतन्त्रमा नागरिक आफैँ 'अडिटर' हुन्छन्। उनीहरुको बहिखातामा रमेश खरेल दण्डित र प्रहरी संगठन र राजनीतिज्ञहरु पुरस्कृत हुने छैनन्।

अहिले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट मात्र हटाइएको छ। खरेल आइजिपीको रोलक्रममा छन्। उनले बोलेकै बहानामा त्यो रोलक्रम मिचिने तारतम्य मिलाइयो भने त्यो सुशासनको तीव्र आकांक्षा पालेको नेपाली समाजमाथि कालो दिन सावित हुनेछ।

चारित्रिक र कार्यकुशलताको गम्भीर समस्या देखिएका केही न्यायाधीशहरुलाई हिजै (सोमबार) मात्रै सर्वोच्चमा जाने बाटो खोलिदिएको छ। त्यही दिन एउटा काबिल प्रहरी अधिकृतलाई आफ्ना संगठनको नेतृत्वमा पुग्ने र त्यसको व्यापक सुधार गर्ने बाटोबाट अलग गराइएको भए यो क्रुर संयोग मात्र हुने छैन।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com