शिशिर मानन्धर

कोरियामा प्रभावकारी छैन नेपाली दूतावास
[2014-05-16 오후 10:03:00]

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसर पारेर दक्षिण कोरियास्थित नेपाली राजदूतावासले तामझामपूर्वक 'इम्पावरिङ नेपाल' नामक बृहत सम्मेलन आयोजना गर्दैछ। खबरअनुसार परराष्ट्रमन्त्रीसहित ठूलो प्रतिनिधिमन्डल आउने र विभिन्न कार्यक्रमहरुमा भाग लिनेछन्।

दक्षिण कोरिया नेपाली कामदारहरुको लागि राम्रो कमाइ हुने रोजगारीको गन्तव्यस्थल मध्ये एक हुँदै आएको छ। ठ्याक्क यति नै भन्ने औपचारिक तथ्यांक नभए पनि सालाखाला २५ हजार नेपालीहरु दक्षिण कोरियामा मजदूरी गर्दै आइरहेका छन्। केही सयको संख्यामा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरु, केही पोस्ट-डक अनुसन्धाताहरु, केही प्रोफेसनल पेसाकर्मी नेपाली रहेको यस ठाउँमा ६० वटाभन्दा बढी नेपाली संघसंस्थाहरु र गैर-आवासीय नेपाली संघलगायतका संस्थाहरु रहेको मानिन्छ। सिंगो नेपालको प्रतिनिधिमूलक कुटनीतिक निकाय नेपाली राजदूतावास सन् २००७ मा सउलमा स्थापना भएदेखि हालसम्म विभिन्न तीन स्थानमा सरिसकेका छन्।

'इम्पावरिङ नेपाल' जस्तै नाम गरेका धेरै कार्यशाला एवं गोष्ठी, सभासमारोह, एमओयुहरु बेलाबखत हुँदै आएका छन् र यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्छ। तर यस्ता कार्यक्रमहरुको योजना तर्जुमादेखि नै केही रणनीतिक प्रश्नहरुको वस्तुगत जवाफ खोजेर तिनले केकति प्रतिफल कहाँ, केमा दिनेछ भन्ने तथ्यपरक आँकलन गर्न सकिएन भने कार्यक्रम केवल कार्यक्रममा मात्र सीमित भएर यो यो कार्यक्रम गरियो भन्ने सूचक बनाउन मात्र मद्दत गर्ने छ, न कि राष्ट्रको समग्र विकासमा तिनले कुनै भूमिका खेल्ने छ।

यसर्थ यस्ता कार्यक्रमबारे पर्याप्त छलफल, बहस र औचित्य पुष्ट्याइँको काम गरिनुपर्छ। राजदूतावासले यस्ता कार्यक्रमहरुबारे आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिने, सुझाव लिने, तालुकदार मन्त्रालयसँग पर्याप्त संवाद गर्नु पर्ने होइन र?

कोरियाबाट नेपालमा विकास गर्ने र सहयोग पुर्याउने नाममा धेरै संस्थाहरुले काम गरिराखेको भन्ने गरिन्छ। यहाँ उठान गर्न लागेको विषय चाहिँ नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रमहरुमा केकस्ता संस्थाहरुलाई संलग्न गर्न हुने नहुने भन्ने हो। सुन्नमा आएको छ, वर्ल्ड पिसको नाममा काम गरिरहेको एउटा संस्था 'इम्पावरिङ नेपाल'को स्पोन्सर बनेको छ। झट्ट सुन्दा वर्ल्ड पिस भनेको त राम्रै हो नि, किन विवाद गर्नु पर्यो र जस्तो लाग्छ। आखिरमा भित्री कुरा बुझ्नु भयो भने त्यो संस्थामाथि कोरियालीहरुकै प्रश्नचिन्ह छ। समाजसेवा, विकासको नाममा नेपाली आधिकारिक निकायको यस्ता संस्थाहरुसंगको सामिप्यताले नेपालको हित गर्दैन।

नेपाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा कोरियाली सरकारका समकक्षी निकायहरुको सहभागिता हुनुपर्ने होइन र? त्यसमाथि नेपालको परराष्ट्रमन्त्रीले कार्यक्रम उद्घाटन गर्दै हुनुहुन्छ। नेपालले जबसम्म आफ्नो सम्मानजनक उपस्थिति अन्तर्राष्ट्रिय एरेनामा देखाउन सक्तैन, हामी सधैँ अरुको भरोसामै विकास र सम्वृद्धिको सपना देख्ने सिवाय आफूसँग भएका स्रोतहरुको भरपुर उपयोग गरेर अगाडि बढ्न सक्दैनौं।

कोरियाले नेपालमा विद्युतीय शासन लगायत सूचना प्रबिधि, जलबिध्युत, जनशक्ति बिकासका लागि सहयोग गर्दै आइरहेको र कोरियाली लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न आकर्षित भैरहेको सन्दर्भमा प्राप्त कोरियाली सहयोगको गुणात्मक र दिगो उपयोगको लागि सरकारका सम्बन्धित निकायहरु बीच प्रभाबकारी संयोजन र कुशल ब्यबस्थापनको टड्कारो खाँचो छ। उदाहरणको लागि कोरियाली सरकारको सहयोगमा निर्माण गरिएको डाटा सेन्टरको प्रभावकारी उपयोग। हालैमात्र काठमाडौँ महानगरपालिकाले संचालनमा ल्याउँदै गरेको विद्युतीय नक्सापास गर्ने प्रणालीको सर्भर उक्त डाटा सेन्टरमा राखी काम भैराखेको सुन्न पाउँदा खुशी लाग्यो। यसरी नै अन्य निकायहरुले पनि सो केन्द्रको उपयोग गरी विद्युतीय सुशासनतिर अगाडि बढ्ने विश्वास लिन सकिन्छ। सन् २००५ मा कोरियाली सरकारकै सहयोगमा इ गभर्मेन्ट मास्टर प्लान बनेको करिब १ दशक हुनलाग्दा समेत सो गुरुयोजनामा उल्लेख गरिएअनुसारका कुनै पनि अवयवहरु लागू गर्न नसक्नु हाम्रो सरकारी कामगराइको परिणाम हो। सहयोग लिँदा वाचा गरिएअनुसारका बुँदाहरु कार्यान्वयन गरिनुपर्छ, खालि नयाँ योजनाको कुरा गर्ने, सहयोग प्राप्त गरेपछि झारो टार्ने खालले सम्पन्न गर्ने, कागजी बाघमात्र बनाउने, तिनको दिगो ब्यबस्थापन र उपयोगको बारे कुनै रणनीति नबनाउने टालटुले प्रवृत्तिलाई निरुत्साहित गर्नु आजको आबश्यकता हो।

आशा गरौँ, नेपालीहरु जहाँ रहेपनि शिर ठाडो पारेर गौरवशाली राष्ट्रका नागरिक हौँ भन्ने दिन आउन धेरै समय कुर्नुपर्ने छैन।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com