भवानी बराल

बिलखबन्दमा साइँला दाइ
[2014-04-05 오후 4:41:00]

'हिन्दी भाषामा एउटा भनाइ छ-सज्जन से सज्जन मिले तो श्रीखण्ड मे कपुर,दुर्जन से दुर्जन मिले तो भाङ मे धतुर ।'अर्थात सज्जनको समूहमा सज्जन नै थपिए भने श्रीखण्डमा कपुर मिसाएझैं सुगन्ध आउँछ । फटाहाका भीडमा बदमासहरू सामेल भए भने भाङमा धतुरो मिसाएझैं झनै दुव्र्यसनयुक्त र बिखालु हुन्छ भन्ने यो पंक्तिको आशय हो ।

नेपालका राजनीतिक पार्टीहरू जतिबेला क्रान्ति, जनान्दोलनमा थिए, त्यसबखत संगठनमा सज्जनमा सज्जन मिसिए र आन्दोलनको अभिभारा पूरा गरे । जब आन्दोलन सकियो, संगठनको ठाउँ दुर्जनहरूले लिन पुगे । सज्जनहरू जो दुर्जनमा रूपान्तर भए तिनै मात्र टिके । यस्तै विडम्बनापूर्ण स्थिति हरेक पार्टीमा भित्रियो । कांग्रेसमा गणेशमान सिंहजस्ता लौहपुरुष, सन्त नेता कृष्णप्रसाद भट्टराई, जगन्नाथ आचार्यहरू जीवनको उत्तरार्द्धमा कांग्रेसी राजनीतिबाटै अलगअलग भए ।

यस्तै कांग्रेस छोड्ने अर्का पात्र हुन् प्रजातान्त्रिक सेनानी भूविक्रम नेम्बाङ अर्थात साइँला दाइ । धेरैलाई लाग्दो हो यी कांग्रेसी राजनीतिका कुन दर्जाका पात्र हुन् । आजका कांग्रेसीहरूले सायदै उनलाइ चिन्लान् तर, कांग्रेसी राजनीतिको कखरा जान्ने हरकोहीलाई भूविक्रमको नाम थाहा हुनुपर्छ । पूर्वाञ्चलमा गिनेचुनेका कांग्रेसीमध्येका एक गर्वे कांग्रेसी थिए भूविक्रम अर्थात साइँला दाइ ।

७६ वर्ष पार गरेका नेम्बाङले स्वर्ण वर्ष कांग्रेसमा बिताए । उनको स्वर्ण जवानी कांग्रेसको सशस्त्र विद्रोह, निर्वासन, भागदौड र जनान्दोलनमै बित्यो । 'डबल सुब्बा' को जिम्दारी पटवारी पनि कांग्रेसी राजनीतिलाई स्रोत बन्यो । कांग्रेसको ऐतिहासिक आरोह-अवरोहमा कहिल्यै विचलित नभएका नेम्बाङ दोस्रो संविधानसभापछि कांग्रेस ठूलो दल बन्नेबित्तिकै कांग्रेसलाई 'जय नेपाल' गर्न पुगे । कुनै लिखितम-बखितम गरेर उनले पार्टी छोडेनन् । जीवनको यो हीरक यात्रामा उनले जगन्नाथ आचार्यको आदर्शलाई पछ्याउँदै गणेशमान सिंहले देखाएको बाटो तताएका छन् ।

किन छोडे नेम्बाङले कांग्रेस ? प्रश्नहरू अनुत्तरित छैनन् । देखी जान्ने र सुनी जान्नेहरूका लागि यो 'ओपन सेक्रेट' हो । नेपालको एक सांस्कृतिक वर्चस्वका पार्टीहरू गुटगत राजनीति गर्नमा मात्र अभ्यस्त छैनन् । सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिँदै पार्टीलाई क्लबका रूपमा रूपान्तरण गरिसककेका छन् । त्यही क्लबको मातहतमा एक सांस्कृतिक वर्चस्वलाई स्थापित गर्दै बाँकी कार्यभार पूरा गर्न लागिपरेका छन् जुन कुरा नेपालको सन्दर्भमा परम्परागत शासकहरूले गर्दै आएका थिए । भाग्यवादमा आधारित यो शासकीय परम्परामा नेम्बाङहरूको विद्रोह नेपालको राजनीतिमा पलायनको परिभाषामा पर्छ, त्यसैले कुनै तरङ्ग आउन सकेन । सिंह, आचार्य, भट्टराईझैं उनी पनि कांग्रेसबाट बिरक्तिएका पात्रको नियति भोग्नेछन् ।

बीपी कोइरालाको आदर्शबाट प्रभावित साइँला दाइ अन्ततः कांग्रेसी हटियामा समाजवादी पीठो नभेटेपछि राजनीतिक बिलखबन्दमा परे । माओवादीका 'जनयुद्ध' लाई अन्तरमनले समर्थन गर्न पुगे पनि पछिल्लो कालखण्डमा माओवादी हुन सकेनन् । सत्ता प्राप्तिका लागि मात्रै माओवादीले आदिवासी जनजातिलाई उपयोग गरेको निष्कर्ष उनको थियो ।

राजनीतिक आरोह-अवरोहमा कांग्रेस परित्याग गर्ने उनी एक्ला सेनानी भने होइनन् । कांग्रेसको ६० वर्षे लामो जवानीमा कांग्रेससँग पारपाचुके गर्ने धैरै छन् । तर पनि कांग्रेसलाई फरक परेको छैन । कांग्रेसी समाजवाद उदार पुँजीवादमा अनुवाद हुनासाथ खाली ठाउँ भर्न एकसेएक भित्रिएका छन् । परिणामस्वरूप बीपीलाई फाँसी दिनुपर्छ भन्दै बीपी चढेको जहाज उत्रन नदिन हवाईमैदानमा सुत्नेहरू यतिखेर कांग्रेसी छहारीमा सत्ताको शीतल तापिरहेका छन् । साइँला दाइहरू उदार पुँजीवादको सुनामीमा टिक्न नसकेर छटपटाउँदै भागिरहेका छन् ।

डा. तुलसी गिरी, बखानसिंह गुरुङ, काशीनाथ अधिकारी, पर्शुनारायण चौधरीहरू कांग्रेसबाट बिरक्तिएर पञ्चायतको पोखरीमा हाम्फाले । मध्य दक्षिणपन्थबाट घोर दक्षिणपन्थको यो यात्रा विपरीत थिएन नै । यतिखेर पञ्चायत त छैन । वाम दिशातिर लम्कने गोरेटो पनि प्रस्ट छैन । आदिवासी जनजातिले उठाएको मुद्दालाई किनारा लगाउन गठित कतिपय संगठनहरूको राजनीतिक तथा दार्शनिक दृष्टिकोण छैन । पहिचानसहितको संघीयता संघीयतासहितको संविधानजस्तो अमूर्त नाराका भरमा संगठन कति दिन टिक्छ ? 'वर्गीय मुक्तिका लागि समाजवाद जातीय मुक्तिका लागि संघीयता' यस्ता व्याख्या नभएका फोस्रा नारा पार्टीको निर्देशक सिद्धान्त कसरी बन्छन् ? संघीयता भनेको संरचना मात्रै हो । त्यसमा अन्तरवस्तु भर्ने काम त सिद्धान्तले गर्छ । माक्र्सवादलाई मान्ने लेनिनवादलाई छोड्ने हो भने संघीयताको अर्थ पनि छैन । संघीयता त लेनिनवादले रूसमा जातीय मुक्तिका लागि व्यवस्थित गरेको सिद्धान्त हो । लेनिनवादको आधारबिना फोस्रो संघीयताले जातीय मुक्ति हुन्छ भन्नु हास्यास्पद कुरा हो । विचारविहीन नाक, नक्सा र नश्ल, वंशका आधारमा मात्रै राजनीतिक संगठन कति टिकाउ हुन्छ भन्ने त मधेसी पार्टीहरूको विभाजनको उदाहरणबाटै प्रमाणित भइसकेको छ ।

साइँला दाइले त्यतिखेर मात्रै कांग्रेसलाई चिने जतिखेर संघीयताको मुद्दा पार्टीमा जयप्रकाश गुप्ताको सहयोगमा राखिरहँदा कांग्रेसले संघीयतालाई निषेध गर्न ०४७ सालको संविधानमार्फत राष्ट्रिय सभा बनाउने निर्णय गर्‍यो । राष्ट्रिय सभालाई जातीय सभा बनाउने भने पनि अन्ततः त्यसो नभएपछि कांग्रेसको समाजवादप्रति उनको मोह भंग हुँदै गयो । कांग्रेसले एकमना सरकार बनाएपछि त समाजवादको आर्थिक कार्यक्रम नै लथालिङ्ग बनायो जुन कुरा बीपीको समाजवादमा उनले कतै जानकारी पाएका थिएनन् ।

यसपछि भने कांग्रेसको क्रियाकलापप्रति नै शंका भयो । उनी राजनीतिको जोडघटाउ गर्न पुगे । सातसाले क्रान्तिले स्थापित गरेको संविधानसभालाई छोडेर ०१५ सालको संविधान कांग्रेसले स्विकार्नु अर्थपूर्ण थियो । १५ सालको संविधान स्विकारेर कांग्रेसले नै संघीयताको बाटो अवरुद्ध गरेको थियो । यो संविधानलाई स्वीकार गरेर कम्युनिस्टहरूले समेत एक सामाजिक, एक सांस्कृतिक वर्चस्वलाई मलजल पुर्‍याए । राजाले दिएको संविधानबाट संसद्को पुनः स्थापना गर्नु चानचुने कुरा थिएन । चुनौतीपूर्ण भएकाले नै अन्ततः त्यो छोटो अवधिमै पतन भयो । यो जानाजान गरिएको कर्म थियो साइँला दाइको भाषामा । बरु लिम्बुवानको पाँचथरमा बसेको चुम्लुङ -सभा) ले संविधानमै किपटको व्यवस्था नभए निर्वाचन बहिष्कार गर्दै संघर्ष गर्ने छलफल भएको थियो । उक्त निर्णयलाई कांग्रेसी लिम्बुहरू बीबी लावती र प्रेमराज आङ्दम्बेहरूले विरोध गरेपछि पारित हुन भने सकेन ।

पहिलो जनान्दोलनको परिणामलाई विसर्जन गर्न हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रमा दलका नेताबीच राजा वीरेन्द्रको सहमति भइसकेको थियो भन्ने साइँलादाइको दाबी हो । गणतन्त्र र धर्मनिरपेक्षतालाई रोक्न आन्दोलनरत कांग्रेस वाम मोर्चाका नेताबीच सहमति भएकाले मात्र राजा बहुदलीय व्यवस्था दिन राजी भए । दोस्रो जनान्दोलन गृहयुद्धलाई रोक्न आयोजित भए पनि संविधानसभाले मुलुकलाई संघीय संरचनामा मोड्न खोज्दा संविधानसभा विघटन हुन पुग्यो । मधेस र जनजाति आन्दोलनको रापले बाध्यतापूर्वक स्विकारेको संघीयता दोस्रो संविधानसभामा आइपुग्दा धरापमा परिसकेको छ ।

क्रान्तिको पूरक साधनका रूपमा आदिवासी जनजाति, उपेक्षित उत्पीडितहरूलाई उपयोग गर्ने नेपाली राजनीतिको नियति भयो । क्रान्तिलाई कहिल्यै पूर्णता नदिने, परिवर्तनलाई अभर पार्ने एकल सामाजिक सांस्कृतिक र भाषिक सैनिकीकरण गर्ने उग्र राष्ट्रवादी धारणा नै नेपाली राष्ट्रियताको कमजोर पक्ष हो । यस्तो धारणाले नेपाली राष्ट्रियतालाई खण्डित बनाउँछ । अब पनि नेताहरू उदार भएनन भने दोषभागी उनीहरू नै हुनेछन् ।

यसरी नेपाली राष्ट्रियताको परिभाषा खोज्दै प्रजातन्त्र सेनानी साइँला दाइहरूले दलहरूको दलान छोड्ने राजनीतिक अभियान तीव्र छ । तर, राष्ट्रको परिभाषा मुद्दामा खोज्ने दलहरू पनि सत्ताको सियालमै रमाउने गरेका छन् । कथनी र करनीमा एकरूपता नभएका यस्ता 'हात्ती दाँते' पार्टीहरू रहुन्जेल साइँला दाइहरूको नियति गणेशमान, जगन्नाथहरूको भन्दा भिन्न हुने छाँट छैन । यिनको खुट्टी हेर्दा लाग्छ यहाँ पनि दुर्जनहरूको भीडमा बदमासहरूको प्रवेश भइसकेको छ ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com