देवेन्द्र सम्बाहाम्फे

कोरियामा श्रम गरेर परोपकार
[2014-03-31 오전 7:16:00]

श्रम गर्न बिदेशिएका नेपालीहरु पारिवारिक समृद्धिका लागि मात्र होइन आफ्नो कमाईको केहि अंश समाज र देशका लागि पनि योगदान गर्नुपर्छ भन्ने दृष्टान्त कोरियामा रहेका नेपालीले दिएका छन् । यहां कार्यरत नेपालीहरु कोरियाली रोजगारदाताको नजरमा जति इमान्दार,मिहेनती छन त्यति नै उनीहरु सहयोगी र परोपकारी पनि छन् ।

औधोगीक दुर्घटनामा परेका र विभिन्न रोग रोग लागेका नेपालीको जिबन बचाउन मात्र नभएर उनीहरुले नेपालमा स्वास्थ्य, शैक्षिक, सामाजिक सुधार र दैबी बिपत्तिमा परेकालाई समेत ठुलो आर्थिक सहयोग गर्दै आएका छन् । आर्थिक सहयोग जुटाउन भने उनीहरुले दशैं,तिहार र कोरियन चुसक सलनाल जस्ता पर्वमा नेपालबाट कलाकार आमन्त्रण गरेर पालैपालो संस्कृतिक कार्यक्रम आयोजना गर्दछन् । सांस्कृतिक कार्यक्रम आयोजना गरे नेपाली कला,संस्कृतिको संरक्षण,संर्बद्धन र अन्र्तराष्ट्रियकरण हुने उनीहरुको बुझाई छ ।

पछिल्लो समयमा भने फेसबुक सन्जाल अभियान निकै प्रभावकारी र मितब्ययी बन्ने गरेको छ । यस बाहेक चन्दा संकलन, चिठ्ठा कार्यक्रम, खेल आयोजना गर्ने गर्छन् । यस्ता कार्यक्रमबाट संकलन भएको रकममा थपथाप गरेर पीडितहरुलाई सहयोग गर्दछन् । कोरियामा मजदूरी गर्न आउने नेपालीहरु धेरै छन् । यस बाहेक व्यापारी,बिद्यार्थी,कर्मचारी रहेका छन् । वैवाहिक सम्बन्धमा आएका महिला पुरुषको संख्या पनि निक्कै रहेको छ । यहां सामाजिक, सास्कृतिक, जातीय र क्षेत्रीय संस्थाहरु संचालनमा छन् । यी संस्थाहरुबिच सहअस्तित्व र सहकार्यको भावना प्रगाढ छ । उनीहरुको मिलोमतोलाई देखेर नेपालबाट आउने कलाकार,पत्रकार र नेतालेसमेत प्रशंसा गर्ने गरेका छन् | यहां ४० भन्दाबढी जिल्ला सम्पर्क समितिहरु रहेका छन् । यी समितिहरुले आआफ्नो जिल्लामा भइपरि आउने सहयोगमात्र होइन बिकास निर्माणको काममा समेत सहयोग गर्दै आएका छन् ।

जिल्ला सम्पर्क समितिहरु मध्ये बाग्लुङ समाज सेवाको बाटोमा निकै अगाडी छ । यसले गल्कोट क्षेत्रमा एम्बुलेन्स संचालन गर्न १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष राखेको छ । यसका लागि समितिले ११ लाख रुपैयाँ जम्मा गरेको छ भने द्यौलागीरि अंचल अस्पतालमा २०६८ पौष २३ मा ५ लाख अक्षयकोष निर्माण गरेको छ । यो कोषबाट ४ जनाले सेवा पाईसकेका छन् । उता म्याग्दी समाज समितिका अध्यक्ष भरत तुलाचनको सकृयतामा यहां कार्यरत १ सय ९३ जना म्याग्देलीबाट १७ लाख रुपैंया संकलन गरेर म्याग्दी अस्पतालमा आकस्मिक कक्ष निर्माण गरिएको छ । सो आकस्मिक कक्ष पांच महिनाअघि अस्पताललाई हस्तान्तरण गरिएको थियो । यो समितिले बोन टीबीका कारण मृत्युको मुखमा पुगेका छिस्वाङका केशव घर्ति मगरको जीवन रक्षा समेत गरेको छ ।

अर्कातिर स्याङ्जा परिवारले जिल्लाको ग्रामीण जनताका लागि एम्बुलेन्स किन्ने तयारी गरिरहेको छ । यसका लागि परिवारले १४ लाख रुपैंयां संकलन गरिसकेको छ । यसअघि वालिङ समुदायिक अस्पताललाई ३ लाख १६ हजार रुपैंयाको भिडियो एक्सरे पठाइसकेको छ । गुल्मी सम्पर्क समितिले जिल्लको धार्मिक तथा पर्यटकीयस्थल रीडी रुद्राबेनीमा १० लाखको लागतमा बृद्धाश्रम निर्माण गर्न हालै सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । यस्ता अन्य थुप्रै जिल्ला समितिहरुले आ आफ्ना जिल्लाको बिभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् ।

त्यसो त यहां मुख्य राजनीतिक दलका भातृसंगठनहरु पनि नभएका होइनन् तर यी संगठनका कार्यकर्ताहरु भने सामाजिक र परोपकारी काममा भन्दा नेपालबाट केन्द्रीयस्तरका नेता ल्याएर संगठन मजबुत बनाउने र नेतालाई महङगो उपहार दिएर नजिकिने ध्याउन्नमा रहेको चर्चा बेलाबेला हुने गरेको छ ।पछिल्लो एक बर्षमा मात्र यहांका नेपालीले बिभिन्न क्षेत्रमा २ करोड रुपैयांभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

केहि महिनाअघि युएईमा मृत्युदण्डको सजाँय सुनाइएका अनिश खालिङलाई अवश्यक पर्ने ब्लड मनिका लागि एनआरएन,नेपाली सम्पर्क समिति, आदीवासी जनजाती महासंघ व्यावसायी मनोज डाँगी,कल्पना राई,अरुण श्रेष्ठ र बुद्ध गौतमले फेसबुकमार्फत २२ लाख रुपैयाँभन्दा बढी संकलन गरेका थिए । फेसबुक सहयोग अभियानबाटै मृत्युको मुखमा पुगेका दार्चुला धाप ९ का काशीराज जोशी बाच्न सफल भएका छन् । सुनौलो भविष्य साँच्दै दुइ बर्षअघि कोरिया आएका जोशीलाई अचानक ब्रेन ट्यूमर भयो तर आर्थिक अभावका कारण जोशीको उपचार गर्न नसकी एउटा सेल्टरमा बसिरहेका थिए ।

संयोगबस दोलखाका बसद्ध गौतमसंग उनको भेट भयो । गौतमले जोशीको अवस्था देखेपछि फेसबुकमा स्टाटस लेखेर सहयोग अभियान संचालन गरे । गौतमको अभियानले मात्र करिब १३ लाख रुपैया संकलन भएको थियो । गौतमको फेसबुक स्टाटस पढेर इजरायलमा कार्यरत कोपिला थापाले २ लाख रुपैंयाभन्दा बढी सहयोग संकलन गरेर कोरिया पठाएकी थिइन । जोशीकै लागि सूदूरपश्चिम समाज कोरियाले करिब १३ लाख ५० हजार रुपैंया संकलन गरेको थियो । यो सहयोग संकलनबाट सोल राष्ट्रिय अस्पतालमा जोशीको सफलतापूर्वक शल्यकृया भएको छ । अहिले उनको स्वाथ्यस्थिति सुधारन्मोख छ । जोशी जस्तै बोनम्यारो अभाव भएका सकिन्द्र लिम्बुले किराँत याक्थुङ चुम्लुङ र किम्हे माइग्रेन्ट हाउसको सकृयतामा करिब १२ लाख, ब्लड क्यान्सर भएका पोखराका हरि केसीका लागि कास्की परिवार कोरियाले करिब १० लाख रुपैंया सहयोग संकलन गरेको थिए ।

यहां रहेका नेपालीहरुले आपत बिपतमा परेकालाई नभएर आमा घर, हेल्प नेपाल नेटवर्क, प्रारम्भिक बाल विकास केन्द्र तथा यो संस्थाले पुतली घर जस्ता परोपकारी संस्थालाई पनि दिल खोलेर सहयोग गरेका छन् । कोरियाको कडा श्रम नियममा जेलिए पनि समाज र परोपकरी कार्य गर्न सधैं तयार हुने नेपालीहरुले देश र समाजका लागि गरेको परोपकारी फेहरिस्त लामै बन्छ ।

यस्तै फेहरिस्तमा आदिवासी जनजाती महासंघलाई छुटाउनु अन्याय हुन्छ । पिछडिएको बर्ग समुदाय साक्षर भएमात्र जाति र समाज सवल बन्छ भन्ने बुझाई संघको छ । त्यसैले डोल्पाको छार्का गाउंका अति सिमान्तकृत डोल्पो समुदायका तीन बालबालिकालाई बिगत तीन बर्षदेखि संघले पोखराको एक बोर्डिङ स्कूलमा अध्यापन गराउन्दै आएको छ । यी तीन बालबालिकाका लागि प्रतिमहिना २५ हजार रुपैंयाभन्दा बढी हुन्छ । यो रकम जुटाउन संघका सदस्यहरुले प्रत्येक महिना लेबी तिर्ने गरेका छन् । जातीय संस्थाहरुमध्ये तमू धीं कोरियाले हालसम्मकै उदाहरणीय काम गरेको छ । उस्ले १८ लाख सहयोगमा काठमान्डौं जोरपाटीको जम्बु डाडामा निर्माण भइरहेको दाहासंस्कार भवन सम्पन्न सम्पन्न हुन लागेको छ ।

यस्तै जोशीलो युवाहरुको संस्था मानिने योङ स्टार गु्रप पनि परोपकारी काममा अग्रणी स्थानमा छ । यस गु्रपले गत बर्षमात्र १८ लाखभन्दा बढी सहयोग संकलन गरेर नेपाल तथा कोरियामा आपत बिपत परेका नेपालीहरुलाई सहयोग गरेको थियो । कोरियाबाट फर्केका युवाहरुलाई संलग्न गराएर यस्ले नेपाल संयुक्त ब्यवसाय गर्न यम श्रेष्ठको अध्यक्षतामा योङ स्टार गु्रप समेत हालै दर्ता गरेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com