भवानी बराल

कर्णबहादुरको ‘पोलिटिकल साइन्स’
[2013-12-04 오전 1:07:00]

पञ्चायतकालीन कुरो हो । कोसी अञ्चलको भोजपुर जिल्लामा कर्णबहादुर राई नाम गरेका एक जना जानेमानेका पञ्च नेता थिए । पञ्चायती कालखण्डमा मन्त्रीसमेत भएकोले जिल्लामा उनको चल्तिफिर्ती हुने नै भयो । उसो त भोजपुरमा पञ्चायतका एक से एक घागडान नेता अरु पनि थिए । ध्यानबहादुर राई, डम्बरबहादुर बस्नेत आदि । सातसाले क्रान्तिले जन्माएका एक से एक भेट्रान कांग्रेसी नेताहरु रामप्रसाद राई, नारदमुनी थुलुङ, डा. भूदेव राई, देवानसिंह राई पनि भोजपुर कै हुन । देवानसिंह राई त वीपीको मन्त्री मण्डलमा उपमन्त्री नै भएका थिए । अहिले यि सबै पात्रको निधन भैसकेको छ । देवानसिंहको हत्या पूर्वी तराइको झोडाकाण्डमा भयो । अरुण पश्चिममा अबस्थित यो जिल्ला उत्तिखेर कांग्रेसको उद्गमस्थल नै थियो । पञ्चायतले समेत कांग्रेस मास्न नसकेको यो जिल्लामा आजभोली कांग्रेसीहरु सिलासाङला मात्र भेटिन्छन । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि वामपन्थीहरुले चुनावको माध्यमबाट भोजपुरलाई गढ बनाए । चुनावको माध्यमबाटै कांग्रेसी बढारिँदै गए । सातसाल यता अरुणमा धेरै पानी बगिसकेको छ, राजनीतिमा पनि त्यस्तै भयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि प्रायसः एमालेले चुनावमार्फत कब्जा गर्दै आएको भोजपुर पहिलो संविधानसभामा एमाओवादी र दोस्रोमा पुन एमालेकै कब्जामा गयो ।

कुरो ०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको आम निर्वाचनको हो । यो निर्वाचनमा कर्णबहादुर राईले पनि उम्मेद्वारी दिएका थिए । निर्दलीय चरित्रको चुनावमा व्यक्तिले एक्लै चुनावमा भिड्नु स्वभाविक हुन्थ्यो । पञ्चायतले सरकारी उम्मेद्वार भूमिगत तरिकाले तोक्थ्यो । पुलिस प्रशासनले सघाएको आधारमा सरकारी उम्मेद्वार खुट्याइन्थ्यो । उनी पनि मान्छे त पञ्चायत पक्षकै सरकारी थिए । तर, उनी सरकारी उम्मेद्वारको प्राथमिकतामा परेनन् । सरकारी उम्मेद्वारले नै जित्ने सोह्रै आना पक्कापक्की त हुँदैन थियो । त्यसैले चुनावमा अरु गैर सरकारी उम्मेद्वार पनि निर्वाचनमा सहभागि हुन्थे । यस्तै पात्र मध्ये एक जना उम्मेदवार थिए, कर्णबहादुर राई ।

भोजपुरलाई चलनचल्तिको लवजमा माझ किरात पनि भनिन्छ । यसर्थ पनि होला प्रायसः मतदाताले त्यो क्षेत्रबाट एकजना किराती र एकजना गैर किरातीलाई जिताउँथे । मतदाताले गरेको यो न्यायिक मतदान अनौठो नै लाग्थ्यो । तर यसपटक भने ठीक उल्टो परिणाम आयो । दुबै क्षेत्रबाट गैरकिराती टंकप्रसाद ढकाल र मुकुन्दबहादुर बस्नेतले चुनाव जिते । ढकाल सरकारी उम्मेदवार र किराती चेलीसंग विवाह गरेकोले जितेको अर्थ लगाइयो । तर, सबै किराती अनुहारकाले हारेकोमा अनेक अर्थ लगाईयो । धेरैले किरातीहरु धेरै उुम्मेद्वार भएकोले चुनावमा भोट काटाकाट भएर पराजित भएको अर्थ लगाए । निर्वाचनमा पराजय हुनु पछिको यो कारणमा कर्णबहादुरलाई भने चित्त बुझेनछ । अहिले जस्तो हार्नैले धाँदलीलाई आरोप लगाए जस्तो उनले गरेनन् ।

राजनीति शास्त्र नपढे पनि राजनीतिमा आएपछि कर्णबहादुरले ‘पोलिटिकल साइन्स’ को किताब किनेर घरमा राखेका रहेछन । सामान्य लेखपढ मात्र गरेका कर्णबहादुरले त्यो पुस्तक अद्योपान्त पढे पढेनन वा त्यसबाट राजनीतिको कखरा जाने जानेनन त्यो खोजीको विषय हुनसक्छ । उनले ‘पोलिटिकल साइन्स’ पुस्तकबाट कति सूत्र भेटाए भेटाएनन त्यो पनि आफ्नै ठाउँमा छँदैछ । तर, निर्वाचन हारेपछि उनले घरमा राखेको त्यही पुस्तकको खोजी गरेछन् । सायद पोलिटिकल साइन्सको त्यो पुस्तकबाट किन हारिएछ भन्ने पत्ता लाग्न सक्छ भन्ने उनको अन्तरआत्मामा परेको हुनसक्छ । यद्धपी धुँइपत्ताल खोज्दा पनि पुस्तक भेटेनछन् । घरमा अलिअलि पढेका छोराहरु बाबुराम राई र गोपाल राईलाई पनि पुस्तकको बारेमा सोधेछन् । उनीहरुले पनि खेजतलास गरे तर पुस्तक भेटाउन सकेनन । पुस्तक हराएर थकित कर्णबहादुरले छरछिमेकमा पनि पुस्तक हराएको झ्याली पिटे, तहकिकात गरे त्यहाँबाट पनि पुस्तकको अत्तोपत्तो लागेन । अन्त्यमा उनले आफ्नी पत्नीलाइ सोध्न पुगेछन । उनलाई सोधेपछि बल्ल थाहा लागेछ, पोलिटिकल साइन्सको त्यो पुस्तक त आफ्नै भाइ अर्थात उनका साला धरानका कृष्णकुमार राईले लगेका रहेछन् ।

यता सालो कृष्णकुमार राई चैं सुनसरी क्षेत्रबाट त्यो बखत राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । कृष्णकुमार राईले पुस्तक लगेको पनि पत्तो लाग्नु उनैले निर्वाचन पनि जित्नु कर्णबहादुरलाई जँचेछ । त्यसैबखत उनले पोलिटिकल साइन्सको कारण चुनाव हारेको सगौरव घोषणा गरेको कुरा भोजपुरको डबलीमा त्यतिखेर पनि सुन्न पाइन्छ ।

यतिखेर तिनै कृष्णकुमारले संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. १ बाट निर्वाचन जितेका छन् । हुनतः ०४६ सालको परिवर्तन पछिका सबै निर्वाचनमा उनी पराजित हुँदै आएका थिए ।त्यतीखेर उनीसंग त्यो पुस्तक हराएको, कसैले सरसापट लगेर हारेका थिए वा केही तल वित्तल परेको थियो कुन्नी ?

केहि समय अगाडि उनी राप्रपा छोडेर एमालेमा प्रवेश गरेका हुन । प्रवेश गरेको केहि समय नवित्दै उनलाई एमालेले उम्मेद्वार बनायो । गत संविधानसभामा भारी मतले एमाओवादीसंग पराजित भएको एमालेले यसपटक कृष्णकुमारलाई उम्मेद्वार बनाएर त्यस्तै भारी मतले कांग्रेस, एमाओवादीलाई हरायो । यो परिणाम आउनुमा पोलिटिकल साइन्स पुस्तकको करामत कति प्रतिशत हो ? र, एमालेको जनाधारको करामत कति प्रतिशत हो खुट्याउनु पर्ने हुन्छ कि ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com