डीबी आङ्बुङ

लिम्बुवानी आन्दोलन र हिन्दू चाड दसैं
[2013-10-03 오후 4:55:00]

१. विषयप्रवेश:
दसैं पर्व हिन्दू चाड हो । हिन्दू धर्मालवलम्बीहरूले यसलाई महान चाडको रुपमा मनाउँदछन् । यो चाडलाई हिन्दूहरू आफ्नो बडा दसैं पनि भन्दछन् । हिन्दूहरूको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र राजनीतिक आधारहरूले दसैं चाड उनीहरूको महान चाड नै भएको सावित गर्दछ । दसैं चाड हिन्दूहरूको मौलिक चाड भएकोले यो चाडलाई उनीहरूले आफ्नो परम्परा र सँस्कृति अनुसार धुमधामसँग मनाउँछन् । यो उनीहरूको मौलिक अधिकार पनि हो ।

यो हिन्दू धर्मावलम्बीहरूको मौलिक चाड दसैंसँग नेपालका अहिन्दू किरात, बुद्धिष्ट, मुस्लिम र इसाईलगायतको कुनै धार्मिक–साँस्कृतिक सम्बन्ध छैन । धामिर्क र साँस्कृतिक आधारमा दसैं पर्वसँग कुनै सम्बन्ध नभएका नेपालका अहिन्दू किरात र बुद्धिष्ट धर्मावलम्बी तथा हिन्दू वर्णाश्रममा नपर्ने यहाँका केही आदिवासी (मुलवासी) जनजातिहरूलाई इतिहासमा राजनैतिक रुपले जबर्जजस्त दसैं पर्वलाई लादेर हिन्दूहरूले झैँ मान्न बाध्य गराएको तथ्य जग जाहेर छ । यसमा कुनै दुईमत छैन । यस विषयमा धैरै अहिन्दू किरात (लिम्बू) तथा बुद्धिष्ट अग्रजहरूले विभिन्न तवर र माध्यमबाट आफ्नो मत, विचार र धारणाहरू राख्दै आएकै छन् ।

नेपाल संवैधानिक रुपले नै संघीय गणतन्त्रात्मक, धर्म निरपेक्ष राज्य घोषित छ । यसको मत्वल नेपाल राज्यले अब संघीयता, स्वायत्तता र धर्मरिपेक्षता उन्मुख नीति तथा योजना र कार्यक्रमहरू अघि सार्दै जानुपर्ने हो । तर, नेपालको एकात्मक, एक जातीय, ब्राह्मणवादी केन्द्रीकृत राज्यसत्ता अझै पनि उनीहरूकै बर्चश्वमा भएकोले संविधान र नियम, कानुनमा जे जस्तो प्रावधानको व्यवस्थासम्म भए पनि राज्य सोको व्यवहारिक कार्यान्वयन गर्ने पक्षमा छैन । यो कुरा राज्यले गर्ने संघीयता, स्वायत्तता र धर्मनिरपेक्षतासँग सम्बद्ध विभिन्न व्यवहारबाट प्रष्ट हुन्छ । यही नीति अन्तर्गत आफ्नो शताब्दीयौंदेखिको एक वर्चश्व र हालीमुहाली अरुमा पनि साझेदार भई गुम्ने डर र मनोविकृतिले उनीहरू भरसक अग्रगमनबाट फछाडि फर्केर पहिलेकै एकात्मक, केन्द्रीकृत र एकाधिकारवादी शासन व्यवस्थालाई कायम गराउन चाहन्छन् ।

यो अवस्था हुनुमा यहाँका राज्यसत्तामा वर्चश्व जमाउने कथित् उच्च जातहरूको त प्रमुख हात छ नै । साथमा, यहाँका ती कथित् उच्च जातका भनाउँदाहरूले विभिन्न चालबाजी गरेर जबर्जस्त उत्पीडन पारेका उत्पीडित जातजाति तथा जनजातिहरूमा पनि समयमै राजनीतिक चेचनाको विकास हुन नसक्नु अर्को विडम्बना भएको छ । केही राजनीतिक चेत खुलेका उत्पीडित जातजाति तथा जनजातिहरूले पनि आफ्नै ऐतिहासिक भूमि (माटो) र स्वायत्तताको राजनीतिक आन्दोलनलाई आफ्नै बलबुँदा, विचार र एकताको राजनीतिक सङ्गठन र आन्दोलनले उठाउन नसक्नु अर्को समस्या बनेको छ । यसका पनि विविध कारणहरू छन् । त्यस बारेमा भिन्दै बहस आवश्यक हुन्छ ।

यसमा पहिले त सम्बद्ध जातजाति, जनजाति तथा उत्पीडित समुदायमा सामाजिक, साँस्कृतिक चेतनासँगै मौलिक राजनीतिक चेतना जाग्न आवश्यक हुन्छ । यसमा माटो सुहाउँदो व्यवहारिक शिक्षाको ठूलो भुमिका हुन्छ । सोही शिक्षा नीति र यसमा राज्यले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रम नै व्यवहारिक, न्यायिक र वैज्ञानिक नभएपछि केही शिक्षा हासिल गरे पनि त्यसले जनताको चेतनामा आवश्यक व्यवहारिक रुपान्तरण गर्न सक्दैन । यससँगै मुलुकको राजनीतिमा अस्थिरता, अशान्ति र अनेका द्वन्द्वहरू कायमै रहन्छन् । त्यसको व्यवस्थापन समयमै सही तवरले नभएपछि देशमा रोजगारी र विकासको अवसरहरू नहुने हुन्छ । यसको मारमा तिनै उत्पीडित वर्ग, क्षेत्र, जातजाति तथा जनजातिहरू बढी मात्रामा परेका छन् । उत्पीडितहरू त्यो उत्पीडनको चपेटामा पिल्सिँदै आन्दोलन, विद्रोह र क्रान्तिको चरणमा उठ्न निश्चित समय लाग्दछ । यसरी हुने आन्दोलन, विद्रोह र क्रान्तिले नै ती उत्पीडितहरूले चाहेको नेपालको हकमा पहिचान सहितको संघीयता र एकल पहिचान, आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त राज्य र उप–स्वायत्तताको खाँचो छ । यो किसिमको राज्य व्यवस्था भएर सम्बद्ध क्षेत्र, जातजाति, तथा जनजातिहरूले आफ्नै पहुँचमा राज्य चलाउने राजनीतिक अधिकार पाएपछि मात्र अरु सहायक सामाजिक, साँस्कृतिक र धार्मिक सवालहरूमा सही व्यवस्थापन गर्दे अघि बढ्नसक्ने वातावरण सिर्जना हुन्छ । यो अवस्था सिर्जना नभएसम्म अहिले हामीमा भएका विभिन्न सामाजिक, साँस्कृतिक, धार्मिक समस्या तथा चुनौतीहरूलाई कसरी सामना गर्दै जाने भन्ने एक पेचिलो सवाल जन्मन्छ, जन्मेको छ ।

यसै सन्दर्भमा, यो हिन्दू चाड दसैंलाई विशेषतः लिम्बू जाति तथा जनजातिहरूले कसरी बुझेर कुन तवरले विकल्प दिँदै जाने होला भन्ने बारेमा यहाँ केही बहसहरू उप्काउने प्रयत्न गरिएको छ ।

२. दसैं हाम्रो चाड होइन भन्ने कुरामा दुईमतै छैन:
दसैंचाड कुनै पनि नेपालका आदिवासी (मुलवासी) जनजातिहरूको होइन भन्ने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरिरहेको छ । यदि कुनै आदिवासी जनजातिले दसैं चाडलाई हिन्दूहरूले मानेजस्तै उनीहरूको आफ्नै मौलिक चाडकै शैलीमा मनाए पनि त्यो सामाजिक रुपमा मात्र मानेको बुझिन्छ । तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक रुपमा दसैं पर्व हिन्दू धर्मावलम्बी ब्राह्मण–क्षेत्रीको मात्र हो र अहिन्दू किरात, बुद्धिष्टको होइन भन्ने कुरामा कुनै दुई रहेको र रहने छैन ।

किरात इतिहास तथा संस्कृतिका एक अध्येता मञ्जुल याक्थुम्बा (२०६२:३) का अनुसार, ‘‘नेपालमा आर्यहरूको आगमनअघि देशैभरि र किरात (लिम्बुवान ?) प्रदेश (साँगापूर्व, मेची पश्चिम) मा चाहिँ शाहकाल अगाडि दसैं भन्ने शब्द विलकुल अपरिचित थियो । भारतबाट प्रवेश गर्दा आफूसँगै भित्र्याइएको दसैंलाई यी आर्य जातिकाले लाखौं पशुपक्षीहरूको बध गरेर दही चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौं दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारमाचाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ । अतः दसैं भन्ने चाड किरात (लिम्बुवान) प्रदेशमा बलात् थोपरिएको हो ।’’

त्यसैगरी त्रिभुवन विश्व विद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरका सह–प्राध्यापक मानवशास्त्री डम्बर चेम्जोङ (२०६८)का अनुसार, ‘‘आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैं मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरणतः लिम्बुवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्ने पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो ।’’

यसै सन्दर्भमा दसैंबारे मुन्धुमविद् प्राज्ञ वैरागी काइँलाको विचार यस्तो छ– ‘‘दसैं जातिगत रुपमा लिम्बूको होइन । संस्थागत रुपमा अमाल–अमाली र सुब्बाहरूको थियो । त्यतिबेला नेपाल सरकारको स्थानी य प्रतिनिधिको हैसियतले दसैंको नीति नियम पालना गरी मनाउनु उनीहरूको बाध्यता थियो । अब लिम्बूहरूको अमाल प्रथा उडेपछि सुभाङ्गी पनि समाप्त भयो । सुभाङ्गीको समाप्तीपछि लिम्बूले मौलोमा मार हान्नेक्रम् त्याग्दै गए । किनभने जसरी सरकारले एकतर्फी रुपमा किपट उन्मूलन गरेर त्यासँग सम्बद्ध सुविधा तोडिदियो, त्यसरी नै दसैं मान्ने र मार हान्ने चलनको पनि अन्त्य हुँदै गयो’’ (काइँला, २०६०:३६) ।

यसबारेमा लिम्बुवानका एक राजनीतिक नेतृत्व कुमार लिङ्देन ‘मिराक’ को मत यस्तो छ– ‘‘किरातहरूले हिन्दू धर्मलाई घृणा गरेको होइन । तर हिन्दू धर्मको नाममा शासन चलाउने मुट्ठीभरका शासकहरूको काम गर्ने तौरतरिका प्रति गम्भीर असन्तुष्ट, अविश्वास र आक्रोश व्यक्त गरेको हो । विश्वले नेपाललाई गौतम वुद्धको शान्तिको देश भनेर चिन्दछ । बुद्धको त्यही अहिङ्सावादी आन्दोलनलाई साथ दिँदै महागुरु फाल्गुनन्दले किरात धर्मलाई एउटा उचाईमा उठाउनु भएको छ । तर त्यही बुद्धको देश नेपालमा दसैंको कथित् शुभ उपलक्ष्यमा लाखौं जीवहरूको हत्या हुन्छ । काठमाडौंको हनुमान ढोकामा ४० वटा राँगा काटिन्छ र दुःखको कुरा ती क्षत्–विक्षत् पारिएका पशुको लाशहरूलाई नेपालको राष्ट्र प्रमुखबाट पनि नजर गराइन्छ र खुशीमा मुस्कान छरिन्छ । प्रत्यको चौकी र सैनिक व्यारेकमा कालो बोका दसैंको खशीयालीमा काटिन्छ । अनि यो हत्याको चाडलाई, रगतको चाडलाई राष्ट्रिय चाड भनेर नामकरण गरिन्छ’’ (लिङ्देन, २०६०।

उपरोक्त भनाइ र आधारहरूले हिन्दूहरुको दसैं चाडसँग आदिवासी (मूलवासी) जनजाति किरात लिम्बूहरूको कुनै मौलिक धार्मिक, साँस्कृतिक र राजनीतिक सम्बद्ध छैन भन्ने कुरा प्रष्ट हुन्छ ।

३. लिम्बुवानमा कसरी लादियो त ?
यस्तो नेपालका आदिवासी (मुलवासी) जनजाति किरात लिम्बूहरूसँग कुनै सम्बन्धै नभएको हिन्दू चाड दसैंको प्रवेश लिम्बुवानमा कसरी भयो त ? यस सवालमा केही विद्धानहरूको अध्ययनहरू उल्लेख गरौं ।

विद्वान मञ्जुल याक्थुम्बाका अनुसार ‘‘तत्कालीन पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमाना नजिक परेकोले विदेशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो । पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रूहरूकोसमाना आफैंले गर्नका लागि काठमाडौं आई राज रणबहादुर शाहसँग हात–हतियार मागे । योङहाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राज रणबहादुर शाहले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिका सथा दसैंको नवमीमा मौलो थापी बलिपूजा गर्नुपर्ने दसैंया संस्कृति पनि लादी पठाएकोले ती ५२ सुब्बाहरू काठमाडौंबाट फर्केपछि याङ्रुपको टुँडीखेलमा योङहाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हात हतियार र निशान पूजाका साथ नगार, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए । तर, २०२१ सालमा भूमि सुधार ऐन् लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एक पक्षीय रुपले हनन् भएको महसुस गरी लिम्बुवान क्षेत्रमा दसैं मान्नुको औचित्य समाप्त भयो’’ (याक्थुम्बा, २०६२:३–४) ।

यसै प्रसङगलाई थप पुष्टि गर्दै प्राज्ञ अमर तुम्याहाङ लेख्छन्– ‘‘केही अपवादलाई छोडेर राजनैतिक हिसाबले हेर्ने हो भने वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग संपृति या समरीति समूहमा पर्ने दस लिम्बु सरदारहरूले जब सन्धि गरे त्यही मितिदेखि याक्थुङ लाजे अर्थात् लिम्बुवानमा दसैँले औपचारिक प्रवेश पायो। यसपछि शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीय स्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैँलाई याक्थुङबाहरूको घरमा पुर्याउने काम गरे। सत्ता र शक्तिको भरमा दसैँ याक्थुङ घरमा पस्यो। तिल्लिङ्गा पठाएर याक्थुङहरूले दसैँ माने नमानेको अनुगमन गर्ने भएकाले सत्ताको मनोवैज्ञानिक त्रास मात्र होइन, दसैँ मानेको निसानी स्वरूप हात र खुट्टाको छाप घरको मूल ढोका छेउमा लगाउनै पर्ने नियती पनि उनीहरूले भोगेकै कुरा बूढापाकाहरूको सम्झना जिउँदै छँदैछ’’ (तुम्याहाङ, २०६९) ।

यसमा मानवशास्त्री डम्बर चेम्जोङको बुझाई यस्तो छ– ‘‘दसैंमा वलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थयो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछा भए÷नभएको निरीक्षण गर्न गोश्वारा, गौंडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बुवानमा । दसैं नमानिएको, पशुवलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहारु । यसरी लिम्बू सुब्बाहरूमा दसैंमा पशबलि दिनेक्रम् विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू–स्वामित्व प्रणालीको व्वस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रका स्थानीय इकाईको रुपमा समेत जिम्मेवारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्विकारोक्ति दसैंमा चढाउने पशुवलिमार्फत् नै भइरहेको बुझिन्छ’’ (चेम्जोङ, २०६८) ।

यसर्थ, उपरोक्त अध्ययनहरूले यो हिन्दूहरूको दसैं चाडलाई तत्कालीन एकात्मक जातीय राज्यले जबर्जस्त लिम्बुवानमा राजनीतिक रुपमै लादेका प्रष्ट हुन्छ ।

४. लिम्बू जाति र मुन्धुम:
लिम्बू (याक्थुङ) जातिले परम्परागत रुपमा गर्ने प्रत्येक संस्कारको आफ्नै मुन्धुम् हुन्छ । कुनै पनि कर्म–संस्कार किन र कसरी गर्ने भन्ने बारे मुन्धम्ले निर्देशित गरेको हुन्छ । याक्थुङ समाज र संस्कृतिको विकासको चरणमा विभिन्न संस्कार, संस्कृति र चाडपर्वहरू पनि विकसित भएर आएका छन् । यसमा चासोक (उँधौली) तङ्नाम र याक्वा (उँभौली) तङ्नाम तथा कःक्फेक्वा (माघे सङ्क्रान्ति) तङ्नाम र सिसेःक्पा (साउने सङ्क्रान्ति) तङ्नाम विशेष महत्त्वपूर्ण छन् । त्यस्तै पछि आएर ‘वलिहाङ तङ्नाम’ले पनि एक मौलिक राजनीतिक पर्वको रुपमा ठाउँ पाएको छ । यी सबै चाडपर्वसँग लिम्बू जातिको मौलिक मान्यता र मुन्धुम् छ । तर दसैंंसँग लिम्बू जातिको कुनै मुन्धुमी सम्बन्ध पाइँदैन ।

५. मौलिक फूल लगाउने ‘फुङ्वाःप्मा’ तथा शीर उठाउने ‘माङ्गेन्ना’ संस्कार
प्राज्ञ बैरागी काइँलका अनुसार– ‘‘हिन्दूहरूको दसैंमा किरातहरूले उनीहरूको संस्कारको केवल हुबहु नक्कल मात्र नगरेर आफ्नै प्रकारको संस्कारको विकास पनि गर्दै आएका थिए । अब आफ्नै चाडपर्वहरूको पहिचान र विकाससँगै किरातीहरूले आफ्नै चाडवर्पहरूलाई विशेष जोड दिएर दिएर मनाउन थाल्नेछन् । यो क्रमको सुरुवात र पालना युवा वर्गहरूबाट हुनु जरुरी छ’’ (काइँला, २०६०) ।

लिम्बुवानमा जबर्जस्त लागिदएको दसैंको समयलाई सदुपयोग गर्दै एक मौलिक विद्रोह गर्ने क्रम्मा लिम्बू जातिले दसैंमा फूल लगाउने ‘फुङ्वाःप्मा’ संस्कृतिको सुरुवात गरेको देखिन्छ । सिक्किमका एक तुम्म्याहाङ/इङ्मिबा ऐस.पी. माङ्मु (सन् २०१३:५५) का अनुसार ‘‘याक्थुङ्बाहरुले विवाहको सोतरित बुझाउने क्रम्मै हामी ‘मेल्लुङ् फुङ्वाःत्छे’ (फूल लगाउन) कहिले आऊँ’’’ भनेर सोधिन्छ ।

यसक्रममा ‘‘पछि वर्षदिन पुगेर नयाँ अन्नबाली पाक्दा पर्ने ‘तङ्नाम्’ (चाड)को बेला आउनू’’ भनेर भनी पठाइन्छ । यसर्थ, नवविवाहितरुले कुनै मौलिक चाडको अवसरमा फूल लगाउनका लागि माइत अर्थात् ससुरालीमा जानुपर्ने संस्कार भएको प्रष्ट हुन्छ । दुर्भाग्य, सो अवसर दसैंमा मान्नुपर्ने बाध्यता वा विद्रोहस्वरुप याक्थुङबाहरूले त्यही अवसरलाई सदुपयोग गरे । अब यसलाई आफ्नै मौलिक चाड 'चासोक तङ्नाम' (उँधौली) को अवसरमा सम्पन्न गर्नु सार्थक हुन्छ ।

यस ‘फुङ्वाःप्मा’ (फूल लगाउने) संस्कारलाई मुन्धुमी आधारबाट हेर्दा प्रत्येक सुख–दुःखको काममा आफूभन्दा अग्रज बुबाआमा, बाजेबोजु तथा गाउँका भद्र पुरुषगण ‘तुम्म्याङहाङ’ तथा भद्र महिलागण ‘याक्ला सुहाङ्मा’ लगायतबाट शुभ आशीर्वाद राजाशिष्–देवाशिष् ‘हाङ्वा–माङ्वा मुइ’ लिने–दिने चलनको निरन्तरता हो भन्न सकिन्छ । लिम्बू जातिका सित्तैमा दान या दक्षीणा दिने लिने चलन छैन । लिम्बूले आशीर्वाद पनि सित्तैमा माग्दैनन् । त्यसका लागि आफ्नै परिवारका पनि अग्रज तथा गाउँका भद्र भलाद्मी गण तुत्तु तुम्म्याङ्हरूलाई पनि सार्थक कोशेलीपातले उचित मानमनितो गर्नुपर्दछ । आशीर्वाद लिनलाई उनीहरूसामु दियो–कलश, सगुन पानी र भेटी (नाली कुजेन्) राखेर सोको आग्रह गर्नुपर्दछ । सम्भवतः यसैका लागि लिम्बूका छोरी चेलीले माइतमा फूल लगाउन (फुङ्वाःत्छे) आउँदा जाँदा ती घरपरिवार सबै अग्रज, दाजुभाइ र गाउँघरका भद्रगण तुम्म्याङहरूका लागि कोशेली पात लिएर आएका हुन्छन् ।

याक्थुङ संस्कृतिमा फूलको सारै ठूलो महत्त्व छ । फूलसँग सम्बद्ध विभिन्न मुन्धुम्हरू छन् । लिम्बूहरूले फूल नै नलाउने होइन । तर जोकोहीले जुनसुकै फूल नलगाउने र नलगाई दिने मौलिक संस्कार छ ।

चेलीहरू माइतिमा माइतिसँग फुल लगाउन आउने संस्कार मुन्धुमले चाहिँ सकार्दैन । त्यसकारण, फुल लगाउन आफूभन्दा माथिको आमाबुबा वा बाजेबोजुसँग मात्र आउन जान सक्छन् । चेली माइतिबीचमा चाहिँ मौलिक फेदाङ्मा र सत्यहाङ्माको सेवासावाले विधिवत् माङ्गेन्ना अनुष्ठान गरेर चेली माइतिको माङ्गेन्ना उठाई दिन सक्दछन् । किनभने चेलीको माङ्गेन्ना उठाउन माइति र माइतिको माङ्गेन्ना उठाउन चेलीको उपस्थिति अनिवार्य हुनुपर्दछ ।

बुबा आमा भइञ्जेल फूल लगाउन (फुङ्वाःत्छे) र बुबा आमा वा बाजेबोजु नभई माइतिहरू मात्र भएको अवस्थामा माङ्गेन्ना गर्न चेलीहरू माइत आउन सक्दछन् । अर्थात् माइति चेलीको घरमा पनि जान सक्दछ ।

यसर्थ, बुबा आमा वा बाजेबोजुले छोरीलाई पूmल लगाई आशीर्वाद दिन सक्दछन् । तर माइतिले चेलीलाई फूल लगाई आशिर्वाद दिन सक्दैनन् । किनकि याक्थुङ मुन्धुम अनुसार चेली माइती बीचमा कुनै पनि प्रकारको फुल आदान–प्रदान गर्नै हुँदैन । यसो ग¥यो भने ती चेली माइति दुबैको शीर ढल्छ र अशुभ हुन्छ भन्ने विश्वास छ । तर, एकापसमा साइनो नलाग्ने तरुनी–तन्देरीबीच भने प्रेमको प्रतीक अम्लारि फुङ् (सुनाखरी फूल) लगायतका शुभ पूmलहरू आदान–प्रदान गर्न भने मुन्धुमले कतै बर्जित गरेको छैन ।

त्यसो भए, बुबाआमा, काका काकी, बडा बडीआमा अथवा बाजेबोजु हुने छोरीचेलीले हिन्दूहरूको मुख्य १० दिने दसैं सकिएपछि अग्रजबाट फूल र आशीर्वाद लिन आउने चलनलाई निरन्तरता दिने हो कि ? साथै, अग्रज बुबाआमा वा बाजेबोजु नहुने छोरीचेलीले माइतिबाट माङ्गेन्ना गर्नको लागि चाहिँ वलिहाङ् तङ्नामको अवसरमा भेटघाट गर्ने चलनको सुरुवात गर्ने हो कि ? अर्थात् यी सबै कुराहरू किरात लिम्बूहरूको महान चाड उँद्यौली ‘चासोक तङ्नाम’कै अवसरमा गर्दा झन राम्रो हुने हो ? यी बहस र छलफलका विषयहरू हुन् । तर, यथासीघ्र नै यस बारेमा सम्बद्ध संस्था तथा जातीय सङ्गठनहरूको पहलमा उचित बाटो र विकल्प दिन आवश्यक छ । यसो नगरिएसम्म अलमलको स्थिति कायमै रहने देखिन्छ ।

६. दसैंका तात्कालीक असर विकल्पहरू:
संविधानतः घोषित धर्म निरपेक्ष राज्य नेपालमा सबैभन्दा धेरै हिन्दूका चाडपर्वहरू पर्दछन् । तिथि नै पिच्छेका अनेक हिन्दू चाडपर्वहरूलाई नै सरकारी विदा पनि दिइँदै आएको छ । हिन्दूहरू चाड दसैंमा हप्तौं दिन सरकारी विदा हुन्छ । यसको लागि सरकारले सबै सरकारी कर्मचारीहरूलाई दसैं पर्वको थप तलव समेत प्रदान गर्दछ । नेपालको सरकारी कर्मचारीमा सबैभन्दा धेरै उनै हिन्दू धर्मावलम्बी बाहुन–क्षेत्रीहरू नै भएकोले सरकारी तलव पनि उनीहरूलाई धेरै जान्छ । सरकारले प्रत्यक्ष वा परोक्ष रुपमा दसैं चाड र यसलाई मनाउने समुदायलाई अनेक तवरले प्रोत्साहित गरिरहेको हुन्छ । राज्यकै पहलमा दसैंमा सुपथ मुल्यको पसल राख्ने, त्यही बेला अरबौको नयाँ नोट छाप्ने तथा तिब्बत, चीन र भारतबाट दसैंमा खाने खाद्य पदार्थ, खसी बोका, भेडा, च्याङ्ग्रा आयात गर्ने गरिन्छ ।

यसरी वर्षभरिकै सबैभन्दा धेरै दिन हुने सरकारी विदा तथा शैक्षिक संस्था स्कुल क्याम्पसमा हुने विदाको कारणले एकात्मक केन्द्रीकृत राज्यसत्ताले काठमाडौं लागायका प्रमुख शहरहरूमा केन्द्रित भएका मानिसहरू गाउँघरमा फर्कन्छन् । यस बेला गाउँघर फर्कने यातायातको साधान बस, हवाइजहानको भाडा एक्दमै महँगो हुन्छ । महँगो भाडामा पनि टिकट नै नपाइने हुन्छ ।

नेपालका एकात्मक सञ्चार माध्यमहरूले दिनरात यो देश केवल हिन्दूहरूको मात्र हो, यहाँ हिन्दु धर्मालवलम्बी, दसैं मान्ने बाहुन–क्षेत्रीबाहेक अरु कोही पनि बस्दैनन् भन्ने भान दिने गरी रिरन्तर दसैंकै चर्चा परिचर्चा र विज्ञापन गरिरहेका हुन्छन् । समाचार, कार्यक्रम, गीत र विज्ञापन सबैसबै दसैंकै माहौल बनाउने खालका हुन्छन् ।

साथै, प्राकृतिक मौसमी यामको हिसाबले पनि असोज कात्र्तिकमा न गर्मी, न जाडो भई उपयुक्त मौसम हुनाले वातावरण पनि अनकूल हुन्छ । यही मौकामा दसैंलाई पारिएको छ । यी विविध कारणले पनि दसैं चाडलाई अझै जबर्जस्त रुपमा सबै अहिन्दूले पनि मान्नु पर्ने बाध्यात्मक अवस्थाहरू सिर्जना गर्नेक्रम् निरन्तर चलिरहेको छ । यसमा पनि राज्यपक्ष र यसबाट उत्पीडित सबै पक्षले ध्यान दिन र बेलैमा सही विकल्प खोज्न आवश्यक भएको छ ।

७. लिम्बूहरूको मौलिक चाडपर्वहरू:
आदिवासी (मुलवासी) जनजाति लिम्बू जातिका प्रमुख चाडहरू उद्यौली ‘चासोक तङ्नाम’, कःक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति), उँभौली ‘याक्वा तङ्नाम्’, सिःसेःक्पा तङ्नाम (साउने सङ्क्रान्ति) र राजनीतिक पर्व ‘वलिहाङ तङ्नाम’ हुन् ।

यी चाडहरू खासमा कुनै खासमा तिथि मितिमा नभई विशेष याम्मा पर्ने आधारमा मानिन्छन् । किरात याक्थुङ जातिहरूले यी पर्वहरू मान्न सुरुवात गर्दा त्यस्तो तिथि मिति सहितको पात्रोको विकास भइसकेको थिएन । उनीहरूले मौसम अुनसारको प्राकृतिक बोट विरुवा पैयुँ (उम्भुङ्) फुलेको तथा नयाँ अन्न पाकेको बेला ती अन्नपातहरू प्रकृति र ईष्ट देवतालाई चढाउँदै उँद्यौली ‘चासोक तङ्नाम’, चाँप (कःक्फुङ्) फुलेको बेला तथा जाडो याम् सकिएर गर्मी याम्को सुरुवात भएको अवसरमा पुर्खाहरूलाई सम्झदैँ तरुल भ्याकुर खाएर कःक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) मनाउन सुरु गरेको मुन्धुम् छ । त्यस्तै, आरु (खम्म्रेक्) फुलेको बेला नयाँ अन्नबाली माटोमा छर्नुअघि तिनै प्रकृति र सम्बद्ध ईष्ट देवतालाई सम्मान गर्न उँभौली याक्वा तङ्नाम मनाउँदछन् भने माघे सङ्क्रन्तिको ६ महिनापछि प्रकृति र आफ्नो खेतबारीमा असार–साउने फूलहरू फुलेको र नयाँ अन्न तथा फलफूल आदि पाकेको बेला तिनै चिजविजहरू टिपी उनेर घरको वरिवरि झुण्ड्याई यो साउने सङ्क्रान्ति चाड मान्ने गर्दछन् । यो चाडको पनि आफ्नै मुन्धुमी महत्त्व छ । त्यस्तै, अलिक पछिल्लो र फरक चाड ‘वलिहाङ तङ्नाम’ पनि हो । यो सम्भयता र राजनीतिक विकासको क्रम्सँगै स्थापित भएको देखिन्छ । वलिहाङ राजनेताको कुसल गाथासँग जोडिएको यस चाडको पनि आफ्नै मौलिक मुन्धुम छ । किरात याक्थुङहरूले यिनै मौलिक चाडपर्वहरूलाई आफ्नो मौलिक मुन्धुम र धार्मिक–साँस्कृतिक मुल्य–मान्यता अनुसार मान्दै अझ सुसंस्कृक र विकसित गर्दै लैजानु आवश्यक छ ।

उहिले उपरोक्त चाडपर्वहरू कहिले, कुन दिन, कहाँ र कसरी मनाउने भन्ने बारेमा लिम्बूहरूको परम्परागत सामाजिक राजनीतिक संस्था सावायेÞत्हाङ चुम्लुङ तथा यसका उत्तराधिकारी ‘तुत्तु तुम्म्याङ तथा याक्ला सुहाङ्मा’हरूको चुम्लुङले निर्धारण गर्दथ्यो । साथै, विशेषतः उँद्यौली चासोक तङ्नाम् र उँभौली याक्वा तङ्नामलाई किरात लिम्बूहरूको परम्परागत सामाजिक राजनीतिक संस्था सावायेÞत्हाङ तथा तिनका उत्तराधिकारी तुत्तु तुम्म्याङ र याक्ला सुहाङ्माहरूको विशेष चुम्लुङ, बैठक वा सम्मेलनको रुपमा पनि सम्पन्न गरिन्थ्यो ।

८. अबको हाम्रो बाटो:
अबको दुनियाँमा हरेक काम, कुरा वा कार्यकलापहरू अर्थ र तर्कसङ्गत तरिकाले गरिनु आवश्यक हुन्छ । विना अधार, प्रमाण र अर्थमा गरिने कार्यकलापले आफैलाई पछि पार्दै लानेछ ।

हामीले गर्ने प्रत्येक सामाजिक, साँस्कृतिक, धार्मिक र राजनीतिक कार्यकलापहरूको जरा, बोट, टुप्पा र फूल वा फललाई बेलैमा आँकलन गर्न सक्नुपर्दछ । यस मान्यतामा हामीले मान्दै आएका चाडपर्वहरू किन मानिएको होला ? खासमा, कसरी मान्नु पर्ने होला ? सो चाडलाई मान्दा त्यसले परिवार र समाजमा कस्तो खालको प्रभाव पार्छ होला ? यसको सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीकि र आर्थिक महत्व के कस्तो छ होला भनेर चिन्तन र अध्ययन गर्न आवश्यक छ । यसमा विशेषतः अहिलेका अध्ययनशील युवा वर्गले त्यसको जरो पहिल्याएर, सही अर्थ औल्याएर, त्यसका खास कुराहरू ज्ञानको रुपमा बाहिर ल्याउन आवश्यक छ । यसमा, अहिले संस्कार, संस्कृति र मुन्धुमबारे ज्ञान राख्ने अग्रजहरू दिनदिनै बित्नेक्रम् जारी छ । सो ज्ञानहरू नयाँ पुस्तामा उतिसारो सरिरहेको छैन । त्यसैले, प्रत्येक सचेत युवा पिढीँले यी मुन्धुमी र ऐतिहासिक ज्ञानका कुराहरू लेखेर, रेकर्ड गरेर वा खिचेर अभिलेखीकरण गरिराख्नु अहिलेको प्रमुख दायित्व हो । यसमा सबैजना लागि परौं । विस्तारै हामीले साचे र चाहेजस्तो अवस्था बन्दै जानेछ । यो नै लिम्बू 'याक्थुङ्बा'हरूको एक लिम्बुवानी बाटो पनि हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com