लोकनारायण सुवेदी

राजनीतिलाई सही दिशा दिन यस्ता चाहिन्छन् राजनेता
[2013-09-04 오후 8:12:00]

ग्रीसका महान दार्शनिक सुकरात जसलाई सोक्रेटसका नामले पनि चिनिन्छ, ले उतिवेला कसो भनेका रहेछन् भने ‘सद्गुण नै ज्ञान’ हो । राम्रोको अर्थ बिवेक हो । सबै राजनीतिज्ञहरुमा शासन गर्ने क्षमता हुदैन । पूर्ण शिक्षित, ज्ञानी र गुणी ब्यक्तिले नै शासनतन्त्रलाई सफलता पूर्वक सञ्चालन गर्न सक्तछ । तिनै महान दार्शनिक सुकरातका शिष्य प्लेटोले पनि आफ्नो समयमा यसै किसिमको अर्को कस्तो बक्तब्य दिएका थिए भने ‘राजा दार्शनिक हुनु पर्दछ’ ।

राज्यमाथि सर्वाधिक धनवान, सर्वाधिक महत्वकाक्षी या सर्वाधिक चलाख ब्यक्तिहरुद्वारा होइन, बरन सर्वाधिक बुद्धिमान ब्यक्तिहरुद्वारा शासन गरिनु पर्दछ । अनि शासन सत्ता केवल त्यस्ता मानिसहरुको हातमा हुनुपर्दछ जो आर्थिक स्वार्थहरुसाग अलिप्त तथा इहलौकिक आकर्षणहरु भन्दा माथि रहेका छन् या रहेका हुन्छन् । ती महान ब्यक्तिहरुको यो अमर सन्देश जुन आज पनि उत्तिकै सत्य छ जत्तिको सत्य सुकरात र प्लेटो यूगीन यूनान अर्थात ग्रीसमा थियो । तर देशको बर्तमान लोकतन्त्रमा अधिकांश राजनेता जसले जनप्रतिनिधित्व गर्दछन् भनिन्छ राजनीतिक बिज्ञानको, नेपालकै अन्तरिम संविधानको, बर्तमान अर्थशास्त्र तथा जन प्रशासनको कुनै गहिरो अध्ययन गरेका छैनन्, गर्ने इच्छा पनि राख्दैनन् र गर्दैनन् । यी महत्वपूर्ण क्षेत्रमा वास्तवमा उनीहरुले आफुलाई गहिरो ज्ञानको आवश्यकता छ भन्ने बोध नै गरेको पाइदैन । अपवादलाई छाडेर हाहा हुहुमै राजनीतिक अभिष्ट सिद्ध गर्ने चिन्तन र चरित्रले हाम्रो राजनीतिक क्षेत्र ब्याप्त, आक्रान्त र ग्रसित छ । दूरदर्शी किसिमले उतिवेला सुकरात र प्लेटोले भने जस्तो उनीहरु बिद्वान र बुद्धिमान हुने त कुरै छाडौ ।

हामै्र छिमेकी देशहरु चीन र भारतको स्वतन्त्रता र मुक्तिको संग्राममा लागेका नेताहरुलाई हेर्ने हो भने ती अध्ययनशील, बिद्वान र बिषयका ज्ञाता रहेका पाइन्छन् । उनीहरुले देश र समाजलाई समस्यावाट मुक्त गर्ने र प्रगतिको पथमा लैजाने बिचार निर्माण गरेर बिचारधारा दिएर डोर्‍याउने गर्दथे । तिनै नीतिहरुको वरिपरी मानिसहरु गोलबन्द भएर सामाजिक परिवर्तनको दिशामा अग्रसर हुने गर्दथे । चीनमा प्रसिद्ध इतिहासबेत्ता, दार्शनिक बिद्वानहरुको लामो परम्परा नै रहेको पाइन्छ । आधुनिक चीनका प्रबर्तक मानिएका डा. सनयात सेन र माओ त्सेतुङ्गहरु पनि अत्यन्तै अध्ययनशील आफ्नो समाज र बिश्वको गहिरो ज्ञान र सुझबुझ राख्ने अग्रणी इतिहास पुरुष मानिन्छन् ।

भारतको राष्ट्रिय काग्रेसका संस्थापकहरुमध्येका एक दादा भाई नौराजीलाई भारतीय अर्थ तथा बित्तका अद्वितीय ज्ञान भएका मानिस मानिन्थ्यो । उनले आर्थिक दर्शनमाथि ‘पोभर्टी एण्ड अन बृटिश रुल इन इण्डिया’ जस्ता प्रामाणिक कितावहरु लेखेर निर्भिकता, सैद्धान्तिक सुझबुझ तथा परिपक्कताको परिचय दिएका थिए । त्यसैगरी महात्मा गान्धीका पनि राजनीतिक गुरु गोपालकृष्ण गोखले, श्री आगरकरद्वारा प्रकाशित सुधारक साप्ताहिकमा लेख लेख्ने गर्दथे । भारतको तत्कालीन बिधान परिषदमा उनको बजेट भाषण जुन हुन्थ्यो त्यसलाई सबैले धैर्यपूर्वक र गम्भीरताकासाथ सुन्ने गर्दथे । किनकि त्यो गहिरो ज्ञानमा आधारित, बहुतै तर्कपूर्ण, आकर्षक र प्रभावकारी हुन्थ्यो । स्वतन्त्रता हाम्रो अर्थात मानिसको जन्मसिद्ध अधिकार हो भन्ने उदघोष गर्ने अर्का भारतीय प्रसिद्ध नेता बाल गंगाधर तिलकले पनि बैद्धिक तथा दार्शनिक अनुसन्धानको क्षेत्रमा चीरस्थायी रचनाहरुद्वारा भारतको साहित्यिक एवं सास्कृतिक इतिहासमा अपूर्व यश तथा कीर्ति प्राप्त गरेका थिए ।

१७८१ मा उनले पत्रकारित्रको क्षेत्रमा प्रवेश गरे र मराठा तथा केशरी जस्ता समाचार पत्रहरुको स्थापना गरे । उनी आफ्ना गम्भीर बौद्धिक, सुक्ष्म सुझबुझले ती पत्रिकाहरुमा महत्वपूर्ण र गहकिला सम्पादकीयहरु लेख्ने गर्दथे । महाराजा रणजीत सिंहपछि पञ्जावका महानतम पुरुष मानिएका अर्का अबिष्मरणीय राजनेता लाला लाजपतराय त्यस्ता प्रथम महान ब्यक्तित्व थिए जसले भारतमा बोल्शेभिकवाद, पूाजी र श्रम समस्याको गहन अध्ययन र विवेचना गरेका थिए । भारतका अन्य स्वतन्त्रता सेनानीहरुमा सुभाषचन्द्र बोस निरन्तर लेखिरहन्थे । उनले त्यसै क्रममा ‘तिमी मलाई रगत देऊ, म तिमीलाई स्वाधीनता दिन्छु’ भन्ने सन्देश घर घरमा पुर्‍याएका थिए । प्रसिद्ध राजनीतिशास्त्री हेराल्ड लास्की र बर्टेण्ड रसेलका मित्र पण्डित जवाहरलाल नेहरुका ऐतिहासिक तथा राजनीतिक महत्वका लेखहरु पनि निरन्तर तत्कालीन समाचारपत्रहरुमा छद्म नाममा वा वास्तविक नाममा पनि प्रकाशित हुन गर्दथे ।

डिस्कभरी अफ इण्डिया, छोरीको नाममा पिताको पत्र आदि जस्ता उनका राम्रोसाग अध्ययन गर्नैपर्ने विद्वतापूर्ण पुस्तक उनले लेखेका थिए । ठूलो पुस्तकालयका स्वामी जवाहरलाल नेहरुले जीवनभरी नै गहन अध्ययन गर्दै रहन्थे भनिन्छ । त्यसै आधारमा आफ्नो बिद्वत्तायुक्त बिचारहरुवाट भारतका जनतालाई उद्वेलित गर्ने गर्दथे । बिद्वानहरुमा पनि बिद्वान मानिने डा. अम्बेडकर जसले आजको भारतीय संविधान बनाउने सबैभन्दा ठूलो योगदान दिएका थिए, बिशेषगरी दर्शनशास्त्रका ज्ञाता डा. राजेन्द्रप्रसाद, अर्का ठूला बिद्वान मानिने चक्रबर्ती राजगोपालचारी, नरेन्द्रदेव, आचार्य कृपलानी, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया जस्ता नेताहरुले गम्भीर गहन ध्ययन गर्ने गर्दथे । त्यस्तो अध्ययनवाट अनुप्राणित भएका अत्यन्तै बुद्धिजीवी ब्यक्तिहरु तथा तिनका लेखहरुले भारतवासी जन समुदायहरुलाई प्रेरणा दिएको थियो र अहिले पनि दिइरहेका छन् ।

स्वाधीनता प्राप्तिपछि पनि भारतले डा. श्यामाप्रसाद मुखर्जी, डा. मीनू मसानी, डा. सम्पूर्णानन्द जस्ता प्रसिद्ध नेताहरुले ज्ञानले परिपूर्ण बक्तब्य दिदै रहे र लेखहरु लेख्दैरहे । अटल बिहारी बाजपेयीले पनि पाञ्चजन्य साप्ताहिकको सम्पादन गरेका थिए । उनी पनि आफ्नो अगाध ज्ञानवाट सदैव भारतीय संसदलाई आश्चर्यचकित पार्दै आएका हुन् । १४ भाषाहरुको ज्ञाता मानिएका अर्का नेता पीभी नरसिंहराव, पण्डित प्रंकाशवीर जी शास्त्री, हेम बरुआ, नाथ पई, मधु लिमये, मधु दण्डबते, सरदार स्वर्ण सिंह, श्री चन्द्रशेखर, मोहन धारिया, श्रीकृष्णकान्त जस्ता सांसदहरुले भारतीय संसदको बौद्धिक स्तरलाई अन्तर्राष्टिय स्तरको बनाइदिएका थिए । ती बिद्वान नेताहरुको गहन अध्ययनवाट ओतप्रोत भएका भाषणहरु सुनेर पूरा भारत भाव बिभोर हुनेगर्दथ्यो । त्यसैगरी दार्शनिक डा. एस. राधाकृष्णन, डा. जाकिर हुसेन, डा. अब्दुल कलाम जस्ता बिद्वान राष्ट्रपतिहरुले पनि भारतलाई मार्गदर्शन गर्न पछि परेनन् ।त्यसैगरी भारतीय बामपन्थी आन्दोलनमा ईएमएस नम्बुदिरीपाद, बीटी रणदिवे, एम बासबपुनैया, पी. सुन्दरैया, पीसी जोशी, अयोध्या सिंह, चन्द्रवली सिंह, चतुरानन मिश्र, हरुलाई पनि अत्यन्तै अध्ययनशील नेता र लेखक मानिन्छ । उनीहरुका रचनाहरु समस्याको पहिचान गर्ने र समाधान दिने खालका दूरदृष्टी भएका रहेका छन् ।

हाम्रो देशमा नेपाली समाज, राजनीति र सास्कृतिको अध्ययन र लेखनमा अभिरुची राख्ने नेताहरुमा डा. डिल्ली रमण रेग्मी, बीपी कोइराला, पुष्पलालहरुको नाम सबोपरी रहेको छ । त्यसैगरी आर्थिक सामाजिक क्षेत्रमा खोज अनुसन्धान गरेर लेख्ने पुराना पुस्ताका अग्रज लेखक इतिहासकारहरुमा बाबुराम आचार्य, नयराज पन्त, महेशचन्द्र रेग्मी, जनकलाल शर्मा, डोरबहादुर बिष्टहरुको नाम आउादछ । निश्चय पनि साहित्यकारहरुले निकै मेहनत गरेका छन् । तर तिनको सम्मान र सुनवाई जति हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

साच्चै नै नेपाललाई आमूल, अग्रगामी र उन्नत परिवर्तनको दिशामा सही लोकतान्त्रिक र जन उत्तरदायी राजनीतिक प्रणालीकासाथ अघि बढाउने हो भने बस्तुगत यथार्थमा आधारित भएर अध्ययनशील, चिन्तन, मनन र खोज अनुसन्धान गर्ने बिद्वत जमातको आवश्यकता छ । तर मुलुक अहिले टापटिपे राजनीतिको फोहोरी खेलमा फासेकोलेआजको महत्वपूर्ण घडीमा पनि समयको सदुपयोग गरेर असल राजनीति र असल राजनेता जन्माउने बतावरण बनाउनतिर अग्रसर देखिदैन । धेरै कम राजनेताहरु, इतिहासबिद् र समाजशास्त्रीहरु मात्रै अध्ययनमा लागेको देख्न सकिन्छ । त्यसरी अध्ययन अनुसन्धानमा लागेकाहरुले प्रोत्साहन र प्रश्रय पाउन पनि सकिरहेका छैनन् ।

आजको राजनीति केवल राजनीतिमा लागेकाहरुबाट मात्रै बिग्रिएको छैन, बिद्वान खोज अनुसन्धानकर्ताहरुको अभाव र तिनको ठोस प्रभावकारी दवावको अभावका कारणले पनि बिग्रन गएको छ । यो कुरालाई नजर अन्दाज गरे गरिएसम्म वास्तवमा मुलुक सही किमिसले अघि बढ्न सक्तैन र त्यसले अग्रगामी परिवर्तनको सही अर्थमा प्रतिनिधित्व पनि पटक्कै गर्न सक्तैन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com