भवानी बराल

माया नगरीमा केहि दिन
[2013-09-04 오전 12:26:00]

यसपटक अचानक मायानगरी हङकङबाट निम्तो आयो । निम्तो नेपाली आदिवासी जनजाति महासंघ हङकङको थियो । एउटा गैरआदिवासी जनजाति मुलको व्यक्तिलाई आदिवासी जनजातिको कार्यक्रमको औपचारिक निम्तो आउनु जो कोहीलाइ सुन्दा अनौठो नै लाग्न सक्छ । तर भयो त्यस्तै । मलाई नेपाली आदिवासी जनजाति महासंघ हङकङले प्रमुख अतिथिको रुपमा चुले निम्तो गरेको थियो । हुनत: मेरो लागि व्यक्तिगत रुपमा यो नौलो घटना थिएन । यसअघि सन् २०११ को अन्त्यमा नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाको निम्तोमा गैसकेको थिए । तर त्यो कार्यक्रममा मेरो प्रमुख भूमिका थिएन । यसपटक भने मलाई एकमात्र प्रमुख अतिथि वक्ता स्वीकार गरिएको नौलो घटना थियो ।

एक साझ हङकङका पत्रकार किसन राइले मलाई १९ औ आदिवासी दिवसमा हङ्कङ बोलाउने निर्णय भएको दुरभाषमार्फत जानकारी दिए । मैले निम्तो सहर्स स्वीकार गर्दै आवश्यक कागजात पठाइ दिए । अध्यागमन अनुमति र यात्री टिकट उतैबाट आयो । अगस्त ८ का दिन नेपाल बायुसेवाको नियमित उडानबाट बेलुका ७ बजे हङकङ पुगो ।

यसबीच हङकङ आदिवासी महासंघको यो निर्णयको सन्दर्भमा सामाजिक सञ्जालहरुमा अनेक थरिका टिकाटिप्पणीहरु आए । केही नकारात्मक टिप्पणीहरु थिए । आदिवासी जनजातिको कार्यक्रममा गैर आदिवासी जनजातिलाई प्रमुख अतिथि बनाएकोमा केहि जनजाति व्यक्तिहरुका रोषयुक्त टिप्पणीहरु थियो । तर त्यस्ता टिप्पणीहरु उपर उल्टै आदिवासी जनजाति अभियानकर्ताले नै प्रत्युत्तर खापिदिए, जसले गर्दा मैले कुनै पष्टीकरण दिनु परेन ।

यसअघि अष्ट्रेलिया जादा मेरो उपस्थितिलाई लिएर उस्तो टिप्पणी भएको थिएन । सामाजिक सञ्जालको पकड उस्तो नभएको वा मेरो प्रमुख भूमिका नभएकोले पनि हुनसक्छ मैले कुनै विवादित कुरा सुन्नु परेको थिएन । तर यसपटकको कार्यक्रममा केहि सिमित अपरिचित जनजाति मुलका व्यक्तिले तिखो असहमति जनाए । तिनको प्रत्युत्तर आयोजक मित्रहरु र मलाई जान्ने शुभचिन्तकहरुले नै दिएकाले मैले जवाफतलव गरिरहनु परेन । मैले चिनेका नेपालमै बस्ने एकजना जनजाति मुलका तर आदिवासी जनजातिको कुरा उठाएर ‘गोरखधन्दा’ चलाउने व्यक्तिले भने ज्यादै ठीटलाग्दो टिप्पणी गरेका थिए । तर मैले उनको जिज्ञासामा प्रस्टीकरण दिने जरुरत पनि सम्झिन । जे होस प्राप्त नकारात्मक टिप्पणीहरुबाट मैले आफुलाई खार्ने मौका पाएको छु, भने मेरो उपस्थितिलाई सकारात्मक टिप्पणी गर्नेहरुबाट बुलन्द हौसला पाए ।

दुई साताको औपचारिक हङकङ बसाई मेरो निम्ति जिवनकै उल्लेखनीय दिनहरु हुन । प्रतेक दिनको व्यस्तता आकर्षणको विषय थियो । नेपालमा परिवर्तनको पक्षपोषण गर्ने सबै व्यक्ति, समूह संघ संस्थाहरुसंग अन्तरक्रिया, छलफल गर्ने मौका मिल्यो । आदिवासी जनजातिहरुको छाता संगठन महासंघको मञ्चबाट प्रमुख मन्तव्य राख्न पाउनु नै मेरो लागि उल्लेखनीय रह्यो।

अगस्त १० तारिखको दिन विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रियताको बारेमा मैले चर्चा गरो । राष्ट्र, राज्य र संघीय संरचनाको निर्माण नेपालको सन्दर्भमा राजनैतिक विज्ञान र समाजशास्त्रीय ढंगले विवेचना गर्ने काम गरियो । राजनैतिक विज्ञान र समाजशास्त्रीय सिद्धान्त अनुसार राष्ट्रको परिभाषा गरे बमोजिम राज्यको नया रचना गर्नु अपरिहार्य रहेको संघीयताको आधार त्यहि हुने कुरा पस्केको थिए । नेपाली जनताबीचको आधारभूत अन्तरविरोध र त्यो अन्तरविरोधको हल संघीय संरचनामा कसरी संश्लेषण हुन्छ भन्ने कुराको विश्लेषण गर्ने काम भयो । राष्ट्रले राज्यको निर्माण गर्छन न कि राज्यले । राज्य र राष्ट्र अलग कुरा हुन । राष्ट्र आत्मपरक एवम् अमर हुन्छ । राज्य बस्तुपरक एवम् अन्तरिम हुन्छ । यो विज्ञानसम्मत सत्यलाई स्थापित गराउने काम केहि हदसम्म भयो भन्ने लागेको छ । यसरी राज्य र राष्ट्रको अन्तरबस्तुको रौ चिरा विश्लेषण पछि कार्यक्रम सार्थक हुनपुगेको सबैमा अनुभुत भएको पाइयो ।

नेपालका राजनैतिक दलहरु ‘पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान, र संविधानसभाबाट संविधान’ यस्तो लोकप्रिय नारा लगाउछन । तर, यसको अन्तर्यमा लुकेको कुरा अर्कै छ । पहिचानको धेरै अर्थ नेपाली राष्ट्रिय राजनीतिमा लगाईने गरिएको छ । पहिचान भन्नासाथ त्यो बहु, मिश्रित पहिचानको अर्थमा पनि आउछ । यसर्थ उनीहरुलाई पहिचान सहितको संघीयता भन्न कुनै अप्ठ्यारो छैन । पहिचान भित्र लुकेको यहि अन्तर्यको कारण पहिचानसहितको संघीयता भन्न कसैलाई असहज हुदैन । महासंघको त्यो कार्यक्रममा यी विषयले पनि प्रवेश पायो । पहिचान सहितको संघीयताका आधार के हुनुपर्छ भन्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पायो । इतिहास, पहिचान र अधिकारको आधारमा राज्यको नयाा रचना हुनुपर्ने नेपालको विशिष्ठता रहेको प्रस्ट पार्ने काम भयो । साम्यवादी र पूाजीवादी वा लोकतन्त्रवादी दर्शनको आधारमा राज्यको निर्माण गर्ने आधार पनि विश्व उदाहरणसहित वताउने काम भयो ।

लिम्बुवानदेखि लिम्बुवानसम्म :
हङकङ जानु अघिसम्म म प्रस्तावित लिम्बुवानमै थिए । तर, हङकङ पुगेपछि मलाई लिम्बुवानबाट लिम्बुवानमै आए जस्तो भान भयो । नेपालमा भएका लिम्बुवानजन्य संगठनभन्दा धेरै संगठन त्यहा क्रियाशील रहेछन् । हङकङको लिम्वूवानजन्य संगठनले राखेको अन्तरक्रियात्मक कार्यक्रममा लिम्बुवानको इत्तिवृत्ति चर्चा हुनेनै भयो । स्वतन्त्र लिम्बुवान मोर्चाका अध्यक्ष दिल पालुङवाले राखेको अन्तरक्रियात्मक कार्यक्रमको मेलो एमाओवादी समर्थित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हुदै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको कार्यक्रममा लिम्बुवानको राजनैतिक विकासका सन्दर्भहरुसम्म छलफलले मेलो पायो । लिम्बुवानजन्य संगठनसंग आवद्ध साथीहरुको उत्साह कायम थियो । लिम्बुवानको प्रस्तावित अन्तरिम राजनैतिक रुपरेखामात्र हैन लिम्बुवानको उपयोगिता सिद्ध गर्न संविधानसभा निर्वाचन अगावै लिम्बुवान सुनिश्चित हुनुपर्ने कुरामा अन्तरंग बहस भयो । लिम्बुवानको सुनिश्चितता बेगर संविधानसभाको निर्वाचनमा हेलिदा आउने परिणामको चर्चा गम्भीरतापूर्वक भयो ।

राजनैतिक पार्टर्ीका तर्फबाट संघीय समाजवादी पार्टी हङकङले राखेको कार्यक्रम पनि निकै सान्दर्भिक रह्यो । संघीय समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रहरुको आधारमा संघीयता निर्माण गर्ने विषयले नै प्राथमिकता पायो । राष्ट्रहरुको विषयमा राजनैतिक तथा समाज शास्त्रीय ढंगले विवेचना गर्ने काम भयो । प्रतिनिधिमुलक उपस्थिति रहेको कार्यक्रममा संघीय समाजवादी पार्टीका हर्ताकर्ता ओमराज सम्वाहाङफे र किसन राईले कार्यक्रमको अध्यक्षता र विषय प्रवेश गराएका थिए । करिव एक दर्जन जिज्ञासुले कार्यक्रममा जिज्ञासा राखे र ति जिज्ञासा उपर समालोचना गरेपछि कार्यक्रम सकिएको थियो ।

सामाजिक संगठनको सम्मान :
हङकङगेली सामाजिक संगठनको स्वागत–सत्कारको परम्पराले पनि मलाई आकर्षित गर्‍यो । परम्परागत रुपमा पुरै नेपाली पन र नेपाली मन भएको पाए। त्यस्ता कार्यक्रम औपचारिकता वा मोलाहिजा पुरा गर्न मात्र आयोजित भएको थिएन । किनकी मेरो हैसियत केबल एउटा क्रियासिल पत्रकारको रुपमा मात्र थियो ।

मेरो कर्म क्षेत्र धरान (विजयपुर) रहेकोले धरान हङकङ मञ्चले आयोजना गरेको यस्तै सम्मानित रात्री भोजमा उपस्थिति जनाए । धरानको विकासमा चिन्तित धराने हङकङवासीहरुलाई धरानमा लगानी वढाउन मैले अनुरोध गरो । धरानवासीका प्रतिनिधिमूलक उपस्थिति रहेको यो कार्यक्रमलाई मैले उपलब्धिको रुपमा ठानेको छु ।

यस्तै गम्भीर सम्मान हङकङ नेपाली महासंघले मलाई दियो । हङकङ नेपाली महासंघको वार्षिकोत्सव पारेर आयोजित रात्री भोज सहितको कार्यक्रममा मेरो उपस्थितिलाई उच्च मूल्यांकन गर्दै मूल्यवान उपहारसहित स्वागत गरियो । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर सदस्य रिता गुरुड, नन्द चडसु, हेम लिम्बूलगायत साथीहरुको मुक्त कण्ठले प्रशंसा गर्न चाहान्छु ।

किरात याक्थुङ चुम्लुङ हङकङ प्रवास समितिले जोर्डनस्थित याक एण्ड यति होटलमा आयोजना गरेको सम्मान कार्यक्रम उच्च कोटीको थियो । लिम्बुवानको सवाल, उपयोगिता र सान्दर्भिकता सम्वन्धमा लिम्बुवानजन्य संगठनका प्रतिनिधिले विषय उठान गरेपछि एकल प्रवचन गरेको थिए । कियाचु हङकङका अध्यक्ष त्रिभूवन लुङफुङवाको सभापतित्वमा सम्पन्न सो कर्यक्रममा लिम्बू जातिको लोकपरम्परा अनुसार मलाई उपहारै उपहारले सम्मान गरिएको थियो । मेरो पेशालाई भरथेग गर्ने उपहारको कारण मैले झनै गम्भीरता महसुस गरो । कियाचु हङकङको सम्मान लिम्बू जातिको पाउनापाछालाई गर्ने सम्मानको लिम्बुवानी झल्को थियो ।

हङकङ प्रवासमा रहेर राष्ट्रिय पूजीको विकासमा तल्लिन पौरखीहरु जय निङलेखु, मदन जवेगु, जिवन मेन्याङ्वो, ओमराज सम्वाहाम्फे, एलिन लिम्वू, वद्रीप्रसाद सेनेहाङ., दिपेन्द्र गुरुङ, अशोककुमार बोखिम, डिबी लिबाङ, विश्वनाथ घिसिङ, शुक्र वान्तवा आदि साथीहरुले समाजिक राजनैतिक क्षेत्रमा मैले पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै म प्रति लगाउनु भएको ऋण सायदै म तिर्न सकुला । मैले लिएको बाटोको कदर गर्दै उहाहरुले प्रदान गर्नु भएको उपहारले मलाई मुलबाटोमा हिडन झकझक्याई रहनेछ । उहाहरुले दिनुभएको धन्यवाद पत्रमा उत्पीडित जनजाति, अन्य सिमान्तकृत समुदायको सामाजिक तथा राजनैतिक अधिकार प्राप्तिको दिशामा मैले खेलेको भूमिकालाई ‘असाधारण’ को सज्ञा दिनु भएको छ । जुन विचारले मलाई त्यसतर्फ लाग्न अरु उत्साहित बनाएको छ ।

घुमघाम :
हङकङको राजनैतिक व्यस्थतालाई थाती राख्दै त्यहाको ऐतिहासिक प्राकृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने सहृदयी साथीहरुको खुलेर प्रशंसा गर्न चाहान्छु । पुजिवादी तथा उपभोक्तावादी समाजका आफ्नै दिनचर्याहरु हुन्छन् । वेलायती उपनिवेशले बसालेको उपभोक्तावादी तथा पुजीवादी समाजमा मानिसहरु मेसीन झैं तल्लिन रहनु तिनीहरुको नियती हो । बटम अन भएपछि जसरी मेसीन रोकिनु हुन्न त्यसैगरी पूजिवादी उपभोक्तावादी समाजका मानवहरुको हालत पनि त्यहि हो । पुाजिवादी समाजमा आखा झिमिक्क पार्दा सर्बस्व हुन सक्छ । आखा खोलेर राख्दा सर्बस्व प्राप्त हुन सक्छ । यस्तो मेशीनी दिनचर्यालाई पनि थाति राख्दै जनजातीय परम्परालाई सम्पन्न गर्न हङकङगेली नेपालीले कुनै कसर बााकी राख्नु भएन । यसक्रममा म आएको दिनदेखि नै साथ दिनु हुने आदिवासी युवा महासंघका उपाध्यक्ष आदरणीय भाई यलम्बर तुम्बापोलाई चाहेर पनि बिर्सन सक्तिन । ओमराज सम्बाहाम्फे यस्तै अर्का पात्र हुन जसलाई म सदा सम्झीरहन्छु । महासंघ अध्यक्ष एम. वी थापा, भक्त दुरा, भूपेन्द्र चेम्जोङ, किसन राई, अम्बु गुरुङ, देवराज रार्इ र इन्द्र वनेमको सहजता प्रति आभार प्रकट गर्छु ।

आदरणीय दाजु भगत सुब्बासंग ‘हजार बुद्ध’ जादा देखाएको प्रेम स्नेह म भुल्न नसक्ने गरी फर्किएको छु । उहाको परिवारिक स्नेह मेरा निम्ति सम्झनाका तरेली भएर रहने छन् । धरानवासी प्रेम सुब्बाको सपरिवार एवम् इन्द्र सुब्बा सरसंग हङकङ सिटी टावरमा घुमेको पारिवारिक रमाइलो र टावरको संग्राहलयमा रहेका महान चिनिया नेता तथा विश्वका अन्य नेताको मुर्तिसंग खिचिएको फोटो मेरो संझनामा रहने छन् ।

धरानका भाइहरु शिव सुब्बा, किशोर श्रेष्ठ एवं परिवार तथा हिमायती सांगितिक समूहसंगको रात्री भोज र रमाइलोको आफ्नै महत्व छ । यो नित्तान्त पारिवारिक रमाइलो मैले हङकङमा पुगेर पनि पाए । हडकडमा स्थापित व्यापारी शशी मदन राई र मसंग धरानमा अत्यन्त आत्मिय रहेका भाई सन्तोष राईसंगको ओसीयन पार्कको घुमघाम मेरो मानसपटलमामा आइरहनेछ । सन्तोष भाइसंगको पारिवारिक जमघट यस्तै सम्झना हो । यस्तै भूवन लिङंदेन भाइको सत्कार र विदाइ मेरा निम्ति उलेख्य रह्यो ।

कियाचु हङकङका अध्यक्ष त्रिभुवन लुङफङुवाले आफ्नो व्यस्त समयलाई थााति राख्दै हङकङको वरीपरी घुमाउनु भयो, आफ्नै सवारी साधनमा । यसरी नै हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरले आफ्नै सवारी साधनमा वेलायतकालीन उपनिवेश अन्तरगतको झल्को दिने स्थान र डाडापखेरा दृशयावलोकन गराए । धरानका सेतारीयो कराते डो जाङमा स्थापित खेलाडी तथा मेरो सहपाठी हेम पुनसंग ‘बिग बुद्ध’ घुमेको प्रसंग पनि भुलिनसक्नु पहेली भो ।

पत्रकारसंग अन्तरंग :
नेपाल पत्रकार संघ हङकङको आयोजनामा हामीले नेपाली पत्रकारिताको वारेका धेर थोर चर्चा गर्नै मौका पायौं । विधुतीय र छापामाध्यममा कार्यरत पत्रकारहरुले हङकङलेली नेपाली पत्रकारिताको जानकारी गराए । यसवीच मैले हङकङका पत्रकारहरु देवराज राई, अम्वू गुरुङ., टंक सुब्बा, देवमान तुम्वाहाङफे लगायतका पत्रकारहरुसंग साक्षात्कार गर्ने मौका मिल्यो । हङकङ नेपाली महासंघको कार्यालयमा कृष्ण लावतीहरुले मेरो विचारलाई चलचैत्रिक क्यामरामा कैद गरेको क्षण राजनैतिक महत्वको थियो । यस्तै आधारातको समयमासमेत साहित्यकार तथा पत्रकार टंक सम्बाहाम्फेले देउमान तुम्बाहाङफेको स्टुडियोमा मेरो विचारलाई विद्युतीय भण्डारन गरेको समय झल्झली सम्झन्छु । कार्यक्रम स्थलमै मेरो विचारलाई प्रक्षेपण गर्न हङ्कङ्गेली नेपाली पत्रकारको सक्रियतालाई दिल खोलेर प्रशंसा गर्न चाहान्छु । यो मामिलामा सदैव सक्रिय टंक सम्वाहाम्फे, अम्बु गुरुङ, देवराज राइ, देउमान तुम्बाहाङफेलाई प्रगती एवम् निरन्तरताको शुभकामना दिन चाहान्छु ।
रहलपहल :

हङ्कङ्गेली नेपाली राजनीतिमा जोर्डनका फुलबारी क्लब, कंगन रेष्टुराा, पल्पसा क्याफेको पनि आफ्नै महत्व रहेछ । फुलबारीका नन्द चङ्सु, पल्पसाका इस्बो जी, कंगनका केबलपुरे किसान पुत्र, लिरामुमोका अध्यक्ष रविन लिङ्देन, विश्व जवेगु वैनीको परिवार, संलिरापका जहरमान लिम्बू, वैनी पर्शा हुक्पा चोङबाङको परिवार, मित्रहरु भूपेन्द्र चेम्जोङ, कर्ण सुब्बा, नविन सुब्बा, डिबी पालुङवा, कलाकार रमेश सिङ्गक र मौसम भाइ मैले सम्झिरहने पात्रहरु हुन् । पुाजीवादी उपभोक्तवादी समाजले मरुन्जेल गााज्दा पनि त्यसको विपरित मातृभूमिप्रति देखाएको ममताप्रति म हङकङगेली जनजातिको भावनाको कदर गर्न चाहान्छु । मेरो राजनैतिक भ्रमणलाई अहोरात्र साथ दिने यलम्बर तुम्बापो भाई सम्झिरहने पात्र हुन । मेरो दैनिक डायरी अभिलेख गर्ने बानी नभएकोले धेरै शुभचिन्तकको नाम छुटाएको हुनसक्छु । मैले सम्झनालाई महत्व दिएर लेख्ने गरेको छु । घटनाको महत्वका आधारमा आलेख तैयार गर्नु पर्छ भन्ने मान्यता राख्ने गरेको छु ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com