भवानी बराल

बाबुराम र टोपी ब्यापारी
[2013-07-09 오후 6:21:00]

चर्चित व्यंग्य चित्रकार रविन सायमीले बाबुराम भटराईको राजिनामा प्रकरणलाई लिएर फेसबुके भित्तोमा टोपी ब्यापारीको लोक कथा हालेका रहेछन् । उनले हालेको लोक कथाको आधारमा बाबुरामको राजनैतिक यात्रामा पूर्णविराम लाग्नु पर्ने हो । तर, अजब नेपालको गजप चालामा यो लोक कथा पनि उल्टो चरितार्थ हुने सम्भावना छ । हिसाव अनुसार नचलेको देशको राजनैतिक गणित पनि बिग्रनु अस्वाभाविक हैन । तर, टोपी ब्यापारीको लोक कथा चैं यस्तो छ ।

एकजना टोपी ब्यापारी ब्यापारको सिलसिलामा बजार जाँदै रहेछ । हिँड्दै जाँदा कुनै बरपीपलको चौतारीमा आराम गर्न पुगेछ । आराम गर्दागर्दै भुसुक्कै निदाएछ । ब्युँझिएर हेर्दा आफ्नो पोकोमा भएका सबै टोपी लगाएर बाँदर रुखमाथि चढिसकेछन् । चलाख ब्यापारीले जुक्ति झिकेछ । उसले आँफुले लगाएको टोपी फुकालेर भुँइमा फालेछ । नक्कल गर्न सिपालु बाँदर पनि के कम उनीहरुलै लगाएको टोपी पनि फुकालेर भुँइतिर फालेछन् । चतुर ब्यापारी हतार हतार टोपी बटुलेर सुँईकुच्चा ठोकेछ ।

धेरै समय पछि अर्का टोपी ब्यापारी पनि ब्यापार भर्न कतै जाँदै रहेछ । हिँड्दै जाँदा उसलाई पनि थकाई लागेछ । बाटोमा रुखको सितल छहारी मुनि आराम गर्दा गर्दै निदाएछ । ब्युँझेर हेर्दा उसको पोकोमा भएका सबै टोपी लगाएर बाँदर रुख चढिसकेछन । तर टोपी ब्यापारीको कथा पढि सकेकोले यो ब्यापारी बिचलित भएनछ । कथा अनुसार आफुले लगाएको टोपी फुकालेर भुँमा फ्यात्त फालेछ । तर टोपी ब्यापारीको कथा बाँदरले पनि पढिसकेका रहेछन् । एउटा बाँदर रुखबाट झरेर ब्यापारीले फालेको टोपीसमेत लिएर रुख चढेछ ।

कथा यतिनै हो । बाबुरामले यसपटक दिएको राजिनामा प्रकरणलाई धेरै कोणबाट अथ्र्याउने प्रयास भैरहेको छ । राजिनामा प्रकरणलाई विशुद्ध आदर्श, त्याग, माओवादी नेताको महानता, नीति नै सर्बश्रेष्ठ हो, पद केवल साधन मात्रै हो । साधनलाई साध्य मान्नु हुन्न आदि । यो बाबुरामपथीय कोणबाट आएको राजीनामा प्रकरणको विवेचना हो । यस्तै बाबुरामको घुर्की, हिसिलालाई पार्टीको कोषाध्यक्ष बनाउन दिएको दबाब, मुस्ताङ म्याक्स स्टण्टको दोस्रो संस्करण, वौद्धिक अवसरवाद, विवादभन्दा माथि उठेको देखाउने चालवाजी, पार्टी भित्रको पदीय भागवण्डाको विवादलाई अन्यत्र मोड्न प्रचण्ड–बाबुराम गुटले गरेको नाटक आदि । यी दुई कोणमध्ये पछिल्लो विवेचना चैं अर्थपूर्ण छन् ।

एमाओवादीमा देखिएको यो विवाद रणनैतिक विवाद होइन । यो कुनै कार्यदिशा वा कार्यनीतिमा आएको विवादले उत्पन्न गरेको अन्तरविरोध पनि होइन । यो नित्तान्त सांगठानिक पद्धतिमा पकड जमाउन खोजिएको चालवाजी मात्रै हो । एमाओवादीमा माओवाद वा विचारधारा वा माक्र्सवाद, लेनिनवादी राजनैतिक दृष्टिकोण छैन । राजनैतिक तथा दार्शनिक दृष्टिकोणमा खिया लागेपछि यस किसिमको विवाद आउँछ । एमाओवादीसंग अब कुनै किसिमको राष्ट्रिय, अन्तराष्ट्रिय राजनैतिक कार्यसूचि पनि छैन । सनैसनै प्रचण्ड–बाबुराम गुटले यो पार्टीलाई क्लबमा रुपान्तरण गर्दैछन् । त्यही क्लबमा रुपान्तरण गर्न खोज्ने क्रममा उनीहरु जस्तासुकैलाई पार्टीमा हुल्ने उपक्रममा लागेका छन् । पार्टी विभाजनको झट्कालाई भरपुर गर्ने नाममा उनीहरुले अन्य पार्टीका असन्तुष्ट तथा अतिरिक्त व्यक्तिलाई बटुलेर राजनीतिको मुलधार देखाउने प्रयत्न गरिरहेका छन् । यसै सेरोफेरोमा यो पार्टी हाटमेलाको जस्तै भिडमा रुपान्तरण हुँदैछ ।

साम्यवादी नेता लेनिनले भनेका थिए, ‘नेताहरु जहिल्यै भीड खोज्दछन तर तिनीहरु पहिले आफ्नो छेउको मानिस नै लुलो भएको थाहा पाउँदैनन ।’ बाबुराम भट्टराइले उनकै भाषामा राजिनामा दिएको पदलाई सामान्य साधनमात्र ठानेको हो भनेपनि एमाओवादीका नेताले सोच्नु पर्छ कि उनको बरिष्ठ नेता कति कमजोर रहेछन ? पार्टीको उपाध्यक्ष जस्तो नेता पार्टीको समस्यालाई समाधान गर्नुको साटो भाग्दै हिँड्छ भने यो भन्दा लुलो मानिस खोज्न अन्यत्र जानु पर्दैन । अध्यक्ष भिड खोज्दै दिनहुँ टपरामा अभिर बोकेर हिँड्ने उपाध्यक्ष चैँ रुँदै राजीनामा दिने कुराले लेनिनको उल्लेखित भनाइलाई पुष्टी गर्छ । यति कमजोर नेतृत्वले एउटा जिवन्त कम्युनिष्ट पार्टीको नेतृत्व गर्छ भन्ने विश्वास तिनका कार्यकर्तालाई हुनु उदेकलाग्दो विषय हो ।

अर्को एमाओवादी इतरकोणबाट आएको राजिनामा प्रकरणको विवेचनाको आधारमा बाबुरामको मूल्याङ्कन गर्न मुनासिव लाग्दैन । यस्तो क्षुद्र, स्वार्थी र षड्यन्त्रकारी क्रियाकलाप उनको पार्टीको हितमा पनि छैन, भविष्यमा उनको हितमा पनि हुने छैन । केहि समयसम्म औपचारिक शिक्षाको हैसियतले उनले गरेको क्रियाकलाप प्रति केहि मानिसलाइ झुक्यानमा पार्न सक्ला तर सदासर्वदा बेबकुफ बनाउन उनले पनि सक्ने छैनन ।

राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको विषय एमाओवादीका लागि घाँडो विषय भैसकको छ । संघीयतालाई सातौं महाधिवेसनमार्फत लोकतान्त्रिक गणतन्त्रमा झारीसकेको छ । एमाओवादीले धर्मनिरपेक्षतालाइ भोट बैंकमा सिमित गरिसकेको छ । अब एमाओवादीमा छ भने भविष्यमा संसद, मन्त्री हुने अवसर र त्यो अवसर लिनका लागि पेरीस डाँडामा कुर्सी आवश्यक छ । यसर्थ त्यहाँ पुराना, नवप्रवेशी रामचन्द्र झा, उर्मिला अर्याल सबै पदको लागि अन्तिम लडाँइ लडिरहेका छन् । त्यो पार्टीमा रैथाने कामरेड, एकीकरणमा आएका, टीका लगाएका सबैबीच कुर्सी, पद र अवसरको मल्ल युद्धमा लागेको नाङ्गो आँखाले देख्न सकिन्छ ।

अब रह्यो कथाको प्रसंग । टोपी व्यापारीको कथा झैं बाबुराम ‘इन्नोसेण्ट’ व्यापारीको रुपमा राजनीतिमा आएका होईनन् । नत कथाको पछिल्लो अंश झै कसैलाइ कथा थाहा नभएको जस्तो गरी आफुले लगाएको टोपी फ्याल्ने उल्लु ब्यापारी जस्तो बेबकुफ बाबुराम होइनन । मोहनविक्रम सिंहको सानो झुण्ड लिएर माओवादी भएका बाबुराम षडयन्त्रै षडयन्त्रबाट यहाँसम्म नेता हुँदै आएका हुन । उनको कुनै सांगठानिक हैसियत छैन तर उनले धोवीघाटमा सबैलाई उत्तानो बनाएर आँफुलाई अब्बल दर्जाको षडयन्त्रकारीको रुपमा प्रमाणित गरिसकेका छन् । अतः उनलाई दोस्रो टोपी व्यापारी झैं ‘बाँदर’ हरुले उल्लु बनाउन सक्ने छैनन । आफ्नो देशीविदेशी क्षमता, औपचारिक शैक्षिक योग्यतालाई चुनौती दिन सक्ने एमाओवादी पङ्तिमा बाबुरामले पाएका छैनन । कार्यकारी अध्यक्षीय प्रणालीमा रहेको एमाओवादी नेतृत्वको बगावत गर्ने नैतिक साहस त्यहाँ बाँकी छैन, वैद्य समूहको विभाजन पछि । जति बाँकी रहेका छन् सबै ‘गोपी कृष्ण को’ हरु मात्र छन् ।

प्रचण्डकै सल्लाहमा आयोजित राजीनामा प्रकरण भएकोले आगामी साउन ४ गते हुने विस्तारित बैठकमा उनलाई बरिष्ठ उपाध्यक्ष बनाएर फर्काउने मूल नाटक मञ्चन हुनेछ । यो नाटकलाई विस्तारित बैठक भरी मञ्चन गरिने छ । अन्य खुद्रा नाटकले मञ्चन गर्ने मैदान पाउने छैनन । यसरी एमाओवादीको पटकथाको पटाक्षेप हुनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com