शुभ नारायण यादब

अन्तरजातीय बिहेले निम्तायो असुरक्षा
[2013-06-24 오후 3:11:00]



अन्तरजातीय विवाह गर्ने एक जोडी दुई वर्ष बितिसक्दा पनि असुरक्षाका कारण घर फर्कन पाएको छैन । आफ्नो घर फर्कन नपाएपछि आफन्तहरुको घरमा आलोपालो शरण लिन बाध्य ती जोडीले सञ्चारकर्मीहरुलाई घर फर्की शान्तिपूर्वक बस्न सक्ने वातावरण मिलाई दिन आग्रह गरेका छन् ।

सप्तरीको जमुनी मधेपुरा ९ छपकी भथौल निवासी देवकुमार सरदारका छोरा उमेश सरदार तथा सोही गाविस निवासी हरिलाल साहकी छोरी रबिता कुमारी साहले आफूहरुले अन्तरजातीय विवाह गरेकै कारण प्रताडित हुनु परेको दुःखेसो सञ्चारकर्मीहरु माझ पोखेका छन् ।

विभिन्न समयमा हुने गरेको भेंटघाटको क्रममा गहिरो प्रेम बसेपछि उमेश र रबिता घरबाट भागी २०६७ साल चैत्र ४ गते हिन्दु रिती रिवाज अनुसार मन्दिरमा विवाह गरेका थिए । उक्त अन्तरजातीय विवाहलाई केटीका अभिभावक तथा गाउँलले अस्वीकार गर्दै परिवारजन सहित गाउँ निकाला गरेपछि उनीहरु हालसम्म गाउँ फर्कन नपाई आफन्तको घरमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । उमेशका बुवा आमा भने प्रहरी र सञ्चारकर्मीको सहयोगमा गाउँ फर्किए पनि उनीहरु भने त्रासका कारण अझैं फर्किन पाएका छैन ।

गाउँ फर्के ज्यानमार्ने धम्की पाएका ती जोडी भारतको दिल्ली, हरियाना र काठमाण्डौमा करिब एक वर्ष बिताएका थिए । काठमाण्डौ बस्ने क्रममै छोरो जन्मेपछि उमेशले रबितालाई लिएर सप्तरीको पिप्रापूर्व गाविस स्थितको मामा ईनर सरदारको घरमा शरण लिएर बसेका छन् । ज्यान जोगाउनका लागि सुरक्षित गन्तब्यको खोजी गर्दैआएको अवस्थामा आफूहरुमाथि पटक पटक आक्रमणको प्रयास हुँदा स्थानीयवासिन्दाहरुको सहयोगमा आजसम्म सुरक्षित रहेको पीडित सरदारले बताए ।

बीएडसम्म अध्ययन गरेका उमेश अन्तरजातीय विवाह गरेकै कारण भागीभागी हिँड्नु परेकोले आर्थिक समस्या झेल्न बाध्य भएको बताउँदै उनले भने–अहिले खुलेर हिँड्न सक्ने अवस्था छैन, गाउँ टोलमै मजदुरी गरेर गुजारा चलाउँदैआएको छु । एक सन्तानका पिता समेत भईसकेका उमेश र रबिता अहिलेसम्म त्रासदीपूर्ण अवस्थामा बस्न बाध्य भएको स्थानीयवासिन्दाहरु बताउँछन् ।

पत्नी रबिताका परिवारजनले अझैं पनि फोन मार्फत र मान्छे पठाई पटक पटक धम्की र आक्रमणको प्रयास गरे पनि पिप्रापूर्व गाविसवासीको सहयोगमा बाँचिरहेको उनको भनाइ छ । उमेश पिता देवकुमार सरदारले यस सम्बन्धमा २०६७ साल चैत्र ६ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै अन्तरजातीय विवाह गरेकै कारण छोरा बुहारी गाउँ निकालामा परेकोले गाउँमा फर्कन वातावरण मिलाईदिन आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले पनि तत्काल शान्तिसुरक्षा र गाउँमा बस्ने वातावरणका लागि पहल गर्न नगर प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । तर दुईवर्ष बितिसक्दा पनि अवस्था ज्यूका त्यो रहेको उमेशका पिता देवकुमारले बताए ।

दलित र गैर दलित बिच हुने बिवाहलाई प्रोत्साहन स्वरुप सरकारले एक लाख रुपैयाँ समेत दिने प्रावधान रहेको अवस्थामा उमेश र रबिताले गरेको विवाहलाई राज्यपक्षले हालसम्म सो रकम पनि उपलब्ध गराउन सकेको छैन ।

अर्कोतर्फ उनीहरुको वैवाहिक जीवन कष्टप्रद र असुरक्षित रहे पनि स्थानीय प्रशासनले कुनै पहल नगर्नु दुःखद् विषय भएको अधिकारकर्मी जंगबहादुर सिंहको भनाइ छ । समाजिक कुरिती र कुसंस्कार तोड्दै अन्तरजातीय विवाह गरेका उमेश र रबितालाई उचित प्रोत्साहन र संरक्षण दिनु राज्यको कर्तव्य हो उनको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालयमा यसबारे जिज्ञासा राख्दा डिएसपी श्यामसिंह चौधरीले अन्तरजातीय बिहे गरेकै कारण उमेश र रबिताले यस्तो दुःख पाएको हो भने अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईने बताएका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com