Bhawani Baral

दक्षिण कोरियामा नेपाली
[2013-04-23 오전 6:30:00]

सन् २००७ मा कोरियाको श्रम बजारमा नेपाली कामदारको रोजगारी सम्झौता (इपिएस) भएपछि नेपालीहरुको कोरियामा आप्रवासन ह्वात्तै बढेको हो। अध्यागमन विभाग कोरियाको अभिलेखअनुसार सन् २०१२ मेसम्ममा करिव १९ हजार नेपाली कोरियामा विभिन्न पेशामा आबद्ध भई बस्दै आएका छन्। यसमध्ये १५ हजार १ सय ३० पुरुष, २ हजार ६४ महिला र भिसा अनुमति समाप्त भएर बसेका करिव २ हजार नेपाली रहेको कोरियास्थित नेपाली दूतावासले अभिलेख गरेको छ। कोरियाको श्रम बजारको औद्योगिक क्षेत्रमा कार्यरत् १३ हजार ४२७ नेपाली मजदुर छन्। यसमध्ये साना तथा मझौला उद्योगमा ११ हजार ३ सय ८३ जना, निर्माणसम्बन्धी काममा ७ सय ५४ जना, कृषि मजदुरमा ९ सय ४५ जना, माछा पालनमा ३ सय ५४ जना र ट्रेनी कामदारका रूपमा १ सय २१ जना कार्यरत् छन्। यस्तै अध्ययन/अध्यापनको सिलसिलामा पनि नेपालीहरु कोरिया पुग्ने गरेको पाइएको छ। कोरियामा नेपाली विद्यार्थी ५ सय ९८ छन्।

नेपालीको बसोबास

नेपाली राजदूतावासका अनुसार विभिन्न व्यवसाय गरी बस्ने नेपालीहरु १ सय ३६ जनाको संख्यामा छन्। ती सबैले सानोतिनो लगानी पनि गरेका छन्। ६५ जना पेशागतरूपमा कार्यरत् छन्। अवधि समाप्त भई कानुनी सहायताबाट ४ सय ४२ जनाले वैधानिकता प्राप्त गरेका छन्। ३ जनाले शरणार्थीको मान्यता पाएका छन्। १ सय ४४ जनाले शरण लिन आवेदन गरी बसेका छन्। पारिवारिक भिसामा रहनेहरु १ हजार १ सय २२ जना छन्। पारिवारिक स्वास्थ्य उपचार तथा अन्य हिसावमा १ हजार ३ सय २८ जना कोरियामा छन्।

नेपाली र दक्षिण कोरियाली मुलुकका नागरिकबीच केही वर्षदेखि वैवाहिक सम्बन्ध पनि हुँदै आएको छ। म्यारिज ब्युरोको विज्ञापनमार्फत् नेपाली महिला र कोरियन पुरुषबीच विवाह गर्नेहरुको संख्या पनि १ हजार नाघिसकेको छ। तर नेपाली महिला र कोरियन पुरुषबीचको वैवाहिक सम्बन्ध सफल नभएको कोरियामा कार्यरत् नेपाली बताउँछन्। कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध गरेका प्रायः महिलाले विवाहपश्चात् नारकीय जीवन भोगेको सार्वजनिक हुँदै आएको छ। नेपाली पुरुष र कोरियन महिलासँगको वैवाहिक संख्या चाहिँ ७६ जनाको छ। १ हजार ४६ जना नेपाली महिलाले कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध राखेका छन्। कोरियाको विभिन्न प्रान्त र शहरमा नेपाली महिला बसोबास गरेको अभिलेख दूतावासले अद्यावधिक गरेको छ।

नेपाल-कोरिया सम्बन्ध
नेपालभन्दा सानो ९९ हजार वर्गमिटर क्षेत्रफल भएको कोरियासँगको सम्बन्ध १५ मे १९७४ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि सुरु भयो। यो सम्बन्ध स्थापित भएको १८ वर्षपछि सन् १९९२ मा कोरियन युवा स्वयम्सेवी आदान-प्रदान सम्झौता भयो। सन् १९९७ मा नेपाल कोरियाबीच आर्थिक विकास कोष सम्झौता भयो। तर, सन् १९९० देखि नै नेपालीहरु रोजगारीको सिलसिलामा कोरिया जान सुरु गरिसकेका थिए। नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै कोरियासँगको सम्झौता हुँदै गए। तेस्रो पटक सन् २००१ मा नेपाल कोरिया व्यापार तथा लगानी प्रबर्द्धन तथा सन् २००५ मा हवाई तथा सांस्कृतिक सम्झौता भयो।

यसरी क्रमैसँग विकसित हुँदै आएको सम्बन्धको विस्तार सन् २००७ मा आएर कोरियामा नेपाली आवासीय दूतावास स्थापित भयो। दूतावास खुलेसँगै इपिएस सम्झौता भयो र नेपाली कामदार वैधानिकरूपमै कोरिया जाने बाटो खुला भयो।

नेपाल र कोरियाबीचको व्यापार घाटा पनि बढ्दो छ। सन् २०१२ को तथ्यांकमा ७४ मिलियन डलर बराबरको कारोबार भएको थियो। तर नेपालबाट १ मिलियन डलर बराबरको मात्र निर्यात भएको देखिन्छ। कोरियाले माथिल्लो त्रिशूली र मोदीखोला जलविद्युत् आयोजनामा लगानी गरेको छ। सन् २०११ मा करिव २० हजार कोरियन नागरिकले नेपाल भ्रमण गरे। कोरियन इन्टरनेसनल कोअपरेसन (कोइका)मार्फत् नेपालको स्वास्थ्य तथा शिक्षामा पनि केही वर्षदेखि लगानी भइरहेको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com