बिबेक शाह

पूर्वयुवराज दिपेन्द्रको लिफ्टमै स्थानीय केटीसंग यौनसम्पर्क भएको थियो
[2013-04-13 오전 2:27:00]

बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययन गरिरहेकै बेला दीपेन्द्र सरकारले मसँग एक पटक आफ्नो पीडा ‘सेयर’ गरिबक्स्यो, ‘मलाई मुमाले अनावश्यक नियन्त्रण गर्न खोजिबक्सन्छ । तिमीले मुमालाई सम्झाइदेऊ ।’ यसमा मैले केही गर्न र भन्न सक्ने कुरा थिएन । खास कुरा त्यति बेला के परेछ भने सरकारले सुप्रिया शाहलाई मन पराइबक्सेछ । सरकारले सुप्रियालाई ‘लभलेटर’ लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ । सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई आफ्नो पीडा ‘सेयर’ गरिबक्सेको थियो ।

सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो । सरकारले सुप्रिया बाहेक पनि विभिन्न केटीलाई भेट्ने र ‘लभलेटर’ लेख्ने गरेको कुरा समेत हामी एडीसीले थाहा पाइरहेका हुन्थ्यौँ । त्यो उमेरमा ‘गर्लफ्रेन्ड’ बनाउने र ‘लभलेटर’ लेख्ने गरेको बडामहारानीलाई मन पर्ने कुरै भएन । कुनै पनि अभिभावकलाई मन पर्दैन । त्यति सानो उमेरमै यस्तो व्यवहार गर्नु राम्रो पनि होइन ।

त्यसमाथि बडामहारानी सरकारबाट व्यक्तिगत रूपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रुचाइबक्सेको थिएन । दीपेन्द्र र सुप्रिया दुई दिदी–बहिनीका नाति र नातिनी । सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी । त्यसै कारण सरकारबाट दीपेन्द्रको सुप्रियासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो । आफ्नी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँ त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने । यो विषयमा सरकारहरूमा ‘इगो’ बढिरहेको थियो । बडामहारानी सरकार कुनै पनि हालतमा सुप्रियासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन ।

त्यति नजिकको नातामा विवाह गर्‍यो भने सम्बन्ध राम्रो हँुदैन, बच्चा पनि राम्रो जन्मँदैन भन्ने सरकारको जिकिर थियो । ‘सुप्रिया नट कम्पिनेन्ट टु दी क्वीन’ (सुप्रिया रानी हुन लायक छैन) पनि भनिबक्सन्थ्यो । यसरी हुकुम भएको मैले पनि सुनेको छु । बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ‘ह्वाट डज सी थिङ्क अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर ?’ (मुमाले आफूलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको के हालत थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै ।

उता, सुप्रिया आफ्नै दिदीकी नातिनी भएकाले ‘युवराजाधिराजसँग सुप्रियाको विवाह ठीक हुन्छ, राम्रो हुन्छ’ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो । यसबारे महाराजाधिराजका माध्यमबाट रत्नले दबाव दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो । यस प्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबावमा होइबक्सन्थ्यो । युवराजाधिराजले एसएलसी सकेलगत्तै सरकारको विवाहको चर्चा चलिरहेको थियो । बडामहारानीको कडा स्वभावका कारण राजपरिवारमा सितिमिति कसैले पनि सरकारको कुरा काट्नै नसक्ने । सबैले बडामहारानीकै लाइन लिने । सासू–बुहारीको कुरा नमिलेपछि वीरेन्द्र सरकारले कुनै पनि निर्णय लिन सकिबक्सेन । यो विषयलाई त्यतिकै छाडिबक्स्यो ।

युवराजाधिराजले सुप्रियालाई मन पराएको हिसाबले मुमा बडामहारानी रत्न र दीपेन्द्रको सम्बन्ध भने सुमधुर थियो । युवराजाधिराजको विवाहका लागि धेरै पटक केन्द्र निवासबाट विभिन्न केटीको तस्बिर दरबार पठाइयो । सबै तस्बिर सङ्कलन गर्ने काम केन्द्र निवासबाटै भएको थियो । केन्द्र निवास बडामहारानी ऐश्वर्यको माइतीघर थियो । युवराजाधिराजले तीमध्ये कुनै पनि केटी हेर्ने इच्छा नै गरिबक्सेन । बडामहारानी सरकारको गरिमा राणाप्रति झुकाव थियो । सायद राणा परिवारकी केटी नै विवाह गराउने सरकारको इच्छा थियो । त्यस बेला अधिराजकुमारी श्रुति भारत, राजस्थानको अजमेर सहरको मेयो कलेजमा पढिबक्सन्थ्यो । वीरेन्द्र सरकार र ऐश्वर्य सरकार छोरीलाई भेट्न गइबक्सन्थ्यो ।

त्यही बेला जयपुरका महाराज ब्रिगेडियर भवानी सिंहलाई भेट्न सरकारहरू सवारी भएको थियो । जयपुर महाराजकी एक्ली छोरी थिइन् । सायद उनले आफ्नी छोरीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउन प्रस्ताव राखेका थिए । यो बाहेक भारतीय मूलकी अन्य कुनै पनि केटीको दीपेन्द्र सरकारसँग विवाहका लागि प्रस्ताव आएको मलाई जानकारी छैन । विवाहको प्रसङ्ग चल्दाचल्दै सन् २०४५ सालमा दीपेन्द्र सरकार उच्च शिक्षा अध्ययनका लागि बेलायतको इटन कलेज सवारी भयो । त्यहीँबाट ए लेभलको अध्ययन पूरा गरिबक्स्यो । देवयानी त्यति बेला बेलायतमै पढिरहेकी थिइन् । दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहीँबाट सुरु भएको थियो ।

यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो । यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको । यो नयाँ कुरा थिएन । सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो । सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो । बेलायतमा दीपेन्द्र सरकारका स्थानीय अभिभावक लर्ड क्यामवाइज हुनुहुन्थ्यो । उहाँसँग पशुपतिशमशेर जबराको पनि चिनजान थियो । लर्ड क्यामवाइज पशुपतिकी छोरी देवयानीका पनि स्थानीय अभिभावक हुनुहुन्थ्यो । क्यामवाइजका तीन छोरी थिए । तिनीहरूसँग युवराजाधिराजको सुमधुर सम्बन्ध थियो । यही
क्रममा दीपेन्द्र सरकारको देवयानीसँग चिनजान भयो र ‘अफेयर’ सुरु भयो । त्यहाँ कुनै एडीसी खटाइएको थिएन । दीपेन्द्र सरकारलाई बिदामा कहिलेकाहीँ काठमाडौँ लिएर आउनुपर्‍यो भने बेलायतस्थित शाही नेपाली राजदूतावासका सैनिक सहचारीले ल्याउने–लैजाने गर्दथे । देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम गरिबक्स्यो । साथै सुप्रियासँग पनि ।

देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि सुप्रियाको दीपेन्द्र सरकारसँग निकै खटपट भयो भन्ने पनि सुनिएको थियो । देवयानीका तर्फबाट चाहिँं कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि । त्यसो भएर होला, उनका तर्फबाट कुनै पनि किसिमको गुनासो आएन । व्यवहारमा देवयानी धेरै हिसाबले माथिल्लो स्तरको भएको सुनिएको थियो । सायद त्यही कुरा हेरिबक्स्यो होला दीपेन्द्र सरकारले । दुवै जनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुङ्गोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ । तर यो कुरा त बडामहारानीलाई झनै मन परेन । सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन । मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो कुरा मन परेन । देवयानीको मावल भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारमा सबैको एकमत थियो ।

दरबारले भारतसँग कुनै पनि पारिवारिक नाता सम्बन्ध जोड्नु हुन्न भन्ने मान्यता राजा महेन्द्रबाट विकास भएको हो । दरबारको भित्री कुरा विदेशीकहाँ नपुगोस् भन्ने मौसुफको उद्देश्य थियो । त्यसै आधारमा महेन्द्र सरकारले आफ्नो विवाह नेपालीसँगै गरिबक्सेको थियो भने आफ्ना तीन छोरा र तीन छोरीहरूको विवाह पनि एकै घरमा र नेपालीसँगै गराइबक्सेको थियो । देवयानीको मामिलामा दीपेन्द्र सरकार एकातिर र अन्य सरकारहरू अर्कातिर भएपछि यसले पारिवारिक कलहको रूप लिन पुग्यो । इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको एक जना जापानी केटीसँग अर्को ‘अफेयर’ चलेको रहेछ । त्यहीँ अरू केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्ने कुरा पछिसम्म सुनिन्थ्यो । त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो । उसले पछि धेरै पटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई । कहाँकहाँ केके हुन्थ्यो, त्यो भने मलाई थाहा भएन । त्यति बेला म वीरेन्द्र सरकारको एडीसी थिएँ । युवराजाधिराजका अरू नै छुट्टै दुई जना एडीसी थिए । सरकारका सबै कार्यक्रम उनीहरूले मिलाउँथे । सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ । किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ ।

आखिरी पटक नेपाल आएका बेला त्यो जापानी केटीलाई एयरपोर्ट पुर्‍याउन दीपेन्द्र सरकारले एडीसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ । एयरपोर्ट पुग्ने बेलामा गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, ‘योर क्राउन प्रिन्स इज म्याड । ही विल डाई ए डग्स डेथ ।’ (तिम्रो युवराजाधिराज पागल हो । उसको मृत्यु कुकुरको जस्तै हुनेछ ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन । सायद उसको बोली सत्य भयो । दीपेन्द्र सरकारसँग मेरो धेरै आत्मीयता थियो । सरकार एक्लै भएका बेला या कुनै पार्टीमा, मसँग विभिन्न विषयमा आत्मीय कुरा गर्न रुचाइबक्सन्थ्यो । नितान्त व्यक्तिगत कुरा पनि सुनाइबक्सन्थ्यो । माया, प्रेम सम्बन्धबारे पनि मलाई सुनाउन सक्ने गरी सरकारसँग मेरो सम्बन्ध विकसित भएको थियो ।

नेपालको राजनीतिक विषयमा समेत सरकार मसँग खुलेरै बहस गरिबक्सन्थ्यो । कहीँकतै सरकारको एडीसीका रूपमा म खटिएको छु भने सरकार जे काम गर्न रुचाइबक्सन्छ, त्यसमा मलाई पनि सरिक गराउन चाहिबक्सन्थ्यो । जस्तो : सरकार ड्रिङ्क्स गर्न चाहिबक्सँदा मैले पनि ड्रिङ्क्स नगरी धरै पाउँदिनथेँ । युवावस्थामा पुग्न लाग्दा समग्रमा दीपेन्द्र सरकारको दोहोरो चरित्र विकसित भइरहेको थियो । दरबारभित्र एकदमै नराम्रो, हठी, अनुदार, उच्छृङ्खल र कसैलाई नटेर्ने । तर बाहिर सार्वजनिक रूपमा देखिने सरकारको अर्को छवि थियो । त्यो उदार, खुला र जनतासँग घुलमिल हुने खालको थियो । यसबाट जनतामा दीपेन्द्र सरकार र राजसंस्थाप्रतिको आकर्षण बढिरहेको थियो ।

२०४६ साल भदौको कुरा हो । दीपेन्द्र सरकार इटन कलेजबाट बिदामा काठमाडौँ सवारी होइबक्सेको थियो । त्यही बेला युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन हुँदै थियो । वीरेन्द्र सरकार त्यसका निम्ति बेलग्रेड सवारी हुने कार्यक्रम थियो । दीपेन्द्र सरकार लन्डन फर्कने क्रममा बेलग्रेड सम्मेलनमा सहभागी होइबक्सने कार्यक्रम बन्यो । म लेफ्टिनेन्ट कर्णेल थिएँ । म सरकारको एडीसी भएर बेलग्रेड खटिएँ । प्लेनमा सरकार र मेरा बीच धेरै विषयमा कुरा भयो । सिट पनि एकै ठाउँ थियो, बिजिनेस क्लासमा । त्यो उडानमा सरकारले धेरै ड्रिङ्क्स गरिबक्सेको थियो । दीपेन्द्र सरकारको जिद्दी स्वभावका कारण मैले पनि ड्रिङ्क्स गर्नुपर्‍यो । त्यस बेला सरकारले आफ्नो विवाहबारे मसँग खुलेर कुरा गरिबक्स्यो ।

त्यसै क्रममा प्लेनमा दीपेन्द्र सरकारबाट हुकुम भयो, ‘विवेक, आई डोन्ट नो, ह्वाट द लभ इज । आई नेभर गट इट ।’ (विवेक, माया भनेको के हो ? मलाई थाहा छैन । त्यो मैले कहिल्यै पाइनँ ।) सायद सरकारले आफ्नी मुमा ऐश्वर्यबाट पाउन नसकेको मायाबारे भनिबक्सेको थियो । बेलग्रेडमा मैले के देखेँ भने युवराजाधिराज सरकार केटीहरूको मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो । सरकार बेलाबेला मैले ‘…यसो गरेँ, उसो गरेँ’ भनेर विभिन्न प्रसङ्गहरू सुनाइबक्सन्थ्यो ।

कुरा सुन्दा सरकार ज्यादै ‘सेडिस्ट नेचर’ को पनि लाग्यो, मलाई । एक पटक सरकार होटलमा रातभर ड्रिङ्क्स गरेर बसिबक्स्यो । एक जना स्थानीय केटी पनि सँगै थिई । राति तीन बजे सरकार ‘म यो केटीलाई तल छोडेर आउँछु’ भनेर कोठाबाहिर सवारी भयो । सुन्दरप्रताप राना सहित अरू दुई जना एडीसी थिए । लिफ्ट चढ्ने बेलामा सरकारले ‘तिमीहरू जानुपर्दैन’ हुकुम भयो । सरकार त्यो केटीलाई लिएर लिफ्टभित्र छिरिबक्स्यो । मैले सुन्दरलाई भर्‍याङबाट तल पठाएँ । अर्को एडीसीलाई माथि नै राखेँ । सरकार लिफ्टमा साढे दुई घण्टा राज भई बिहान साढे ५ बजे मात्र तल ओर्लिबक्स्यो । तल गएको एडीसी तलै र माथिको एडीसी माथि नै कुरेर बस्नुपरेको थियो । लिफ्ट बिग्रिएको हो कि भनेर कसैलाई खबर गर्ने कुरा पनि आएन । एकै पटक बिहान सरकार हाँस्दै सवारी भयो । (बिबेक शाहको मैले देखेको दरवार पुस्तकबाट)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com