शुभ नारायण यादब

प्रेम सम्वन्धले निम्ताएको अवैध गर्भ
[2013-04-06 오전 8:48:00]

सप्तरीको बनरझुला गाविस –४ कि १५ वर्षिय किशोरी रिता चौधरीको हातमा यतिबेला किताब कापी हुनु पर्ने हो । तर बिडम्बना उनी अहिले काखे छोरीलाई खेलाउँदै छिन् । कक्षा ६ मै पढ्दै खेरी सहपाठी स्थानीय महेश चौधरीसँग प्रेम सम्बन्ध गाँसिएर गर्भवती भईकी उनले गत साउनमा छोरी जन्माएकी छिन् । ती किशोरीका साथै उनको काखे बालिकाको भविष्य समेत यतिखेर अन्यौलमा परेको छ ।

कक्षा ६ मा पढ्दै गर्दा सहपाठी सोही गाविस–५ निवासी फेकु चौधरीको छोरा महेश चौधरीसित रिताको प्रेम सम्वन्ध कायम भएको थियो । सम्वन्ध प्रगाढ हुँदै गए पछि भएको शारिरीक सम्पर्कका क्रममा आठ कक्षामा पुगेपछि उनी गर्भवति भएकी थिईन् । पेट ठूलो भएपछि उनी सदाका लागि विद्यालय छोड्न बाध्य भएकी हुन् । उनले पढ्दै गरेको किताब कापी घरको कुनामा त्यसै फालिएको छ । आफूले गरेको गल्ती र त्यसको परिणामको कारण उनी अहिले पश्चातापमा पिल्सिएकी छिन् ।

छोरी गर्भवति भएको थाहा पाएपछि केटा पक्ष समेतकालाई राखेर प्रेम सम्वन्धलाई औपचारिकता प्रदान गर्दै बिवाहको रुप दिन गाउँलेहरु बसेर माला साटासाट गर्न लगाएको स्थानीय समाजसेवी रतन पासवानले बताउँछन् । केटाकेटी दुवैको उमेर नपुगेका कारण गाउँको समस्यालाई स्थानीय तहमा हल गर्न प्रयास भएको तर केटापक्षले स्वीकार नगरेपछि उनको भविष्य अन्योलग्रस्त भएको चिन्ता व्यक्त गर्दै उनी भन्छन्– खेल्ने र पढ्ने उमेरमा नै यस्तो अवस्था देखेर जो कोहीलाई दया जाग्ने गर्दछ, समाजका व्यक्तिहरु समेत चिन्तित छौ तर केटाका बुवाले मानिरहेको छैन ।

आफूहरुले दुवैजनाको हितलाई ध्यानमा राखि दुवैजनाको बिवाह गराई दिएको तर जेठदेखि महेशलाई परिवारजनले नै बेपत्ता पारिदिएका कारण अहिले आमा छोरी दुवैको भविष्य अन्योलमा परेको उनको भनाई छ ।

विद्यालयमै पढ्दै गर्दा प्रेम सम्वन्धबाट निम्तिएको दुष्परिणामका कारण महेश र रिता दुवैजनाको पढाई समेत छुट्यो भविष्य समेत बर्वाद पारिसकेको बताउँदै उनी भन्छन्– न्यायका लागि आफूहरुले धेरै पहल गर्यौ तर महेशलाई परिवारजनले भारततिर पठाई दिएको छ, उनी आए पो केही हुन्छ, अहिले आमा छोरीको भविष्य धरापमा पर्न गएको छ ।

गत साउनमा छोरीलाई जन्म दिएकी रिता विगत ९ महिनादेखि महेश बेपत्ता भए पछि छोरी र आफ्नो भविष्यको सुर्ता गर्दै चिन्तित भएकी छिन् । माइतमै बस्दै आएकी उनी एक दिन पनि पतिको घर जान नपाएको किशोरी आमा रिता बताउँछिन् । गाउँमा माला साटासाट गरी पति पत्नीका रुपमा रहने भनि सामाजिक निर्णय भए पनि अहिलेसम्म माइतमै बोझ बनेर बस्नु परेको छ, उनी भन्छिन्– मेरै चिन्ताले तीन महिना अघि आमाको समेत मृत्यू भईसकेको छ, बुवाको आँखामा पनि निद्रा छैन, अहिले त मलाई मर्नु नबाँच्नु भएको छ ।
घरको आर्थिक अवस्था जर्जर रहेका कारण बुवाले दैनिक ज्यालादारी गरेर आफू र काखे बालिकाको पालन पोषण गर्दै आएको उनी बताउँछिन ।

आफू सहित काखे छोरीलाई न्याय दिलाई दिनका लागि उनले मानवअधिकारकर्मी, कानून्व्यवसायी र सञ्चारकर्मीसँग पहल गरिदिनका लागि उनले आग्रह गरेकी छिन् । आफूले गरेको गल्तीबाट विद्यालय पढ्ने किशोर किशोरीहरुलाई समेत पाठ सिक्नु पर्ने उनको भनाई छ ।

महेश बेपत्ता भए पनि कम्तिमा छोरीले पतिको र नातिनीले बाबुको नाम पाउन सकोस् भनि न्यायका लागि सदरमुकाममा दौडधुप पनि हालसम्म केही उपलव्धि नभएको रिताका बुवा कारिचन दुःखेसो सुनाउँछन् । बिवाह दर्ताका लागि गाविस सचिवकहाँ जादा केटाकेटीको उमेर पूरा नभएको भन्दै फर्काई दिएको उनी बताउँछन् । आफ्नी छोरीलाई न्याय दिलाई दिनका लागि रिताका बुवाले सम्वद्ध निकायसँग आग्रह गरेका छन् ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com