शुभ नारायण यादब

होलीमय तराई
[2013-03-17 오후 6:22:00]

तराईको सबैभन्दा महत्वपूर्ण पर्वका रुपमा चिनिँदै आएको फागु पूर्णिमा (होली) नजिकिँदै जाँदा यहाँको माहौल विस्तारै–विस्तारै होलीमय बन्दै गएको छ । घर र बजारमा होरिया गीत गाउने क्रम सुरु भएको छ भने रंग, अबिर र फूचकारीको बिक्री शुरु भएको छ । होरी सम्बन्धी गीतहरु पनि बजारमा गुञ्जिन थालेको छ । बसन्त पञ्चमीका दिनदेखि नै फागू पूर्णिमासम्म होरी गीत गाउने र बजाउने यहाँ पुरानो प्रचलन छ । यसपल्ट पहाडी क्षेत्रमा मंगलबार र तराई क्षेत्रमा बुधबार होली पर्व परेको छ ।

होली मनाउन बाहिर रोजगारीका लागि गएकाहरु पनि धमाधम घर फर्किन थालेका छन् । होली पर्व घरमै मनाउने परम्परानुसार यसरी बाहिर रहेकाहरु घर फर्किन थालेका हुन् । बसन्त ऋतुको आगमनको अवसर पारी यस अवधिमा रंग, अविर, खेल्न खुल्ला हुने जनधारणाले गर्दा सरस्वती पूजादेखि पूर्णिमासम्म घर–घरमा एक आपसमा रंग, अविर लगाई रमाइलो गर्ने र साँझतिर टोल, बजारको कुनै चौकमा भेला भई युवाहरु रमाइलो गर्ने गरेको दृश्य देखिन थालेको छ ।

होली पर्वको उमंग किसान, मजदुर, व्यापारी, गृहिणी, नेता, युवा, पसले, जागिरे, विद्यार्थी सबैलाई उत्तिकै रहेको छ । बालबालिकाहरु त झन होली कहिले ? भनी सोधी सोधी अभिभावकहरुलाई हैरान बनाउँछन्– अभिभावक संघ सप्तरीका सचिव राधेश्याम रमण बताउँछन् ।

संविधानसभाको चुनाव पनि निकट भविष्यमै हुने निश्चित भएकाले नेताहरु पनि होलीलाई लिएर उत्साहित भएका छन् । कार्यकर्ताहरुसँगै घरमै होली मनाउने र होलीलाई सदुपयोग गर्ने अधिकांश नेताहरुको भनाई छ । यसपालीको होली निकै उत्साहजनक हुने उनीहरुको विश्वास छ ।

मिथिला क्षेत्रको कला साँस्कृति मध्ये होली एक धरोहरकै रुपमा रहेको चर्चा गर्दै निवर्तमान सभासद महेश यादव भन्छन्–फागू पर्व आउनुभन्दा एक महिना अघिदेखि नै गाउँका साथी र कार्यकर्ताहरुले होलीको तयारी सुरु गरिसकेका छन् । यसपल्टको होली गाउँमै साथी र कार्यकर्ताहरु बीच रंग, अबिर र गीत संगीतको आनन्द र एक अर्काको सुखदुःख साटासाट गरेर बिताउने योजना छ ।

श्री पञ्चमी पर्व सुरु भएकै दिनदेखि आ–आफ्ना कुलदेवतालाई घरका जेठा सदस्यले रंग, अबिर, खीर तथा पूजाआजा अर्पण गरेर बसन्त ऋतुलाई स्वागत गर्ने परम्परा रहेको उल्लेख गर्दै पण्डित रुपकान्त मिश्र भन्छन–त्यस दिनदेखि नै तराईवासीहरु रंग, अबिर खेल्न थाल्छन्।

राजविराज–३ निवासी दिनेस साह होलीलाई आनन्द र मस्तीको पर्वको संज्ञा दिँदै होरी गीत यसरी गुनगुनाउँछन्–
भर फागुन बुढवा देवर लागे
बुढावा के गौना कराय दिय हो ....
हे जबजब नियतै हरि गुणमा
गावतै बुढवाके गौना कराय दिय हो ... ।

यता होली पर्व नजिकिँदै जाँदा जिल्लाभरी नै थरीथरीका फिल्मी लोकगीत र भोजपुरी गीत बज्न थालेका छन् । कुनै कुनै गीत त निकै कामूक र उत्तेजक शब्दहरुको प्रयोग भएकाले सर्वसाधारणले सुन्दा अली अप्ठ्यारो महसुस गरेपनि युवाहरुको एउटा समूहले भन्छन्–बुरा न मानो होली है ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com