भवानी बराल

राजनीतिमा क्यालीगुला र फरुख परियोजना
[2013-03-16 오후 11:48:00]

स्व. विश्वेस्वरप्रसाद कोईरालाले सुन्दरीजल जेलमा बन्दी जिवन विताईरहेको बेला राजा महेन्द्रको कथित राजनैतिक कारोवारको प्रसंगमा लेखेका थिए, ‘आफ्ना ससुरा (हरि शमसेर) लाई अस्ति फिल्ड मार्सल बनाए, क्यालिगुलाले आफ्नो प्रिय घोडालाई सिनेटर र इजिप्टका राजा फरुखले आफ्नो भान्सेलाई प्राईमिनिस्टर हो कि मिनिस्टर बनाएको सम्झना हुन्छ । यसबाट अरुकुरो भन्दा पनि बेसी राजाको निर्लज्जताको पराकाष्ठाको प्रमाण पाइन्छ । अब ढाकछोप छैन ।’

रोमका तत्कालिन सम्राट क्यालिगुलाले आफ्नो प्रिय घोडालाई मन्त्री नै बनाएको भनाइ छ । वीपीले यहाा सिनेटर बनाएको चर्चा गरेका छन् । वी.पी.ले लेखे अनुसार तत्कालीन इजिप्टका राजा फरुखले भान्सेलाई मन्त्री अझ प्रधानमन्त्री नै बनाएको हो भने आजका पुस्तालाई इतिहास अध्ययनको यो चाखलाग्दो विषय हुनसक्छ । तर त्यो भन्दा चखिलो त घोडालाई मन्त्री बनाएको विषय हो । यसको सांकेतिक अर्थ शासकहरुको सर्वसत्तावादी मनोविज्ञान, महत्वाकांक्षाले जनता जनार्दनलाई भुसुनासरी गन्दैनन भन्ने सन्देश हो । अहिले पनि यस्तो उट्पटयांग कर्म गर्न सत्ताधारीलाई छुट छ । पूर्व राजा ज्ञानेन्द्रले पनि धेरथोर क्यालीगुला र राजा फरुखको सिको गरे । क्यालीगुला र फरुखको सूत्रलाई राजा महेन्द्रले परिमार्जन गरेर प्रस्तुत गरेका थिए । तर, उनले त महेन्द्रको हुबहु नक्कल उतार गरे । उनको सिंहासनले हावा खाएको यहि भद्धा नक्कल गर्दा पनि हो ।

यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा उनै क्यालीगुला र फरुखको फर्मूला अलिकति परिमार्जन गरी उतार गर्ने चेष्टा भैराखेको छ । संकटपूर्ण राष्ट्रिय राजनीतिलाई पटरीमा ल्याउन घोडा र भान्सेहरुको खोजी भैराखेको छ । बहालवाला न्यायधिस, स्वतन्त्र व्यक्ति, पूर्व प्रशासक, गैरराजनैतिक व्यक्तिलाई सत्ताको सााचो सुम्पेर चार राजनैतिक दलका नेता क्यालिगुला र फरुखको भूमिका गर्न किन राजी भए अर्थपूर्ण छ । सत्ताको सााचो गैरराजनैतिक व्यक्तिलाई सुम्पेर राजनीति कसरी पटरीमा आईपुग्छ ? यो प्रश्नको उत्तर फरुख र क्यालिगुलाका सूत्र तामेली गर्ने नेपाली चेलाहरुलाई सायदै थाहा होला । किनकि यो परियोजना नेपालका चार दलका चार ठूला नेताहरुले तयार गरेको भन्ने विश्वसनीय आधार नै छैन । यिनले नै तयार गरेको भए यसको रुपरेखा तैयार हुन्थ्यो र राष्ट्रिय सहमतिको लागि बहसमा जाने थियो । आफ्नै पार्टी (एमाओवादी पार्टी) बाहेकका अधिकांस सदस्यहरुको असहमतिका बाबजुद अचानक र अप्रत्यासित रुपमा यो परियोजना आएको छ ।

एमाओवादीका सदस्यहरुको मात्र यो परियोजनामा अपूर्व र अन्धसमर्थन छ । यो अपूर्व र अन्धसमर्थनले एमाओवादीको आगामी राजनैतिक यात्रामा कस्तो प्रभाव पार्ला त्यो अहिले नै भविष्यवाणी गर्न सकिन्न । एमाओवादीमा विचार स्वतन्त्रताको कुनै गुन्जाइस छैन या विचारविहिन मनुवाहरुको झुण्डमात्र छ भन्ने भोलि आउने परिणामले ल्याउनेछ । पछिल्लो वाक्य नै सााचो ठहरियो भने एमाओवादी पनि ‘एलिट’ क्लबमा रुपान्तरण हुनेछ, यति चैं साचो हो ।

चार दलका चार नेताहरु यो परियोजनाको पाठ्यक्रममा सिमित छन् । बाह्रबुादे समझ्दारी यता भएका सहमति र सम्झौताको औचित्य सकिएको यो परियोजनाको प्रतिवेदनले प्रस्ट पार्छ । नेपथ्यबाट नाटकको सम्बाद जे आउाछ, पात्रले त्यहि कुरा भट्याउनु पर्छ वा नेपथ्यको पदावली अनुसार नाटक मञ्चन गरिरहनु पर्छ । बााकी अरुले दर्शक या स्रोताको भन्दा बढी भूमिका पाउादैनन् । नेपालका ठूला राजनैतिक दलका प्रमुख नेता र केन्द्रिय समितिका सदस्यको भूमिका यत्तिनै हो ।

कांग्रेसका अध्यक्ष शुशिल कोइराला जतिनै रिजर्भ भएपनि उनले पनि यो भूमिका निभाउनु पर्छ । यो परियोजनालाई महाधिवेसनमै पारित गरेर प्रस्तावक हुन खोजेका एमाओवादी अध्यक्ष प्रचण्ड यो परियोजनाका चरित्र अभिनेता हुन । पाठ्यक्रम अनुसार लडााई जित्ने मूख्य अभिनेता वा हिरोको भूमिका यहाा छैन । संविधानसभालाई विघटन गरेर फेरिपनि विघटनकै अवस्थामा पुर्‍याउने कथाको मूख्य सार हो । यसर्थ यो पटकथा दु:खान्त घटनामा आधारित छ ।

त्यसैले यहा कथाले मागेको जति अंग र ढंग प्रदर्शन गर्नु पर्दछ । डा. तुलसी गिरीले पञ्चायतकालमा राजाले भने भने महिलाको लुगा लगाएर भएपनि पञ्चहरुले नाच्नु पर्छ भनेका थिए । राजा ज्ञानेन्द्रको इसारामा उनले पछिल्लो पटक नाचेर पनि देखाए तर उनको नृत्य बक्स अफिसमा जम्न सकेन । यतिखेर राजशाही छैन् । यद्धपी नाटकका प्रदर्शनीका लागि कथा, पटकथाहरु एकपछि अर्को मञ्चन हुनेक्रममा छ । कहा रचना हुन्छन यस्ता पटकथाहरु ? यो पनि ‘ओपन सेक्रेट’ छ । वि.सं. २००७ सालको दिल्ली सम्झौतादेखि ०६२ मंसीर ७ गतेको दिल्ली सम्झौताकै निरन्तरताको प्रतिक हो यी नाटकहरु ।

पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान विति बाते भैसकेको छ । संविधानसभाको निर्वाचनको लागि भनेर गठन गरिन लागेको प्रधान न्यायधिसको नेतृत्वको सरकार देखाउने दातमात्र हो । कथम् यो परियोजना अन्तरगतको चुनावी परिषदले सके निर्वाचन त गराउला तर त्यो संविधानसभाको हदको निर्वाचन हुन सक्तैन । मूख्य चारवटा दललाईमात्र विश्वासमा लिएर गरिने निर्वाचन यसैपनि मुद्धाविहिन हुने निश्चित छ ।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादी पार्टीले संविधानसभालाई मुद्धासहितको निर्वाचन बनाउनु बाध्यता थियो । राज्य पुनर्संरचना मुद्धाबाट उसले आफुलाई स्थापित गराउनु पर्ने थियो । माओवादी यतिखेर एमाओवादीमा रुपान्तर भैसकेको छ । र, भर्खरै हेटौडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेसनमार्फत उसले संघीयतालाई थााती राखेर लोकतान्त्रिक गणतन्त्रमा पार्टीलाई झारिसकेको छ । राष्ट्रिय अन्तराष्ट्रिय समर्थनको जोगाड गर्न उसले संघीय गणतन्त्रलाई खारेज गरेको हो । जन गणतन्त्र ०६२ को चुनवाङ बैठकमै विसाएको हो । जनताको संघीय गणतन्त्रको नारा त नव गठित वैद्यपक्षीय माओवादीले लिएर गैसकेको छ ।

यसमानेमा एमाओवादी जनगणतन्त्र, जनताको संघीय गणतन्त्र हुादै लोकतान्त्रिक गणतन्त्रमा फनक्कै पश्चिम फर्किएको छ । प्रधान न्यायधिसको अध्यक्षतामा निर्वाचन परिषद गठन गर्न एमाओवादी राजी हुनुको पछाडिको अर्थ यहि हो । भलै प्रचण्डले यो सूत्र आफैले तयार गरेको बताई हिाड्नु परेको छ । यो उनको बाध्यता हो । राष्ट्रिय राजनीतिको यो पटकथा मञ्चनमा देखिएको अपूर्व सहमतिको सार यो भन्दा अर्को हुनै सक्तैन । यसमा दलहरुबीच देखिएको प्राविधिक असहमति त कुवामा चेपेगााडाहरुबीच देखिएको दौडधुप मात्रै हो ।

काकतालीले निर्वाचन हुने भयो भने पनि अबको संविधानसभा मुद्धाविहिन हुनेछ । जोसंग मुद्धा छ, ति पक्षले निर्वाचनमा भाग लिने वातावरण बनेन भने संसदीय ढर्र्राको निर्वाचन हुनेछ । लोकतन्त्रमा आवधिक निर्वाचन हुनुमात्र अर्थ होइन । सार्थक र मुद्धासहितको निर्वाचन हुनु जरुरी छ । केवल र फगत निर्वाचनको राग अलापेर समस्याको समाधान भेटिन्न । नेपालको इतिहासमा निर्वाचन मात्रै त धेरै पटक भएकै हुन । पञ्चायत वा बहुदलीय व्यवस्थाकालमा पनि थुप्रै पटक निर्वाचन भए । तर, ति सबै निर्वाचनले संकटको निश्कर्ष निकाल्न सकेन । पछिल्लो पटक संविधानसभाको निर्वाचनको पनि औचित्यपूर्ण हुन सकेन ।

रहलपहल :
क्यालीगुला र फरुखको सूत्रले सरकार त बन्ला तर त्यसले दिने परिणाम सार्थक हुनसक्तैन । राजनैतिक मुद्धाको छिनोफानो राजनीतिक खेलाडीको सहभागितामा राजनीतिको अखडामा हुनुपर्छ । क्रिकेट खेलका जानकारलाई फुटबलको एम्पाएर बनाएर हुन्न । दुनिया भरका असफल प्रयोगका भद्धा नक्कल गरे त्यसले दूर्घटना निम्त्याउन सक्छ । जनबल र सांगठानिक हैसियत नभएका व्यक्तिहरुले सुरक्षा बलको भरमा राजनीतिक अभियान सम्पन्न गर्ने कुरामा विश्वास गर्न सक्ने आधार छैन् । यो अभियान सम्पन्न हुने छैन भयो भने आठौं आश्चर्य हुनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com