मोहिनी रिसाल मिश्रं

करोडौ हिन्दूहरुको आस्था कुम्भमेला: कति सुरक्षित?
[2013-02-16 오후 7:52:00]

प्रत्येक बाह्र वर्षमा लाग्ने विश्वका हिन्दू धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक मेला ‘महाकुम्भ मेला’ यसपाली उत्तरभारतको इलाहाबाद महानगरमा सुरु भएको छ ।
तीन पवित्र महानदी गङ्गा, जमुना र सरस्वतीको सङ्गमस्थल त्रिवेणीमा गत पौष शुक्ल पूर्णिमा अर्थात २७ जनवरी देखि सुरु भइ हालसम्म चालु छ । यस महामेला आगामी माघ शुक्ल पूर्णिमा (२५ फेब्रुअरी) सम्म चल्नेछ ।

ज्योतिष शास्त्रअनुसार वृहस्पति ग्रह १४७ वर्षमा एक पटक मेष वा सिंह राशिमा र सूर्य तथा चन्द्र कर्कट राशिमा जोडिएका र पवित्र माघ महिनाको अवसर यसैवर्ष परेकाले अघिल्ला पटकभन्दा यस पटकको कुम्भमेला सर्वाधिक पवित्र र अति दुर्लभ धार्मिक अवसर भएको विश्वास गरिएको छ । यस भन्दा १२ वर्षअघि सन् २००१ को पौष शुक्ल पूर्णिमा (९ जनवरी २००१) देखि सुरु भएको महामेलामा माघ शुक्ल पूर्णिमासम्म कम्तीमा ६ करोड तीर्थालुहरुले स्नान गरेका थिए । विगतको तुलनामा यसपाली भक्तजनहरुको सङ्ख्या कैयाौं गुणा बढेकाले मेलाको अन्त्यसम्ममा उक्त सङ्ख्या करिब दोब्बर हुने अनुमान गरिएको छ ।

पौराणिक कथन अनुसार परापूर्व कालमा अजर, अमरता प्रदान गर्ने अमृतकुम्भ (अमृतले भरिएको घडा) आफ्नो समूहमा राख्नका लागि एकपटक देवता र दानवबीच घनघोर युद्ध चल्यो । देव दानवबीच उक्त अमृतकुम्भ खोसाखोस हुांदा घडा छचल्किएर पोखिई अमृतका केही थोपाहरु आकासबाट धरतीका चार स्थानमा झरे । अमृत झरेका धरतीका ती चार स्थानहरु भारतका इलाहाबाद, हरिद्वार, नासिक र उज्जैनमा पर्दछन् । यी चारै स्थानमा प्रत्येक बाह्र् वर्षमा फरकफरक महिना र तिथिमा ‘महाकुम्भ मेला’ लाग्ने गर्दछ ।

हाल मेला चलिरहेको इलाहाबादलाई उर्दु(फारसी) भाषामा अल्लाहबाद भनिन्छ ।अल्लाहबादको अर्थ अल्लाह (ईश्वर) द्वारा रचित सहर हो । यसप्रकार इलाहाबाद वा अल्लाहबाद महानगर हिन्दू र मुसलमान दुबैथरी धर्मावलम्बीहरुका लागि पवित्र मानिने गरेको छ । यी चार मध्ये एउटा मात्र तीर्थस्थलमा महाकुम्भ मेलामा जीवनमा एक पटक मात्र स्नान गरेमा आफ्नो सबै पाप पखालिन्छ, अमृतपान गरे सरह हुन्छ र मोक्ष प्राप्त हुन्छ भन्ने अटल विश्वासमा अति ठूलो सङ्ख्यामा श्रद्धालु तीर्थयात्रीहरु भेला हुन्छन् ।

महाकुम्भ मेलामा भारतभर र अन्यत्रबाट समेत अति ठूलो सङ्ख्यामा जोगी, साधु, सन्त, सन्यासीहरुको जमघट हुन्छ । एकै ठाउांमा विभिन्न सम्प्रदाय, समुदाय र मठ, मन्दिरका, कोही नागाबाबा, कोही फलाहारी मात्र, कोही दुग्धाहारी मात्र, कोही शीर्षासनी मात्रका लाखौं जोगी, साधु, संन्यासीहरुको अनौठो जमघट कुम्भ मेलाको एउटा रमाइलो पक्ष हो ।

भगवानका अवतार मानिएका विभिन्न भेषभूषाका साधु तथा सन्तहरूका लागि निश्चित स्थान छुटयाइएको हुन्छ । यस्तै अनौठो र रमाइलो जमघट अवलोकनका लागि मात्र पनि मानिसहरु जम्मा हुन्छन् ।

तिर्थालुका अतिरिक्त आन्तरिक पर्यटकहरुले पनि खचाखच हुने हुांदा प्रत्येक महाकुम्भ मेलामा भागदौड मच्चिने, भीडमा मानिसहरु थिचिने, घाइते हुने वा हताहतिको संङ्ख्या पनि बढ्दो हुने गरेको छ । विशाल मानवसागरबीच हराउने वा मर्ने हजारौ तीर्थयात्रीका लागि भने यो मेला निकै डरलाग्दो बन्नसक्छ । गत फेब्रुअरी १० (माघकृष्ण औंशी) लाई यसपालिको सबैभन्दा महत्वपूर्ण दिन मानिएको र यस दिन मध्यान्हसम्म दुई करोडले स्नान गरेको तथा सााझसम्म यो सङ्ख्या लगभग तीन करोड पुगेको अनुमान गरिएको छ । उक्त दिन धनजन सुरक्षार्थ कम्तीमा ३० हजार स्वयंसेवी तथा सात हजार प्रहरी परिचालित थिए ।

अतिसैय भीड, करोडौं मानिसहरुको आवतजावतले गर्दा पूरै धूलाम्य भएको तीर्थस्थल र खुला मैदानमा कोशौं कोश पर परसम्म तीर्थयात्रीहरू प्रत्येक दिन त्रिवेणी किनारमा स्नान गर्नका लागि प्रतिदिन धकेलाधकेल गरिरहेको दृश्य सर्वत्र देखिन्थ्यो । अतिसैय भीडका कारण समूह तथा परिवारमा रहेका बालबालिका, बृद्धबृद्धा वा तीर्थस्थलको राम्रो भेउ नपाउने गरिब समुदायका स्वजन अक्सर छुट्ने, हराउने गरेका छन् । मोबाइल फोन, हराएका व्यक्तिहरूको फोटो देखिने ठूला एलईडी बोर्ड, उद्घोषणलगायत विभिन्न सञ्चार सामग्रीका प्रयोगबाट कोही पनि छुट्न नपाउन भनी ठूलो प्रयास गरिएको छ ।

तर यस्ता सामाग्रीले समेत राम्ररी काम गरेन भने छुटेका हराएका मानिस फेला पर्न सक्दैनन् र आफन्तहरुको विजोग हुन जान्छ । मोबाइल फोन सबैले लिनसक्ने अवस्था हुंदैन र अझै पनि भारतमा निरक्षर तीर्थयात्रीको सङ्ख्या अधिक छ । सार्वजनिक रूपमा लगाइएका लाउडस्पिकरहरूबाट कानै फुट्ने गरी यसरी हराएका व्यक्तिहरूको नाम र ठेगाना सुनाइए तापनि त्यत्रो विशाल मानव सागर र होहल्लाबीच मानिस पत्ता लगाउनु कठीन र प्राय: असम्भव हुन्छ ।

हुनत तीर्थालुको सुरक्षा र सहयोगार्थ २४ सै घण्टा भारतीय प्रहरी र अन्य स्वयंसेवकहरु खटिएका छन् । ‘‘हराएका र फेला परेका’’ हरूको सहयोगार्थ दर्जनौं प्रहरी केन्द्रहरू स्थापना गरिएका, हराएका वा स्वजन समूहबाट छुटेकाहरुलाई सहयोग गर्न सुबेव्यस्था गरिएको छ । तर आफन्त आउलान् र आफूलाई लैजालान् भनी कुरिरहनेहरु पनि प्रतिदिन हजारौंको संङ्ख्यामा भेटिन्छन् । बालबालिका वा सोझी, लाटी वा लठ्यौरी महिलालाई चोर्ने र बेचिदिने मानव तस्कर समूहलाई यस्ता मेलामा भाग्न, उम्कन सजिलो र सुरक्षित रहने हुांदा यस्ता तत्वहरु मौकाको प्रतिक्षामा हुन्छन् ।

मौका छोपी तत्कालै आपराधिक क्रियाकलाप गर्ने हुनाले हराएका बालबालिका र सीधासादा महिलालाई सुरक्षित राख्न प्रहरी वा मेलाका स्वयंसेवीहरुका लागि सबैभन्दा ठूलो चुनौति र खतराको विषय बनेको छ । आउंदो फेब्रुअरी २५ सम्म चल्ने यस मेलाको पहिलो दिन नै पााच वर्षदेखिका बालबालिकासहित छ हजार व्यक्ति हराएको सूचना प्राप्त भएको थियो । कुम्भमेलाको अर्को कहालिलाग्दो पक्ष हो तीर्थयात्रीको अकाल मृत्यु । केही दिनअघि मात्र घर फर्कदै गरेको अवस्थामा भएको भागदौडमा कम्तीमा ३६ तीर्थयात्रीको मृत्यु भएको समाचार प्राप्त भएको थियो ।

गत: आइतबारको दिन यस त्रिवेणी प्रयागमा कम्तीमा तीन करोड तीर्थयात्री भेला भएका र वृहत् सङ्ंख्याका हिसाबले यस अंङ्ंकले हालसम्मको कीर्तिमान तोडेको बताइएको थियो । सोही दिन भएको भागदौडमा ती तीर्थयात्रीको मृत्यु हुनाका साथै दर्जनौ व्यक्ति घाइते भएका थिए । मर्नेमा सबैभन्दा कान्छी आठ वर्षीया एक बालिका परेकी छन् भने सबैभन्दा प्रौढमा ७५ वर्षीय एक पुरुष पनि परेका छन् ।

अत्यधिक भीडको भार खप्न नसकी स्थानीय एउटा रेलमार्ग छेउको पुलको रेलिङ भाचिएको र उक्त दुर्घटना हुन पुगेको स्थानीय अधिकारीहरूले बताए । अतिसैय भीडका कारण घाइते व्यक्तिलाई अस्पताल पुर्‍याउन समेत अत्यन्त कठीनाइ भएको, घटनास्थलमा आपत्कालीन सेवा पुग्न घण्टौ लागेको र रेल बिसौनीबाट अस्पतालसम्म पुग्न एम्बुलेन्सलाई पनि घण्टौा लागेको कुरा घाइतेहरूका आफन्तले बताएका थिए ।

घटनास्थल वरपर सेतो कपडाले ढाकेका शवहरू लामो समयसम्म रहेको देखिएको थियो । भागदौड र मृत्युको घटनापछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एक विज्ञप्ति जारी गर्दै आफू यस दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएको बताउनुभएको थियो भने रेल मन्त्री पवनकुमार वंशल घटनाको अनुसन्धानका लागि इलाहाबाद जानुभएको थियो ।

यसैबीच ३६ तीर्थालुहरुको अकाल मृत्यु भएको दुख:द घटनाको घाउको खाटा बस्न नपाउादै अस्ति शुक्रबार १५ फेब्रुअरिका दिन आगलागीमा परी एक जनाको मृत्यु भएको छ । तीर्थालुहरुलाई गासबासको बन्दोबस्त मिलाउन खडा गरिएको पालमा आगलागी हुांदा एकजना ब्राह्मण पुरोहितको घटनास्थल मै मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए । लस्करै पाल गाडेर तीर्थालुलाई बाासको व्यवस्था गरिएकोमा ती मध्ये एउटा पालमा खाना पकाउांदा पकाउांदै आगलागी हुांदा २०वटै पालमा तुरुन्तै आगो सल्केर सबै स्वाहा भए ।

सन् २००३ मा पश्चिम भारतीय नगर नासिकमा सम्पन्न भएको मेलामा भागदौड हुदा ४५ व्यक्तिको मृत्यु भएको थियो भने सन् २००८ मा उत्तर भारतीय नगर जोधपुरमा स्थानीय एक मन्दिर भित्रको भागदौड र किचाघानमा २२० व्यक्तिको मृत्यु भएको थियो । धार्मिक परम्परा, आस्था र ज्योतिषीय विज्ञानअनुसार अति महत्वपूर्ण भनी प्रचार गरिएका कारण विश्वका हिन्दू धर्मावलम्बीहरु हरेक भारतीय ‘महाकुम्भ मेला’मा प्रत्येक पटक तीर्थालुहरुको सङ्ंख्या वृहत्रुपमा थपिंदै जाने क्रम बढ्दै गएको छ ।

उर्लंदो मानव सागरलाई व्यवस्थापन गर्ने कार्य निश्चय नै चुनौतिपूर्ण तथा कठीन हो । त्यस्तै, आगलागी, भागदौडलगायत अन्य दुर्घटनाबाट धन, जनको सुरक्षा, मानव तस्करबाट बालबालिका र सीधा, सादा महिलालाई बचाउनु पनि भारतीय सरकार प्रहरी र मेला आयोजकहरुलाई अर्को चुनौतिको विषय बनेको छ ।

सम्भावित तीर्थयात्रु तथा अन्य आन्तरिक पर्यटकको चापलाई पूर्वानुमान गरी यस पटकको महाकुम्भ मेलामा सरकार, प्रहरी र मेला आयोजकहरुले आवश्यक सबै व्यवस्था गरेकै थिए । तथापि यी सबै सत्प्रयासहरु पर्याप्त नभएको देखिन पुगेको छ । गत आइतबारको दिन भएको दुर्घटनामा ३६ व्यक्तिको मृत्युपछि मेला आयोजक समितिका अध्यक्षले नैतिकताको आधारमा राजिनामा समेत दिए । भारतमा यसप्रकारका महानता प्रदर्शन गर्ने व्यक्तिको कमी छैन ।

कुम्भ मेला सकिन अझै केही दिन बाकी छन् । यस पटकको कुम्भ मेलाको पाठबाट शिक्षा लिई भारतमा हुन गइरहेका आगामी वृहत् मेलाहरुमा भेला हुने सम्भावित मानवसागरको समुचित व्यवस्थापन र सुरक्षा गर्न आवश्यक छ । आशा गरौंं, अर्को कुम्भ मेलामा सबै तीर्थालु, यात्रु तथा पर्यटकहरु भागदौडरहित, अझ सुब्यवस्थित र अझ सुरक्षित स्थितिमा मेला भर्न पाउने छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com