भवानी बराल

जल विद्युत र नेपाल
[2013-01-20 오후 5:15:00]

राणा प्रधानमन्त्री चन्द्र समशेर जंगबहादुर राणा वेलायत भ्रमण गएको बेला विजुलि वत्ति बलेको देखेर तीन छक्क परेका थिए रे । उनले नेपालमा पनि यस्तै विजुली उत्पादन गर्ने ईच्छा वेलायती समक्ष गरेछन् । वेलायतबाट फर्केपछि वि.सं. १९६८ जेठ ९ गते आफ्नै नाममा चन्द्र ज्योति जल विद्युत गृहको स्थापना र उत्पादन सुरु गर्न लगाए । फर्पिङमा रहेको यो विद्युत गृहको क्षमता ५०० किलोवाटको थियो । नेपालको पहिलो र संभवत एसियाको दोस्रो जल विद्युत आयोजना यहि हो । यसपछि नेपालको दोस्रो सुन्दरी जल (६४० किलोवाट) र तेस्रो पनौती (२४ सय किलोवाट) विद्युत आयोजना हुन ।

विभिन्न अध्ययन अनुसार नेपालमा ६ हजार साना ठूला नदी नालाहरु रहेको तथ्याङ्कहरुले वताएका छन् । ती नदीनालाहरुबाट करिव ८३ हजार मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले वताएको छ । तर, यी अध्ययनहरु ठोसरुपमा नेपाल सरकारले गरेको होइन ।विभिन्न दातृ राष्ट्र, छिमेकी राष्ट्रहरु, संघसंस्थाहरु, औपनिवेशिक समयको इष्टइण्डिया कंपनी र व्यक्तिगत अध्येताहरुबाट तयार पारिएको प्रतिवेदनको एकमुष्ठ संश्लेषण हो ।

जलस्रोतको क्षेत्रमा लामो अध्ययन गरी विद्यावारिधि गरेका डा. हिरामान श्रेष्ठले तयार गरेको अध्ययनकै आधारमा आजसम्म नेपालको जल विद्युतको अनुसन्धान हुने गरेको छ । श्रेष्ठले उतिवेलाको सिमित स्रोत र साधनको उपयोग गरेर नेपालको जल विद्युत विषयमा विद्यावारिधि गरेका हुन । त्यहि स्रोतको आधारमा आजसम्म नेपालको जल विद्युत उत्पादनको अध्ययन भैरहेको छ । सरकारले जल विद्युत उत्पादनको क्षेत्रमा गहिरो अध्ययन र अनुसन्धान गरेकै छैन भन्दा कुनै झुटो बोलेको ठहर्दैन ।

विभिन्न व्यक्ति, संघसंस्थाहरुले गरेको फरक–फरक अध्ययन र तथ्याङ्कहरुले नेपालको जल विद्युत क्षेत्रको गुरु योजना बनाउन यसैकारण कठिन भएको छ । यसरी छरिएका अध्ययन अनुसन्धानलाई एकीकृत संश्लेशण गरेर त्यस उपर पुन: अध्ययन नगरेसम्म यस्ता अध्ययन तथ्याङ्कहरु मिथ्याङ्कका रुपमा परिणत हुनेछन् ।

हालैमात्रै कोसीमा सरोकार राख्ने एउटा समूहले सप्तकोसी वेसिनबाट ३३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने हावादारी निश्कर्ष निकालेको थियो । पानीको प्रचुरतालेमात्र विद्युत उत्पादनको अङ्क गणित बढ्ने होइन । विद्युत उत्पादनका अनेक प्राविधिक आयाम छन् भन्ने कुरा बुझ्न जरुरी छ । विद्युतसंग सरोकार राख्ने सरकारी निकायले गहन अनुसन्धान नगरेकोले यस्ता मिथ्याहरु बजारमा आईनै रहन्छन् ।

छरिएका अध्ययन, अनुसन्धानलाई एकीकृत गरेर पुनरमूल्याङ्कन नगरेसम्म नेपालको जलविद्युत क्षेत्रको यथार्थ चित्र आउन सक्तैन । सरकारी निकायले जल विद्युतको गहन अनुसन्धा नगरेकोले उत्पादन क्षमता कति हो अझै एकीन भएको छैन् । अझ जलासययुक्त आयोजना निर्माणको अध्ययन गर्ने हो भने नेपालको जल विद्युत उत्पादन क्षमता बढ्न पनि सक्छ । यसतर्फ झनै ध्यान गएको छैन । अर्को वातावरणीय प्रभावकाकारण उत्पाद क्षमतामा आएको ह्रासको कसैले हेक्का राखेको पाइन्न ।

सय वर्षको उत्पादन :
वि.सं. १९६८ को फर्पिङमा स्थापित चन्द्रज्योती विद्युत गृहबाट पहिलो चोटी उत्पादन भएको विजुलीलाई लिँदा नेपालमा विजुली उत्पादन हुन थालेको एक सय वर्ष पुरा हुन्छ । सोही सालको जेठ ९ गतेबाट फर्पिङमा चन्द्र ज्योती विजुली घरबाट ५०० किलोवाट क्षमताको विजुली उत्पादन सुरु भएको हो । यसपछि क्रमस: ६४० किलोवाट क्षमताको सुन्दरी जल विद्युत र २४ सय किलोवाट क्षमताको पनौती विद्युत आयोजनाबाट उत्पादन सुरु भयो । विद्युत उत्पादनको ईतिहासमा फर्पिङको ठूलो महत्व छ । यो नेपालकै पहिलो र एसीयाको दोस्रो विजुली आयोजना हो ।

तर, सय वर्षको विजुली उत्पादनको ईतिहासमा यताका वर्षहरुमा विजुली उत्पादनमा उल्लेख्य प्रगति हुन सकेन । नेपाल सरकारले हालसम्म २७ वटा जल विद्युत आयोजनाबाट ४७२.९९४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । लघु जल विद्युतको क्षेत्रमा सरकारी उत्पादन ४.५४ मेगावाट, डिजल प्लाण्टबाट ५३.४१ मेगावाट र सौर्य शत्ति:बाट ०.१० मेगावाट उत्पादन गरिरहेको छ ।

जल विद्युत क्षेत्रमा नीजि क्षेत्रको प्रवेशसंगै नीजि क्षेत्रले १७४.४८१ मेगावाट विद्युत उत्पादन थपिएको छ । नीजि क्षेत्रका २३ वटा आयोजनाबाट उत्पादन भएको विजुली सहित जोड्दा हालसम्म ७०५.३३६ मेगावाट विद्युत उत्पादन र वितरण भएको छ । यसरी सरकारी क्षेत्रले कुल विजुली उत्पादनको ७४.६५ प्रतिशत र नीजि क्षेत्रले २५.३५ प्रतिशत भाग ओगटेको छ ।

नेपालमा विद्युत उत्पादनको गति धिमा पर्ने प्रमुख कारण ‘राष्ट्रिय जल नीति’ को अभाव हो । यो धेरै अघिदेखि खड्किएको विषय हो । अझैपनि राष्ट्रिय जल नीति बन्न सकेको छैन । जल सम्बन्धि राष्ट्रिय नीति नबनिकनै वि.सं. २०४९ मा विद्युत विकास नीति ल्याईयो ।

त्यसै अन्तरगत वि..सं. २०४९ मा जल विद्युत ऐन बन्यो । तर, यो ऐन औपचारिकतामै सिमित छ । असिमित र अवशिष्ट अधिकार उर्जा मन्त्रालय र विद्युत विकास विभागमा केन्द्रित गरियो । यसैकारण नीजि लगानी आकर्षित हुन सकेको छैन , र औपचारिकतामा सिमित भएको हो । ऐनको औपचारिकताकै कारण ‘झोलामा खोला’ बोक्ने र लाईसेन्सको कारोबार गर्ने ब्रोकरहरुको विगविगि बढेको छ ।
माग र आपुर्ति :

अर्थशास्त्रको प्रारम्भिक नियम अनुसार माग र आपुर्तिको सन्तुलन मिलेन भने त्यस्ले सिङ्गो अर्थ व्यवस्थालाइनै नकारात्मक बनाउँछ । नेपालमा विद्युतको माग र आपुर्ति नमिलेकोले यहाँको अर्थ व्यवस्था चौपट बनाएको छ । नेपालमा विद्युतको माग चर्को बढेको छ तर, आपुर्ति झनझन घट्दै गएको छ । विभिन्न अध्ययन अनुसार करि ९४० मेगावाट विद्युतको माग छ । तर त्यो मागको आधामात्र पुर्‍याउन सक्ने पनि उत्पादन सामथ्र्य छैन । हिँउद याममा हुने विजुलीको मागको आधा हिस्सामात्र विजुली आपुर्ति भैरहेको छ । ९४० मेगावाट माग भएकोमा केवल ४९२ मेगावाट उत्पादन र वितरण भैरहेको छ । अर्थात मागको ४८ प्रतिशतमात्र आपुर्ति छ । यसैकारण हिँउदमा १४ घण्टाभन्दा बढी लोडसेडिङ हुन्छ । माग र आपुर्तिकोयो भयाभय असन्तुलनले नेपालको आर्थिक जिवनमा ठूलो प्रभाव पारिरहेको छ । र यो असन्तुलनले औधोगिक जिवनलाई धारासायी बनाउने नकारात्मक प्रभाव दिईरहेको छ ।

विजुलीको दीर्घकालीन समस्या समाधान गर्न जलासययुक्त आयोजनामा ध्यान दिनु जरुरी छ । तर, नेपाल सरकारले जलासययुक्त आयोजनामा प्राथमिकता दिएकै छैन । जलासययुक्त आयोजनाको अध्ययन नेपाल सरकारले गरेकै छैन । केवल परम्परागत ‘रन अफ रिभर’ मा आधारित विद्युत आयोजनाहरु बनाउने नीति सरकारको बन्न गएको छ ।

यसरी ‘रन अफ रिभर’ मार्फत नेपाल विद्युत प्राधिकरणबाट २२२ मेगावाट अर्थात ४६ प्रतिशत र नीजि क्षेत्रको ९६ मेगावाट अर्थात १९ प्रतिशत विजुली उत्पादन हुन्छ । नेपालको जलासययुक्त विद्युत आयोजना कुलेखानी मात्र हो । कुलेखानी जलासययुक्त आयोजनाबाट ४६ मेगावाट अर्थात ९ प्रतिशा विजुली उत्पादन हुन्छ । तर, नेपालमा जलासययुक्त आयोजना बनाउने हो भने प्रशस्त संभावनाहरु छन् । कुलेखानी जस्ता असंख्य आयोजना बन्नसक्ने सम्भावना नाङ्गो आँखाले पनि देख्न सकिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com