अमर दिप मोक्तान

महासेनानी कुमार लामालाई रिहाइ गर
[2013-01-08 오전 1:31:00]

माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध भएको छ । विना आधार नेपाल सरकारलाई समेत जानकारी नदिइ महासेनानी लामालाई पक्राउ गरेकोमा सार्वभौम मुलुकको क्षेत्रधिकार मिचेको भन्दै महासेनानी लामालाई तत्काल रिहा गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाद्धारा नेपाल स्थित बेलायती राजदूत टक्नटलाई विरोध पत्र बुझाएका छन् ।

नेपाली कंग्रेस, एमाले, माओवादी पार्टीद्धारा महासेनानी लामाको गिरफ्तारी प्रति तिव्र आक्रोश प्रकट गरेका छन् भने मधेशवादी पार्टीले पूर्ण रुपमा मौनता साधेका छन् । नेपाल सरकारको आक्रोश र विरोध भएता पनि लण्डन स्थित म्याजिष्ट्रेड कोर्टले लामालाई पूर्पक्षका लागि थप बीस दिन थुनामा राखि अनुसन्धान गर्ने आदेश दिएको छ । मानव अधिकारका प्रमुख उल्लंघन कर्ता देश मध्यका ब्रिटेनद्धारा आफ्नो शासनको बिगतको इतिहासको पुनरावलोकन गर्न अत्यन्त जरुरी छ, विश्वमा ब्रिटेनद्धारा आफ्ना अति महत्वाकांक्षी आकांक्षा रुपी उपनिवेश निर्माण गर्ने क्रममा सबैभन्दा बढी मानव अधिकारको उल्लंघन तथा युद्ध बन्दी प्रति निर्मम व्यवहार एवं प्रताडित गरी हत्या गर्ने देश मध्येमा ब्रिटेन अग्रनि देशमा पर्दछ, सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देश ब्रिटेनले मानव अधिकारको पालन कर्ता हुँ भनी भन्न कसरी सुहाउँछ ?

ब्रिटेनको बिगतको तात्कालिन ईतिहासलाई केलाउँदा त्यहाँ जस्तो अमानुषिक एवं पाशविक दण्ड सजायको प्रावधान विश्वको कुनै देशमा थिएन, साधारण अपराधीलाई समेत कोर्राले पिट्नु, पत्नीले भोजन बनाउन ढिलो गरे पतिद्धारा पत्नीलाई कोर्राले पिट्ने अधिकार, राजनीतिक अपराधीलाई काठको सिकन्जामा कसि ढुङ्गा प्रहार गरी गरिने हत्या, मानवलाई पशु भाँति शिकार गर्ने एवं दाश बनाउने देश ब्रिटेनले पुरातन युग जस्तै अर्को देशका नागरिकलाई आफ्ना उपनिबेशका जनता जस्तै गरि दण्डित गर्ने प्रयास घोर निन्दनिय छ ।

इतिहास साक्षि छ ब्रिटेन नेपालका छिमेकी राष्ट्र भारतवर्षमा ईष्ट ईण्डिया कम्पनीको रुपमा प्रवेश गर्‍यो, तात्कालिन बंगाललाई आफ्नो अधिपत्यमा ल्याउन लर्ड क्लाइभद्धारा कुटिलता पूर्वक बंगालका तत्कालिन नबाव शिराजुदौलाका सेनापति मिरजाफरलाई प्रलोभनमा पारी षडयन्त्र पूर्वक पलाशी को युद्ध जित्न सफल भए, शिराजुदौलालाई युद्ध बन्दीको रुपमा कठोर कराबास दिनुका सट्टा खुलेआम शिराजुदौलाको तरवारद्धारा टाउको काटेर हत्या गरियो, आफ्नो शासन सत्ताको पकड मजबुत गर्न जनतामा आतंकको श्रृजना एवं अंग्रेज अधिनताको विरोध गर्नेलाई क्रुर तरिकाले हत्या गरियो । लर्ड क्लाइभ पश्चात् आएका वारेन हेस्टिङद्धारा आफ्नो कार्यकालमा धम्क्याएर विभिन्न उपहार तथा मिरजाफरको श्रीमति मुन्निबेगमसंग ३ लाख ५४ हजार १०५ रुपैयाँ लिएको भन्ने काउन्सिल समक्ष अभियोग लगाउने नन्द कुमारलाई घरबाट बञ्चित र नन्द कुमारको शत्रु मोहन प्रसादको प्रयोग गरि मइ १७७५ इं. विं मा जालसाजि अभियोग लगाई वारेन हेस्टिङद्धारा आफ्ना मित्र सर एलिजा डम्पी (तात्कालिन मुख्य न्यायधिश) लाइ प्रभावमा पारी मृत्यु दण्डको सजाय दिलाए ।

इंग्लाण्डका सुप्रसिद्ध इतिहास बक्ता वर्क र मेकाले स्विकार गरेका छन् एलिजा एम्पी र हेस्टिङले मिलेर नन्द कुमार विरुद्ध घोर अन्याय गरेका हुन् । सुप्रिम कोर्ट स्थापना हुनु भन्दा अगाडि अर्थात् १७७० मा गरिएको भनि लगाइएको नन्द कुमार विरुद्ध जालसाजीको आरोप तात्कालिन न्यायालयद्धारा मुद्दातय गर्ने अधिकार नै थिएन भने बंगालमा जालसाजी मुद्दामा दण्ड स्वरुप फाँसी सजायको प्रावधान नै थिएन, दुर्भाग्य भनौ वा भाग्यको खेल लर्ड क्लाइभले जालसाजी पूर्वक बंगालमा अंग्रेजी सत्ताको जग स्थापित गरे बापत सम्पति, वैभव र प्रतिष्ठा प्राप्त गरे ।

तर लर्ड हेस्टिङद्धारा गरिएको जालसाजीको प्रमाणित आरोप लगाउने नन्द कुमारले मृत्यु दण्ड प्राप्त गरे ? वारेन हेस्टिङद्धारा गरिएको लुटको इतिहासले ब्रिटेन मानव अधिकार उल्लंघन गर्ने पराकाष्ठको देशमा गनिन्छ । हेस्टिङद्धारा गरिएको लुटको शिलशिला र महत्वाकांक्षा अंग्रेजी शासन व्यवस्थाको कलंकित इतिहास हो । अवध पतन पश्चात् नवावहरुको बेगम महलको घेरा बन्दी गरी जर्वजस्ती जेवर, सुन, चाँदीको माग गर्नु र दिन आनाकानी गर्नेलाई भोक भोकै मृत्युवरण गर्न बाध्य पारियो र नोकरहरुलाई समेत चरम यातना दिइयो । अवध नवावको बेगमहरुबाट मात्रै वारेन हेस्टिङद्धारा लुटिएको सम्पतिको मूल्य तात्कालिन हिसावमा लगभग १ करोड २० लाख अन्दाज गरिएको छ । नालापानीको गोरखा-अंग्रेज युद्धमा साधारण शस्त्रधारी नेपाली सैन्य टुकडीको खानेपानीको मुहान बन्द गरिदिनु, ठुल्ठुला तोपको गोला प्रहार गर्नु यूद्ध आचारसंहिता विरुद्ध कार्य अंग्रेज सरकारले गरेका कुरा प्रति किंचित पनि लज्जा बोध नभएको प्रतित हुन्छ ।

आफ्नो भुमिमा कुटिलता पूर्वक शासन स्थापित गर्ने अंग्रेजी शासन विरुद्ध उत्रेका भारतिय स्वतन्त्रता सेनानी मंगल पाण्डेलाई खुलेआम फाँसी दिनु, अंग्रेज विरुद्ध स्वतन्त्रताको विगुल फूक्ने खुदिराम बोश, सूर्य सेन, भगत सिंह, चन्द्र शेखर आजाद, राम प्रसाद बिस्मिल जस्ता हजारौं लाई फाँसी दिनु र मानव अधिकार विरुद्धको आचरणको पराकाष्ठ नाघ्ने ब्रिटेन सरकारले नेपालको जनयुद्ध अवस्थामा जानी वा नजानी भएको युद्धा अपराधलाई दण्ड सजाय दिनु कुन हिसावले मिल्छ, यदि मिल्छ भने ब्रिटेन सरकारलाई प्रश्न छ , लर्ड क्लाइभ, वारेन हेस्टिङले गरेको अपराध क्षमालायक थियो त ? ब्रिटेन सरकारले लर्ड क्लाइभ र वारेन हेस्टिङजस्ता पात्रलाई किन सम्मानको दर्जा प्रदान गरे? प्रसंग नेपाल तर्फ फर्कदा प्रथम र द्धितिय विश्व युद्धमा अंग्रेजी शासन पक्ष बाट युद्ध लडेका गोरखा सैनिक अहिले पनि अंग्रेजी सेनामा दोयम दर्जाको नागरिकको रुपमा गणना गरिन्छन् किन ? वर्षौं सम्म एकै तहमा कार्य गरेका गोरखा र अंग्रेज सिपाहीको तलब र पेन्शनमा भिन्नता किन ? प्रथम र द्धितिय विश्व युद्धमा ब्रिटेनको पक्ष बाट होमिएका बेपत्ता गोरखा सैनिक कहाँ छ्न ? कुन युद्धा मोर्चामा विलिन भए? त्यसको लेखाजोखा र ति परिवारको पिडा बुझ्ने तथा जान्ने प्रयास किन गरिएन? के यो मानव अधिकारको उल्लंघन होइन र ? १८५७ मा भएको भारतीय सिपाही विद्रोहको समयमा नै अंग्रेजी शासन ब्यवस्थाको भारत बाट अन्त्य हुने थियो तर हाम्रा तात्कालिन रणा शासनद्वारा पठाईएका सोझा, ईमान्दार गोरखा सैनिकको बाहुबल, निर्भयता पूर्वक देखाइएको साहास एवं बलिदानले गर्दा भारतमा अंग्रेजी शासन व्यवस्था १९४७ सम्म टिक्न पायो । १८५७ को सिपाही विद्रोहको दमन गर्न प्रयोग भएका गोरखा सैनिकलाई लुट र दमन गर्न कसले प्रोत्साहित गरे? । लखनउ सेक्रेटियटमा अहिले पनि लखनउ लुटमा गोरखा सैनिकद्धारा गरिएको अभिलेष कलंकको रुपमा बिद्धमानछ । अंग्रेजी शासन व्वस्थालाई सहयोग गरे बापत गोरखा समुदाय कलंकित भए, के त्यसको क्षति पूर्ति स्वरुप अंग्रेज सरकारद्धारा महासेनानी कुमार लामालाई बिगतमा अंग्रेज सरकारको पक्षमा दिएको क्षती पुर्ती बापत समातिएको हो त ?

भारतको इतिहासमा कलंकित जालियावाला बाग हत्या काण्डमा गोरखा सैनिकको नेतृत्व गर्दै जनरल डायरद्धारा अहिंसा पूर्वक आन्दोलन गरिरहेका आन्दोलनकारी माथि निर्दयता पूर्वक अन्धाधुन्ध गोली चलाउने आदेश दिएर गोरखा जातिलाई भारतीय इतिहासमा कलंकित बनाइयो, के त्यो मानव अधिकारको हनन होइन? जालियावाला बाग हत्या काण्डका नायक जनरल डायरलाई अंग्रेज सरकारले किन दण्डित गर्न सकेन? जनरल डायर जस्ता क्रुर हत्यारालाई युवा उधम सिंहले आफ्नो ज्यानको पर्वाह नगरि लन्डनमा किन हत्या गर्नु पर्‍यो, अंग्रेज सरकार संग यसको जवाफ छ त ? मानव अधिकार उल्लंघन कर्ता ब्रिटेन सरकारले बिगतको इतिहासमा ब्रिटेनद्धारा गरिएको गम्भिर मानव अधिकारका उल्लंघन पर्ती विश्व जनमत सामू क्षमा माग्नु पर्दछ ? । न्याय परिपालन गर्ने भन्ने देश ब्रिटेनले अभियोग सावित नभएका मात्र उजुरीको आधारमा नेपाल सरकारसंग विना सोधपुछ अन्याय पूर्वक महासेनानी लामालाई पक्राउ गरिएको अति निन्दनिय एवं अहिले पनि नेपाल जस्ता साना र अविकसित देश प्रति गरिएको अमानविय व्यवहार घोर मानव अधिकारको हनन हो ।

ब्रिटेनले जबरजस्ती अर्जेन्टिनाको भुभाग फकल्याण्ड द्विपमा अहिलेसम्म पनि आफ्नो अधिकार कायम राखेको छ, अर्जेन्टिनाले आफ्नो भू-भाग फकल्याण्ड द्विप लिने प्रयास गर्दा ब्रिटिश गोरर्खा सैनिक प्रयोग गरी पुनः आफ्नो कब्जा लिई अधिनमा राखेको कुरा धेरै वर्ष पुरानो होइन । फकल्याण्ड युद्धमा अर्जेन्टिनाद्वारा भाडाको गोरर्खा सैनिकको प्रयोग गार्‍यो भनी राष्ट्र संघमा ब्रीटेन बिरुद्धा कडा बिरोध प्रकट गरेका थिए । फकल्याण्ड युद्धमा विजय पताका ब्रिटेनको फहरयो तर गोरर्खा सैनिक कलंकित भए, के यो मानव अधिकारको हनन् होइन ? नेपालमा जनयुद्धको दौरानमा जानी वा नजानी सरकारको तर्फबाट वा माओवादीको तर्फबाट गरिएको युद्ध अपराध अमानवीय व्यवहार हुने, के मानव अधिकारको निरन्तर रुपमा उल्लंघन गर्ने ब्रिटेन सरकार मानव अधिकारको पालनहार हुँ भन्न सुहाउँछ? । ब्रिटेनद्वारा महासेनानी कुमार लामालाई पक्राउ गर्नु भनेको ब्रिटेन अहिले पनि पुरातन धङधङीबाट मुक्त हुन नसकेको प्रतीत हुन्छ । महासेनानी कुमार लामाद्वारा गरिएको अपराधले निश्चित रुपमा क्षमादान पाउनु हुदैन । तर ब्रिटेन सरकारको न्याय प्रणाली र कानुनबाट होईन महासेनानी कुमार लामालाई नेपालको न्याय प्रणलीबाट घोषित हुने दण्डको प्रब्धान अनुशार कार्बाही हुनुपर्दछ ।

नेपाली कांग्रेस, एमालेद्वारा महासेनानी लामाको पक्राउ प्रति आक्रोश प्रकट गरेकोमा धेरै धेरै धन्यवाद छ । महासेनानी लामाको गिरफतारी प्रति माओवादी कठोर रुपमा प्रस्तुत हुनु काँही सेनालाई ब्रिटेनद्वारा कार्यवाही गरियो भने युद्ध अपराधको दोषमा माओवादी सदश्यलाई इंग्ल्याण्ड लगायत यूरोपमा गिरफतारी हुने भएकाले आक्रोशित भएका त होइनन् भन्ने संका उत्पन्न भएको छ । महासेनानी लामाको गिरफ्तारिको सन्धर्भमा मधेशवादी दलको मौनताको कारण निर्दयता पूर्वक गौर, कपिलवस्तु हत्या काण्डमा निहत्थालाई घेरि-घेरी एवम छानी-छानी घर भित्र समेत लुकेका निरिहहरुको हत्याको प्रसंग पनि उठ्ने देखेर त्रसित भई चुप्पीसाधेका त होइनन् ? युद्ध अपराध गर्ने कसैले पनि क्षमा पाउनु हुदैन । महासेनानी लामाले पनि युद्ध अपराध गरेको हो भने त्यसको दण्ड सजाय पाउँनु पर्दछ । न्याय सबैको लागि बराबर भएकोले हुनाले माओवादी मधेशवादीद्वारा गरिएको अपराधको दण्ड पनि अवश्य पाउनु पर्दछ भने आम जनताको बुझाई छ । महासेनानीको गिरफतारीले आदिवाशी जनजाती महासंघ विदेशी दातृ संस्थाको इशारामा चल्ने चर्चामा सत्यता झल्केको छ । देशको सार्वभौमतालाई व्रिटेन द्वारा चुनौती दिदै सेनाका आदिवाशीलाई चयन गरिएको विरुद्ध आदिवाशी संघसंस्था, खाशगरी तामाङ घेदुङ संघको मौनताले आदिवाशी संघसंस्था विदेशी इशारामा कार्य गर्ने कुराको सतप्रतिशत पुष्टि भएको छ । महासेनानी लामाको गिरफतारी सामान्य गिरफतारी नभई ब्रिटेन सरकारद्वारा नेपालको सार्वभौमतामा दिएका खुला चुनौती हो । ब्रिटेन सरकारले महासेनानी लामालाई अभिलम्ब रिहा गर्नु पर्दछ । नेपाली जनता र नेपाल सरकारले यदि महासेनानी लामालाई मुक्त गराउन नसके भोलिका दिनमा विश्वका धेरै देशमा नेपाली प्रवेशमा प्रतिबन्ध हुनसक्ने पूर्व तयारीको रुपमा लिन जरुरी छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com