विन्दा पाण्डे

महिला हिंसाले जन्माएका प्रश्न
[2013-01-04 오후 11:23:00]

महिलामाथिको हिंसाले सीमा नाघेको छ । हरेक दिन पत्रिका पढौं वा रेडियो सुनौं, महिलामाथिको हिंसाको खबरले दिमाग रन्थनाउन थालेको छ । एक महिनाको बीचमा १६ महिलाको हत्या भएको छ । अझ डरलाग्दो कुरा त हत्या अरु कुनै अपरिचित व्यक्तिबाट भन्दा पनि आफ्नै बाबु, श्रीमान र परिवारका अन्य सदस्यबाट भएको कुराले कहालीलाग्दो अवस्थाको सिर्जना गरेको छ । नेपाल साप्ताहिकमा आएको तथ्यअनुसार विगत पाँच महिनाको अवधिमा १८२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीसम्म नपुगेका यस्ता घटनाको अनुमान गर्न गाह्रो छ । किनकि सामन्तवादी पुरुषसत्तात्मक सामाजिक मूल्य-मान्यतामा अडित इज्जत र राज्यले अपराधीमाथि कारबाही र पीडितलाई न्याय दिलाउँछ भन्ने विश्वासको अभावमा धेरै घटना प्रहरीसमक्ष लैजानु नै बेकार ठान्ने अवस्था कायमै छ ।

महिला हिंसाको कुरा गर्दा अहिले पनि धेरै व्यक्तिको पहिलो प्रतिक्रिया 'महिलाको पहिरन'माथि प्रश्न उठाइन्छ । के पहिरनकै कारण परिवारका सदस्यले महिलामाथि हिंसा गरेका हुन् ? अनि अर्को टिप्पणी सुनिन्छ, आफ्नो बारेमा आफूले पनि ध्यान दिनुपर्छ र रातविरात वा एक्लै-दुक्लै बाहिर हिँड्नु हुँदैन । जब महिला आफ्नै घरभित्र आफ्ना सबैभन्दा निकट र पि्रय भनिने व्यक्तिबाट हिंसामा पर्छन् र ज्यान गुमाउने अवस्थासम्म पुग्छन्, अनि त्यसमा अधिकांश पुरुष जातको संलग्नता हुन्छ भने अब महिलाले आफ्नोलागि सुरक्षा बास खोज्न कहाँ जाने ? यसको जवाफ कोसंग छ ? यस्ता घटनाबाट मुक्ति पाउन महिलाले कहाँ, कोसंँग र कस्तो उपाय खोज्ने ?

गतवर्ष भारतमा गरिएको एउटा अध्ययनको निचोड पढ्ने मौका पाएकी थिएँ । जसमा भनिएको थियो, महिलाविरुद्ध हुने हिंसाको ८० प्रतिशत घर-परिवारभित्र हुन्छ । यो तथ्यले भनेझैं महिलाको लागि सबैभन्दा असुरक्षित ठाउँ आफ्नै घरपरिवार हो भने यसको निराकरणको उपाय पनि त्यही भित्रबाट खोजिनु पर्दैन र ? अनि महिलामाथि हुने हिंसाको अधिकांश पीडक पक्ष पुरुष हुन् भने जबसम्म पुरुष मानसिकता, सोच र व्यवहार सुध्रँदैन, तबसम्म महिलाले हिंसाबाट मुक्ति पाउन सम्भव हुन्छ ? अनि पुरुषको मानसिकता, सोच र व्यवहारका कारण देखापरेको समस्या समाधानमा पुरुष समुदायको दायित्व हुँदैन वा उनीहरूको जिम्मेवारी हुँदैन ? यत्रतत्र घटेका महिलाविरुद्ध हिंसाका घटनाहरूले यस्ता प्रश्नहरूलाई अझ दरिलो रूपमा स्थापित गरेको छ ।

माथिको तथ्यले भन्छ, हरेक परिवारले आफ्नो परिवारलाई मात्र पनि हिंसामुक्त क्षेत्र बनाउन सक्ने हो भने ८० प्रतिशत हिंसा कम गर्न सकिन्छ । यसका लागि महिलाको मात्र पहलले हुँदैन । त्यमसा पनि समाजमा रहेको पुरुषप्रधानता र हिंसाको पीडक पक्ष मूल रूपमा पुरुष व्यक्ति भएको कारण पनि समस्या समाधानमा यस समुदायको जिम्मेवारी र संलग्नता बढी हुनु जरुरी छ । हरेक परिवारका अभिभावकले आफ्ना छोरी सन्तानलाई सुरक्षित हुन सिकाउनुका साथै छोरा सन्तानहरूलाई महिलाप्रति सम्मान, समान र सहिष्णुताको व्यवहार गर्नु मानवीय मूल्य, मान्यता र दायित्वको आधारभूत गुण हो भन्ने कुरामा शिक्षित गर्नु जरुरी छ । कतै कोहीबाट कुनै पनि रूपमा महिलाविरुद्ध अपमान वा असहिष्णुता देखाइएको पाइएमा परिवारबाट नै त्यसको पहिलो उपचार खोज्ने पहल हुनसके समाज मानवीय बन्दै जानेछ । यस किसिमको दायित्व परिवारमा हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिने संस्कार र संस्कृतिबाट सुरु गर्नु जरुरी छ भने राज्यले विद्यालय पाठ्यक्रममा नै यस्ता मानवीय विषयलाई समावेश गर्नुपर्छ ।

यति पीडादायी घटना घटिरहँदाको प्रतिक्रिया अर्को छ- यति धेरै हिंसा हुँदा पनि महिला किन उठेनन् ? महिला संगठनको के औचित्य ? महिला अधिकाकरकर्मी कहाँ गए ? मानौ पुरुषको भागमा हिंसा गर्ने कुरामात्र पर्छ । अनि यसको विरुद्ध उठ्ने दायित्वचाहिं महिलाको मात्र हो । कति लाजमर्दो कुरा । लैंगिक हिसाबले पुरुष समुदायबाट भएका यस्ता पशुवत दुष्कार्यको विरुद्ध उठ्नु हरेक सज्जन पुरुषको दायित्व हँुदैन ?

यस वर्ष शृङखलाबद्ध रूपमा महिलामाथि हिंसामात्र नभएर, हत्याकै तहमा धेरै घटना घटेका कारण केही संवेदनशील पुरुषहरूमा यो विषयमा हाम्रो पनि संलग्नता आवश्यक छ भन्ने अनुभूति हुनुका साथै विरोध कार्यक्रममा पनि सहभागिता रहन गयो । यो सकारात्मक पक्ष हो र यी सबै सज्जन पुरुषहरूलाई साधुवाद । महिला हिंसाको यही सिलसिलामा गतहप्ता छलफलको क्रममा एकजना पुरुष साथीले भनेका थिए- 'टेलिभिजनको अगाडि श्रीमती र छोरीको साथमा बसेर समाचार हेरिरहँदा 'पुरुष पहिचान गरेका दानव'बाट महिलामाथि भएको अत्याचार देख्दा आफू पुरुष भएर जन्मिएकोमा पनि आत्मग्लानि हुन्छ र अनुहार हेर्ने आँट आउँदैन । लाग्छ, कतै ती दुई मेरा निकटतम महिलाहरूले म पुरुष भएकोमा उपहास त गरिरहेका छैनन् ।' यस्ता अनुभूति कति पुरुषलाई हुनथालेको छ ? प्रश्न यहाँ छ । अनि यो अनुभूतिलाई हिंसाविरुद्ध उतार्न आफ्नो परिवार, समाज र आफू संलग्न रहेको कार्यथलो वा संघ-संगठनमा के पहल भएको छ ?

केही व्यक्ति, सञ्चारमाध्यम र केही राजनीतिक तथा सामाजिक कार्यकर्तामा महिला विरुद्धको हिंसा अन्त्य गर्न पुरुषको पनि दायित्व छ भन्ने अनुभूति हुनथाल्नु सकारात्मक पक्ष हो । तर प्रश्न संस्थागत प्रयत्नमा पनि छ कि छैन ? तपाई जोकोही संवेदनशील व्यक्तिको संस्था वा संस्थासंँग सम्बद्ध व्यक्तिको परिवारमा यस्ता घटना भइहालेछ भने तपाईसँंग कारबाहीको आचारसंहिता छ वा बनाउँदै हुनुहुन्छ ? कसैले सोच्न थालेको छ कि छैन ? अनि तपाईको परिवार वा आफन्तको दायरामा यस्ता घटना घटेमा तपाई घटना लुकाउनुहुन्छ वा कारबाहीमा जानुहुन्छ ? आफ्नो भूमिकाबारे तपाई कति सजग र तत्पर हुनुहुन्छ ? यो हरेक मानवीय संवेदना भएका व्यक्तिका अगाडि उव्जिएको प्रश्न हो र यसको जवाफले तपाईको कित्ताकाट गर्नेछ ।

राजनीतिलाई सबै नीतिको माउ नीति भनिन्छ । त्यसो हो भने हाम्रो देशको राजनीतिले महिला विरुद्धको हिंसालाई आफ्नो नीतिभित्र पारेको छ कि छैन ? कुनै राजनीतिक दलले आफ्नो बैठकमा यस विषयमाथि महत्वका साथ एकदिन छलफल गरेको छ ? कुनै दलका नेताले आफ्ना मातहतका सम्पूर्ण संरचनालाई यस विषयमा अभियान चाल्न औपचारिक निर्देशन दिएको छ ?

कहिल्यै पार नलाग्ने राष्ट्रिय सहमतिको नाममा हप्तौं र महिनौं बिताउन सक्ने नेतृत्वले त्यही बीचमा यति धेरै जघन्य घटना भइरहँदा कुनै बैठकमा आधा घन्टाको समय यस विषयमा कुरा गरौं भनेर संवेदनशीलता देखाएको उदाहरण छ ? अनि अधिकारकर्मीको दबाबविना राज्यले यसलाई कहिल्यै राजनीतिक मुद्दाको रूपमा आफै पहल लिएको छ वा सबै राजनीतिक दलका नेताहरूलाई बोलाएर यस विषयमा साझा उपाय खोज्न पहल गरेको छ ?

हरेक दिन 'सत्ता छाड्' र 'सत्ता छाड्दिन' भनेर सार्वजनिक मिडियामा जुहारी खेल्ने नेताहरूले कुनै दिन दुई मिनेट समय यो अमानवीय र अपराधपूर्ण घटनाको निन्दा गर्दै समाजमा हराउँदै गएको मानवीय संवेदना जगाउने काममा खर्च गरेका छन् ?

यी तमाम प्रश्न आज समाजमा यो वा त्यो रूपमा उठिरहेका छन् । अध्यागमनमा महिला लुटिन्छिन्, सुरक्षाको बर्दी लगाएर महिलाको अस्मिता लुटिन्छ । अधिकारकर्मीले प्रधानमन्त्रीको दैलो नछेके सरकारलाई यस्ता घटनाप्रति चासो हुँदैन । बस्ती-बस्तीमा छोरी र श्रीमतीको हत्या हँुदा दलका कार्यकर्ताको सरोकारको विषय बन्दैन । घर-घरमा महिला हिंसा हँदा पुरुष जातिलाई महिलाप्रति सम्मान र समानभाव राख्ने शिक्षा दिनुपर्छ भन्ने चेतना जाग्दैन । र काठमाडौंमा बसेर निर्वाचनको मात्र कुरा गरिरहने हो भने भोलि साँच्चै निर्वाचनमा मत माग्न जाँदा सचेत नागरिक र खासगरी महिलाले प्रश्न गर्नेछन्- महिलाको अस्मिता लुटिइरहँदा तपाई र तपाईको दल कहाँ थियो ? हिजो महिलाको अस्मिता लुटिँदा हाम्रो चित्कार नसुन्ने तपाई र तपाईको दललाई आज तिनैको मत किन चाहियो ? मत हाल्न जाँदाजाँदै हाम्रो अस्मितामाथि आक्रमण भएमा तपाईको दलले कसरी सुरक्षा गर्छ ? तपाईकै समर्थक कुनै व्यक्तिबाट फरक मत राखेकै कारण कुनै महिलामाथि दुव्र्यवहार भयो भने तपाईको दलमा कारबाहीको व्यवस्था के छ ? यस्ता प्रश्न आइलाग्दा नेतृत्वले नेपाली नागरिकलाई दिने जवाफ के हुन्छ होला ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com