एएफपी

मान्छे मार्नु त मेरो सोख नै हो
[2012-12-26 오후 10:46:00]

एकजना हत्याराले आफ्नो जीवनको सबैभन्दा ठूलो सोख मान्छे मार्नु भएको भनी लेखिएको नोट प्रहरीले आज बरामद गरेको जनाएको छ । अमेरिकाको न्यु योर्कस्थित सानो नगर वेब्स्टरमा एक व्यक्तिले सोमबार आगलागीको पासो थापी अग्निनियन्त्रकहरूलाई घटना स्थलमा बोलाएर हत्या गरेको थियो । सो व्यक्तिको घरमा प्रहरीले सो नोट भेटाएको बताइएको छ ।

अग्निनियन्त्रकलाई बोलाएर ती व्यक्तिले तीमध्ये दुईलाई गोली हानी मारेको तथा अन्य दुईलाई घाइते बनाएको जानकारी प्रहरीले दिएको छ । ती व्यक्तिको निवासमा पाइएको सो नोटमा उनले आफ्नो जीवनमा सबैभन्दा रमाइलो लाग्ने काम नै मान्छे मार्नु हो भनेर निकै लामो नोटमा लेखेका छन् ।

बासट्ठी वर्षीय यी बन्दुकधारीको सो निवासमा अरु पनि एकजना व्यक्तिको शरीरका केही भागहरु भेटिएका छन् । कसको हत्या गरेर ती अवशेष राखेका हुन भन्ने बारेमा केही खुलेको छैन ।उनले यसअघि पनि कयौं अपराध गरेर सजाय पाइसकेको अनुसन्धानबाट प्रहरीले भेटेको छ । सन् १९८० आफ्नै हजुरआमाको हत्या गरी १७ वर्षको जेल सजाय दिइएको थियो।

अहिले उनको घरमा रहेको सो अवशेष आफ्नै बहिनीको हुनसक्ने पनि समाचारमा जनाइएको छ । गत सोमबार अमेरिकाको लेक ओन्टारियोको तटीय क्षेत्रमा भएको यस घटनापछि यी व्यक्तिले आफ्नै टाउकोमा गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

यसै महिनाको सुरुमा कनेक्टिकटस्थित न्युटाउनको एक विद्यालयमा आमहत्या भएपछि हाल अमेरिकामा बन्दुक नियन्त्रणका विषयमा विवाद चलेको छ । यो घटना सोमबार स्थानीय समय अनुसार बिहान ६:०० बजे भएको थियो ।

वेब्सटरका प्रहरी प्रमुख गेराल्ड पिकरिङले यी व्यक्तिले अग्निनियन्त्रकलाई मार्न यस प्रकारको पासो थापेको देखिएको जानकारी दिनुभयो । मध्यरातमा आगो नियन्त्रण गर्न उठेका व्यक्तिहरूले कसैले पनि आफूलाई गोली हानी हत्या गर्छ भन्ने अपेक्षा नगर्ने उल्लेख गर्नु भयो।

प्रहरीको अनुसन्धानबाट उनले नै प्रहरी र ती अग्निनियन्त्रकमाथि गोली हानेको पाइएकोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनको निवासमा सो नोट पाइएको पनि समाचारमा जनाइएको छ ।

अग्निनियन्त्रक घटनास्थलमा पुग्दा एक कार तथा एक घरमा आगो लागि रहेको देखिएको र उनीहरू काममा जुट्दा उनीहरूमाथि गोली चलाइएको बताइएको छ । यो आगो बन्दुकधारीले आफैले लगाएको विश्वास गरिएको छ र यी व्यक्तिको नाम विलियम स्पेङलर भएको बताइएको छ ।

ती व्यक्तिले आफ्नो उक्त नोटमा लेखेका छन्, “मलाई नै थाहा छैन मैले कति छिमेकीलाई मारेर गाड्न सक्थो त्यसैले मैले मेरो जीवनमा त्यो कुराको परीक्षण गर्न चाहन्थो ।”पिकरिङले चार अग्निनियन्त्रक माथि गोली हानिएको, दुईको मृत्यु भएको तथा दुईलाई अस्पताल लगिएको बताउनुभयो । घाइतेको अवस्था गम्भीर नभएको उल्लेख गरिएको छ ।

अर्का एक प्रहरी अधिकारीमाथि पनि गोली प्रहार भएको उल्लेख गरिएको छ । यी अग्निनियन्त्रक सबै स्वयंसेवी थिए र तीमध्ये एक भाग्नसफल भई सहयोग माग्न पुगेका थिए । पछि प्रहरीले घटनास्थलमा सुरक्षाको घेरा लगाएको थियो र त्यहााका बासिन्दालाई अन्यत्र सारेको थियो । आरम्भमा आगो नियन्त्रण गर्न नपाएपछि आगलागीबाट सात घर जलेको बताइएको छ ।

अमेरिकामा बन्दुक राख्न पाउने कानुनी प्रावधानका कारण हालैका दिनहरुमा व्यापक मात्रामा यस्ता अपराधका घटनामा वृद्धि भइरहेको बेला सोमबार फेरि यो नया अपराध बाहिर आएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com