देवेन्द्र सम्बाहाम्फे

कोरियाको अस्पतालमा नेपाली डाक्टर
[2012-12-14 오후 8:55:00]

पछिल्लो समयमा कोरिया नेपाली युवाहरुका लागि श्रम गर्ने गन्तब्य बनिरहेको छ्र । यहाँ आएका कतिले दिनरात साना तथा मझौला उद्योगहरुमा पसिना बगाइ रहेका छन् भने भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरुलाई कहिले पुगौं भइरहेको छ । कतिले भने नयाँ भाषा परीक्षा खुल्ने सूचनाको प्रतिक्षा गरिरहेका छन् । कोरियालाई अधिकांश नेपाली युवाहरुले ड्रिम लेण्ड मानिरहेका बेला थेगु शहरको दोङसान अस्पतालमा डा राजेशचन्द्र जोशी भने अहोरात्र कोरियाली जनताको स्वास्थ्य उपचारमा खटिरहेका छन् ।

गत हप्ता उनको कार्यकक्षमा पंक्तिकार पुग्दा टेवलभरि फुलको गुच्छाहरु यत्रतत्र थिए र क्षण क्षणमा हाते फोनमा बधाई सन्देश आइरहेको हुन्थ्यो । उत्तरमा उनि खाम्साहाम्नीदा(धन्यवाद) लेखिरहेका हुन्थे । त्यसरी बधाई ओइरिनुको कारण भने कोरियाको फेमिली मेडिसीन एकेडेमीले गरेको एक सम्मेलनमा “बालबालिका उदास हुनुको कारणहरु” शीर्षकको उनको कार्यपत्र उत्कृष्ठ भएर हो ।

गत सेप्टेम्बर २० देखि २२ सम्म सोलको ग्रान्ड हिल्टन होटलमा आयोजित सो सम्मेलनमा कोरियाका सयौं प्रख्यात डाक्टरहरुलाई पछि पार्दै उनले अवार्ड पाएका थिए । कोरियामा चाइल्ड डिप्रेसन ठूलो समस्याको रुपमा आइरहेका बेला यस सम्बन्धी उनको प्रस्तुतिलाई मूल्याङकनकर्ताले उत्कृष्ठ ठानेका हुन् । जोशीले पाएको यो अवार्ड पहिलो भने होइन । २०११ मा पनि सरकारी स्वामित्वको टेलिभिजन केबीएसले कोरियाली समाजमा “सफलता र एकताको नमूना” बनेका प्रवासीहरु मध्ये डा जोशीलाई “होप अफ कोरिया” अवार्डबाट सम्मनित गरेको थियो । उनले पाएको प्रत्येक मान ,सम्मान र अवार्डले कोरियाली समाजमा नेपाली छवि उचो बन्दै गएको छ । उनले भने “यी सबै सम्मान म राष्ट्रलाई अर्पण गर्दछु ।”

यो क्षणसम्म आइपुग्न भने जोशीले अनेक अनेक धपेडी भोगेका छन् । ४१ वर्षअघि काठमाण्डौमा रामचन्द्र र शुभद्रा जोशीको छोराको रुपमा जन्मिएर आर्दश बिद्यामन्दिर माविबाट प्रवेशिका र अमृत साइन्स कलेजबाट आइएस्सी गरेपछि डाक्टर बन्ने जोशमा १९९२ मा कोरिया आएका जोशीले शुरुमा सोल विश्वबिद्यालयबाट कोरियन भाषाको अध्ययन गरेका थिए । त्यसपछि प्रो जङसङ दकको सहयोगमा थेगु आएर यङनाम विश्वबिद्यालयमा पढ्न थालेका जोशीले कडा मिहेनत र परिश्रमले २००मा एमडी गरे । थेगु आएपछि फेरी यहाको स्थानीय भाषाले पनि उत्तिकै सतायो । भाषिक कठिनाइले पटक पटक हार खाएका उनलाई नजिकबाट आत्मबल दिने स्थानीय ब्यवसायी स इन सुक थिइन् । सुक लामो समयदेखि थेगु क्षेत्रमा रहेका प्रवासी मजदूरहरुकी सहयोगी पनि थिइन् । उनकै सहयोग र सान्त्वनाले जोशीले आफ्नो कार्यलाई निरन्तरता दिए । २००८ मा सुककै छोरी जङ से यङसंग जोशीले प्रेम बिबाह पनि गरे । सानैदेखि डाक्टर बन्ने दृढ इच्छा भएकाले सपना साकार गरेरै छोडे । उनले आफ्नो बिगत सम्झन्दै भने “एमडी पढेका बेला चार घण्टामात्र सुत्थें ।”

२००३ मा एमडी गरेपछि थेगुको खेम्यङ विश्वबिद्यालयबाट चर्म रोग बिषयमा २००५ स्नातकोत्तर गरे । हाल उनी त्यसै विश्वबिद्यालयबाट बिद्यावारिधि गरिरहेका छन् । प्रो ली क्यूसकको सहयोगमा २००३ देखि नै थेगुको दोङसान अस्पतालको चर्म विभागमा काम गर्ने मौका पाएका हुन । जोशी ब्यस्त चिकित्सक मात्र होइनन् राष्ट्र प्रेमी कुसल समाज सेवी पनि हुन् । उनकै सकृयतामा सन् २००४ मा स्थापना भएको लभ नेपाल संस्था बिकसित भएर अहिले कोरिया नेपाल एसोसिएसन भएको छ । यसको मुख्य लक्ष कोरियमा नेपाली प्रकृति,संस्कृति चिनाउनु र कोरियाली संस्कृतिलाई नेपाली समाज समक्ष पुर्याउनु रहेको छ । यस संस्थाले प्रत्येक बर्ष “नेपाली साँझ”नामक सास्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । यस क्षेत्रका उधोगपतिका साथै लब्धप्रतिष्ठित ब्यक्तिहरुको संलग्नता भएको यस संस्थाको अध्यक्षमा डा किम दक यङ रहेका छन् । जोशी र अन्य केहि प्राद्यापकहरुको सकृयतामा यहाँ केहि महिना अघिमात्र नेपालको बाणिज्य दूतावास स्थापना भएको छ । उनले भने “यसका लागि चार बर्ष प्रयास गर्नु पर्यो ।”

अस्पतालको जिम्मेवारी बहन गर्दै जोशीला जोशीले यस क्षेत्रमाका नेपाली र अन्य प्रवासी हरुको सुखदुखमा सहभागिता जनाउदै आएका छन् । चर्मरोगमा बिशेषज्ञ भए पनि यहा रहेका प्रवासीहरुलाई समेत सहयोग पुग्ने भएकाले जोशीले फेमिली मेडिसीन तर्फ चासो राखे । सो अनुसार अस्पताल ब्यबस्थापनले २०१० बाट जोशीलाई फेमिली मेडिसीनको प्रमुखमा जिम्मेवारी दिएको छ । कोरियन भाषाकै कठिनाइका कारण कोरियामा अध्ययन गर्न आउने नेपाली बिद्यार्थीलाई गार्हो हुने उनको अनुभव छ । यहाँको सरकारले स्नातकभन्दा मुनिको तहका लागि एक वर्ष कोरियन भाषाको अध्ययनमा अनिबार्य बनाएको छ । यहाँ अध्ययन गरेर यहि सेवा गर्नेहरुका लागि उपयुक्त भए पनि स्वदेश फर्केर काम गर्न चाहनेहरुका लागि भने खासै उपयुक्त नहुने राय जोशीको छ । स्नातकोत्तर र बिद्यावारिधिका लागि अनिबार्य भाषा पढ्नु पर्ने नियम लागु हुदैन ।

इच्छा अनुसारको योग्यता हासिल गरिसकेपछि नेपाल फकिर्ने सोचमा रहेका जोशीलाई नेपालको अवस्था,परिवारको सल्लाह र यहाँका नेपाली साथी भाइहरुले आफ्नो आवश्यकता महसुस गरेपछि यतै कार्यक्षेत्र बनाउने निर्णयमा पुगेका हुन् । “प्रवासमा बसियो छिटै यहाँ रहेका प्रवासीहरुको हितका स्वास्थ्यसंग सम्बन्धित एउटा काम गर्नेछु ।” जोशीले भविष्यको योजना खुलासा पनि गरे ।

कोरियामा अन्तराष्ट्रिय बिबाह बढ्दै गएपछि सरकारले बहुसंस्कृतिक विकासलाई प्राथमिकता दिईरहेको अवस्थामा जोशी एसियाकै नमुना बनेका छन् । यहाँको प्रमुख टेलिभिजनहरुले उनको जिबनी र दैनिकीलाई महत्वसाथ प्रचार प्रसार गरेका छन् भने थेगु क्षेत्रका उच्च पदका व्यक्तिहरुका साथै केहि मन्त्री र संसदहरुसंग उनको सम्बन्ध राम्रो छ । उनको कार्य कुसलताका कारण शाखा ख्यङजु र आन्दोङको अस्पतालहरुमा पनि सेवा दिन पुग्छन ।

दैनिक अस्सीदेखि सय बिरामीहरुको स्वास्थ्य परीक्षण गर्दै आएका जोशीकै प्रयास र दोङसान अस्पतालको सहयोगमा यहाँका चिकित्सकहरुले नेपालमा प्रत्येक वर्ष निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । आउँदो बर्षका लागि पनि कुनै दुर्गम गाउँमा स्वास्थ्य शीबिर संचालन गर्ने योजना रहेको बताए । नेपाली हावा पनि राम्रो भए पनि नेपालीको स्वास्थ्य स्थिति निक्कै नाजुक रहेको जोशीको ठम्याइ छ । कोरियाली जनता स्वस्थ्यप्रति हदै सचेत रहेको अनुभव पाएका जोशी नेपालीले पनि “स्वास्थ्य नै धन हो” भन्ने तथ्य मनन गरेर आफ्नो स्वास्थ्य प्रति सचेत रहन सल्लाह दिन्छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com