निर्मलकुमार आचार्य

जुर्मुराओस् हेटौंडा
[2012-11-29 오후 10:40:00]

ऊ जमानामा कहलिएको औद्योगिक क्षेत्र हेटौंडा अहिले रहेन । भएका उद्योगधन्दा जति कि बन्दै भएका, कि बन्द हुन लागेको अवस्थाले पुरानो परिचय कायम नरहनु स्वाभाविकै हो । हेटौंडेली मुहार उजिल्याउन अद्वितीय भूमिका निर्वाह गरेको कपडा उद्योग जे जसरी धराशयी भयो, त्यो कुनै पनि हेटौंडावासीका निम्ति नूर चम्काउने विषय पक्कै होइन । जो जसको सरापले भए पनि हेटौंडामा कलकारखानाको गति नियतिको पक्ष बनेकामा शंका छैन । जेनतेन चलेका वा नयाँ खुलेका उद्योगले भविष्य चम्काएछन् भने बेग्लै कुरो ।

शिक्षाको फाँटमा भने बुर्कुुुसी मार्दै अघि बढिरहेको हेटौंडा तारीफलाग्दो छ । केही वर्षभित्रै चिकित्सा शास्त्र तथा इन्जिनियरिङ विषयको पठनपाठनमा समेत यसले पखेंटा फिंजाउने छाँट छ । २५ वर्ष अघिको हेटौंडा र अहिलेको हेटौंडाको स्वरूपमा मुख्य बजारमा परिवर्तन नदेखिए पनि बस्ती विस्तारमा भने उल्लेख्य प्रगति भएको देखिन्छ । चौकीटोल, पिप्ले, चौघडा, हटिया, नवलपुर, बसामाडी, पदमपोखरी आदि ठाउँ त छँदैछन्, कमानेले विशेष आयाम थपेको छ । खासगरी सडक सञ्जाल र यातायातको सुविधाले वर्षेनि बस्ती विकासमा मद्दत पुग्दै आएको देखिन्छ ।

हेटौंडाको अर्को सुन्दर पक्ष यहाँको हरियाली हो । सडक किनारमा लहरै ठडिएका मनोरम अशोक वृक्षको कुरो मात्रै होइन, टोलैपिच्छे वा घरघरैजस्तो देखिने बोटबिरुवाले जोसुकैको मन सहजै खिच्नसक्छन् । बीस÷बाइस वर्ष अघि तालु खुइले जस्तो देखिने भैरवडाँडा र खोइरोग्रस्त प्रतीत हुने मनकामना डाँडा हराभरा देखिंदा कसको मन आकर्षित नहोला र ? सानो जग्गामा बनाइएको घरमा समेत विभिन्न प्रकारका रुख, बिरुवा लगाउने हेटौंडेली सोचलाई सलाम गर्नैपर्छ । दुई दशक अघि कताकतै मात्र देखिने नरिवल र सुपारीका बोट मात्रै होइन, हलुवावेद, नास्पाती, आँप, लिचीका बोट निकै बढेका छन् । मरीचका लहराले समेत नयाँ आकर्षण थप्न जोड दिएको छ । हरियालीका साथमा कतै अलकत्रे त कतै ढलाने बाटो र सरसफाइले नमूना शहर बन्न थालेको प्रतीत हुन्छ– हेटौंडा ।

दुनिया कहाँको कहाँ पुगे पनि हेटौंडाको सर्वाधिक दुःखद पक्ष चाहिँ अहिले पनि स्वास्थ्य सुविधामा यसले राजधानी अथवा भरतपुर वा वीरगञ्जको मुख ताक्नुपरेकालाई मान्न सकिन्छ । विश्वसनीय शल्यक्रियाका लागि अथवा रोग निदानहेतु गरिने विभिन्न खाले परीक्षणका निम्ति पनि अन्त धाउनुपर्ने परिस्थिति हटाउन सम्बन्धित अगुवाले अघि सरेको पाइँदैन । बस्ती विकास र जनसंख्या बृद्धिको तुलनामा विज्ञ डाक्टरसहित अत्याधुनिक सुविधासम्पन्न अस्पताल नहुनुले हेटौंडेली समग्रमा मकवानपुरे चित्त साहै्र रोइरहेको दुरावस्था छ ।

त्रिभुवन राजपथको जगमगका बेला चहकिएको हेटौंडा पृथ्वी राजमार्गको चल्तीपछि केही खस्किए पनि ओजहीन चाहिँ बनेन । तर काठमाडौं पुग्ने छोटो बाटो कान्तिराजपथको सपनामा भने यसले धेरै समय खेर फाल्यो । वि.सं.२०१३ सालताका बाटो खनी हेटौंडा, चौघडा, ठिंगन हुँदै ललितपुरको सातदोबाटो निकालिएको जम्माजम्मी ९० किलोमिटरको कान्तिराजपथमा जीपसमेत गुडाइएको इतिहास छ । यस्तो महत्वपूर्ण छोटो बाटोलाई पुनः सञ्चालनमा ल्याउनेतर्फ भने कोही माईकालाल सक्षम भएन । ‘बागमतीमा पुल बनाई केही किलोमिटर बाटो निर्माण गरिएमा कान्तिराजपथ चल्न सक्छ’ दुई दशक अघिको यो भनाइ आज पनि किंवदन्ती झैं प्रचलित छ । स्थानीय विकास, निर्माणका डाडुपन्यू बोक्नेका लागि योभन्दा ठूलो अर्को कुनै गाली हुनै सक्दैन । कत्तिका लागि लोभलाग्दो, सुन्दर राजनीतिक नारा नै यही कान्तिराजपथ बनेको थियो भने कत्तिका लागि आफ्ना नेता यातायात मन्त्री भएका बेला खोलिएको बाटो भन्ने गौरवपूर्ण बखानको विषय बन्यो, तर कान्तिराजपथप्रति कसैले इमानदारी देखाएन ।

कुलेखानी जलविद्युत आयोजनाको मार्ग सबैका लागि खुला गरिएपछि पहिले कुलेखानी, फाखेल, फर्पिङ हुँदै र पछि सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जोड्ने छोटो बाटोले हेटौंडालाई फेरि जम्जमाएको छ । बाटो साँगुरो छ तर हेटौंडा, वीरगञ्जका पाँचसयभन्दा बढी सुमो टाटा गाडी र त्यत्तिकै निजी वाहन तथा मोटरसाइकलाई यसले धानेको छ । हेटौंडा, भैंसे, धोर्सिङ, भीमफेदी, चिसापानी गढी, देउराली, सिस्नेरी, छैमले, दक्षिणकाली हुँदै बल्खु, काठमाडौं तीन घन्टामै पुग्ने भएपछि सबैका आँखा चम्कनु अनौठो होइन । तर बाटो निकै साँगुरो र घुम्ती धेर भएकाले माइक्रोबस, हायस आदि गाडी तथा नौला चालकका लागि भने यो बाउको बिहे देखाउने खालको छ । एकचोटि यात्रा गर्नेले कान समातेर अब बरू त्रिभुवन राजपथकै शरण लिनु बेस ठान्ने गरेको पनि नभेटिने होइन । बाटो छोटो भए पनि जोखिमयुक्त भएको र सरसामान ढुवानीमा समेत यसबाट फाइदा नपुगिरहेको स्थिति छ ।

महत्वाकांक्षी मानिएको बाटो काठमाडौं–निजगढ फास्ट ट्रयाक (७६ किमी) सँग हेटौंडाको साख्खै नाता छैन । तर यसको साइनो भने गाँसिने भएकाले फलदायी ठहरिनेमा दुई मत छैन । तर जानकार भन्छन्, यो काठमाडौंको बासिन्दाका लागि ‘मेलम्चीको पानीको सपना’ झैं हो । काम गराइको ताल, सुर हेर्दा पनि त्यस्तै भान हुन्छ । हेटौंडा, फापरबारी, राईगाउँ हुँदै चतरा, धरान निस्कने बाटो वैकल्पिक मार्गका रूपमा दामी ठहरिन सक्छ तर स्तरोन्नति गर्नेतर्फ ध्यान नपुगेकाले अर्थपूर्ण साबित हुनसकिरहेको छैन । पालुङ, आग्रा हुँदै लोथरतर्फ निस्कने बाटोले पनि कहिले पूर्णता पाउने हो ? ठेगान छैन ।

पञ्चायतकालदेखि गाइएको हेटौंडा–काठमाडौं सुरुङ मार्गको गीत फेरि नयाँ स्वर र संगीतका साथ गुञ्जायमान भइरहेको छ । चोभार– कुलेखानी, कुलेखानी–भीमफेदी र भीमफेदी–भैंसेमा सुरुङ खनी बनाइने यो मार्ग निर्माण भएपछि हेटौंडाबाट काठमाडौंको यात्रा एक घन्टामै पूरा हुनेछ । झन्डै २० अर्ब रुपियाँ लगानी रहने यस मार्गमा चोभारमा तीन सय ६० मीटर, कुलेखानीमा तीन हजार ६९० मीटर र भैंसेमा छ सय २० मीटर लामो सुरुङ बनाइनेछ ।

सार्वजनिक–निजी क्षेत्र साझेदारी अवधारणा अन्तर्गत निजी क्षेत्रले जिम्मेबारी पाएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको प्रारम्भिक प्रतिवेदन र वातावरणीय प्रतिवेदन सम्बद्ध निकायलाई बुझाइसकेको र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन)को काम पनि टुंगिनै लागेकाले एक महिनाभित्रै सरकारसँग सम्झौता भई आउँदो माघदेखि कार्यारम्भ नै गरिने सरोकारी पक्षको दाबी छ ।

सुरुङ मार्गका निम्ति निजी क्षेत्र जुर्मुराएकाले आशाको वर्षा त गराएको छ तर यसमा राजनीतिक घूसपैठ भएमा काम शुरु नै हुन नसक्ने, भइहालेमा पनि अधूरै रहने आशंका व्याप्त छ । निश्चय पनि आशंका निराधार छैन, हेटौंडा–काठमाडौं सुरुङ मार्गसम्बन्धी विगतका प्रयास, अभ्यास र परिणतिले यही उदाहरण दिएको छ । कान्तिराजपथलाई पनि यसको उदाहरण मान्न सकिन्छ । कुनै एक राजनीतिक पक्षले उठान गरेको विषयलाई राम्रै भए पनि अर्काले गर्नै नदिने, भाँजो हाल्ने प्रवृत्ति एकातिर भयंकर छ भने अर्कोतिर राजनीतिकर्मीले मनोमानीसाथ मार्गको रूपरेखा मोड्ने परिपाटीलाई पनि कलंकपूर्ण मान्नैपर्छ । यस्ता दुष्प्रवृत्तिबाट मुक्त हुन सके मात्र सुरुङ निर्माणको कार्य सफल हुनेमा विमति रहँदैन ।

थोरै लगानी गरेका भरमा मनग्ये लाभ हासिल गर्न सकिने कुरामा त ध्यान नदिने सरकार तथा निजी क्षेत्रप्रति सर्वसाधारण विश्वस्त नहुनु अस्वाभाविक होइन । यतिखेर कुनै रहस्यको कुरो उठाउन खोजिएको छैन, केवल हेटौंडा–काठमाडौं रोप वे (रज्जुमार्ग)को दुर्दशा मात्र दर्शाउन खोजिएको हो । सन् १९६४ मा अमेरिकी सहयोगमा बनाइएको रोप वे चालू भएको तीन दशकपछि कसरी बन्द भयो, त्यसको खोजखबर गर्ने सच्चा प्रयास त कतैबाट भएन नै, रहे, भएका सरसामानको समेत व्यापक उपेक्षा गरियो ।

पहिले धोर्सिङ–मातातीर्थसम्म ल्याइएको ‘रोप वे’ पछि हेटौंडादेखि टेकुसम्म पु¥याइएको हो । जम्मा ४२ किलोमीटर दूरीको हेटौंडा–काठमाडौं रोप वे मुलुकको पहिलो, लामो रोप वे भएकाले वा यो विशेष आकर्षण भएको कारणले मात्र होइन, यसले ढुवानीका क्षेत्रमा पु¥याइएको देनबाट पनि अविस्मरणीय बनेको छ । प्रतिघन्टा दुई ट्रक बराबरको सामान ढुवानी गर्ने रोप वे १२ घन्टा सञ्चालन गरिँदा पाँच हजार लिटर डिजल जतिको वचत हुने अध्ययनले समेत यसको औचित्य र उपयोगिता प्रष्ट्याउँछ । महंगो मूल्य तिरी ल्याइने पेट्रोलियम पदार्थलाई विस्थापित गर्न महत्वपूर्ण साबित भइरहेको रोप वेलाई नै विस्थापित गरिनुले यसभित्र रहेको रहस्य अनुसन्धानको विषय बनेको छर्लंग छ ।

रोपवेबाट सरसामान ढुवानी गर्दा सस्तो पर्ने र यसले जनसाधारणलाई महंगीबाट त्राण पाउन मद्दत पु-याउने भए पनि यसको सञ्चालनमा लापर्बाही गरी बन्दै गर्ने स्थिति निम्त्याउनु केवल हेटौंडाका लागि होइन, मुलुककै लागि दुःखद पक्ष हो । निजी क्षेत्रबाट चलाइएको मनकामना केवल कारको अपार सफलता देखेर पनि सरकार अथवा निजी क्षेत्र यस रोप वेलाई नयाँ रुप दिन नतम्सनु हाम्रो दुर्भाग्यकै परिचायक मान्नुपर्छ । अहिले जे जस्तो अवस्थामा यो रोप वे छ, यसलाई पक्कै सञ्चालन गरिहाल्न सकिंदैन तर नयाँ सोचका साथ अघि बढ्ने हो भने थोरै लगानीमा यो राष्ट्रिय महत्वको केन्द्रबिन्दु बन्नसक्छ ।

यसलाई ‘केवल कार’का रूपमा सञ्चालन गर्नेतर्फ सरकार वा निजी क्षेत्र अघि सर्नु धेरै बुद्धिमानी हुनेछ । पर्यटन विकासमा यसले तत्कालै प्रभाव देखाउनेछ भने सार्वजनिक–निजी क्षेत्र साझेदारी अवधारणा अनुरुप यसलाई सञ्चालन गर्दा यसमा गरिएको लगानी दुई वर्षभित्रै उठ्ने निश्चित छ । हेटौंडाका बासिन्दा मात्र जागे पनि नयाँ स्वरूपमा यो रोप वेको पुनः जीवन सम्भव छ । अमेरिकी सहयोग नियोगसँग पहल गरिएमा उताबाट सहयोग जुट्न कठिनाइँ देखिंदैन भने केवल हेटौंडेली प्रयासमा मात्र अघि बढ्ने हो भने पनि यो काम दुष्कर छैन, आवश्यकता केवल दृढ इच्छाशक्तिको हो, उत्साहपूर्ण जुर्मुराहटको हो ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com