रमेशप्रसाद लामिछाने

बालमैत्री मात्र कि शिक्षकमैत्री विद्यालय ?
[2012-11-29 오후 10:42:00]

वर्तमान शिक्षामा चर्चाको विषय बनेको छ– बालमैत्री विद्यालय । बालमैत्री बिनाको शैक्षिक कार्यक्रम सबै फिक्का र अधुरो भएका छन् । यो सत्य हो कि विद्यालय बालमैत्री हुनुपर्छ । विद्यालय राम्रो हुनुपर्छ भन्दा एउटा स्कुल राम्रो हुन आवश्यक कुरा के के हुन्छन् भन्नेतर्फ गम्भीर बन्नैपर्छ । पढाइ उच्चस्तरको हुनुपर्छ ।

राम्रो शैक्षिक वातावरण हुनुपर्छ । जिम्मेवार पक्षहरु साँच्चै जिम्मेवार बन्नुपर्छ । नाममा र आदर्शमा मात्र जिम्मेवार र गम्भीर भएर हैन, व्यवहारमा देखिनुपर्छ, अनुभूति हुनुपर्छ । पछिल्लो समयमा बालमैत्री विद्यालय र यसका सूचकहरुको सम्बन्धमा व्यापक चर्चा, बहस, गोष्ठी, सेमिनार, भ्रमण, तालिम, कार्यशाला भएका छन् । अत्यन्त कम स्कुलहरु बालमैत्री भएका र सबै स्कुल बालमैत्री हुनुपर्ने तथ्यचाहि“ सच्चाई हो । बालमैत्री विद्यालयको सम्बन्धमा बालअधिकार जोडिएको छ । नेपालका बालमैत्री राष्ट्रिय प्रारुप तयार गरी नेपाल सरकार शिक्षा मन्त्रालयले प्रस्तुत गरेको छ । यस प्रारुपले समावेशीता, स्तरीयता, व्यवस्थापन, भौतिक अवस्था, शिक्षक व्यवस्था तथा अन्य शैक्षिक वातावरणसहित नौवटा पक्षहरु र यी नौ वटै पक्षअन्तर्गतका १४९ वटा सूचकहरु समेतको किटानी गरेको छ ।

प्रसंग प्रत्येक स्कुल राम्रो हुनुपर्छ यस अन्तर्गत बालमैत्री मात्र भनेर पर्याप्त हुन्छ वा हुँदैन ? यो विषय हाल ओझेलमा छ । किनकि डोनर भन्नेहरुले हाम्रा उच्च शैक्षिक प्रशासकलाई बालमैत्रीको क्याप्सुल दिएका छन्, त्यही रटाएका छन्, थप कुरा त अन्तै अभ्यास भएपछि डोनर मार्फत् आउने परम्परा नै बनेको छ । आखिर कुनैपनि स्कुल शिक्षक मैत्री बन्नुपर्ने कि नपर्ने ? के जागीरे हो भन्दैमा एउटा शिक्षकको पेशागत अवस्था र उप्रतिको व्यवहार, अनि शिक्षकको लागि विद्यालय आकर्षणको केन्द्र बन्नुपर्ने कि नपर्ने ? अर्को महत्वपूर्ण बिषय हो । विद्यालय बालमैत्री हुनु जरुरी छ, त्यसो त शिक्षकमैत्री पनि हुनैपर्छ । शिक्षक, विद्यालय जान गाह्रो मान्ने, गएपनि समयमा नजाने अनि पूरा समय नबस्ने त्यसैत बसेपनि जति सिकाउनु पर्ने हो त्यो नगर्ने प्रवृत्तिबारे व्यापक गुनासा र कुराहरु हुन्छन् ।

तर, शिक्षक किन विद्यालयप्रति आकर्षित भएन ? सिकाइ संलग्नतामा आवश्यक जाँगर, उत्साह किन छैन ? यस्ता प्रश्न त अनेकौं छन् । हो पनि शिक्षक मैत्री विद्यालयका पक्ष र यसका सूचकहरु कुनैदिन डोनरले उठाउँछन् र त्यसपछि हाम्रा उच्च शैक्षिक प्रशासकले अर्को ट्याब्लेटको रुपमा पस्किने छन् । तमाम सरकारी, गैरसरकारी संघसंस्थाका संचालक, कर्मचारीहरु, मुलुकलाई अग्रगति प्रदान गर्ने राजनीतिकर्मी नेतृत्व, चिन्तक, आविष्कारक, ठूलासाना उद्योगपति, व्यवसायीजस्ता व्यक्तित्व निर्माण गर्ने शिक्षक कस्तो हुनुपर्छ अनि शिक्षण पेशामा प्रवेश गर्न कस्ता परीक्षाहरु पार गर्नुपर्छ जस्ता प्रश्नतर्फ हाम्रो ध्यान कत्ति गएको छ त ? अन्त कतै रोजगार नपाए शिक्षण पेशा रोज्ने र कुनै दलका नेतामार्फत् सेवा प्रवेश गर्ने अनि स्तरीय शिक्षा खोज्ने जस्ता कुराहरु आफैंमा परस्पर विरोधी छन् ।

आफ्नै स्तर अत्यन्त फितलो भएकैले कहिल्यै स्थायी हुन नपर्ने, जाँच पनि दिन नपर्ने, कसैको चाकडी गरेर केही खर्च गरेपछि जागीर पक्का हुनेजस्ता विधिहरु पछिल्लो चरणमा शिक्षण सेवा प्रवेशका आधारको रुपमा पहिचान बनेका छन् । अनि शिक्षकमैत्री विद्यालय कसरी बन्छ त ? विद्यालय बालमैत्रीसँगै शिक्षकमैत्री भए यो अपेक्षित उपलब्धि हासिल हुनसक्छ ।

विद्यालय एउटा सिक्का हो भने यसको दुईपाटाहरु बालमैत्रीसँगै शिक्षकमैत्री हुनैपर्छ । यसो हुन त शिक्षक सेवामा प्रवेश गर्नु स्वयम् उमेदवारले कम्तिमा प्रथम श्रेणीमा तोकिएको योग्यता हुनुपर्ने, बर्षको एकपटक संवैधानिक शिक्षक सेवा आयोगबाट लिइने परीक्षामा पनि कम्तिमा प्रथम श्रेणी नै हुनुपर्ने, पहिलो नियुक्ति नै स्थायी हुनुपर्ने अर्थात् शिक्षक भनेपछि स्थायी मात्र बुझ्नुपर्ने, प्रत्येक पाँच बर्षमा कार्यक्षमताको परीक्षण गर्ने र उक्त क्षमताका कमजोर देखिए तालिम दिने हैन भने क्षमताको आधारमा बढुवा गर्नेजस्ता पेशागत सेवा सुरक्षाको ग्यारेन्टी हुने हो भने विद्यालय शिक्षकमैत्री बन्नसक्छ । विद्यालयमा पढाउन उपयुक्त वातावरण हुनु जरुरी छ । उपलब्धीका आधारमा प्रोत्साहन र दण्ड गर्ने विधि कार्यान्वयन गर्ने हो भने शिक्षकमैत्री स्कुल बनाउन सकिन्छ ।

राजनीतिक दुरुपयोगको स्थलको रुपमा विकास भएका सबै अवस्थाहरु निषेध गर्नुपर्छ । राजनीतिक जीवनको उच्च ओहोदा वा निवृत्त भै शिक्षण सेवामा संलग्न भएका व्यक्ति र मुलुकको रुपमा भारत, जापान, चीन, अमेरिका, रसिया जस्ता देशलाई उदाहरणको रुपमा लिन सकिन्छ । कति सम्मानित र मर्यादित बनेको छ, त्यहाँको शिक्षण सेवा र शिक्षक । हामी जुनसुकै वर्ग, तह, पेशामा रहेका भएपनि आपसमा हेर्ने, बुझ्ने अनि सम्मान तथा मर्यादामा कहाँ छौंं ? आफैंमा फर्कनु जरुरी छ, विश्लेषण गर्नुपर्ने हुन्छ ।

सधैं यस क्षेत्रमा कहिँकतै देखापरेका नकारात्मक प्रवृत्ति र अवस्थामात्र बुझ्ने अनि दृष्टिकोण नै नकारात्मक बनाउने, अमर्यादित रुपमा प्रस्तुत हुने जस्ता व्यवहार निराशाजनक र पश्चगामी चिन्तनका उपज हुन् । बेठीकलाई ठीक बनाउने, गलतलाई सच्याउने, छिटपुट बेठीक नै आम मुद्दाको विषय बन्नु हुँदैन । बरु त्यस्ता असान्दर्भिक, भ्रष्ट, अनैतिक पाइएमा तत्काल सेवामुक्त गर्ने र थप दण्डको व्यवस्था गर्ने स्थिति जरुरी छ ।

यसरी हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौं । मुख्य कुरो भनेको शिक्षण सेवाको उच्च मर्यादा र पेशागत हकअधिकारको सुनिश्चितता नै हो । जब बिद्यालय शिक्षकको आकर्षणको केन्द्र बन्छ तब स्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ । अन्यथा, स्कुल बालमैत्री मात्र भएर पुग्दैन शिक्षकमैत्री हुनैपर्दछ । राजनीतिक दलहरु, नागरिक समाज, अभिभावक, शैक्षिक प्रशासकहरु अनि संचारकर्मी तथा तमाम शैक्षिक सरोकारवर्गले शिक्षण संस्थालाई साँच्चै उँचो र पहिचानपूर्ण सहित स्थापित गर्ने हो भने आवाज उठाउनै पर्छः बालमैत्रीसंगै शिक्षकमैत्री विद्यालय आजको अपरिहार्यता हो ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com