नरेन्द्रराज प्रसाई

सानैमा ठूली थिइन् शारदा अधिकारी
[2012-11-04 오후 1:20:00]

शारदा अधिकारी सरल भएर पनि क्रान्तिकारी थिइन् । उनी नरम भएर पनि जागरुक थिइन् । अनि उनी भद्र भएर पनि अन्यायको प्रतिकारमा उभिन्थिन् । त्यसैले उनी सानो उमेरमा नै प्रसिद्धिको उचाईमा पुगिन् । नेपाली भाषासाहित्यमा उनले जति लेखिन् धेरै लेखिन् । साथै उनी स्तरीय लेखनकी पनि एउटी विम्ब बनिन् ।

शारदा सकारात्मक चेतकी धनी थिइन् । अरूको खुट्टा तान्ने प्रवृत्तिको उनी विरोधी थिइन् । उनी स्वावलम्बी पनि थिइन् । अनि उनी अर्काको सेवामा पनि समाहित हुन्थिन् । साथै उनी आफू लेख्न र अरुलाई लेखाउन उत्सर्गिक हुन्थिन् । उनी साहित्यिक सड्गठन गर्न पनि सिपालु थिइन् ।

शारदाले नेपाली संस्कृतिको खोक्रो आडम्बरलाई पनि स्वीकारिनन् । धर्मका आडमा पुरुषले बनाएको अन्धो सांस्कृतिक कानूनको प्रतिकारमा उनी बाँचुन्जेल उभिइन् । उनका पतिको निधनमा समेत उनले तेह्र दिनपछि रातो टीका, रातो चुरा, रातो सारी र रातो चोली लगाइन् । उनले धर्म र संस्कृतिका नाउँमा लादिएका खोक्रा आडम्बरहरूलाई भाँचभुँच पारिन् ।

वास्तवमा उनी समाजले के भन्छ भन्ने डरमा कहिले बसिनन् । बरु उनले नारी उपरको शोषण, दबाब र भेदका विरोधमा आफ्नो शक्ति अर्पण गरिन् । पत्नीको निधनमा पतिले जेजस्तो कृत्य गर्छन् पत्नीले पनि पतिको मरणमा त्यति नै मात्र कर्म गर्नु पर्छ भन्ने उनको मान्यता थियो ।

शारदाको जन्म २०२१ साल मड्सिर ४ गते काठमाडौंको सुन्दरीजलमा भएको थियो । उनका बुबा दामोदर ढकाल तथा आमा गुहेश्वरी ढकालका पाँचजना सन्तानमा उनी प्रथम सन्तान थिइन् ।

शारदा सानैदेखि ख्याउटे थिइन् । उनी सानो काँटकी थिइन्। सानामा लिखुरे भएका कारण उनलाई घरमा मुसी भनिन्थ्यो । सानामा उनी लाटीजस्तै पनि थिइन् । तर जतिजति उमेर छिप्पिंदै गयो त्यतित्यति उनी टाठी बाठीमा अनुवाद हुँदै गइन् ।

शारदाले नेपालका विभिन्न ठाउँका स्कूलहरू पढिन् । उनका बुवा जागिरका सिलसिलामा जहाँजहाँ पुगे त्यहीत्यहीं यिनको शिक्षा आर्जन हुन्थ्यो । त्यसैले यिनले काठमाडौं, सल्यान, कञ्चनपुरका स्कूलहरूमा शिक्षा आर्जन गरेकी थिइन् । तर उनले काठमाडौंबाट नै एसएलसी पास गरिन् ।

एसएलसी पासताक शारदाका बुबा सुर्खेत सरुवा भए । अनि उनी पनि सुर्खेत क्याम्पसमा नै भर्ना भइन् । तर त्यहाँ आईएको प्रथम वर्षसकिंदा नसकिंदै उनका बुवाको अन्यत्रै सरुवा भयो। अनि सरासर काठमाडौं आएर उनले पद्मकन्या बहुमुखी क्याम्पसमा नाँउ लेखाइन् । त्यहाँबाट उनले बीए पास गरिन् । साथै कर्ीर्तिपुर क्याम्पसबाट नेपाली विषयमा उनले प्रथम श्रेणीमा एम्ए पास गरिन् । त्यसपछि उनी उपप्राध्यापकका रूपमा पद्मकन्या बहुमुखी क्याम्पसमा पढाउन थालिन् ।

शारदाको बिहे २१ वर्षो उमेरमा भएको थियो । त्यतिबेला उनी आइए पास गरेर बीए भर्ना हुने तरखरमा थिइन् । उनी नेपाली भाषासाहित्यका रथी हरिहर शास्त्रीका छोरा सुदीप अधिकारीसँगको वैवाहिक जीवनमा बाँधिइन् । अनि यिनले एकै वर्षा छोरी सुयशा जन्माएकी थिइन् । उनका ससुरा हरिहर शास्त्रीको आफ्नी बुहारी शारदाको उच्चशिक्षाको गहिरो चाहना थियो । त्यसैले शारदाले आफ्नो अध्ययन जारी राख्ने अवसर पाएकी थिइन् । तर वैवाहिक सम्बन्ध भएको बाह्र वर्षनपुग्दै उनका पतिको निधन भयो । उनका पति सुदीपको बे्रन ट्युमरका कारण र्स्वर्गवास भयो । ३३ वर्षपुग्नासाथ उनी एकल महिलामा रूपान्तरित भइन्।

शारदा नेपाली भाषासाहित्यमा सृजनात्मक र सड्गठनात्मक दुवैमा क्रियाशील थिइन् । उनी नेपाली साहित्यमा पद्य फाँटको सर्म्बर्धनका लागि जागरुक भइन् । त्यसै सिलसिलामा यिनी नेपाली वाङ्मय प्रतिष्ठानकी सचिव थिइन् । त्यसैगरेर नारी स्रष्टाहरूको सड्गठन गुञ्जनमा पनि यी मिस्सिएकी थिइन् । साथै उनी रूमु प्रकाशनमा प्रवेश गरेर विभिन्न कृतिहरुको सम्पादन कार्यमा पनि उनले आफूलाई समाहित गरिन् । उनी साझा प्रकाशनको निर्वाचित सञ्चालक सदस्य थिइन् । साझाको सर्ंवर्द्धनका लागि यी नेपाल भित्रका अधिकांश शाखा कार्यालयहरुमा पुगिन् । साझालाई मर्यादित बनाउने सपनामा नै उनी लागिपरेकी थिइन् ।

साहित्य सर्ंवर्द्धनकै परिवेशमा उनी नेपाल बाल साहित्य समाजको सचिव पनि भइन् । यस संस्थामा रहेर उनले विशेष योगदान पुर्याएकी पनि थिइन् । अनि यही संस्थाको संस्थागत कार्यका सर्न्दर्भमा नै उनको स्वर्गारोहण भएको थियो ।

२०६५ साल कात्तिक २४ गतेको कुरा हो । तेजप्रकाश श्रेष्ठले हाँकेको मोटरसाइकलमा शारदा बसेकी थिइन् । उनले गलामा बेरेको गुलाबी पछ्यौरीलाई मोटर साइकलको चक्काले बर्ेन थालिसकेको रहेछ । पछ्यौरी चक्कामा बेरिंदै घाँटी कसिंदै गएपछि चाबेल पुगेर उनी सडकमा बजारिइन् । त्यही दुर्घटनामा उनको घाँटीको हड्डी भाँच्चियो । त्यसैले अस्पताल पुग्ने वित्तिकै उनको मृत्युको घोषणा भयो ।

शारदाका साहित्यिक कृति संख्यात्मक रूपमा नभए तापनि उनी गुणात्मक लेखनकी धनी थिइन् । उनले 'जीवन जे जसरी पनि बग्दोरहेछ' (२०६३), लेखिन् । त्योभन्दा अघि नै शैलेन्दुप्रकाश नेपालसँगको लेखनमा 'पारख प्रयत्न' समालोचना सड्ग्रह, (२०५५) मा प्रकाशनमा आएको थियो । यस सड्ग्रहमा यी दर्ुइ स्रष्टाका दशदशवटा समालोचना सड्ग्रहीत भए । अनि यी दुवै कृतिभन्दा अगावै अर्थात् २०५३ सालमा उनको बालकविता सड्ग्रह 'चिनजान हामीलाई' प्रकाशित भएको थियो । बाल साहित्यमा मात्र यिनका १३ वटा कृति प्रकाशित भए । उनले नेपाली साहित्यमा जति गरिन् तर आफूलाई प्रचारमा ल्याउन चाहनिन् ।

शारदाले नेपाली भाषाको अक्षर खेलाएर नै देशदेशान्तरमा आफ्नो नाउँ सम्प्रेषण गरेकी थिइन् । त्यसैले उनलाई भारत, डेनमार्क र स्वीडेनको पनि भ्रमण जुरेको थियो । साथै उनले आफू गएका ठाँउको निबन्ध पनि लेखिन् ।

शारदाले पढाइकै बेला आधारभूत पत्रकारिता प्रशिक्षण लिएकी थिइन् ।उनले प्राध्यापनकालमा नै महेश योगीको नेतृत्वमा सञ्चालित भावातीत ध्यानको प्रशिक्षण पनि लिएकी थिइन् ।अनि त्यो ज्ञान र ध्यान उनले भारतको दिल्लीबाट आर्जन गरेकी थिइन् । त्यसपछि उनी योग र ध्यानबारे तालीम लिनमा नै उद्धत रहिन् र अन्ततः यसबारे उनी प्रशिक्षक पनि भइन् ।साथै उनी रजनीशद्वारा स्थापित ओशोमा पनि पुगिन् । त्यहाँ पनि उनले प्रशिक्षण लिइन् । साथै उनी 'ओशो मा विद्या'द्वारा विभूषित गुरुमा बनिन् ।

शारदाको जीवनको अधिकांश समय भौंतारिएर नै पनि बितेको थियो । उनी नारीलाई सङ्कुचित र निरीह पार्ने कुनै पनि धर्म, विचार र कर्मको कट्टर विरोधी थिइन् । त्यसैले उनी आफन्तहरु माझ पनि विझाएकी थिइन् । वास्तवमा उनी विश्ववन्धुत्वको अवधारणालाई नै अङ्गीकार गर्थिन् । त्यसैले साँगुरा कर्मकाण्डीहरुका लागि उनी प्रिय हुन सकिनन् ।
बाँचुन्जेल शारदामाथि विभिन्न ठाँउबाट फरकफरक तरिकाले मानसिक प्रताडना भइरहे । साहसकी प्रतिमूर्ति भएर उनले हरेक आक्रमणको प्रतिकार गरिरहिन् । जतिसुकै बाधा आए तापनि स्वाभिमानपूर्ण ढड्गले शिर उचालेरै उनी आफ्नो यात्रामा लम्किरहिन् ।

शारदाले बालसाहित्य विषयक केही पुरस्कार र सम्मान पनि पाइन् । साथै उनको शेषपछि उनकी प्रिय सखी प्रभा भट्टर्राईले 'साहित्यकार शारदा अधिकारी' शीर्षकमा जीवनीकृति लेखिन् । अनि इन्दिरा प्रसाईले पनि 'शारदा' नामक लामो कविताको एउटा सिङ्गो किताबै लेखिन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com