नरेन्द्रराज प्रसाई

नेपालमा पाउरोटीका निर्माता राजकर्णिकार
[2012-09-30 오후 11:29:00]

राष्ट्रको समृद्धिका लागि एकनिष्ठ भएर व्यापार गर्नु निस्वार्थभावले समाजसेवा गर्नु र जनउत्थानका लागि राजनीतिमा पनि संलग्न हुनु कृष्णबहादुर राजकर्णिकारको व्यक्तित्वको प्रमुख विशेषता थियो । वर्तमान सङ्कटग्रस्त समाजमा यिनै विशेषताका कारण उनी कालजयी बने । त्यतिमात्र होइन उनी आज र भोलिका पुस्ताका लागि समेत प्रेरक हुन पुगे।

राजकर्णिकारले भारतको कोलकाताको नामी बेकरी कम्पनी फर्पोजमा पाउरोटी बनाउने कला सिकेका थिए । त्यो सीप जाँगर र उत्साह बोकेर उनी नेपाल आए । अनि उनले आफ्नो घरमा आफ्नै नाउँबाट पाउरोटी कारखाना खोले । २००५ सालदेखि कृष्ण पाउरोटीका नाउँमा त्यस व्यापारिक संस्थाले नेपालमा पाउरोटी निर्माणका लागि गुरुत्तर भूमिका खेल्यो ।

नेपालीलाई खाजाका रुपमा पाउरोटी खान सिकाउने राजकर्णिकार ऐतिहासिक व्यक्ति थिए । उनी नेपालको पाउरोटी उद्योगका पहिलो व्यक्तिमा स्थापित भए । कृष्ण पाउरोटी स्थापनाहुनु पूर्व अधिकांश नेपालीलाई पाउरोटीका बारेमा ज्ञातै थिएन । वास्तवमा उनले जन्माएको कृष्ण पाउरोटी भण्डार नेपालका लागि गर्वको विषय नै बन्यो । कुपोषणग्रस्थ बालकको नियति भोगिरहेको नेपालका अल्पायु उद्योगधन्धाका अघिल्तिर यसको निरन्तरताले व्यवसायी जगत्लाई समेत गतिलो पाठ पढाएको छ ।

राजकर्णिकार साइकल चढेर पाउरोटीको बजारिकरण प्रायः आफै गर्थे । त्योभन्दा अघिदेखि नै बीपी कोइरालाको राजकर्णिकारसँग मित्रता गाँसिएको थियो । त्यसैले कोइराला कृष्ण पाउरोटी भण्डारमा बराबर जान्थे । सो भण्डार खुलेदेखि उनले राजकर्णिकारको पौरखको थप तारिफ गर्न पनि थालेका थिए । वास्तवमा राजकर्णिकार र वीपी कोइराला खुबै मिल्थे । त्यसबेला राजकर्णिकारको साइकल चढेर नै कोइराला आफ्नो काम गर्थे । अनि बेलुका राजकर्णिकारको घर कमलपोखरीमा साइकल छाडेर उनी आफ्नो घर चाबेल जान्थे । तर कहिलेकाही हप्तौं दिनसम्म पनि उनी त्यो साइकल आफ्नै घरमा राख्थे ।

राजकर्णिकारका घरमा वीपी कोइराला र गणेशमान िसंहहरुको भेला भैरहन्थ्यो । साथै कृष्ण पाउरोटी भण्डार अन्य राजनीतिक व्यक्तिहरुको पनि सम्पर्क केन्द्रका रुपमा चालु थियो । त्यहाँ चिया होटल पनि भएकाले राजनीतिज्ञलाई उधारो खान पनि सजिलो थियो ।

वास्तवमा राजकर्णिकारको सरलपन र सहयोगी विचारबाट धेरै मान्छे लाभान्वित थिए ।
राणाशाहीले देश अन्धकारमा राखेको र जनशोषण गरेको बेहोराले राजकर्णिकार भित्रभित्रै मुर्मूरिएका थिए । तिनै राणा लखेट्नेबारेको बैठक राजकर्णिकारका पसलमा प्रायः हुने गथ्र्यो । उनी पनि भुसको आगोजस्तै भएर राजनीतिमा लागेका थिए । अनि उनी नेपालवादी थिए । त्यसैले उनलॆ वीपी कोइरालाको पक्षधर भएर राष्ट्रप्रति चिन्तन गरे । वास्तवमा उनी नेपाल कै हीत मात्र सोच्ने गर्थे ।

कृष्णबहादुरको जन्म १९६० साल बैशाख २५ गते काठमाडौँको कमलपोखरीमा भएको थियो । उनका बुवा हिरामानिसंह राजकर्णिकार आफ्नो पुस्तैनी हलुवाई अथवा मीठाईको दोकान चलाउँथे र उनकी आमा लक्ष्मीकुमारी गृहणी थिइन् ।

कृष्णबहादुर सानामा राणाका दरबारमा मीठाई पुर् याउने काम गर्थे । उनले आफ्ना मालिकको भलाईका लािग मन वचन र कर्म रोपेका हुन्थे । तर मान्छेले रोपेको कुनैकुनै बिरुवा पनि कुहिन्छ भन्नेको प्रमाण उनका मालिकहरु नै पनि साक्षत थिए । धनी भएर पनि किरनटोकी राणाको नाउँ लिनु पर्दा उनी इन्दुशमशेरकै नाउँ लिन्थे । तिनै इन्दुशमशेरको छत्रछायामा बस्ता उनी भोकभोकै पनि सुत्थे ।

श्री ३ जुद्धशमशेरले इन्दुशमशेरलाई बडाहाकिमको पगरी दिएर इलामतिर लखेट्ता राजकर्णिकार पनि आफ्ना मालिकका पछिपछि गए । त्यसबेला इन्दुशमशेरले यति दिन्छु र उती दिन्छु भनेर फकाउँदै उनीप्रति षड्यन्त्र मात्रै गरिरहे । केही वर्षसम्म घोटिदा पनि उनका हातमा राणाबाट चाराना पैसा पनि झरेन । त्यसैले त्यहाँ उनी तन्नम भए । त्यही रनाहामा उनी आँखा चिम्लेर भारतको कोलकाता पुगे । अनि त्यसैताका यिनले त्यहाँ पाउरोटी बनाउने इलम सिकेका थिए ।

राजकर्णिकारको बिहे २० वर्षका उमेरमा पाटन निवासी साहु रत्नलाल तम्राकार र साहुनी मानकुमारी ताम्राकारकी छोरी प्राणमायासँग भएको थियो । यी दम्पत्तिले ६ जना छोरा र ४ जना छोरी जन्माए । उनको एउटा छोरा घनश्याम राजकर्णिकार नेपाली भाषासाहित्यको प्रसिद्ध आरोही मानिन्छन् । साथै उनी नेपाली भाषासाहित्यको नियात्रा लेखनको अग्रस्थान हासिल गर्ने स्रष्टा मानिन्छन् ।

राजकर्णिकार बौद्धमार्गी थिए । त्यसैले उनले आफ्नो पुर्खाभूमि पाटनको हौगलबहालमा बुद्धमन्दिरको निर्माण गरे । त्यहीं उनले बुद्धको प्रतिमा पनि स्थापित गरेका थिए । पाउरोटी स्थापना गरेको पाँच वर्षपछि सोहीको आम्दानीबाट उनले त्यहाँ मन्दिर र मूर्ति बनाउन खर्च गरेका थिए ।

राजकर्णिकारले बनाएको मूर्तिमा सिद्धार्थ बुद्ध िसंहासनमा आरामका साथ ढल्केका छन् । अनि त्यस मूर्तिको विशेषता के छ भने िसंहासनमा सुतेर दायाँ हातले शिरलाई अडेस लगाइएको छ । बुद्धको यो सग्लो मूर्ति प्रतिष्ठापन गरिसकेपछि शहरमा उनको सुचर्चाले पनि ठाउँ ढाक्न थाल्यो ।

राजकर्णिकारको विशेषता उनी ठूलो कुरा गर्दैन थिए तर ठूलो काम गर्थे । उनी धाक रवाफ गर्दैन थिए तर जनमनमा जोडिएर सकेको सेवा गर्थे । उनी आडम्बर र घमण्डदेखि टाढा थिए तर उनी जनसाक्षर अभियानमा सकि्रय थिए ।

राजकर्णिकारको पाउरोटीमा लगानीका कारण उनको उद्योगले पनि अविश्रान्त रुप लिइरह्यो । उनीभित्रको सामाजिक चिन्तन र बौद्धधर्मप्रतिको आस्थाले पनि उनका समूहको सेरोफेरोले उनको जय मनाई रहे । वास्तवमा धैर्य नै जीवनको मुलबाटो हुन्छ भन्नेको सरल प्रमाण पनि यिनै थिए ।

एउटा साधारण मान्छे पनि इतिहासमा प्रथम स्थान राख्छ भने ती हुन्- कृष्णबहादुर राजकर्णिकार । एउटा भद्र मान्छे पनि पसिनाले आफ्नो जातिको पहिचान राख्छ भने ती हुन्-कृष्णबहादुर राजकर्णिकार । अनि एउटा सुधो मान्छे पनि सफलताको चुचुरोमा पुग्न सक्छ भने ती हुन्- कृष्णबहादुर राजकर्णिकार ।

राजकर्णिकार जनसेवामा निक्कै निक्कै र निक्कै उत्सर्गिक थिए । सेवाका क्रममा खास गरेर उनी स्कूल स्थापना गर्नेदेखि पुस्तकालय बनाउनसम्म सहयोग गर्थे । साथै पाटी र चौतारो बनाउने प्रस्ताव लिएर कोही आए भने उनी आर्थिक सहयोग जुटाई दिन्थे । बाँचुनजेलसम्म पनि उनले आफ्नो मन र कर्म नेपालको हीतमा नै रोपिरहे । नेपाल र नेपालीको जयगानमा डुबुल्किरहेका बेला उनी अपट थला परे । अन्ततः २०१६ साल माघ ६ गते काठमाडौंमा उनी स्वर्गीय भए । त्यसबेला उनी सन्ताउन्न वर्षमा िहंडिरहेका थिए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com