Indu Purbeli

फोहोरी राजनीतिले निम्ताएको परिणाम
[2012-09-26 오후 9:20:00]

सम्पूर्ण जातजाति, बर्ग र क्षेत्रको अधिकार समेटिएको संविधान जारी गर्ने प्रतिबद्धताका साथ संविधानसभाबाट निर्वाचित भएका दलका नेताहरु संविधान जारी गर्न असफल भए ।

संविधान बनाउन नसक्नुको वास्तविक कारण बाहिर ल्याउनुको सट्टा एक–अर्कालाई दोषारोपण गर्नु उनीहरुको दैनिकीजस्तै बनेको छ । विभिन्न संघसंस्था, विद्यालय, दलकै भातृ संगठन वा जो–कोहीले कार्यक्रम गरेर दलका नेतालाई प्रमुख अतिथि बनाइदिएपनि मञ्चको अधिकांश समय आफू समर्थित बाहेकका दलको बर्खिलापमा खर्चनु र नेताहरुको आलोचना गर्नु उनीहरुको कर्तब्यजस्तै बनेको छ ।

यसको अग्रपंक्तीमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरम छन् । संविधान सभा निर्वाचनमा बढी जनमत पाएका यिनै चारपार्टीको निर्णय अरु सवै दलले मान्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसैले आपसी विवाद र आलोचनामा पनि उनीहरु अगाडि नै छन् ।

बर्गीय मुद्धालाई उठाएर उनीहरुकै अधिकार संरक्षण गर्ने प्रतिबद्धताका साथ सत्तामा पुगेको एनेकपा माओवादीले सत्तामा पुगेसंगै जातीय मुद्धालाई प्रमुख बनाएको छ । देशमा रहेका एकसय १९ बढी जातिलाई जातीय स्वायत्त अधिकारसहितको राज्य दिन असम्भव हुने सत्य एकातिर भएपनि एकल जातीय पहिचानको राज्य दिलाउने उसको आश्वासनले कालान्तरमा सामाजिक सद्भाव भड्काउने सम्भावना प्रबल छ, यसको छिटपुट घटना दुरदराजका गाउँसमाजमा देखिन पनि थालिसकेका छन् । साथै एकसय १९ बढी जातिलाई जातीय स्वायत्त राज्य बाँड्न असम्भव छ भन्ने कुरा बहुसंख्यक जनताले बुझेकै छन् शायद । तर पनि माओवादी ‘फुटाऊ र राज गर’ भन्ने नीतिमा भने सफल भएको छ–यस मुद्दाले ।

किनकि यसै मुद्दाका कारण एमाले छेत्री–ब्राम्हणको पार्टीमा दरिन लागेको आभाष हुन्छ भने कांग्रेसका उपल्लोतह बाहेकका कार्यकर्तामा पनि यसको छिटपुट प्रभाव देखिएको छ । जसले संगठनीक एकतामा विश्वासघातको संकेत गर्छ ।

कम्युनिष्ट अधिनायकवाद लादिने गणतान्त्रिक ब्यवस्थासहितको जनतान्त्रिक संविधान बनाउने माओवादीको अभिष्ठ र विश्वब्यापी लोकतन्त्रमा आधारित लोकतान्त्रिक संविधान बनाउनुपर्ने कांग्रेसको अडानका कारण संविधान जारी हुन सकेन । यसमा एमालेको भूमिका मौन रह्यो भने मधेसवादीले माओवादीलाई साथ दियो । यद्यपिः जनतासमक्ष भने जातीय राज्यको पक्ष र विपक्षका कुरा अगाडि आयो र त्यही विषय संविधानले पूर्णता पाउनुको बाधक देखियो ।

दलहरुले संविधानसभामा जनतासमक्ष अनुमति नै नलिएको राजतन्त्रको समूल अन्त्य, धर्म निरपेक्ष राज्य घोषणा र अधिकार विकेन्द्रीकरणको मुद्दालाई जातीय÷बहुपहिचानका आधारमा संघीयता बनाउनेजस्ता विषय र उत्पन्न विवादले संविधान बन्न नसकेको अवस्थाले शीर्ष चारदलतर्फ जनताको वितृष्णा बढेको छ ।

‘हिजो राजतन्त्र चाहिंदैन’ भन्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी भएकाहरु निरन्तर राजतन्त्रकै वकालत गरिरहेको राप्रपा नेपालतर्फ आकर्षित भएका छन् । हुनतः चुनाव हुने कुरा चल्नासाथ पार्टी परिवर्तन गर्नेहरुको माहौल बढ्छ ।
लामो समय त्याग र बलिदान गरेका पार्टीका प्रतिबद्ध कार्यकर्ताहरु हतपत पार्टी परिवर्तन गर्दैनन् पनि ।

पार्टी परित्याग गर्ने र अर्कोमा प्रवेश गर्नेमा राजनीतिक सिद्धान्त नबुझेकाहरु नै बढी हुन्छन्, जसलाई छिट्टै प्रभावित गरेर आफ्नो पार्टीमा प्रवेश गराउन नेतृत्वपंक्ती सफल हुन्छ । तर, ती पार्टीका स्थायी सम्पत्ति (कार्यकर्ता) हुँदैनन् । किनकी एउटा पार्टीमा प्रवेश गरेको केहीदिनपछि अर्को पार्टी वा मातृपार्टीकै नेता आएर ‘केही गरिदिने’ आश्वासन दिए पुनः पार्टी परिवर्तन गर्न उनीहरु तयार हुने गरेको विगतले देखाउँछ ।

यसले के पुष्टी गर्छ भने हामी समाजसेवाका लागि राजनीतिलाई लिदैनौं । आफ्नो कुनै काम फत्ते गर्ने वा कुनै स्वार्थबाट प्रेरित भएर एउटा न एउटा राजनीतिक दलको पछौटे बनिरहेका हुन्छौं । फेरि पनि यसमा जनताको दोष भने छैन, यो देशमा विद्यमान राजनीतिक संस्कारको उपज पनि हो । किनकि परिवर्तनका लागि क्रान्ति गर्छौ भन्ने हाम्रा नेताहरु जब सत्तामा पुग्छन् तब आफ्नै आफन्त, नाता–गोताका ब्यक्तिलाइ च्यापेर सुविधा पाउने ठाउँमा पु-याउँछन् ।

आफ्ना लागि मनग्यै कमाउँछन्, आफन्तको ‘उद्दार’ गरिदिन्छन् र सत्ता र शक्तिलाई स्वार्थपूर्तीको माध्यम बनाएर राज्यकोषको दुरुपयोग गर्छन् । यसको पछिल्लो उदाहरण एकीकृत नेकपा माओवादी र मधेसवादी दलका नेतालाई हेरे पुग्छ । तर, हिजो क्रान्तिबाट सत्तामा पुगेको कांग्रेस र एमाले यसबाट अछुतो छन् भन्ने चाहीं होइन । वर्तमानमा उनीहरु सत्ताबाहिर रहेकाले तत्कालका लागि उदाहरण बनेनन् अन्तर यतिमात्र हो।

अब हामीले छुट्याउनुपर्ने भएको छ–राजनीति समाजसेवा, ब्यवसाय, पेशा, ब्यक्तिगत स्वार्थपूर्तीको माध्यम, लाभहानीको चक्र वा अरु केही...........................?

राजतन्त्रको माध्यमबाट अधिनायकवाद लादिउनजेल अर्थात २०४७ सालसम्म कहाँ र कसरी भ्रष्टाचार हुन्थ्यो भन्ने थाहा नै हुदैनथ्यो । भइहाले पनि निरंकुश पञ्चायति ब्यवस्थाका कारण जनताले विरोध गर्न पाउँदैनथे । राजा विरेन्द्रको हत्यापछि जब ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए र विस्तारै अधिनायकी लाद्न थाले, त्यसबेला पनि यही अवस्था आयो ।
लोकतन्त्रको भरपुर उपयोग गर्दै अहिले सानोभन्दा सानो भ्रष्टाचारका कुरा पनि ब्यापक प्रचार–प्रसार हुन्छन् । जसले गर्दा नेतृत्वको शाख गुम्दो छ ।

झापामा पछिल्लो समय देखिएको पार्टी प्रवेशको लहर भने अलिक फरक छ । लामो समय पार्टीमा खटेका कार्यकर्ताहरु आफ्नो मातृ पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् । कांग्रेसका कार्यकर्ता राप्रपामा प्रवेश गर्नु सैद्धान्तिक धारका कारण त्यति अनौठो होइन ।
पछिल्लो समय झापाका कांग्रेस कार्यकर्ता राप्रपामा र एमाले तथा माओवादी कार्यकर्ता कांग्रेसतर्फ आकर्सित भएर पार्टी प्रवेश गरेको देखिएको छ ।

सोमबार विर्तामोडमा आयोजित कार्यक्रमका बीच कांग्रेसबाट डेढसय बढी, एमालेबाट लगभग एकसय पचतर, माओवादीबाट ८५ र अन्य पार्टीबाट गरी लगभग ८ सय बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । यसअघि विर्तामोडमा आयोजित कार्यक्रमका बीच शनिश्चरे र अर्जुनधाराका २ सय बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

तर लामो समय पार्टीमा विताएकाहरु दलका शीर्ष नेताको ‘राजनीतिक दोहोरी’ देखेर अर्कोमा प्रवेश गर्नुले चाहीं आफ्ना कार्यकर्तालाई पार्टीको लगाम लगाउन किन नेतृत्व असफल भयो भनेर हरेक पार्टीले सोच्ने बेला आएको छ । विभिन्न आश्वासन देखाएर अर्काको पार्टीबाट आफ्नामा कार्यकर्ता तान्न खोज्नु र मातृ पार्टी नछाड्न सम्बन्धित दलले दवाव दिनु अस्वभाविक होइन ।

तर, पार्टी प्रवेश गर्ने/गराउनेकै कारण अन्तर पार्टी प्रतिशोधको भावना जागृत भएमा त्यो सवै पार्टीका लागि हानीकारक हुन्छ। पार्टी परिवर्तन गर्ने र नगर्ने कार्यकर्ताको ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चाहीं सवैले सोच्ने बेला आएको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com