नारायण श्रेष्ठ

नेताको बोली
[2012-08-25 오후 7:37:00]

साझा सवाल कार्यक्रम सञ्चालनको पाँच वर्ष अवधिमा म ६० जति जिल्ला पुगेँ। पाँच सयभन्दा बढी नेता, उच्चपदस्थ सरकारी अधिकारी र नागरिक समाजका प्रबुद्ध बुद्धिजीवीको अन्तर्वार्ता लिएँ। करिब १५ हजार नेपालीसँग प्रत्यक्ष कुराकानी गरेँ। दसौं लाख दर्शकस्रोताबीच प्रत्येक हप्ता कार्यक्रमको प्रसारण पुर्‍याएँ। कार्यक्रमका कति घटना तात्कालिक थिए। कुराकानी गरियो, सकियो।

अस्थिर राजनीति अहिलेको पर्याय नै हो। राजनीतिको यस्तो तरलतामा 'स्थायी सरकार' भनिने कर्मचारीतन्त्रले आफूअनुकुल काम गर्न नसकेको कुरालाई पछिल्ला सरकार प्रमुखहरूले एउटा मुख्य समस्याका रूपमा हामीसँगको कार्यक्रममा उल्लेख गरेका छन्। प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालले यस विषयमा एउटै आसय बोलेका थिए, 'कर्मचारी चुस्त नहुँदा सोचेजस्तो काम गर्न सकिएन।'

प्रधानमन्त्री बनेको १०० दिनपछि, अन्तर्वार्ताका क्रममा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफ्नो सरकारको मूल्यांकन गर्न 'कति नम्बर दिनुहुन्छ?' भनी सोधेको थिएँ।
'डिस्टिङसन हाराहारी नम्बर दिन सकिन्छ।'

'प्रमको आफ्नै मूल्यांकनमा सरकारलाई ८१ नम्बर' भोलिपल्टका अखबारले छापे। भट्टराई नेतृत्वको सरकारलाई त्यति धेरै नम्बर दिन सकिन्छ कि नाइँ भन्ने कुरामा बहस चल्यो त्यसपछि। अहिले आएर बाबुराम नेतृत्वको सरकारको पारो निकै गिरेको धेरैले भन्ने गरेका छन्।

२०६४ कात्तिकमा तराईमा 'मधेस' अभियान भर्खर सुरु भएको थियो। आन्दोलन उचाइसम्म भने पुगेको थिएन। मूलधारका नेताहरू 'तराई' शब्द प्रयोग गर्थे। 'मधेस' एजेन्डा हो भन्ने उनीहरूको बुझाइ थियो। तराईमा मधेसकेन्द्रित समूहहरूको गतिविधिचाहिँ बाक्लै थियो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला साझा सवालको प्यानलमा थिए। कार्यक्रमको पहिलो अंक। विराटनगर कोइराला निवासमा हामी थियौं। त्यसबेलासम्म तराईमा 'मधेस' केन्द्रित राजनीतिक गतिविधि बाक्लिँदै जाँदा काठमाडौंले त्यसलाई एउटा समस्याका रूपमा मात्र बुझेको थियो।
'तराईमा गतिविधि सञ्चालन गर्ने नयाँ समूहहरूले जनजीवन कष्टकर बनेको दुखेसो सुनिन्छ। त्यो समाधान गर्ने तपाईंका योजना के छन्?'
'समस्या समाधान वार्ताबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। फेरि हाम्रो बोर्डर भारतसँग १६ किलोमिटर ओपन छ।'
'यदि त्यस्तो समूह राजनीतिक हो भने वार्तामा बोलाउन र आपराधिक हो भने समाप्त गर्न किन सक्नुहुन्न?'
'एउटा कुरा तपाईंले बुझ्नुपर्‍यो, मलाई थाहा छ त्यो समस्याको समाधान। भारत र नेपालले गर्‍यो भने एक मिनेटमा हुन्छ। त्यसैको प्रयास म गरिराछु।'
अन्तर्वार्ता सकेर म बाहिर निस्केँ। राजधानीका एफएम रेडियोमा प्रधानमन्त्री कोइरालाको भनाइ हेडलाइन बनिसकेछ। तराई आन्दोलनभर कोइरालाको 'भारतले सघाए एक मिनेटमा तराईको समस्या समाधान हुने' भनाइलाई लिएर टिप्पणी चलिरह्यो।
लोकतान्त्रिक आन्दोलनपछिका ५ वर्षमा बनेका पाँचै प्रधानमन्त्रीलाई मैले अन्तर्वार्ता गरेँ। सबै प्रमहरूलाई पदलोभी भएको, कुर्सी छोड्न नचाहने आरोप लगाइएको सुनेको छु। तर जिपी कोइरालादेखि अहिलेका बाबुराम भट्टराईसम्म सबैले मलाईचाहिँ अहिल्यै, आजै, एक मिनेटमै प्रधानमन्त्रीको कुर्सी छोड्न मन लागेको बताएका छन्। कसको भनाइ पत्याउने?
कोइरालाले भनेका थिए, 'जहाँ राष्ट्रको कुरा हुन्छ, पद भन्ने कुरा केही होइन। बिपीलाई जेल छुटाएपछि राजनीति छोड्छु भनेर लागेको, मलाई राजनीतिले छोडेन। फाटेको जुत्ता लगाएर फाटेको कुर्सी लिएर हिँडिराछु म। अब कैले कस्लाई जिम्मा दिउँ म खोजिराछु। त्यही फाटेको जुत्ता र फाटेको कुर्सी दिन्छु उनलाई।'
...
'प्रधानमन्त्रीको कुर्सी कस्तो हुँदौ रैछ?' चिल्लो गाला, टलक्क आइरनको धार पर्नेगरी लगाएको खान्दानीजस्तो पहिरनमा देखिने कम्युनिस्ट नेता झलनाथ खनाललाई सोधेको थिएँ।
'दुम्सीको काँडाजस्तो।' खनालको जवाफ आउनेबित्तिकै दर्शक लहरबाट हाँसोको पर्रा छुट्यो।
हाँसोको प्रसंगमै माधवकुमार नेपालको बोली म कहिल्यै भुल्न सक्दिनँ। यसपटकको अन्तर्वार्तामा नेपाल प्रधानमन्त्री भइसकेपछि पार्टीको वरिष्ठ नेताको हैसियतमा थिए। अनमिन राख्ने वा नराख्ने कुराको विवाद थियो।
'नर्वेका मन्त्रीले मलाई फोन गरेका थिए,' प्रधानमन्त्री पदमा रहँदाकै अनुभव नेपालले सुनाए, 'अनमिनलाई नेपालमा राखिदिनुपर्‍यो। उनी मेरा मित्र पनि थिए। मैले उहाँलाई भनेँ- तपाईंले माओवादीलाई तीन वर्षदेखि चिन्नुहुन्छ, म माओवादीलाई तीस वर्षदेखि चिन्दछु। आई नो बेटर द्यान यु।'
'अंग्रेजीमै भन्दिनुभो?' मलाई ठट्टा गर्न मन लाग्यो।
'भनेँ, अंग्रेजीमै।'
फेरि पनि हाँसोको पर्रा छुट्यो।
उनले थपे, 'अलि-अलि अंग्रेजी पनि सिक्दैछु।'
...
माधवकुमार नेपाल नेतृत्वको सरकारलाई माओवादीले 'कठपुतली सरकार' भनेर आरोप लगाइरहेको बेला थियो। अहिलेका प्रधानमन्त्री भट्टराईलाई एमाले युवा संघका कार्यकर्ताले कालो झन्डा देखाएजस्तै थियो त्यतिबेला पनि। त्यसबेला चाहिँ माओवादी माधवकुमार नेपाललाई कालो झन्डा देखाउने र सरकारका मन्त्रीहरू सम्मिलित कार्यक्रम बहिष्कार गर्ने अभियानमा थियो। त्यसबेलाका सञ्चारमन्त्री शंकर पोख्रेलसहित माओवादी नेता र अहिलेका अर्थमन्त्री वर्षमान पुन कार्यक्रममा सँगै थिए। पाका भनिएका नेताहरूबाट राजनीतिको अन्योल पार लाग्लाजस्तो नलागेपछि युवा नेताहरूसँग के छ त यसलाई पार लगाउने उपाय? बहसको विषय थियो। पर्यटन बोर्डमा दिउँसो उत्साहसाथ छलफल गरियो। पुराना भनिएका नेताजस्तै युवामा पनि हुन नसकेका कामबारे एकअर्कालाई दोष लगाउने त परम्परा नै भैगो। तर अचम्म त्यतिबेला भो जब साँझ घर पुगेपछि वर्षमान पुनको फोन आयो।
'मिल्छ भने त्यो कार्यक्रम प्रसारण रोकिदिनुपर्‍यो।'
मैले कारण जान्न चाहेँ।
'माधव नेपाल सरकारका मन्त्रीहरू सम्मिलित कार्यक्रम बहिस्कार गर्ने पार्टीको नीति छ,' रोल्पाली लवजमा उनले भने, 'मलै यो कुरा बिर्सेछु। पूरै कार्यक्रम नै रद्द गरेर नयाँ बनाउनुस् वा मेरो भागजति मेटाइदिनुस्।'
म असमन्जसमा परेँ।
'सरकारी मन्त्रीसँगको अन्तर्वार्ता बज्यो भने मलाई पार्टीमा साथीहरूले बदनाम गर्छन्,' उनी बोलिरहे, 'मन्त्रीहरूसँगको बसाइ बहिस्कार गर्ने हाम्रो पार्टीको घोषित नीति हो। मैले ख्याल गरेनछु।'
'त्यसो भए समाधानका लागि तपाईंहरू सरकारसँग कुनै बेला पनि वार्तामै बस्नुहुन्न त?' मैले फकाउन कोसिस गरेँ, 'तपाईंको अध्यक्ष निकास निकाल्न पर्दा पक्कै एमाले नेताहरूसँग बस्नुहोला कुनै बेला।'
केहीबेर कुराकानीपछि उनी शान्त भए। सायद 'कन्भिन्स' गराएँ उनलाई। कार्यक्रम पूरै बज्यो। तर त्यो कुराकानीपछि मलाई यस्तो ससानो कुरामा पनि इख पाल्ने नेता देखेर खल्लो महसुस भयो। व्यक्तिगत भेटघाट पनि निषेध हुन सक्छ र, प्रजातन्त्रमा विश्वास राख्ने हो भने? के नेताहरू यस्तो कुरामा एकअर्कालाई फुटेको आँखाले पनि हेर्न नचाहने हुन्छन्? यस्तै हो त समाजको सेवा गर्ने भनिएको राजनीति? अहिले अर्थमन्त्रीको पदमा आसिन वर्षमानलाई प्रतिपक्षमा रहेका कुनै समकक्षी नेताले त्यसरी नै सँगै बस्न नै अस्वीकार गर्‍यो भने उनलाई के महसुस होला?
...
एमालेका अछामे नेता भीम रावल गृहमन्त्री थिए। चातुर्य र वाकपटुताका लागि नामी। तर कार्यक्रममा सहभागी दाङतिरका चौधरीले थरुहट आभियानका लागि सशस्त्र दस्ता तयार पार्दै गरेको र आफू त्यसको महासचिव भएको दाबी गरे। उनले रावललाई चुनौती पनि थपे, 'हामी सशस्त्र संघर्षको तयारीमा छौं। मसँग हतियार साथमै छ। सक्छौ भने यहीँ अहिल्यै गिरफ्तार गर।'
हलमा एकछिन सन्नाटा छायो। रावल अक्क न बक्क भए। सायद उनले सोचेका पनि थिएनन् यस्तो प्रश्नको सामना गर्नुपर्ला। बहालवाला गृहमन्त्री थिए रावल। तत्काल गिरफ्तारीको आदेश पनि दिन सक्थे होलान्। तर उनले 'राजनीतिक स्टन्ट नगर्न' र 'प्रतिस्पर्धी राजनीति गर्न' मात्र ती प्रश्नकर्तालाई सुझाए। मुठभेड ननिम्त्याउने सायद त्यो उत्तम विकल्प थियो।

एउटा भेटमा तत्कालीन सशस्त्र प्रहरी प्रमुख सनत बस्नेतले त्यो अन्तर्वार्ता र गृहमन्त्री रावलको जवाफमाथि प्रतिक्रिया जनाएका थिए, 'म हुन्थेँ भने त्यसलाई तत्काल गिरफ्तार गराउँथेँ।' त्यसो भन्दा बस्नेतको जवाफमा सैन्य दृढता झल्कन्थ्यो। तर बस्नेत आफैं सहभागी साझा सवालको एउटा अंकमा भने उनको बोलीले सैन्यवृत्तमा तरंग नै ल्यायो।
कुरा २०६७ मंसिरको। सीमा सुरक्षा र तराईको विशेष सुरक्षा योजना कार्यान्वयन गर्न सशस्त्र प्रहरी खटिएको परिवेशमा हामी मध्य नेपालको वीरगन्जमा थियौं। त्यहीबेला भारतीय अखबारले त्यहाँको माओवादीलाई नेपाली माओवादीले सीमाक्षेत्रमा युद्ध तालिम दिएको भन्ने खबर छापिएको थियो।
'सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई यो थाहा थियो कि थिएन?' मैले बस्नेतलाई सोधेको थिएँ।
'हामीले पनि पत्रपत्रिका पढेरै सूचना पाको हो। त्यो सूचना पाइसकेपछि हामीले आफ्नो स्रोत लगाएर खोज्यौं, अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन।'
'त्यसो भए भारतको दाबी गलत रैछ?'
'त्यो म कसरी भनुँ! तर के भने हाम्रो सूत्रबाट, हाम्रो भन्नाले मेरो प्रहरीको, अरू सरकारी सूत्रबाट हामीले यो कुराको तथ्य पत्ता लगाउन खोज्यौं तर हामीले सकेनौं।'
वीरगन्जको एउटा होटलको सेमिनार हलबाट कार्यक्रम सकेर बाहिर निस्कँदा तराईको सुरक्षा अवस्थाका कारण हामी आफैं पनि थोरै सशंकित थियौं। तर बस्नेतको त्यो भनाइले राजधानीमा अरू तरंग फैलाइसकेछ। भारतीय खबर गलत भएको भन्ने अखबारको फ्रन्ट पेजमा समाचार त बन्यो नै। त्यो कार्यक्रम सेनाले पूरै अडियो सशस्त्रबाटै लगेर सुनेछ। र त्यस घटनाबारे चर्को टिप्पणी गरेछ, 'किन त्यस्तो भनेको?'
प्रसारण हुने बेलासम्म पनि सशस्त्र प्रमुख बस्नेतले अन्तर्वार्ताको त्यो भाग फालिदिन अनुरोध गरिरहे। त्यस अन्तर्वार्ताका कारण जागिर धरापमा परेकोसमेत मलाई सुनाए।
...
भर्खर खुल्ला राजनीतिमा झरेका प्रचण्ड खरानी रङको सर्टमै सार्वजनिक सभासम्मेलनमा देखिन्थे। उनको जन्मस्थान कास्कीको ढिकुरपोखरीभन्दा २१ किमलोमिटर पर पोखरा उद्योग वाणिज्यको हलमा खचाखच मानिसबीच '१५ हजार मानिसमध्ये एउटाको पनि ज्यान गैरन्यायिक कारणले गएको रहेछ भने सजाय भोग्न तयार रहेको' बताए।
'अमानवीय तरिकाले द्वन्द्वका बेला हत्या गरियो भन्ने कुरा सत्य हैन। यदि त्यस खालको घटना कहीँ भएको रहेछ भने अन्तर्राष्ट्रिय अदालतमा खडा हुन हामी तयार छौं।'
कार्यक्रमका बेला भएका कतिपय कुरा समाचार बने, कति बनेन। जे बने पनि वा नबने पनि यी विचार नेपाली समाजलाई बहुलवादी र बहुल विचारले युक्त बनाउन उपयोगी थिए भन्नेचाहिँ मलाई लागिरहन्छ।

(श्रेष्ठ यसै साता २ सय ५० औं भाग पुग्ने साप्ताहिक टेलिभिजन सो 'साझा सवाल'का सञ्चालक हुन्।)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com