देवेन्द्र सम्बाहाम्फे

कोरियामा रुदैछन् नेपाली चेली
[2012-03-24 오후 2:21:00]

गत बर्ष अगस्त १४ को दिन सोलमा रहेको नेपाली राजदूताबास सभाकक्षमा भएको सभामा कोरियामा रहेका नेपाली महिलाहरुको संस्था वोमेन्स फर वोमेन्सकी अध्यक्ष कोपिला राईले बैबाहिक सम्बन्धमा कोरिया आएका नेपाली महिलाहरु मध्ये ९८ प्रतिशतले कष्टकर जिबन बाँचिरहेको र नेपाली महिलाहरु मुम्बई दिल्ली तथा खाडी देशहरुमा मात्र होइन कोरियामा पनि म्यारिज ब्युरोहरु मार्फत बेचिन थालेकाले त्यस्ता ब्युरोहरुलाई सरकारले तत्काल बन्द गर्नु पर्ने माग राखेकी थिइन् ।

त्यसै सभाको प्रमुख अतिथि रहेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि विभिन्न देशमा बेचिएका नेपाली चेलीहरुको कथाव्यथा पोख्दै भनेकी थिइन् –'नेपाली महिलाहरु बिदेशमा मात्र होइन स्वदेशमै पनि घरेलु हिंसामा परेका छन् त्यसैले क्याबिन रेस्टुरेन्ट र क्लबहरु तुरुन्त बन्द गर्नुपर्दछ ।' कोईरालाले राजनीतिक दलहरुप्रति आक्रोश पोख्दै चिलेबेटी बेचबिखनमा लागेका गिरोहहरुलाई राजनीतिक दलहरु र उच्च पदस्थ कर्मचारीले नै संरक्षण गरिरहेको पनि खुलास गरेकी थिइन् । नेपाली चेलिहरुको कथा व्यथा पोखाई रहंदा अध्यक्ष कोइरालाको आँखाबाट आँशु बगि रहेको थियो।

प्रमुख अथितिको मन्तब्य सकिएपछि सभा बिसर्जन हुन लागेकै बेला २०/२२ की एक महिला डाँको छोडेर रुदै स्टेजतिर आइन् र माइक समातेर कोरियन श्रीमानबाट भोगेको पीडा बताउन थालिन् –'म सीता पुन ,मेरो घर पर्वत हो कोरियन केटसंग बिहे गरेर आएको दुइ वर्ष चार महिना भयो, आएको दिन देखि नै घरबाट निस्कन नदिने पिट्ने, फोन गर्न पनि दिदैनथ्यो, मेरो १४ महिनाको छोरा छ र अहिले दुई महिनाको गर्भ छ,म सुत्केरी हुदै पनि जबर्जस्ति बलात्कार गरेको थियो। म अत्यन्तै पीडित नेपाली चेली हुँ।'

सीताले आफ्नो व्यथा भनि रहंदा उपस्थित सबै दर्शकहरु भक्कानिएका थिए ।
सीताले यसरी दुख पाउनुमा गरीबिको कारण थियो । पर्वतको सलिजा गाउँमा जन्मिएकी हुकिर्एकी सीताले गाउँको बिध्यलयबाट एस एल सी गरेपछि पोखरा पृथ्बीनारायण क्याम्पसमा आइ एड पढ्दा झेल्नुसम्म आथिर्क अभाव झेलेकी थिइन् । उनले योग्यता अनुसारको जागिर पाइन्छ कि भनेर दुई चार ठाउँमा निबेदन गरिन तर कहिँ कतैबाट उनको मर्म कसैले बुझि दिएन । त्यहि क्रम चलिरहेको बेला पत्रिकामा कोरियन केटासंग बिबाह गर्नेलाई सुबर्ण अवसर भन्ने आकर्षक बिज्ञापन देखिन् र फोन गरिन् । लेकको जुका झैं भोकाइरहेका दलालहरुले तुरुन्त भेट्न आउनु भने र भोलिपल्टै काठमाण्डौ सोर्ह खुट्टेमा रहेको एक म्यारिज ब्यूरोको अफिसमा पुर्याए । ब्यौलाको स्थितिलाई समेत गुपचुप राखेर त्यहाँका दलालहरुले सीतालाई कोरिया गएपछिको रङ्गीन सपनामा अनेकौं फूलबुट्टा भरिदिए । दाजुभाइ दिदीबहिनी सपरिवारलाई कोरिया लान पाइन्छ भनेर । ती दलालको नक्कली कुरालाई सीताले वास्तविक ठानिन् र एउटा आँखा फुटेको र आफूभन्दा १८ वर्ष बुढोसंग बिबाह गरेर कोरिया पुगिन् ।

कोरिया पुगेको दिन देखिनै सीतालाई बाहिर निस्कन र फोन गर्न बन्देज गरिएको थियो । गह्रुँगो भ्रुण बोकीरहेकी सीताले हालैको भेटमा भनिन् – 'खान पनि दिन्नथ्यो ,नेपाल जा भन्दै पिटिरहन्थ्यो। यस्तै पीडा सहना नसकेपछि म बाहिर आएर सेल्टरमा बसेको थिएँ । त्यहीबाट मेरो छोरालाई खोसेर लागेको छ । छोरालाई हेर्न औधि मन लागेको छ । उसको बोलि सुन्नलाई फोन गर्दा फोन पनि उठाउदैनन्।' छोराको कुरा गरिरहँदा सीताको आँखाबाट मातृवात्सल्यको बलिन्द्र धारा बगिरहेको थियो । सीतालाई श्रीमान्ले सम्बन्धविच्छेद गरिसकेको छ तर पनि उनी आफ्नो कानुनी हकको लागि एउटा मनाव अधिकारवादी संस्थाको सहयोगमा मुद्धा लडिरहेकी छिन् ।

सीताजस्तै कोरियन केटासंग बिहे गर्यो भने जीवन सुखले चल्छ भन्ने कल्पनामा बहकिएर दु:खको सागरमा डुवेकी नेपाली चेली हुन् रीतिका(नाम परिवर्तन) गुरुङ । गोर्खा सतीबिपल लाहुरी टोलकी लाहुरेकी छोरी रीतिकाको ब्यथा भने सीता पुनको भन्दा फरक छ । गोरखाकै द्रव्यशाह कलेजमा प्लस टु सकेपछि वेलायत गएर उच्च शिक्षा हासिल गर्ने सपना बुनेकी रीतिकाले ढेड वर्ष त्यसै झुल्नु पर्यो । वेलायत जाने सपना चकनाचुर भएपछि पोखरा मामा घरमा (भाडामा)बसेकी मगर जातकी महिलाको सहयोगमा सात लाख रुपैया तिरेर लुम्बिनी म्यारिज ब्यूरो काठमाण्डौको चंगुलमा परिन् र आफु भन्दा चौध वर्ष जेठो मानसिक सन्तुल ठीक नभएको कोरियन केटासंग बिहे गर्न पुगिन् । केटा सत्र दिनसम्म नेपालमानै बसेकाले उनीहरु विच यौन सम्पर्क पनि भयो र गर्भ पनि बसेरै छोड्यो । रीतिकाले त्यसको जानकारी लुम्बिनी म्यारिज ब्यूरोकी कर्मचारी सबिता थापालाई पनि गरईन् । रीतिका बास्तबमा गर्भ खोलाउन चाहन्थीन् तर तीनै सबिताको 'गर्भ नखोल्नु'भन्ने सल्लाहले गर्भ बोकेरै कोरियाको बुसानमा पुगिन् । त्यहीबाट उनको दुखको यात्रा सुरु भयो ।

एकातिर गर्भवती भएकीले दिन दिनै जीउ गरुङगो हुदै गयो भने अर्कोतिर नयाँ भाषा ,सस्कृति र परिबेशमा रीतिकलाई हुनसम्म गार्हो भयो । त्यसमाथि सानो सानो गल्तीमा पनि श्रीमानले पिट्न थालेपछि उनि रुनु सम्म रोइन् । गाउँ दुर्गम र आफुले चिने जानेको नेपाली कोहि नभएकोले रीतिकालाई मर्नु भएको थियो। लगातारको कुटपिट सहन नसकेर नीलडाम देखाउदै न्याय माग्न प्रहरी समक्ष पुगेकी रीतिकालाई प्रहरीले उल्टै सम्झाएर पठाई दिएको थियो। त्यसपछिका दिनमा पनि लगातार श्रीमानको कुटपिट सहन नसकेपछि राती भागेर निस्किन र अहिले एउटा सेल्टरमा आठ महिनाको गर्भ सहित आश्रय लिइरहेकी छिन् । उनले दलाललाई बुझाएको ७ लाख रुपैयाको ब्याज भने चुलिन्दै गईरहेको छ ।

रीतिका जस्तै दलालको लहै लहैमा लागेर १२ लाख रुपैया तिरेर नक्कली बिहे गर्ने शर्तमा कोरिया आएकी पोखराकी रन्जना (नाम परिबर्तन) शर्मा यतिखेर समस्यामा परेकी छिन् । उनको भीषा थप्ने बेला भएको छ तर कोरियन दलालले ६० लाख वन (करिब ४लाख २० हजार रुपैया) बुझाएमात्र भीषा थपि दिने नभए आफुसंगै बस्न कर गरिरहेको छ । केटाको प्रस्ताब दलालसंगको शर्तमा नभएको रन्जना बताउन्छिन् ।

उनलाई कोरिया बसेर फर्केका चितवनका एक नेपालीले सम्पर्क गराई दिएका थिए । सीता, रीतिका र रन्जनाभन्दा इलामकी बिमला (नाम परिबर्तन) खतिवडाको व्यथा बेग्लै रहेको छ । बिमलाले पनि अरुजस्तै दलालाको नक्कली कुरालाई सजिलै विश्वास गरिन र कोरियन केटसंग बिहे गरि १८ महिनाअघि कोरिया आएकी थिइन् । कोरिया पुगेको केहि महिनामा आफ्नो श्रीमानको जेठी श्रीमति छोरा छोरी समेत रहेको थाहा पाएपछि उनी छांगाबाट झरिन । कुरा बुझ्दा जेठीसंग कानुनी सफाइ नपाउदै बिमलालाई भित्र्याईएको रहेछ । कोरियाली श्रीमानको कुटपिट सहन नसकेरै उदयपुरकी शारदा खडका नेपाल फर्केकी छिन् भने देखाउने बेलामा एउटा केटा देखाएर विहे चाहि अपाङग र बुढोसंग गराई दिएकाले खोटाङकी सुम्नीमा राई (नाम परिवर्तन ) र ताप्लेजुङकी सानुमाया लिम्बु (नाम परिवर्तन )बाहिर निस्केर बसेका छन् । यस्तो झेल हुन्छ र यहाँ आएर यस्तो दुख पाइन्छ भनेर नसोचेको उनीहरु बताउछन् । उल्लेखित नेपाली चेलीहरुको कथा ब्यथाले कोरियाली श्रीमानहरुको घरेलु हिंसा सहेर बसेका नेपाली महिलाहरु अधिक रहेका छन् भन्ने कुरालाई पुष्टि गर्दछ ।

सुखी छन् भनिएकाहरुलाई पनि सोचेजस्तो सुख नभएको नाम नबताउने शर्तमा एक माइग्रेन्ट सेल्टरमा कम गरिरहेकी नेपाली महिला बताउछिन् । ती महिलाका अनुसार कोरियामा व्यक्तिगत सूचनालाई अत्यन्त संवेदनशील मनिन्छ । त्यसैले अरुको परिवारको कुरा खुलस्त कसैले भन्न सक्दैनन् । ती महिला आफ्नो सेल्टरमा महिनामा ४/५ जना नेपाली महिलाहरु घरेलु हिंसाबाट पिडित भएपछि सहयोग र न्याय माग्न आएको बताउछिन्।मानसिक सन्तुलन नभएका दुई कोरियाली श्रीमानहरुले गत सालमात्र भियातनाम र कम्बोडीयाकी महिलाहरुको हत्या गरेका थिए । यस घटनालाई अन्तर्राष्ट्रिय स्तरका मानव अधिकारवादीहरुले समेत चासो राखेका थिए ।

सोलस्थित नेपाली राजदुताबासले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म कोरियामा ८२१ नेपाली महिलाले कोरियाली पुरुषसंग बिबाह गरेर कोरिया आएका छन् भने कोरिया वोमेन्स माइग्रेन्ट ह्युमन राइट सेन्टर जनाए अनुसार हालसम्म विवाह गरेर १२५०३१ जना विदेशी महिलाहरुले भित्रीएका छन्। यसै संस्थाको तथ्यांक अनुसार १०.८ प्रतिशत विदेशी महिलाहरुले मात्र सन्तान जन्माएर घरबार गरेका छन् । प्रतिमहिना घरेलु हिंसाबाट पिडित ५००० प्रवासी महिलाहरुले उजुरी गर्ने गरेको पनि यस संस्थाले जनाएको छ ।

कोरियामा सम्बन्ध बिच्छेद गर्ने विदेशी महिलाहरुको संख्या दिनानुदिन बढी रहेको तथ्य कोरियाको तथ्यांक विभागले गत नोभेम्बरमा सार्बजनिक गरेको आंकडाबाट पनि अरु स्पष्ट हुन्छ । जस अनुसार सन २०१०मा मात्र कुल १२.३ प्रतिशत अर्थात १४,३१९जना विदेशी महिलाहरुले सम्बन्ध विच्छेद गरेका छन् । यो संख्या २००९को तुलनामा ५ प्रतिशतले बढी हो । त्यसरी नै कोरियाको न्याय तथा कानुन मन्त्रालयलेहालै सार्बजनिक गरेको एक प्रतिबेदन अनुसार कोरियामा बिबाह गरेर आएका प्रवाशी महिलाहरु मध्ये ६० प्रतिशत भन्दा बढीले सम्बन्ध विच्छेद गर्न खोजि रहेका छन्।

प्रतिवेदनमा जनाइए अनुसार प्रबासी महिलाहरुले अत्याधिक रुपमा सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण घरेलु हिंसालाई मानिएको छ भने अन्य कारणहरुमा भाषा , सस्कृति र उमेरको भिन्नता, दक्षिण पूर्बी एसियाका महिलाहरुप्रति कोरियन पुरुषहरुको नीच दृष्टिकोण ,महिलाहरु स्वयम् आफ्नो हक अधिकारप्रति सचेत हुनु आदि रहेका छन् । कोरियाको प्रवासी मजदूर यूनियनले जनाए अनुसार सन २०११मा विवाह गरेर आएकाहरु मध्ये७९प्रतिशत विदेशी महिलाहरुले सम्बन्ध विच्छेद गरि सकेका छन् । कोरियामा विदेशी महिलाहरु घरेलु हिंसा र हेलामा पर्नुको अर्को कारण दुर्गम क्षेत्रमा बसोबास गर्ने किसान,बिधुर, अपांग र पहिलो व्यावहार विग्रेका पुरुषहरुसंग विहे गराइनु पनि हो । यहाको तथ्यांक विभागले जनाए अनुसार बैबाहिक सम्बन्ध कायम गरेर दक्षिण छल्लादोमा १४.५ प्रतिशत,उत्तर छल्लादोमा ११.४प्रतिशत र छेजुदोमा ११.२ प्रतिशत विदेशी महिलाहरु रहेका छन् ।

कोरियामा एकातिर विभिन्न गरिब मुलुकका महिलाहरु घरेलु हिंसाका कारण जर्जर र बर्बर जिबन विताइ रहेका छन् भने अर्कोतिर यहाँको सरकारले बहुसाँस्कृतिक विकासको नाममा १२ सय म्यारिज ब्युरोहरु मार्फत अन्तर्रष्ट्रिय विवाहलाई प्रोत्शाहन गरिरहेको छ । यसरि सरकारी स्तरमानै यसलाई प्रोत्साहन गर्नु को मुख्य कारण भनेको घट्दो जनसंख्याप्रतिको चिन्ता नै हो । विश्वका सबैभन्दा कम जन्मदर भएका राष्ट्रहरु मध्ये कोरिया अग्रस्थानमा पर्दछ ।

कोरिया ग्रमीण आथिर्क सस्थाले जनाए अनुसार हाल प्रतिमहिला जन्मदर शहरी क्षेत्रमा १.०२ र ग्रमीण क्षेत्रमा १.५४ मात्र रहेको छ । यही क्रममा जनसंख्या घट्दै जाने हो भने ३ सय वर्षपछि कोरियाको जनसंख्या भनेको ५० हजार मात्र हुने छ । यस्तो स्थितिमा 'जनसंख्या नै शक्ति हो' भनेर राम्ररी बुझेका क्लेभर कोरियनहरु गरीब दुखी देशका महिलाहरुलाई जनसंख्या उत्पादन गर्ने दास बनाउन त खोजिरहेका छैनन् ?

एउटा कुरा के सत्य हो भने प्रेम सर्वभौम हुन्छ । यसको सीमा जात,रंग,वर्ण र वर्ग हुदैन । कुनै नेपाली नारीले कुनै बिदेशी पुरुषसंग प्रेम बिबाह गर्छे भने त्यसलाई कुनै नियम र सामाजिक परिधिले बाध्नु हुदैन तर सांस्कृतिक विनिमयको नाममा म्यारिज ब्यूरोहरुले नेपाली चेलीहरुको यौवनमा कमिसन खाएर कलंक निम्त्याउने र समाजमा खलल पुर्याउने त्यस्ता म्यारिज ब्यूरोका संचालकहरुलाई कार्बाही किन नगर्ने ? बिशिष्ट दृष्टिले हेर्ने हो भने त्यस्ता म्यारिज ब्युरोहरुले शिष्ट रुपमा मानव ब्यापार गरिरहेका छन् । कोरियामा नेपाली महिलाहरुले भोगेको कस्टलाई बुझ्ने हो भने दिल्ली र मुम्बईको कोठीहरुमा नेपाली चेलीले पाएको कस्टभन्दा कम छैन । त्यसैले त्यस्ता म्यारिज ब्युरोहरुलाई सरकारले सांच्चै बिना शर्त तत्काल बन्द गर्नै पर्दछ ।

(यो लेख केहि महिना अघि तयार गरिएकाले उल्लेखित पात्रहरुको स्थितिमा सामान्य फेरबदल भएको हुनसक्छ -लेखक)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com