इन्दिरा प्रसाई

पेसा
[2011-12-06 오전 6:39:00]

क्याम्पसमा वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । आज सँधै भन्दा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति थियो । आजको कार्यक्रममा प्राध्यापकहरुको पनि निकै ठूलो संख्यामा उपस्थिति देखेर सबै विद्यार्थी र कर्मचारी छक्क परेका थिए ।

आजको समाजमा बैवाहिक संस्थाको आवश्यकता लेखिएको ठूलो तुल सभाकक्षको भित्तामा टाँगिएको थियो । तुल टाँगिएकै भित्ता मुन्तिर पन्ध्रजना मानिसहरुका लागि कुर्सी राखिएको मञ्चको व्यवस्था थियो ।तुलमा लेखिएको विषयमा उपत्यकाका क्याम्पस स्तरका विद्यार्थीहरुका वीच प्रतियोगितात्मक वादविवाद कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको मुलुकी ऐनमा भरखरै मात्र पुरुषहरुले पनि पारपाचुकेका लागि अदालतसमक्ष पहिलो उजुरी गर्न पाउने नयाँ कानुन पारित भएको सन्दर्भ पनि यसबेला मननयोग्य चर्चाको विषय थियो ।

स्नातकोत्तर प्रथम वर्षका विद्यार्थीहरुको समूह र स्नातक अन्तिम वर्षका विद्यार्थीहरुको समूहको वादविवादमा सहभागिता थियो । विश्वविद्यालयका समाजशास्त्री, महिला अधिकारकर्मी, मानव अधिकारवादी, स्थानीय राजनीतिक वृत्तका शिर्षस्थ प्रौढ व्यक्ति, नारीवादी साहित्यकार, साहित्यकार र अनुभवी प्राध्यापक समेत सम्मिलित दस जनाको निर्णायक टोलीको मञ्चमा सजग उपस्थिति थियो ।प्रतियोगितात्मक वादविवादको विषयको पक्षमा स्नातकोत्तर तहका विद्यार्थीहरुको समूहले भाग लिएको थियो भने विपक्षमा स्नातक तहका विद्यार्थीहरुको समूहले भाग लिएको थियो ।

''समाजलाई मर्यादित राख्न, परिवारलाई बचाउन, मानवीय वंश परंपरा चलाउन, स्त्रीजातिलाई प्रतिष्ठित गर्न बैवाहिक संस्थाको आवश्यकता छ'' भन्ने बुँदाहरुमा विषयका पक्षका विद्यार्थीहरुले बोलेका थिए । अर्कातिर ''स्त्रीजातिलाई दासी बनाउने, मानवीय स्वतन्त्रताको हनन् गर्ने, थोत्रो र आडम्बर पूर्णको सामाजिक मान्यतालाई शिरमा बोकाउने बैवाहिक संस्था खारेज हुनु पर्छ'' भन्ने बुँदाहरुमा विषयका विपक्षका विद्यार्थीहरु कुर्लेका थिए । यी उल्लेखित दुवै पक्षका विचारहरु विद्यार्थीहरुले निकै जोडतोडले प्रस्तुत गरे । दुवैथरिका विचारहरु अत्यन्त उर्जाशील थिए । निर्णायक मण्डलले निर्णय दिइहाल्न पनि सजिलो काम थिएन ।

कार्यक्रम रोकियो र निर्णय प्रस्तुत गर्नुअघि निर्णायक मण्डलको वैठक बस्यो । कार्यक्रममा भएको रोकावटलाई सामान्य पार्नका लागि आयोजकद्वारा पूर्वनिर्धारित चियापानको त्यसैबेला व्यवस्था गरियो । क्याम्पसको प्राङ्गणमा आयोजित चियाचमेनामा निर्णायक मण्डल बाहेकका सबै सहभागी भएर विषयको पक्षविपक्षको वादविवादबारे आआफ्ना अभिमत समेत एकअर्कामा साटिरहेका थिए ।

निर्णायकहरु माझ विषयको गम्भीरताबारे निकै विमर्श भयो । कुन पक्षलाई विजयी घोषित गर्ने भन्ने छलफलले एकअर्का वीच अनुहारै रातो पार्ने गरी चर्को बहस पनि भयो ।चर्काचर्कीमा नारीवादी साहित्यकारहरु निकै उत्साही देखिन्थे भने साहित्यकारको अनुहारमा कुनै रङ थिएन । मानवअधिकारवादी र समाजशास्त्रीहरु निकै गम्भीर देखिन्थे । स्थानीय एक राजनैतिक वृत्तका प्रौढ व्यक्तित्वको अनुहार प्रतिक्रिया विहीन देखिन्थ्यो । उनी कतै जाने हतारमा बारंवार आफ्नै नारीमा बाँधिएको घडी हेर्दै थिए । प्राध्यापकका अनुहारमा पनि कुनै जिज्ञाशा भए झैं देखिंदैन थियो । उनमा पनि सुस्तता देखिंदो थियो ।

''यो विषय तुरुन्त निर्णयदिने किसिमको होइन । मेरो विचारमा यी विद्यार्थीहरुलाई उनीहरुको भनाई पुष्टि गर्ने प्रकारका मौलिक उदाहरण पेश गर्ने जिम्माका साथ आजको कार्यक्रमको बीट मारौं ।'' अन्त्यमा समाजशास्त्रीद्वारा राखिएको यो प्रस्ताव सबै निर्णायकलाई मान्य भयो ।

प्रौढ प्राध्यापकलाई निर्णायक मण्डलको नेतृत्वको अभिभारा दिइएकाले उनैले यो निर्णय विद्यार्थीहरु माझ उद्घोष गरे । जसअनुरुप सहभागी विद्यार्थीहरुलाई आजका दसौंदिनमा आआफ्ना पक्षले प्रस्तुत गरेका तर्क पुष्टि हुनेखालका मौलिक उदाहरणका साथमा उपस्थित हुने सूचना जारी गरिएको थियो ।

विजय पराजयको निर्णयसुन्न आतुर सहभागी विद्यार्थी र सम्पूर्ण स्रोता माझ अचानक प्राप्त अप्रत्यासित सूचनाका कारण सग्बगाहट पूर्णको वातावरणले छोप्यो । निर्णयअक्षमताको आशंका पनि विद्यार्थीहरु वीच उब्ज्यो ।

त्यसैवीच निर्णायकमध्येका समाजशास्त्री माइक सामु पुगे र बोल्न थाले, 'प्यारा विद्यार्थीवर्ग तथा आदरणीय प्राध्यापकवर्ग ! हेर्नु होस् आजको विषय तुरुन्त निर्णयदिन सकिने किसिमको होइन । आजको हाम्रो यस निर्णयले समाजलाई मार्ग निर्देशन गर्छ । त्यसैले हचुवा पारामा निर्णयगर्नु उपयुक्त छैन । तपाईं प्रतिस्पर्धीहरुले मौलिक एवम् व्यवहारिक प्रमाण पेश गर्नु नै यस विषयको माग हो । अनि त्यसपछि मात्र हामी यस बारे निर्णय गर्ने छौं ।'

अन्ततः त्यहाँ उपस्थित सबै महानुभावलाई दस दिनपछि पुनः सोही स्थान र सोही समयमा भेलाहुने सूचना दिएर कार्यक्रम समाप्त भएको जानकारी दिइयो ।

दस दिनपछि :सोही स्थान र सोही समयमा अघिल्ला कार्यक्रमका सहभागी र स्रोता तथा नौ जना निर्णायकहरु भेला भएका थिए । दसौं निर्णायक अर्थात् राजनैतिक व्यक्तित्वको कार्यक्रममा अनुपस्थिति रहृयो । अहिलेको नेपालमा राजनीति धेरै दुषित भइसकेकाले राजनीतिज्ञप्रति जनमानसमा वितृष्णा नै जागिसकेको छ । त्यसैले राजनैतिक व्यक्तिको अनुपस्थितिलाई कसैले वास्ता पनि गरेनन् । भागवण्डाका लागि प्रतिनिधित्व गराइएका उनको अनुपस्थिति सबैका लागि प्रिय नै थियो ।

कार्यक्रम औपचारिकता पूर्वक पुनः प्रारम्भ गरियो । विद्यार्थीहरुलाई पूर्व घोषित आआफ्ना उदाहरणहरु पेश गर्ने मौका दिइयो । त्यहाँ पक्ष र विपक्षका दुवैथरि विद्यार्थीहरुले आआफ्ना पक्षका निकै गतिला उदाहरणहरु पेश गरेका थिए । पक्षमा भाग लिएका परम्परावादी विद्यार्थीहरुले परम्पराको रक्षा गर्नु पर्ने उदाहरण पेश गरेका थिए भने विपक्षमा रहेका अत्याधुनिक विचारका प्रस्तोता विद्यार्थीहरुले सोहीसँग मिल्ने क्रान्तिकारी विचार प्रस्तुत गरेका थिए ।

पाठकवृन्द !
''त्यस कार्यक्रममा प्रस्तुत अधिकांश उदाहरणहरु हाम्रै आँखा ओरिपरि छ्याप्छ्याप्ती भएका कारण म ती सबै उदाहरणहरु यहाँ प्रस्तुत गरेर तपाईंहरुको समय खेर फल्न चाहन्न । तर मलाई पनि घत लागेको स्नातक तहका विद्यार्थीहरुद्वारा विषयको विपक्षमा प्रस्तुत गरिएको एउटा उदाहरण तपाईहरुलाई पनि पढाउन मन लागेकाले सो उदाहरण म यहाँ उल्लेख गर्ने अनुमति चाहन्छु । अनि यो सबैभन्दा अन्तिम उदाहरणका रुपमा कार्यक्रममा प्रस्तुत गरिएको कुरा पनि यहाँहरुलाई जानकारी गराउँछु ।

उदाहरण :
१. धुमधाम प्रेम गरेपछि उमेश र उन्नतीले विहे गरे । केही वर्षसाथै विताएका उनीहरुले एउटा सन्तान पनि जन्माए । तर क्रमशः आर्थिक हाहाकारको चपेटाले उनीहरुको प्रेम नै धरासयी हुन लाग्यो । 'ल अब अरु जस्तै म पनि विदेश गएर पैसा कमाउँछु,' उमेशले उन्नतीसँग भन्यो र दिनरात विदेश जाने चक्करमा लाग्यो । तर उसले मौका पटक्कै पाएन । दलालहरुसँगको निरन्तरको उठबसले स्वास्नीलाई पठाउने हो भने सकिन्छ भन्ने कुरा उमेशले नै पत्ता लगायो । 'दिनरात घर झगडा गरेर बस्नुभन्दा बरु आफुले बच्ची हेरिदिएर उन्नतीलाई नै विदेश पठाउन सके पैसाको त दुक्ख हुने छैन ।' उमेश र उन्नतीवीच कुरा मिल्यो र नै उन्नती पैसा कमाउन इजरायल जाने भई ।

छुटि्टने रात एकअर्कालाई अँगालो हालेर उमेश र उन्नती खुबै रोए । जन्मजन्मान्तरसम्म पनि एकअर्काको बाटो हेर्ने, एकले अर्कालाई कहिल्यै धोका नदिने उनीहरूले वाचाबन्धन गरे । एकअर्कामा मायाँ साटासाट गर्दागर्दै र भविष्यको योजना बनाउँदा बनाउँदै उनीहरुले रात छर्लङ्ङै विताएका थिए ।

भोलिपल्ट गलामा सयपत्रीको माला र निधारमा रातो अक्षताको टीका लगाएर आँखामा आँसु छचल्काउँदै र छातिमा भक्कानो फुटाँउदै उन्नती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिरी । उमेशले पनि छातिभरि वेदना र आँखाभरि आँसु पारेर स्वास्नीलाई आँखाले देखुञ्जेल हात हल्लाएर विदा दियो ।

उन्नती इजराइल पुगी र उमेश घर व्यवहारमा व्यस्त भयो । त्यसपछि पनि केही दिनसम्म दुवैले हप्तैपिच्छे फोनमा पनि माया साटे । यति हुँदाहुँदै पनि विस्तारै उमेश ओरिपरिको दुनियाँमा हराउन थाल्यो । अब उनीहरुवीचको फोनको कुराकानीको समय पनि विस्तारै विस्तारै पातलिदैं जान थाल्यो

२. त्यसपछि घर नजिकैकी सन्तु भाउजुको पसलमा उमेशको धेरजसो समय वित्न थाल्यो । सन्तबहादुर पनि पैसा कमाउन इजरायल नै गएको दुई वर्ष भइसकेको थियो । ससाना दुइटा छोराहरु सम्हालेर सन्तु भाउजु पसल थापेर बसेकी थिई । सन्तु भाउजुको पसलमा उमेशको बाक्लिंदो उपस्थितिले गाँउमा निकै खासखुस पनि हुनथालेको थियो । एउटाकी स्वास्नी विदेश गएकी अर्कीको लोग्ने परदेश गएको ! दुवैको खुबै हिमचिम बढेको कुराको सर्न्दर्भले निकै गहिरो अर्थ दिंदै आएको थियो । उनीहरूका माझको सम्बन्धको घनिष्ठताले सबैले लख काटिसकेका थिए । यसअघि पनि हाम्रो समाजमा यस्ता घटना प्रशस्त भएकै हुन् । पुरुष र स्त्री एकअर्काप्रति घनिष्ठ भएपछि सँगै जीवन विताउने घटना नयाँ पनि थिएन । त्यसैले सबैको अनुमान थियो, उमेश र सन्तु भाउजुले अब पक्कै पनि सँगै जीवन विताउने छन् ।

३. इजरायलमा उन्नती पुगेपछि उसलाई घरको र छोरीको सम्झनाले आक्रान्त पार्यो । 'पैसै सबैथोक होइन, काखकी छोरी र त्यस्तो माया गर्ने लोग्ने छोडेर यहाँ आएर मैले यो के गरें' भन्ने पछुतो पनि भयो उसलाई । एक मन 'फर्क्यौ कि' जस्तो पनि लाग्यो उसलाई । तर पैसैका लागि लोग्ने स्वास्नीका वीचमा हुने गरेका झै झगडा पनि तत्काल उसले सम्झी । पैसा नभए छोरीको भविष्य अन्धकार हुने पनि उसले सम्झी । अनि त्यसैत्यसै नेपाल फर्किने मन मरेर आयो उसको । 'होस् .. अब जे होला ! आएको खर्च उठाउँछु । अलिअलि खर्चपानी पनि जम्मा गर्छु अनि मात्रै फिर्छु भन्ने दह्रो निर्णय गरेर उसले मन बाँधी ।

विदेश पुगेको एकमहिनापछि आफुसँगै काम गर्ने र अन्यत्र काम गर्ने निकै साथीभाइसँग उन्नतीको चिनजान भयो । ऊसँगै काम गर्ने सन्तबहादुरले उन्नतीको निकै हेरविचार गर्न थाल्यो । एकै गाँउका हुनाले पनि उन्नती र सन्तबहादुरले एकअर्कालाई अलि नजिकको महसुस गरेका थिए । विस्तारै विस्तारै उनीहरु एकअर्काका लागि अनिवार्य आवश्यकता जस्तै हुन थालेका थिए । सहकर्मी साथीहरुले पनि उनीहरुको जोडीलाई रमाइलो आँखाले हेर्ने गरेका थिए । सन्ते र उन्नती अब छुटि्टँदैनन् नै भन्ने सहकर्मीहरुको बलियो अनुमान भइसकेको थियो । फुर्सत्को अधिकांश समय एकअर्कासँगै विताउने उनीहरुको विषयमा जे सोचे पनि हुने नै भएको थियो । परम्परागत हिसाबबाट मूल्याङ्कन गर्दा अब बाँकी जीवन पनि उनीहरु सँगै नै बस्लान् भन्ने सोच्नु कुनै अनौठो पनि थिएन ।

४. सन्तबहादुर र उन्नती सल्लाह गरेर एकहप्ताको फरकमा घर फर्के । त्यसक्रममा पहिले सन्तबहादुर घर फर्केको थियो । अँगालो भरिकी स्वास्नी छोडेर परचक्रि दुनियाँमा पैसाका लागि हराउनु परेको दुखेसो सन्तबहादुरले आफ्नी स्वास्नीसँग पोख्यो । सन्तबहादुरले दुई वर्षको हुँदा छोडेर गएको जेठो छोरो सात वर्षको भइसकेछ । कान्छाको न्वारन गरेर ऊ विदेश गएको थियो, त्यो पनि अब हुर्किसकेछ । आफ्ना कल्कलाउँदा दुई भाइ छोरा देखेर सन्तेको मन खुशीले उम्लिरहृयो । सन्तबहादुरका लोग्नेस्वास्नीले एकअर्काको अभावमा विताएका अनिंदा रातहरुको बखानमा रुँदैहाँस्दै पहिलो रात विताए । एकअर्कालाई आआफ्ना पत्नीव्रता र पतिव्रताको प्रमाण पनि पेश गरिरहे । दुवैले एकअर्कालाई कहिल्यै धोका दिन नसक्ने विचारहरु पनि आपसमा साटिरहे । साथै एकअर्काका कामकुराले दुवै जना सन्तुष्ट भए ।
उसका बाआमाले खोजेर सन्तेका हातमा कन्यादान गरिएकी सन्तेकी स्वास्नीले बिहानै उठेर लोग्नेको खुट्टा ढोगी । त्यसरी लोग्नेका खुट्टा ढोग्दा स्वास्नीको गलामा झुण्डिएको रातो पोतेको झुत्तोका बीचमा गौरवान्वित पहेंलो तिलहरिमा सन्तेले आफ्नी स्वास्नीको सतित्व मुस्कुराएको देख्यो । सन्तेले कल्कलाउँदा छोराहरुलाई सुम्सुम्यायो र धितमरुञ्जेल अँगालोमा चेप्यो । त्यति खेर उसलाई आफुभन्दा भाग्यमानी मानिस संसारमा अर्को छ जस्तो लागेन । सन्तेकी स्वास्नीलाई पनि लोग्ने घर आएपछि आफ्नो संसारै अझ उज्यालो लाग्यो ।

५. उन्नती तीन वर्षपछि घर आइपुगेकी थिई । रुपियाँ पैसा त उसले मनी ट्रान्सफरबाट पनि पठाइरहेकै थिई । अहिले उसले आफुसँग मनग्गे सरसामान पनि ल्याएकी थिई, लोग्ने, छोरी र घरपरिवारका सबैजसोलाई । त्यति बेला घर परिवारका सबैको खुशीको सीमा नै थिएन ।
उमेशले स्वास्नीलाई पहिलेभन्दा पनि राम्री देख्यो । लाउन खान पनि सिकेकी, श्रृंगारपटार गर्न पनि जानेकी, बोल्न पनि सिकिछे । उन्नतीको सिंउदोको रातो सिन्धुरको लामो धर्कोमा उमेशले आफ्नो दीर्घायू देख्यो । त्यसैत्यसै रहरलाग्दी भइछ उन्नती ! आफ्नै स्वास्नीको पनि झनै लोभ लागेर आयो उमेशलाई । त्यसरात अँगालोमा बाँधिएर एकअर्काको तिर्सनामा विताएको समयको व्याख्या गर्दै उनीहरुले रात विताए । उमेशका छातिमा टाउको राखेर अब सुनैको संसार पाए पनि पतिको विछोड सहन नसक्ने विलौना गायी उन्नतीले । विगतमा एकअर्काको प्रतीक्षामा एकदमै चरित्रवान भएर चोखो जीवन विताएको विश्वास पनि दिलाए दुवैले ।

६. उमेशले सिनेमाको टिकट काट्यो । उन्नतीले छोरी डोर्याई । उनीहरु सिनेमा हेर्न गए । सन्ते स्वास्नी र दुईभाइ छोरा चेपेर मेला घुम्न गयो । उमेशले सन्तु भाउजु तिर फर्केर पनि हेरेको थिएन । सन्तु भाउजुले पनि उमेशलाई पसलमा आउनेजाने अन्य ग्राहकजस्तै सामान्य चिनेकोजस्तो मात्र गरेकी थिई । अनि सन्ते र उन्नतीले पनि एकअर्कालाई सामान्य चिनेजानेको मानिसको जस्तो मात्र भाव व्यक्त गरेका थिए । मानौं हिजो दुवैको सम्बन्ध एकअर्कासँग घनिष्ठ थियो भन्ने कुराको दुवैलाई हेक्कै थिएन । त्यस बेला दुइटै जोडी आफ्नो पेशाप्रतिको गर्वमा समाहित थियो । सत्यवान र सावित्रीको पर्याय जस्ता भएर त्यस घडी दुवै जोडी हाँसिरहेका थिए ।

'अहिले प्रत्यक्ष जे देखिंदै छ यही नै मात्र सत्य हो । बाँकी सबै झुठो हो, मात्र झुठो !' वातावरण गुञ्जायमान थियो ।

यो कस्तो बैवाहिक संस्था हो - यस्तो झुठो र आडम्बरी संस्थाको औचित्य के हो - किन चाहियो यस्तो नाटकीय संस्था - अबको समाजमा यस्तो संस्थाको अस्तित्व नै समाप्त पार्नु पर्छ । बैवाहिक दुईदुई जोडीको एकैठाँउ खामिएको उदाहरण यसरी देखापरेपछि यस्तै थुप्रै आक्रोशित प्रश्नहरु प्रतिध्वनित हुने नै भए । हो ! त्यसैले यस्तो बैवाहिक संस्थाको औचित्य छँदैछैन । बैवाहिक संस्था यथाशिघ्र खारेज गरिनु पर्छ भन्ने हाम्रो माग छ ।''


काठमाडौंको पुसको जाडो याममा पनि यो उदाहरण पढिसकेको विद्यार्थीले उसको अनुहारबाट बगेको खल्खली पसिना गोजिबाट रुमाल झिकेर पुछेको थियो । अब विद्यार्थीहरुबाट उदाहरण प्रस्तुत गर्ने कार्यक्रम सकिएको थियो ।

त्यसपछि पुनः निर्णायकहरुलाई निर्णयगर्ने समय दिनका लागि सहभागी र आमन्त्रितलाई कार्यक्रममा चियाचमेनाको व्यवस्था गरिएको थियो । त्यसैले सभास्थल ओरिपरि स्रोतादीर्घाका मानिसहरु चियाखाजामा व्यस्त देखिन्थे ।

बन्द कोठाभित्र बसेर छलफलमा लागेका निर्णायकहरुको निकै चर्को स्वर पनि बेलाबेला झयालढोकाका काप नाघेर बाहिर आउन खोजेको जस्तो लाग्थ्यो । केहीबेरमा चियाचमेनाको समय सकिएकाले पुनः कार्यक्रम प्रारम्भ भएको कुरा उद्घोषकले जानकारी दिए ।

निर्णायक मण्डलको नेतृत्व गरिरहेका प्राध्यापक निर्णयबोकेर स्रोता सामु माइकमा उभिए । सँधै गम्भीर देखिने प्रौढ प्राध्यापक त्यसबेला थप प्रौढ देखिएका थिए । उनको गम्भीर अनुहारको तल्लो किनारातिर रहेको मुख विस्तारै खुलेको थियो र त्यसबाट गह्रौं आवाज निस्केको थियो । 'तपाईं विद्यार्थीहरुले लिनुभएको पक्ष र विपक्षका उदाहरणहरु सुनेर हामी निर्णायकहरुले कसैलाई पनि विजयी घोषित गर्न उपयुक्त ठहर गरेनौं । तर तपाईंहरुले नै प्रस्तुत गर्नु भएका उदाहरणकै आधारमा हामीले वैवाहिक संस्थाका बारेमा यस्तो ठहर गरेका छौं :

"हाम्रो विचारमा बैवाहिक संस्थाको आवश्यकता आज पनि हिजो जत्तिकै छ । तर कुनै पनि सन्दर्भलाई समय सापेक्ष बनाउँदै लैजानु समयको माग हो । हाम्रो समाजमा जुन बेला जुन किसिमले वैवाहिक संस्थाको स्थापना भयो त्यस बेलाको सांसारिक र सामाजिक स्वरुपमा आज अकल्पनीय परिवर्तन आइसकेको छ । त्यसैले उतिबेला स्थापित वैवाहिक संस्था सम्बन्धी मान्यताहरु अहिलेको परिवर्तित र दु्रतत्तर परिवर्तनशील समाजका लागि अनुपयुक्त हुनु अनौठो कुरा पनि होइन । पारम्परिक वैवाहिक संस्थाका मुल्य र मान्यता अब धरासयी भइसकेका छन् । तिनै मूल्य र मान्यतालाई नै अङ्गीकार गर्न नछोड्ने हो भने वैवाहिक संस्थाले किमार्थ निरन्तरता पाउन पनि सक्तैन । पारपाचुकेको भयदायक संख्यात्मक वृद्धि त्यसैको परिणति हो ।'

प्राध्यापकको आवाज शुष्क भएपनि उनको प्रस्तुतिकरण ओजस्वी थियो । आफुले प्रक्षेपण गरिरहेको विचारको प्रतिक्रिया हेर्न उनले एकै क्षण वाचन रोकेर स्रोता दीर्घातिर आँखा दौडाए । स्रोता दीर्घा अकल्पनीय रुपमा उनको विचारप्रति आकषिर्त थियो । सचेत जनसमूहको आफु केन्द्रित ध्यानले प्राध्यापकलाई थप विचार प्रस्तुतिका लागि प्रेरित गर्यो । उनी पुनः लिखित विचार प्रक्षेपणमा लागे ।

'मानिस परिवारमा रमाउने जीव हो, परिवार उसको आवश्यकता हो । पारपाचुकेले परिवार भत्काउने काम गर्छ । जसको असर सम्पूर्ण समाजलाई पनि पर्छ । त्यसैले वैवाहिक संस्थालाई जोगाउनु भनेको परिवारलाई जोगाउनु हो । परिवार जोगाउँदा क्रमशः समाज, राष्ट्र र विश्व जोगाउने उपक्रम वैवाहिक संस्थासँगै गाँसिएका छन् । त्यसैले अबका दिनमा बैवाहिक संस्थालाई जोगाउन जत्ति आवश्यक छ त्यसभन्दा बढी यस संस्थालाई परिमार्जन गर्न पनि आवश्यक छ ।

जैविक, भौतिक तथा मानसिक आवश्यकताका लागि प्राणीले अनिवार्य रुपमा साथ पनि खोज्छ । आफैद्वारा आफूलाई सर्वोच्च प्राणीमा दरिने मानवमात्रले यस्तो संगती कहाँ, कतिखेर र कोसँग गर्छ भन्ने कुरा समय र परिस्थितिले नै निर्धारण गर्छ । पुरुषले युगौंदेखि गर्दै आएको नारीमाथिको एकाधिकारपूर्णको शासनको पनि अब अन्त्य भइसकेको छ । अहिले नारीले पनि आफ्नो अधिकारको झण्डा फहराइसकेको युग हो।त्यसैले पनि पितृसत्तात्मकताको उपज प्रचलित बैवाहिक संस्थाको स्वरुपको औचित्य भने अब समाप्त प्रायः छ ।

अहिलेको एक्काइसौं शताब्दीमा मानवजीवनका अथाह विश्रृङ्खलताहरुले थिचिएर संवेदनाको मृत्यु भइसकेको छ । यर्सथ पनि यस युगमा पतिपत्नीको सम्बन्धलाई मायाप्रेममा मात्रै बाँध्नुभन्दा यस सम्बन्धलाई एउटा पेसाका रुपमा नै रुपान्तरण गर्नु आवश्यक छ । अबका दिनमा बैवाहिक संस्थाभित्र प्रवेश गर्ने लोग्ने मानिसले आफुलाई 'लोग्न' पेसामा र स्वास्नी मानिसले आफुलाई 'स्वास्नी' पेसामा संलग्न भएको स्वीकार्नु पर्छ । बैवाहिक संस्थामा संलग्न भएका दुवै पेसाधारीले आय आर्जनका लागि बाहिरी दुनियाँमा संलग्न हुनुपर्ने संभावना अत्याधिक छ । लोग्नेस्वास्नी पेसाधारीले आफ्नो लोग्नेस्वास्नी पेसाप्रति चाहिं इमान्दार भएर आय आर्जनमा पनि लाग्नु पर्छ । जुन पेसाको प्रमुख दायित्वका स्वरुप उनीहरुकै सन्तान हुने छन् । त्यसैगरी यस पेसाको क्षेत्रफल उनीहरुद्वारा नै निर्धारित वंशपरम्परा हुने छ । यस पेसाले परिवारको सीमारेखा भित्र कर्त्तव्यपरायणताको आचारसंहितालाई पालन गर्नु पर्ने छ ।

स्नातक तहका विद्यार्थीहरुद्वारा विषयको विपक्षमा प्रस्तुत गरिएको अन्तिम उदाहरण नै आजको वैवाहिक संस्थाले माग गरेको स्वरुप हो । तर यस उदाहरणको प्रस्तुतिपछि वैवाहिक संस्थाको खारेजीको माग गरिएकाले यस समूहलाई पनि हामीले विजयी घोषित गर्न सकेनौं ।'

आदरणीय महानुभावहरु ! प्रतियोगितात्मक यस वादविवादमा सहभागी सबैको जीत र सबैको हार भएको छ भन्ने हाम्रो निर्णयछ । प्रौढ प्राध्यापकले निर्णयसुनाइसकेपछि स्रोता दीर्घातिर प्रतिक्रियाका लागि पुनः आँखा घुमाए । तर स्रोता संसार चाहिं मौन थियो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com