विनोद कुमार नेपाल

लामिछानेको लालसलाम
[2011-10-24 오후 10:16:00]

नेपालमा झन्डै एक महिना बिताएर हिजो गैआनेसंघका नव निर्बाचित अध्यक्ष जिबा लामिछाने कर्मभूमि मस्को फर्किए । गरमागरम संघको हावापानी खाएर रसियाको चिसो मौसम धान्न संघको बिशाल जिम्मेवारीका साथ् उनी कर्मभूमि फर्किएका छन । संघको निवर्तमान अध्यक्ष देवमान हिराचनको लिँढ़े ढिपी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको घुर्की, संरक्षकद्वय राम थापा र भीम उदासको गोटिचाल र अन्य सल्लाहाकार भन्नेहरुको आज्ञा-निर्देशनका बीच निर्बिरोध चुनिएर संघको पाँचौ अन्तररास्ट्रिय बिश्व सम्मेलन सगौरब सक्न पाएकोमा दुनिया नेपालीहरुप्रति लामिछानेले कृतज्ञताका साथ् लालसलाम टक्र्याएका छन ।

नेपालको गाणातन्त्रका ठेकेदार माओबादी, एमाले र कांग्रेसका टट्टू नेता भनाउदाहरुले गैआनेसंघबाट ठूलो अपेक्षा गर्नु नौलो होइन किनकी आफैले देश र जनताका लागि गर्न सक्ने मनग्ये श्रोत र साधन हुँदाहुँदै आपसी लडाई र सर्ब अस्वीकृत भ्रस्टाचारको माध्यमबाट नेपाली जनतालाई लुटेपछि राज्यकोष रित्तिनु अनि गैआनेसंघसंग माग्नु उनीहरुको लाचारीपन सबैले जानेकै हुन्, बुझेकै हुन् । नेपालका सबै नेताहरु सडकमा नांगै हिडेपछि छिमेकीले, मित्रले उनीहरुको लाज छोपिदिनु अस्वाभाविक होइन किनकी हग्नेलाई भन्दा देख्नेलाई बढी लाज हुँदोरहेछ । केहिदिन पहिले एउटा इमेल आएथ्यो -जसमा शुशील दादा, माकुने, झल्लु, प्रचण्ड, उपेन्द्र, डाक्टर बाबु, शेरबहादुर आदि काँधमा काँध मिलाई नेपाली जनतालाई उनीहरुको लाज देखाई दिएको फोटो । जसको अर्थ थियो -तीन बर्षमा उनीहरुले नेपाली जनतालाई दिएको शान्ति र संविधानको प्रतीकात्मक उपहार, त्यहि उपहारका लागि नेपाली जनताले उनीहरुलाई नेपाली राजनीतिको केन्द्र बिन्दुमा राख्दै आएका छन । नेपाली जनतालाई त्यस्तो उपहार दिने नेपाली नेता भनाउदाहरुले गैर आबासीय नेपालीहरुबाट भरथेगको अपेक्षा राख्नु नौलो होइन । त्यतिमात्र होइन नेपालमा छंदा राजनीतिक पार्टीहरु, नेपाल सरकार, नागरिक समाज, संचारकर्मी, उद्यमी व्यवसायी र सर्वसाधरणले समेत अध्यक्ष लामिछानेबाट धेरै ठुलो अपेक्षा राखेका थिए ।

लामिछानेको मूल थलो नेपाली कांग्रेसले त उनको सम्मानमा गुलियो चियापान कार्यक्रम आयोजना गरेर नेपाललाई डलरको थुप्रो चढाए दोहोरो नागरिकता सजिलै दिने अर्तिबुद्दी समेत दिएको छ । सरकारी मन्त्री र मुख्य सचिवले सबैजसो मन्त्रालयका सचिवहरुसँग अन्तरक्रिया गराई लगानीका लागि मैत्रीपूर्ण वातावरण बनाइ दिने वाचा गरे तर सन् १९९६ फेब्रुअरी २३ देखि बिग्रेको लगानी मैत्री बाताबरण अहिलेसम्म नसुधिधिएको बारे चुँसम्म बोलेनन्, त्यो उनीहरुको लाचारीको पराकाष्ठा थियो । आफ्नो लाचारी छोप्न समेत नभ्याएका नेपाली नेता र तिनको हण्डी खाँदै आएका सरकारी उच्च अधिकारीहरुले देशको संक्रमणकालिन अवस्थामा संकटको सच्चा साथीको रुपमा विदेशमा आर्जनगरेको पुँजी, सिकेको शीप र हासिल गरेको अनुभव स्वदेश भित्र्याएर मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा सक्रिय सहभागिता जनाउन गैआनेसंघ अध्यक्ष लामिछानेलाई आह्वान गरेका थिए र सोहि अनुरुप लामिछानेको नयाँ कार्य समितिको पहिलो बैठकमा प्रत्येक गैरआवासीय नेपालीलाई आफ्नो क्षमताअनुसार परोपकारी योजना र सामूहिक लगानीमा सहभागी हुन अनुरोध गर्ने निर्णय भएको लामिछानेले आफ्नो लालसलाम पत्रमा जनाएका छन ।

लामिछानेले पत्रमा भनेका छन - नेपाली नागरिकताको निरन्तरता अर्थात ‘एक पटकको नेपाली सधैंको नेपाली रहने मुद्धालाई सबै पक्षबाट सकारात्मक रुपमा लिइएकाले हामी अझै बढी आशावादी भएकाछौं। नेपाली नेताहरुकै बोलीको शैलीमा लामिछानेले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने हाम्रो अर्को प्रमुख दायित्व रहेको उल्लेख गरेका छन । त्यसैगरी गैरआवाशीय नेपाली ऐनमा संशोधन, संघको दर्ता, संघको आर्थिक स्थायित्व लगायतका धेरै काम लामिछाने प्रशाशनले गर्नु पर्ने जनाएका छन । बिगत ९ बर्षदेखी काम भन्दा कुरा बढी गर्दै आएको संघको चालामाला बारे ब्लगले सटिक कटाक्ष गरेपछि लामिछानेले काम बढी गर्न विचार पुर्याउने उल्लेख गरेका छन ।

लामिछानेले अन्त्यमा भनेका छन - पाँचौ विश्व सम्मेलनमा र त्यसभन्दा अघि गैरआवासीय नेपालीहरुले गरेका बाचालाई नविर्सन उनका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उनको अनुरोध छ । हेरौं उनको अनुरोध र अठोट पूर्ब, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा बसेका उनका कार्यसमितिका टाउकाहरुले कसरि मान्लान र पुरा गर्लान ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com