नरेन्द्रराज प्रसाई

योगमाया गाथा
[2011-10-04 오전 9:41:00]

कोही प्राणीले मखन बेचे, कपट मिलाए
कोही प्राणीले मखन किने, त्यो धूप चलाए
धूपको बासना छैन यौटा, कपट गनाए
लोक भो झुटो देवताहरू ! बिन्ती चढाए ।

नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन् योगमाया । योगमाया नेपाली काव्य क्षेत्रकी एउटी सबल र्सजक हुन् । अनि योगमाया आफ्ना कवितालाई कथेर मुखाग्र भन्न सक्ने एउटी स्रष्टा हुन् । वास्तवमा बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सकिन्; जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सकिन् र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सकिन् । छातीबाट उनले आफ्नो मुटुलाई डँडेल्नोमा राखिन् र सामाजिक क्रान्तिका लागि खाली खुट्टा उचालिन् । योगमाया कुनै कथा, कविता र उपन्यासकी पात्र थिइनन्; उनी नेपालको पूर्वाञ्चलक्षेत्र भोजपुरस्थित दिङ्लाकी एउटी सांस्कृतिक क्रान्तिकी नर्सिङ्गा थिइन्, साहित्यकी उत्पादन थिइन् र अन्धविश्वासको कालो जालो भत्काउन कम्मर कसेकी एउटी प्रतिभा थिइन् ।

योगमाया त्यति बेला जन्मेकी थिइन्; जुन बेला नारीले रजस्वला हुनुअगि नै वैवाहिक जीवनमा बाँधिनुपथ्र्यो । त्यसैअनुरूप योगमायालाई पाँचै वर्षो उमेरमा उनका बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान गरेका थिए । त्यस बेला योगमाया न्यौपानेको बिहे रामहरि कोइरालासँग भएको थियो । तर विधिको विडम्बना, यिनको बिहे भएको दुई वर्षा यिनका पति स्वर्ग गए । सात वर्षीय योगमायाका लागि कोइराला -रामहरि) को मरण कुनै खासै पीडादायक विषयसूची बन्न सकेन । वास्तवमा बाललहरीमा उनी जति बिस्मात्मा डुबिन् त्यही क्षणका लागि मात्र त्यो विषय उनको जीवनको शोक बन्यो । उनीभित्रचाहिँ पतिमरणको खास कुनै चोट लाग्ने उनको अवस्थै थिएन । त्यसैले उनी फेरि आफ्नै बालक्रीडामा नै मिसिन थालिन् । यति हुँदाहुँदै पनि उनी विधवा घोषित भइन् ।
दिन छिप्पिंदै जाँदा योगमायामाथि अनेक सामाजिक कुसंस्कारका वज्र ठोक्किन थाले । कतिसम्म भने तत्कालीन समाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका अनेक पीडाले उनको शरीर भरिन पुग्यो । कलिलो उमेरमा नै अलच्छिनी र पोइटोकुवीको लाञ्छनाले उनी रङ्गिन थालिन् । यिनै हृदयविदारक विषयहरूमा योगमायाको मन क्रमशः गाभिन थाल्यो । आफ्नै घर, गाउँ र समाजबाट प्राप्त लाञ्छनाका दर्दनाक र कटु शब्दहरू हृदयमा खेलाउँदा खेलाउँदै उनले सत्र वर्षा टेकिन् ।

योगमायाले आफ्नो तरुनी मनको जोसलाई विवेकको होसले छेक्न, थाम्न र सम्हाल्न सकिनन् । वास्तवमा किशोरावस्थामा रन्थनिँदै जाँदा उनको शरीरले पनि प्रकृतिको वरदानलाई त्याग्न सकेन । उनी क्रमशः प्रणयसूत्रको खोजीमा आबद्ध भइन् । अनि गाउँको एउटा युवकप्रतिको आकर्षा उनको दिनचर्यामा अनुवाद हुन थाल्यो । जनकलाल शर्माका शब्दमा भन्ने हो भने योगमाया उनकै गाउँको डोटेल जैसी -प्रजापति) सित भागेर आसाम पुगिन् । भारतको आसाम पुगेपछि डोटेलदम्पतीले निक्कै परिश्रम गरे र घरजम पनि गरे । आसाममा डोटेल परिवार आफ्नो मिहिनेतले खुट्टा टेक्ने नै भएका थिए । त्यसै परिवेशमा यी दम्पतीबाट एउटी छोरीको पनि जन्म भयो।यिनीहरूकी छोरीको नाउँ नैनकला कायम भयो ।

केही वर्षछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने हल्ला सुनिन् । त्यसपछि डोटेलदम्पती छोरी च्यापेर पुराणस्थल पुगे । पुराण सुन्न उनीहरूले पनि पलेटी कसे । जनकलाल शर्माको 'जोसमनी सन्त परम्परा र नेपाली साहित्य' नामक ग्रन्थमा उल्लेख भएअनुसार पुराणको प्रसङ्ग थियो- "परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ ।" यस कुराले दुवैका मनमा चोट लाग्नु स्वाभाविकै थियो । तर यसको कुनै समाधान थिएन । यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो "यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ अर्थात् रौरवीय यातना भोग्नुपर्दैन ।"

योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणको कथाले योगमायाको मन दस चिरा भयो । पुराण सुनेर उनी मनमनै रुन थालिन् । पुराणका कथा त्यति बेला उनलाई सत्य लागे । त्यसैले उनी पुनः आफ्नो पाप पखाल्ने हिसाबको रनाहामा रुमल्लिन थालिन् । त्यसपछि उनले आफ्ना पति -प्रजापति) डोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरूले एकअर्कामा छुटि्टएर बस्ने निर्णय गरे । त्यस बेला योगमायाकी छोरी नैनकलाचाहिँ योगमायासँगै बस्ने सहमति पनि भयो ।

योगमायाले पुराणमा आफ्नो मनमस्तिष्क जोडेपछि सांसारिक जीवनदेखि उनी वाक्क भइन् । यसै प्रसङ्गमा उनी संसारको मोहको मायाजाल निमोठ्न चाहन्थिन् तर सक्तिनथिन् । यस स्थितिमा पनि उनी आफ्नो हृदयान्तरको विस्फोट पोख्न छाड्दिनथिन्।त्यसैले उनले कविताका अक्षर प्रस्फुटन गर्न थालिन्।आमाका शब्द एकएक गमेर नैनकलाले आफ्नो मनमस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन् ।वास्तवमा योगमाया जति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन् । योगमाया र नैनकला दुवै निरक्षर थिए ।

नैनकलालाई आफ्नी आमाका कविता मुखाग्र भएकाले ती सबै शब्दहरू नैनकलाको सौजन्यमा पं. प्रेमनारायणले 'श्रीसेवार्थ योगवाणी' भनेर लिपिबद्ध गरे । योगमाया मुखमुखै कविता भन्न सक्ने आशुकवयित्री थिइन् । उनले वाचन गरेका, गाएका र भनेका आधारमा नै उनका सृजनात्मक शब्दलाई उनकी छोरीका सौजन्यमा प्रकाशमा ल्याइयो । त्यस बेलाका उनका ती भावनालाई उनका अन्य भक्तलगायत पण्डित प्रेमनारायणले परिष्कृत गरेर उनको कृति 'श्री सवार्थ योगवाणी' बाहिर ल्याएको पनि हुन सक्छ । उनको कृति जे जसरी प्रकाशमा आए तापनि उनको काव्यधाराका विषयमा जानिफकारहरूचाहिँ भन्छन्, अक्षरको खेती गर्न नजानेकी योगमायाले त्यस कालमा जुन भावना पोखिन् त्यो चाहिँ स्तुत्य थियो, आवश्यक थियो र अनुकरणीय थियो :

प्राण त्याग्नलाई स्त्री जाति छु आ“टी
साँचो बिन्ती गर्छु रत्तिभरि नढाँटी ।

योगमायाको पूर्ववर्ती जीवनमा पुगेर उनलाई अध्ययन गर्दा उनको भावना पश्चात्तापको घुमाउने दहमा घुमिरहेको देखिन्छ । आफ्नै मान्छेहरूबाट बहिष्कृत र तिरस्कृत भएर समाजमा रहनुभन्दा सांसारिक जीवनबाट अलग्गै रहेर भगवान्मा लीन हुनु उनका लागि सन्तोषप्राप्तिको विषय थियो । युवावस्थामा गाउँका पाखापखेरुमा कँडेल केटाहरूसँगको बसउठका घटना पनि उनका दिमागमा पूर्वस्मृति बनेर ओहोरदोहोर गर्थे । त्यतिमात्र होइन त्यस कालमा औपचारिक रूपमा दुई जनासँगको वैवाहिक जीवनका अनगिन्ती तीतामीठा प्रसङ्गले पनि योगमायाको मन हुँडलिरहे । त्यसरी उनको मन मर्नु न बाँच्नुको साँधमा उभिइरहेका बेला उनी स्वर्गद्वारी जाने तीर्थयात्रीका पछि लागिन् र स्वर्गद्वारी पुगिन् ।

योगमाया स्वर्गद्वारी गएताका स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ प्रसिद्धि पाइसकेका रहेछन् । योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन् । त्यही परिणतिले उनी पनि महाप्रभुका साथ सत्सङ्गमा समर्पित भइन् । योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने । वास्तवमा योगमायाले महाप्रभुका हरेक गुणको अवलम्बन गरिन् । त्यसैले नै उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन् ।

अनेक साधना गरेर योगमायार् इश्वरीय शक्ति प्राप्त गर्ने कोटिमा स्थापित भइन् । आफ्नो जीवनलाई र्सार्थक पार्ने अभ्रि्रायले उनले वर्षौंवर्षगुफामा नै बसेर पनि साधना गरिन् । जाडो दिनमा उनी आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत पनि भइन् । गर्मी महिनामा धुनी जगाएर आगाका रापसँगै उनले आफ्नो साधनाप्रधान कर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो न गर्मी हुन्थ्यो । वास्तवमा उनले एउटा विशेषर् इश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । कतिसम्म भने कुनैकुनै बिरामीलाई उनी आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । र्सपले ठुङेर मरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन् ।

योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कातिर राणाशासनले जनमनमा आतङ्कित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन् । श्री ५ लाई पिँजराको सुगा नबनाइयोस्, सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्यायनिसाफ पाऊन् र शोषणरहित समाजको सृजना होस् आदि माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शङ्ख फुकिन् । उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्म पनि आइन् ।

त्यतिखेर योगमायाका मागहरू पुर्याउन श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिए । तर क्रमशः श्री ३ आनाकानीमै रुमल्लिन थाले । वास्तवमा योगमायाको सामाजिक समयसर्न्दर्भका जायज मागका कारण श्री ३ को मन नै धमिलिँदै थियो । त्यसैले श्री ३ ले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभ्रि्रायले विभिन्न कदम चाले । तर निष्कर्षा श्री ३ हारे र योगमायाको जित भयो । त्यतिखेर उनले जुद्धशमशेरको बेलाका दरबारिया विद्वान्हरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो । त्यसैले उनलाई हराउने पण्डितहरू बिरलै पाइन्थे । त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेर श्री ३ जुद्धशमशेर तीन छक्कै परेका थिए ।

योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवाबेंसीस्थित आफ्ना आश्रममा फर्केपछि झन् व्रि्रोही भइन् । त्यही व्रि्रोहको पराकाष्ठामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्द कण्ठाग्र पार्दै जान्थिन् । वास्तवमा युवा अवस्थाकी योगमायाले स्वर्गद्वारीबाट दीक्षा लिएर दिङ्ला पुगेपछि चाहिँ धेरैजसो राजनीतिक काव्यको प्रस्फुटन गर्न थालेकी थिइन् :
महाराज छन् दरबारमा हेर्न आउँदैनन्
दुःखी जनले निया“निसाफ सिधा पाउँदैनन् ।

योगमाया दिङ्ला पुगेपछि उनी चैतन्य महाप्रभुको कर्तृत्व र व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरेझैँ विशाल यज्ञ गर्न उनी जुटिन् । उनी कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन र कवितावाचन गर्न थालिन् । जनकलाल शर्माका अनुसार भोजपुरको दिङ्लामा १९९७ सालमा ठूलो यज्ञको आयोजना भएको थियो र त्यहाँ श्रद्धालु समाजको खूबै भीड लागेको थियो । तर त्यो यज्ञ सदाको भन्दा भिन्न थियो । उनले त्यहाँ उपस्थित सबै चेलाचेलीहरूलाई भनिन् "अब भक्तहरूले बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधि लिनु पर्छ ।" योगमायाको घोषणाअनुसार त्यसै बेला उनका दुई सय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णयगरे ।

योगमायाका अग्निसमाधिसम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यान अर्पण गर्न जर्ुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर हल्लियो । त्यहाँबाट त्यो खबर पहाडका ढिस्काढिस्का, कान्लाकान्ला र थुम्काथुम्का हुँदै धनकुटामा रहेका राणाका कारिन्दा माधवशमशेरका कानमा पनि पुग्यो । परिणामस्वरूप राणाका निर्देशनअनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो । माधवशमशेरलाई के निहुँ पाउँ कनिका बुकाउँ भइरहेको अवस्थामा योगमाया त्यति बेला उनका लागि चिट्ठा नै परेकी थिइन् । त्यसैले माधवशमशेरका निर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो । अनि योगमायालगायत उनका भक्त र अनुयायीहरूलाई सरासर जेल चलान गरियो । महिलाजति तीन महिना जेलखानामा बसे भने पुरुषहरूचाहिँ साढे दुई वर्षम्म कैदी भए । त्यस काण्डले पण्डित प्रेमनारायण पनि अठार महिना जेलखानामै कोचिए ।

त्यसबखत राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमा हाम फाल्न पाइनन् । त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी अरुण पुगिन् । ज्ञानमणि नेपालका अनुसार "योगमाया अरुण किनाराबाहिर मझुवाबेसीमा संवत् १९६६ तिर एक कुटी बाँधेर बस्न लागिन् । उनकी एउटी भाइबुहारी गङ्गा न्यौपाने चाहिँ उनकी पक्का भक्त भइन् । यी गङ्गा प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन् ।" यी गङ्गा पनि योगमायासँगै बस्थिन् । अरुण नदीको किनारामा उभिएर फेरि योगमाया बोलिन् "हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्यो । तर आजको दिन अग्निको अभावमा जलसमाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ । अतः इच्छा हुनेले मेरो अनुकरण गर्नु ।" त्यसपछि योगमायाले उर्लंदो अरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः जलसमाधिमा सहभागी हुँदै गए । हुँदाहुँदै त्यस बेला जलसमाधि लिने नारीपुरुषको सङ्ख्या ६८ पुगिसकेको थियो । त्यसपछि त्यहाँ कतिले हाम फाले र कति घर फर्के ? कसैले त्यसको तथ्याङ्क राख्न सकेन; किनभने त्यस बेलासम्ममा त्यहाँ पनि राणाका फौज पुगिसकेका थिए ।

योगमायाको धार्मिक कार्यशैली नै आकर्ष थियो । उनी धुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतको तीन धर्के टीका लगाएर र झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन् । साथै उनका छेउमा पाँचछ फुट उचाइको त्रिशूल ठडयाइन्थ्यो । त्यहीँ बसेर उनी आँखा चिम्लेर धाराप्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन् । उनको साहस देखेर उनका सेवकहरू भक्तमा रूपान्तरित भए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं. प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्तिमाताको नाउँले प्रचार गरे । स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनबन पुर्याए भने काठमाडौं उपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे । त्यतिमात्र होइन; योगमायाका भक्त चेलाहरू पं.कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि योगमायालाई शक्तिमाताका रूपमा स्थापित गराए ।

योगमायाले जीवनमा आफूप्रति खप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन् । उनले नारीप्रतिको भेदभावका विषयमा विरचित पुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरिरहिन् । नारीलाई पशुवत् व्यवहार गरेर रचिएका धार्मिक कथाहरू योगमायाका भावनाका शत्रु थिए । वास्तवमा लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण बेहोराले उनको मन रन्थनिएको थियो । त्यतिमात्र होइन; बाहुन पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा पनि जुनीभरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भर्त्सना गरिन् । साथै बाहुन नारी तल्लो जातमा पुग्नेबित्तिकै उसले आफ्नो संस्कारबाट हात धुनुपर्ने स्थितिको पनि उनले विरोधै गरिन् । यी सबै परिवेश जोडेर उनले पुनः कविता बोलिन्-
आज मलाई भन्नुभयो धर्म हरेको
त्यसै बेला सबै थोक्को संयोग परेको
धर्म छाड्नु क्या हो भने आफू निया छोडी
ब्राहृमणहरू बन्न लागे शूद्र जात्का जोडी
धर्म थाम्ने निसाफीले यति चाल पाऊन्
कुन्कुन् जातले जुन्जुन् ल्याउँछ जात्ता मिलाऊन् ।

योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएको थियो । बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्नमै समय लगाइन् । उनी जसरी धर्ममा डुबिन् त्यसरी नै समाजका कुसंस्कृतिको विरोधमा कुर्लिन् । उनी समाजका दुःखीपीडितहरूको पक्षमा लागिन् र सरकारसँग गर्जिएकाले उनी बेलाबखत सरकारको आँखी पनि भइन् । उनी नेपाली समाजमा एउटी व्रि्रोही स्रष्टाका रूपमा सुपरिचित भइन् । वास्तवमा त्यति बेलाको त्यो सत्य घटना पनि आज एकादेशको दन्त्यकथाझैँ मानिन्छ । समाजको त्यही कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले संवत् १९९८ असार २२ गते शनिबार आषाढशुक्ल एकादशीका दिन आफ्ना अनन्य भक्तहरूसमेतलाई समेटेर जलसमाधि लिएकी थिइन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com