नरेन्द्रराज प्रसाई

आदर्शगुरु पौडेल
[2011-09-27 오후 10:37:00]

प्रा.यदुनाथ खनालले भनेका थिए, 'पं.घनश्याम पौडेल जनउत्थानमा सधैं लागि परे । त्यस बखत दधिराम मरासिनी, हरिहर गौतम र घनश्याम पौडेलले नेपालको पश्चिम भेगको शिक्षा क्षेत्रमा ज्यादै महत्वपूर्ण काम गरेका थिए । ती तीन व्यक्तिमध्ये घनश्याम पौडेलचाहिँ बहुआयामिक पनि थिए ।' यसैबारे प्रा.डा.टीकाराम पन्थीले पनि लेखे 'दधिराम, हरिहर र घनश्याम यी तीन मुनीको कृपाले पश्चिम नेपालमा विद्याको ज्योति प्रकाशित भयो । साथै घनश्याम पौडेलको आजीवनसेवा अत्यन्तै फलदायी रहृयो ।'

पण्डित शोभाकर पौडेल र सत्यकलाका कान्छा छोराका रूपमा घनश्याम पौडेलको जन्म १९६१ साल जेठ ६ गते भएको थियो । अनि यिनको जन्म अर्घाखाँचीको खिदिमस्थित हर्राबोटमा भएको थियो । पौडेल न्यायिक थिए । गाउँमा उनी जनन्यायाधीश नै थिए । उनी कचिङ्गल मिलाउनेदेखि बालबच्चा खोजीखोजी स्कुल पुर्याउनेसम्मको काम गर्थे ।

पौडेलले दस वर्षपूरा गर्दानगर्दै यजुर्वेद कण्ठ गरेका थिए । उनले रिडीमा प्राथमिक शिक्षा ग्रहण गरे । त्यसपछि उनी अठार वर्षो उमेरमा काठमाडौँ आए र रानीपोखरी संस्कृत पाठशालामा भर्ना भए । त्यस बेला अर्घाखाँचीबाट हिँडेर काठमाडौं आउन उनलाई सात दिन लागेको थियो । त्यसै बेला पौडेल कोखो दुखेर थला परे । वीर अस्पतालमा उनको अपर्झट शल्यक्रिया गरियो । त्यसै बेला उनको एउटा करङ काटेर निकालिएको थियो ।

पौडेल काठमाडौंबाट काशीतिर लागे । काशीबाट सम्पूर्ण मध्यमा पास गरेर उनी आफ्नै गाउँ फर्के । पछि उनी पाल्पाको तानसेनमा पुगे । त्यहाँ उनले सुधानिधि औषधालयमा काम गरे । साथै उनले आफ्ना जेठा दाजु शालिकरामसँग आयुर्वेद पढे । उनका दाइले जाँचेअनुसार उनी पनि बिरामी जाँच्थे र औषधी बनाउने काम पनि गर्थे।जरीबुटी खोज्न उनी आजङ्गल पस्थे । क्रमशः उनी यस मामलामा खुकरीभन्दा कर्द लाग्ने भएर निस्के ।

पौडेल मन, वचन र कर्मले चाँडै प्रसिद्धिको धुरीमा पुगे । परिणामस्वरूप उनलाई सुधानिधि औषधालयमा सहायक वैद्य बनाइयो । त्यसैको प्रेरणाले उनी आयुर्वेदमा उच्च शिक्षा लिने मनसायमा गाँसिएका थिए । तर आफ्ना जेठा दाइलाई क्षयरोग लागेपछि उनीहरूको व्यवहारमा भूइँचालो आयो र सबै योजना झरामझुरुम भयो ।

पौडेल क्रान्तिकारी पनि थिए । समाजको अँध्यारो जालोलाई भत्काउनु पर्ने उनको सोच हुन्थ्यो । भूतप्रेत, बोक्सी र धामीझाँक्रीमा उनको फिटिक्कै विश्वास थिएन । तर हिन्दूधर्म संस्कृतिका उनी कट्टर अनुयायी थिए । पौडेलले युवाकालदेखि नै शिक्षासेवामा आफूलाई समाहित गरे । त्यतिखेरै उनले एउटा कटेरो बारेर स्कुलको सुरुआत गरेका थिए । तर बालबच्चाले त्यो कटेरो दुई महिनामा नै भरिदिए । त्यसैले छेउको चौरमा त्यस कटेराको अनुवाद भयो । बर्दियाका हरिहर गौतमलाई अनुनयविनय गरेर घनश्याम पाठशालालाई औपचारिक मोड दिन पौडेल सफल भए । अनि त्यस स्कुलको नाउँ हरिहर प्राथमिक पाठशाला भयो । त्यस बेला त्यहींका तीन गाउँमा तीन वटा हरिहर पाठशाला थिए ।

हरिहर गौतमको ३६औँ जन्मोत्सवको मौका पारेर दधिराम र घनश्यामका जोडमा खिदिमका तीनवटै पाठशाला एकै ठाउँमा गाभिए । ती दुई भाइको सल्लाहमा त्यहाँका सबै विद्यार्थीको बस्ने, खाने र लगाउने व्यवस्था गौतमबाटै हुन थाल्यो । त्यस बेला गुरुहरूले मासिक तलव जनही बीस रुपियाँ लगायत लुगाकपडा पनि गौतमबाटै पाउन थाले । एक दशकपछि त्यो विद्यालय महाविद्यालयमा रूपान्तर पनि भयो । अनि त्यसलाई बनारसको सरकारी संस्कृत कलेजसँग सम्बन्ध जोडियो । बनारसमा त्यहाँबाट गएका विद्यार्थीको खानबस्नको सम्पूर्ण खर्च पनि गौतमबाटै बेहोरिने चाँजोपाँजो पनि भयो ।

पौडेल गणित फलित ज्योतिष र वेदान्तमा पारङ्गत थिए । उनले शिक्षण गर्दा औषधी उपचार र ज्योतिषमा पनि झसिमिसैदेखि साँझसम्म आफूलाई व्यस्थ राख्थे । उनका चेला प्रा.यदुनाथ खनालका अनुसार 'पौडेलले आफ्नो जीवनकालमा हज्जारौंलाई पढाए र स्नातकमा मात्रै पुगनपुग तीन हजार उनका विद्यार्थीले अध्ययन गरेका थिए । 'पौडेलले बिहे नगरी समाजसेवा गरेर नै आफ्नो जुनी तुर्ने मनसाय राखेका थिए । तर परिवाको दवावमा २७ वर्षो उमेरमा पं.खगेश्वर मरासिनी र गौरादेवीकी काइँली छोरी १० वर्षीय बालिकादेवीसँग उनको विहे भयो ।

बिहे गरेको दस वर्षसम्म पनि पौडेल दम्पतीका सन्तान भएनन् । अनेक पूजाआजा गरेर गौरीदेवीको प्रसादस्वरूप छोरा जन्म्यो र उनको नाउँ गौरी राखियो । १९९९ साल असार ६ गते जन्मेका त्यही छोराको नाउँ अन्ततः डा.मोदनाथ प्रश्रित भयो । त्यसपछि क्रमशः हरिप्रसाद, वेदमाया, लोकमाया र फणीन्द्र जन्मे ।

पौडेल समाजसेवाका पनि पथप्रदर्शक थिए । कोही विरामी परेको सूचना पाउनासाथ उनी औषधीमुलो बोकेर घरघर पुग्थे । साथै पढ्छु भन्ने गरिवलाई उनी अनेक प्रयत्न गरेर पढाई दिन्थे । अनि आयुर्वेदको शिक्षा लिन आउनेलाई पनि उनी मन फुकाएर सिकाइदिन्थे । त्यही प्रभावमा उनका छोरा मोदनाथ प्रश्रितले पनि वाल्यकालदेखि नै औषधिमुलोको ज्ञान लिंदै आए । पछि प्रश्रितले पनि आयुर्वेदमा आचार्य गरेर नाउँ चलाए । पौडेलको आर्थिक अवस्था कमजोर थियो । त्यसैले यिनले कथा वाचनद्वारा पनि घरको नूनतेल जडौरीको व्यवस्था गरे । पुराण वाचनका क्रममा उनी आफै भजन रचेर गाउथे । यसैक्रममा उनले शास्त्रीयछन्दका कविता पनि लेखे ।

आर्थिक अवस्थाले रन्थन्यायपछि पौडेलले आफ्ना परिवारलाई डाँडाकटेरीमा लगेर पनि राखे । त्यसको पनि एउटा प्रसङ्ग छ । कुरा के भने- हरिहर गौतमले समाजसेवा गरेको नेपाली काङ्ग्रेसका लागि सहृय थिएन । परिणामस्वरुप नेपाली काङ्ग्रेसले गौतमको सम्पती लुटपाट गर्यो । त्यसपछि पौडेल र गौतमको सहमतिबाट ज्यान जोगाउन गौतम भारत पसे । अनि पौडेल त्यसै बेला गौतमको जायजेथाको सुरक्षा गर्न उनको बर्दियाको घरमा बसे । पछि शान्ति सुव्यवस्था कायम भएपछि गौतम आफ्ना घरमा आए र पुरस्कार स्वरुप उनले पौडेललाई डाँडाकटेरीको जग्गा उपहार दिए ।

पौडेल राजनीतिमा पनि सक्रिय थिए । उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । उनले नेपालमा प्रजातन्त्र ल्याउन आफ्ना ठाँउबाट यथेष्ट काम पनि गरे । त्यति बेला उनी विर्ताप्रथाको विरोधमा थिए । उनले जनहीतका लागि राजनीति गरे तर पद र प्रतिष्ठाका लागि गरेनन् ।
घनश्याम पौडेलका माल्दाइ रुकमाङ्गतको स्वभाव चाहिं अलि उग्र थियो । आफ्ना भाइ घनश्यामकै सिद्धान्तका आडमा उनले गाउँलेलाई उठाएर हरिहर गौतमको खेतको पाकेको धान लुट्न थाले । त्यो बेहोरा घनश्यामका दाता हरिहरले थाहा पाए । अनि उनले अति दुक्ख मान्दै घनश्यामलाई चिठी लेखे 'मेरो डाँडाकटेरीको जग्गा खाली गरिदिनु ।' त्यो पत्र पढेर घनश्याम अति दुखित भए । त्यस घटनाको पीरमा उनका जहान परिवार रोए । अनि आफैले आवाद गरेको घरबारी छोडेर उनीहरु हर्राबोटमा नै झरे ।

जहाँसुकै बसाइँ सरे तापनि पौडेलका घरमा कहिल्यै लक्ष्मीको भरपर्दो वास भएन । जीवनको उत्तरार्धसम्म पनि यिनको परिवारलाई भयङ्कर सङ्कट र अभावले ढाकिरह्यो । अनि त्यही रीत खेप्ताखेप्तै उनी थला परे । अन्ततः लालाबाला छोराछोरी र पैंतीस वर्षकी श्रीमती छाडेर पौडेल २०११ साल चैत २२ गते खिदिममा स्वर्गीय भए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com