नरेन्द्रराज प्रसाई

पहिलो इतिहासकार पाण्डे
[2011-08-25 오후 2:54:00]

तोत्रराज पाण्डेको जन्म १९६७ साल वैशाख बुद्धपूणिर्मामा काठमाडौँको प्युखा टोलमा भएको थियो । पद्मराज पाण्डे तथा टीकालक्ष्मीका छ भाइ छोरामध्ये ठाइँला छोरा तोत्रराज पाण्डे नेपालको शिक्षा, इतिहास र पुस्तकालयसँग गाँसिएको नाउँ बन्यो ।

तोत्रराज सानैदेखि आफ्नो दाजु सरदार रूद्रराज पाण्डेझैं कुसाग्र बुद्धिका थिए । उनको प्राथमिक र माद्यामिक शिक्षा दरबार स्कुलमा भएको थियो । त्यसपछि उनले त्रिचन्द्र कलेजमा पढे । अनि एमए पढ्न उनी बनारसतिर लागे । उनी जहाँ जान्थे त्यहीँ सङ्गठन गर्थे । उनी सानैदेखि पक्षपात, अत्याचार र अन्यायका विरोधी थिए ।

पाण्डेले बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विद्यार्थी माझमा सङ्गठन गरे । उनकै नेतृत्व र संयोजनमा बनारस हिन्दू विश्वविद्यालय 'नेपाली छात्रसङ्घ'को स्थापना भएको थियो । अनि पाण्डे नै प्रथम पटक सो सङ्घको सभापति भएका थिए ।

पाण्डेले इतिहास र संस्कृतिमा एमए पास गरे । आफ्नो विषयबाहेक उनी नेपालीभाषाको पनि ज्ञाता थिए । उनी पढाउन विशेष रुचि राख्थे । त्यसैले उनले दरबार हाइस्कुलमा अध्यापक र त्रिचन्द्र कलेजको प्राध्यापकमा आफूलाई सरिक गराएका थिए ।

पाण्डेले काशी हिन्दू विश्वविद्यालयमा २००२ सालदेखि २०१४ सालसम्म नेपाल चियरको प्रमुख भई प्राध्यापन गरेका थिए । उनले बनारस हिन्दू विश्वविद्यालयमा गरेको योगदानको कदर स्वरूप उनलाई पटना विश्वविद्यालयले समेत नेपाली विषयक समितिको कार्यकारी सदस्यमा मनोनयन गरेको थियो । साथै भारतको उत्तरप्रदेशको सरकारले पनि उनलाई त्यसै प्रकारको जिम्मा दिएको थियो ।

पाण्डेले बनारसमा बसिन्जेल नेपालकै मायामा काम गरे । उनले त्यहाँ विद्यार्थीलाई नेपालको माया पनि पढाइरहे । त्यस ठाउँमा उनले एकातिर कुशल रूपमा पदीय दायित्व निर्वाह गरे भने अर्कातिर त्यहाँ पुगेका नेपालीलाई नेपाल प्रेमको महिमा बर्ढाई रहे ।

पाण्डे संस्कृति र इतिहासका विद्वान् थिए।उनले काशी हिन्दूविश्वविद्यालयबाटै 'लिच्छवीकालीन संस्कृति' विषयक विद्यावारिधि गरिरहेका थिए । त्यति खेरै उनले आफै टाइफ गरेर आफ्नो शोधकार्य पूरा गरेका थिए । अनि भोलिपल्ट उनी सो शोधको आवरण तयार गरेर सम्बन्धित ठाँउमा बुझाउने तरखरमा थिए । तर उनले भोलिको दिनमा त्यो काम गर्नै पाएनन् ।

पाण्डेले नेपालको पुस्तकालय विकासमा पनि महत्वपूर्ण काम गरे । उनी १९९६ सालमै वीर पुस्तकालयको अध्यक्ष थिए । पछि उनी पुरातत्व विभागमा पनि पुगे । त्यसै बेला उनले नेपालका इतिहासहरूबारे पनि वृहद् अध्ययन, छलफल र विश्लेषण गरे । त्यही अनुरूप उनले इतिहासका किताब पनि लेखे ।

तोत्रराज पाण्डे र नयराज पन्तले लेख्नुपूर्व विदेशीहरूले मात्र नेपालको इतिहास लेखेका थिए । विदेशीले जथाभावी लेखेको इतिहास खण्डन गर्ने उनीहरू पौरखी नेपाली थिए । अनि त्यसपछिका इतिहासकारले त्यही मोडमा नेपालको इतिहासलाई बढाउन थाले । किनभने अनेक शिलापत्र, ताम्रपत्र, सग्लो चिठीपत्रआदि प्रस्तुत गरी उनीहरूले नेपालको सङ्क्षिप्त इतिहास लेखेका थिए । हुन त त्योभन्दाअघि भारत पटनाका अम्बिकाप्रसाद उपाध्यायले नै पनि नेपालको इतिहास लेखेका थिए ।

पाण्डेले भारतको सङ्क्षिप्त इतिहास पनि लेखे । उनैले बिनोवा भावेद्वारा लिखित 'गीता प्रवचन'लाई नेपाली भाषामा अनुवाद गरे । उनको भाषाशैलीको र्सवत्र प्रसंसा गरिन्थ्यो । किनभने उनी सरल भाषामा गहन विषय लेख्थे ।

काशी हिन्दू विश्वविद्यालयमा पाण्डेले कृष्णप्रसाद भट्टराईदेखि तेजबहादुर प्रसाईसम्म अनेकौं नेपालीलाई पढाए । त्यही क्रमको कृतज्ञता भट्टराईले पछिसम्म पनि प्रदान गरिरहे "पाण्डे अत्यन्तै विनम्र र शालीन र परम उदार हुनुहुन्थ्यो ।" त्यसै गरी तेजबहादुर प्रसाईले लेखे- "पाण्डे एक सरल स्वभावका सात्विक गुणले युक्त मधुरभाषी भद्र एवम् धार्मिक प्रकृतिका व्यक्तित्व थिए ।" वास्तवमा पाण्डेका अनेकौँ विद्यार्थीले आआफ्नै ढङ्गबाट सदैव उनको अर्चना गरिरहे ।

पाण्डेको बिहे अठार वर्षो उमेरमा षडानन्द पाण्डे र धनकुमारी पाण्डेकी एक्ली छोरी प्रेमकुमारी पाण्डेसँग भयो । त्यस बेला उनकी बेहुली प्रेमकुमारी नौ वर्षी थिइन् । विहेपछि प्रेमकुमारीले पनि पढ्न थालिन् । साथै यी दम्पत्तिबाट तीन छोरा धु्रवराज, केदारराज र गोविन्दराज र एउटी छोरी हिरण्यकुमारी पाठक जन्माए । हिरण्यकुमारी पाठक नेपालको सार्वजनिक संस्थानमा नाउँ चलेकी प्रशासक बनिन् । साथै उनी समाजसेवामा पनि चर्चित भइन् । अनि त्योभन्दा ठूलो कुरा उनी नेपाली भाषासाहित्यकी नारीचुलीमा पनि दरिइन् । उनी कथा, कविता, निबन्ध, प्रबन्धमा राम्रो कलम चलाउँछिन् ।

पाण्डे काठमाडौँको भारद्वारी समाजमा महत्वपूर्ण स्थान थियो । साथै वनारसमा पनि उनको उच्च स्थान थियो । उनी विद्वान् थिए र सादा पनि त्यस्तै थिए । उनी सिधा भाषामा आफ्ना कुरा राख्थे र अरूका कुरा काट्ने मान्छेका छेउमा जान रुचाउँदैन थिए । उनी शान्त स्वभावका थिए र कसैसँग अनावश्यक बोल्दैन थिए

पाण्डेले बाँचुन्जेल कसैलाई विझाएनन् र सबैसँग मीठो बोली बोले । उनीसँग राजनीतिज्ञ, समाजसेवी, वाङ्मयसेवी, प्राध्यापक, पत्रकार सबै जान्थे । कोही कसैको प्रचण्ड विरोधमा गएको छ भने पनि उनी आफ्ना बोलीवचनबाट त्यस मान्छेलाई शान्त पार्न सक्थे । वास्तवमा उनी अति नरम, सरल र सौम्य थिए । उनले ठूलो स्वरले बालेको कसैलाई थाहा थिएन ।

बनारस बसेका बेला नेपालबाट तीर्थ जानेहरु प्रायः पाण्डेकै डेरामा पाहुना लाग्थे । आर्थिक अवस्थाले धान्न नसक्ता पनि उनी पाहुनाको चाकर गर्थे । आफ्नो तलवले सन्तानको भरण पोषण गर्नुको अतिरिक्त समाजसेवामा पनि उनी मन लगाउँथे । त्यसैले उनी बनारसको चर्को गर्मीमा रिक्सा चड्नु पर्ने ठाँउमा पनि पैदलै हिंड्थे । उनी घरबाहिर पनि केही खाँदैन थिए । उनी एकजना सहृदयी साधक त थिए नै तर सन्त पनि थिए ।

पाण्डे ठट्टा रमाइलो पनि गर्थे । सुधो, सोझो र भलाद्मी मान्छेबाट ठट्टा गरेको देख्ता अरुहरुलाई पनि मज्जा आउँथ्यो । उनी प्रायः सधैं हँसिलो मुहारमा नै प्रस्तुत हुन्थे । अप्ठ्यारो परिस्थितिमा पनि सकेसम्म उनी अँध्यारो मन लाउँदैन थिए ।

पाण्डे खाने र खुवाउनेको सौखिन थिए । त्यसैले उनी पाहुनापासाहरुलाई पनि बोलाइबोलाई खुवाउने गर्थे । तर अरुले उनलाई जस्तो खान दियो उनी त्यस्तै खाइ दिन्थे । किनभने उनी बोलेर अरुको चित्त दुखाउन चाहँदै थिए ।

२०१४ साल वैशाख ३ गतेको कुरा हो, त्यस दिनको बिहानै पाण्डेले न्याउरो अनुहार लगाए । अनि उनी अपर्झ सिथिल भए, झनै सारो भए र सिकिस्तै भए । त्यही क्रममा उनलाई अस्पताल पुर्याइयो । तर कुनै डाक्टरले पनि उनको रोगको किटान गर्न सकेनन् र कुनै औषधीले पनि उनलाई छुन सकेन । त्यसै साँझ उनले डाक्टरहरुकै सामू एक पटक लामो सास फेरे । त्यसपछि उनलाई बनारसकै हरिश्चन्द्रघाट पुर्याइयो ।

१२ वर्षघि पतिसहित आफ्ना सन्तान लिएर प्रेमकुमारी पाण्डे हर्षढाइँका साथ जुन बाटो बनारस गएकी थिइँन् पतिको स्वार्गरोहण भएको १३ दिनपछि उनी छोराछोरी लिएर रुँदैरुँदै फेरि त्यही बाटोबाट सरासर काठमाडौं आई पुगिन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com