नरेन्द्रराज प्रसाई

सरदार रूद्रराज पाण्डे
[2011-07-13 오후 11:10:00]

सरदार रुद्रराज पाण्डे संवत् १९५७ साल फागुन २६ गते पद्मराज पाण्डे र टीकालक्ष्मीका सुपुत्रका रूपमा काठमाडौँमा जन्मेका थिए । पाण्डेका पुर्खा गोर्खाका शाह र पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु थिए । सरदार पाण्डे नेपालका एउटा नागरिक मात्र थिएनन्; नेपालका एउटा होनहार, त्यागी र तपस्वी व्यक्तित्व थिए । पाण्डेकै दूरदर्शी सोचाइको कारण नेपालीले स्वतन्त्रतापूर्वक नेपाली शब्दलाई उच्चारण गर्न पाए । राणाकालीन समयमा नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने रुद्रराज पाण्डे नै प्रथम गुरुबाबु थिए । नेपालका विद्यार्थीलाई पटनामा पुगेर म्याटि्रक (एस.एल.सी.) दिने प्रचलनलाई उनले हरेक जुक्ति पुर्याएर नेपालबाटै सो परीक्षा दिने परिपाटी मिलाई दिए ।

सरदार पाण्डेको सबैभन्दा मनपर्ने चीज नेपाल थियो, नेपाली भाषा थियो र नेपाली राष्ट्रियता थियो । त्यसैले उनी नेपालका लागि मरिमेटे, नेपालको शिक्षा विकासका लागि समर्पित भए र नेपाली भाषाको विकासका लागि चारैतिर कुदे । उनी नेपालमा शिक्षाको दियो सल्काउने महारथी थिए । त्यसैले उनी पहिलोपल्ट सरदार बने । उनलाई प्रायः धेरैले सरदार बाजेका नाउँले नै चिने ।

सरदार बाजे शिक्षा विकासको एउटा राजमार्ग थिए । राणाकालीन युगमा नै नेपाली भाषा प्रचारप्रसारमा पाण्डे दत्तचित्त भएर लागे । उनैको सल्लाहमा जुद्धशमशेर महाराजले नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषा अनुवाद परिषद्को समेत स्थापना गरे । पाण्डे हक्की, स्पष्ट र निर्भीक थिए । उदाहरणका लागि भन्ने हो भने उनी त्रिचन्द्र कलेजको प्रिन्सिपल भएताका गङ्गालाललगायत केही विद्यार्थीलाई समात्न कलेजक्षेत्रमा पुलिस प्रवेश गरे । अनि पुलिसको अनुशासनहीनताको कारण उनी कड्किए, "त्रिचन्द्र कलेज मेरो जिम्मामा छ, यहाँभित्र पुलिस पस्न पाइँदैन ।" त्यस घडी एउटा नैतिक व्यक्तित्वका अगाडि राणाप्रशासन पनि मौन भयो ।

नेपाली समाजमा अनुकरणीय प्रेरणादायी र उल्लेखनीय योगदान दिने एउटा विशिष्ट व्यक्तित्व थिए सरदार पाण्डे । उनी काम गरेर राणाकालीन युगमा नै चर्चित भए । राणा शासक पनि उनको योगदानले आहृलादित थिए । त्यसैले राणाकालमा नै यी विभिन्न पगरीले सुशोभित थिए।पाण्डेले स्कुले शिक्षा दरबार हाइस्कुलमा ग्रहण गरे।नेपालमा पढे तापनि भारतबाट जाँच दिने प्रावधानले कलकत्ता विश्वविद्यालयबाट उनले प्रथम श्रेणीमा म्याटि्रक पास गरे। त्यस बापत उनले राणा सरकारबाट तीन सय रुपियाँ बकस पनि पाएका थिए ।

म्याटि्रक पासपछि पाण्डेलाई आइए पढ्न राणाले नै छात्रवृत्ति दिए । त्यसैले उनी कलकता विश्वविद्यालय गए । तर त्यहाँ उनी धेरै बसेनन् र इलाहावाद पुगे । उनले त्यहीँको प्रयाग विश्वविद्यालयबाट एमए पास गरे । एमए पास गरेपछि श्री ३ चन्द्रशमशेरले पाण्डेलाई त्रिचन्द्र कलेजको प्रोफेसरमा ठाडो नियुक्त गरे । त्यसैताका दरबार स्कुलको मास्टरमा पनि उनको नियुक्त भयो । केही समयपछि उनलाई सो स्कुलको हेडमास्टरमा बढुवा गरियो । त्यस बेलासम्म नेपालमा अरू हाइस्कुल पनि थिएनन् र उनी प्रथम नेपाली हेडमास्टरमा स्थापित भए ।

पाण्डे अनुशासनका नम्बरी सुन थिए । त्यसैले उनी जहाँ जान्थे त्यहाँका विद्यार्थी डरले थर्थरी काम्थे । त्यस बेलासम्म मुसलमान तथा दलितले अरू विद्यार्थीसँग बसेर पढ्न नपाइने प्रचलनलाई पनि यिनले एक्कासी तोडिदिए । शिक्षाका सन्दर्भमा उनी जे बोल्थे त्यो झन्नै कानून झैं हुन्थ्यो । पाण्डे जनचेतनाका लागि हरेक जुक्ति निकाल्थे । उनी शिक्षित वर्ग सामाजिक जागरण लाग्नु पर्छ भन्थे । त्यसैअनुरूप हरेक कसरत गरेर उनले १९९४ सालमा नै बालकृष्ण समकृत 'मुकुन्द इन्दिरा आफ्ना विद्यार्थीद्वारा अभिनय गर्राई परदर्शन गराएका थिए । वास्तवमा उनको योगदानबाट शासक वर्ग सधैं नतमस्तक हुन्थ्यो । किनभने उनी मुलुकको भलाईमा मात्र केन्द्रित हुन्थे ।

पाण्डेको उत्कृष्ठ योगदानको कदरस्वरूप राणासरकारले उनलाई त्रिचन्द्र कलेजको प्रिन्सिपलमा नियुक्त गर्यो । उनी प्रिन्सिपल भएपछि त्यहाँ बीएस्सीे स्तरको पनि पर्ढाई हुन थाल्यो । वास्तवमा उनी विद्यार्थी र अविभावककै चाहनामा लगेर आफ्नो विवेक र कर्म जोडि दिन्थे । पाण्डेको उत्कृष्ट शिक्षासेवाको छाप राणा शासनमा नै छापिएको थियो । त्यस घडीको उनको त्यस छापले प्रजातन्त्रवादी राजनीतिज्ञहरुको समेत मन ढाकेको थियो । त्यसैले २००७ सालमा प्रजातन्त्र खुलेपछि पाण्डे शिक्षा मन्त्रालयको सचिवमा नियुक्त भए । त्यहाँ बसेर पनि उनले शिक्षा विकासका लागि आफूलाई समर्पित गरिरहे ।

पाण्डेको योगदान विर्सिनसक्नुको थियो । त्यसैले प्रथम आमचुनावका लागि गठित निर्वाचन आयोगमा उनी आयुक्तमा मनोनीत भए । त्यस काममा पनि उनको निष्पक्ष व्यवहारको धेरैले तारिफ गरे।उनी जे गर्थे मर्यादित भएर गर्थे। किनभने उनले आफ्ना शिरमा सधैं नैतिकताको फेटा गुँथ्थे ।

पाण्डे २०१७ सालसम्म राष्ट्रको सेवामा कृयाशील थिए । त्यसपछि शान्तिप्रिय जीवन भुक्तान गर्ने अभ्रि्रायले उनी काशी गए । त्यति बेला उनले नेपाल नर्फकने हिसावमा आफूलाई बाँधेका थिए।तर राजा महेन्द्रले उनलाई नेपाल आएरै काम गर्न निक्कै दरो आग्रह गरे। अनि उनी नेपाल आए । नेपाल आगमन हुनेवित्तिकै उनी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मनोनीत भए । त्यसपछि उनले विश्वविद्यालयको विविध विकासमा महत्वपूर्ण पाइला चाले । त्यस बेला पनि यी फेरि चर्चाका शिखरमा चढे । वास्तवमा नेपाली समाजमा यिनको खुबै सम्मान हुने अर्को कारण पनि थियो । त्यो के हो भने- उनी साहित्य लेखनमा पनि प्रसिद्धि कमाई सकेका स्रष्टा थिए ।

नेपाली भाषासाहित्यको पहिलो मौलिक र सामाजिक उपन्यास 'रूपमती' १९९१ सालमा प्रकाशनमा आएको थियो । 'रूपमती'का लेखक पनि पाण्डे नै थिए । अनि यस उपन्यासको अङ्ग्रेजी भाषामा शान्ति मिश्र र उर्दूभाषामा प्रा.डा.ताहिरा निगत नैयरबाट अनुवाद भयो । पाण्डेले नेपाली भाषासाहित्यमा डेढ दर्जन कृति लेखे । उनका कृतिहरू उपन्यास, कथा, नाटक, हास्यव्यङ्ग्य, प्रहर्सन, इतिहास र धार्मिक चिन्तनमा आधारित छन् । उनको सम्पूर्णा कृतिहरू समेटेर नइ प्रसाईको सम्पादनमा एउटा वृहद् समालोचनात्मक ग्रन्थ 'रुद्रराज पाण्डे : सृष्टि र दृष्टि' (२०५४) प्रकाशित भयो ।

पाण्डेलाई श्री ३ जुद्धशमशेरले गोरखादक्षिण बाहु चौथा र सरदारको पद्वी दिए । उनलाई पद्मशमशेरले त्रिशक्तिपट्ट तेस्रो दिए।अनि राजा महेन्द्रले उनलाई पहिलो दर्जाको गोरखादक्षिण बाहु प्रदान गरे।उनले अलङ्कार, पदक र पुरस्कारका प्रमाणपत्रहरू एक डोको जति पाएका थिए।पाण्डेले नै आफ्ना बुबा, आमा र गुरुका नाउँमा पनि पुरस्कार र विद्यापदकहरूको स्थापना गरे । उनको शेषपछि उनका ज्वाइँ अर्थविद् डा.यादवप्रसाद पन्तको अध्यक्षतामा रुद्रराज पाण्डे साहित्य समितिको स्थापना पनि भएको थियो ।

पाण्डेले आफू बनारसको केदारघाटमा नै ब्रहृमलीन हुने इच्छा राखेका थिए । त्यही अनुरूप उनकी धर्मपत्नी चेतकुमारी र उनका छोराहरू माधवराज, कृष्णराज र बद्रीराज अनि छोरीहरू रमादेवी पन्त र श्री भण्डारीले उनलाई त्यहीं पुर्याइदिए । अनि त्यहाँ पुगेको दस दिनमा अर्थात् २०४३ साल चैत २३ गते उनले त्यसै ठाउँमा आफ्नो प्राण त्यागे।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com