एनके संवाददाता

भ्रष्टाचारीका पक्षमा नेतैपिच्छे दबाब
[2011-06-09 오전 11:56:00]

स्थानीय विकास अधिकारी (एलडीओ) हरुको सरुवा आर्थिक चलखेलका आधारमा गरिएको कुरा साघुले उजागर गरेपछि यो प्रकरणमा स्थानीय विकास मन्त्री उर्मिला अर्यालमात्र होइन, भ्रष्ट एलडीओहरुको सरुवामा एमालेका नेताहरुले चर्को दबाब दिएका कुरा सार्वजनिक हुन थालेका छन्।

एमालेको राज्यव्यवस्था विभागका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले स्थानीय विकास मात्र होइन, अरु मन्त्रालयका सरुवा बढुवामा समेत शुभलाभ लिएर भ्रष्टहरुलाई सिफारिस गरेकाले एमालेको बदनाम भएको एक एमाले नेताले बताए। ती नेताले भने–'राज्यव्यवस्था विभागले पार्टीलाई राजनीतिक नियुक्ति र सरुवाका सिफारिस मात्र गर्ने हो, पार्टीबाट अनुमोदन भएपछिमात्र हुुनुपर्नेमा सोझै विभागले मन्त्रीहरुलाई नामावली पठाएकाले आर्थिक लेनदेन र कमिसनखोरीका कुरा सार्वजनिक भएका हुन्। एमालेका नेताहरुले संस्थागत परिपाटीलाई तिलान्जली दिंदै व्यक्तिगत तवरमा भ्रष्टहरुलाई मालदार जिल्लामा सरुवा गर्न चर्को दबाब दिएका कारण पार्टीकै छवि धमिलिएको छ। यस्तो दबाब दिनेमा क्रान्तिकारी र इमान्दार नेता भन्न रुचाउने विनाविभागीय मन्त्री घनश्याम भूसालदेखि प्रदीप नेपाल, बिष्णु पौडेलसम्म छन्।

मन्त्रालयका अनुसार जिल्ला विकास समितिमा एक महिनादेखि जारी तालाबन्दीलाई नजरअन्दाज गर्दै उपत्यकामै बसेका गैरजिम्मेवार एलडीओ उद्धव तिमिल्सिनालाई काठमाडौंमा सरुवा गर्न मन्त्री अर्यालमाथि प्रदीप नेपालको निकै चर्को दबाब परेको थियो। प्रदीप नेपालका भान्जा सुरेश शर्मा निरौलाका जेठान पर्ने तिमिल्सिनालाई काठमाडौंमा ल्याउनु नहुने पक्षमा मन्त्रालयका अधिकारीहरु भए पनि उनलाई सरुवा गर्न बाध्य हुनुपरेको गुनासो मन्त्री अर्यालले गरेेको स्रोतले बतायो। अर्का भ्रष्ट गोपाल पराजुलीलाई दोलखामा सरुवा गर्न राज्य व्यवस्था विभागका प्रमुख राजेन्द्र पाण्डेले उत्तिकै दबाब दिएका थिए। पराजुलीलाई झापाबाट काठमाडौंमा सरुवा गर्दै शुभलाभ हात पारेका पाण्डेले दोलखामा लान पनि गह्रौं थैली भेटेको चर्चा एमाले मुख्यालयमा छ। नेपाली कांग्रेसबाट अघिल्लो सरकारमा राज्यमन्त्री गणेशबहादुर खड्काका पीए बसेका विष्णुदत्त गौतमलाई रुपन्देहीको एलडीओ बनाउन मन्त्री घनश्याम भूसालको दबाब थेग्नै नसकिने रहेको थियो।

एमाले कर्मचारी संगठन, पार्टी सचिव, रक्षामन्त्री र लुम्बिनी अञ्चलका नेताहरुले रमेश केसीलाई सिफारिस गरेपछि सरुवा हुने कुरामा ढुक्क भएका केसी गौतमको नाम आएपछि चित्त दुखाएर बसेका छन्। मन्त्रालयमै बस्न रुचाएका केसीलाई रुपेन्देही पठाउने तयारी गरे पनि अन्तिममा उनीमाथि करौंती चलाइएको छ। पूर्वराज्यमन्त्री खड्काको कृपामा जाजरकोटको एलडीओमा सरुवा भएका गौतमले रुपन्देही सरुवा हुनका लागि घुस खुवाउन भनेर प्रत्येक गाविसका सचिवबाट १५ हजार रुपैयाँका दरले उठाएको जाजरकोट एमालेका एक नेताले बताए। त्यो पैसा मन्त्री भूसालको खल्तीमा पुगे नपुगेको भने थाहा हुन सकेन। सामान्य प्रशासन मन्त्री युवराज कार्कीले झापामा उनले भनेकै गोपाल अधिकारीलाई पदस्थापना गर्न र धादिङमा रक्षामन्त्री विष्णु पौडेलले दीपेन्द्र पौडेललाई सरुवा गर्न दबाब दिएका थिए। इलाममा प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवास नेम्वाङले फरक फरक नाम दिएपछि संकटमा परेकी मन्त्री अर्यालले प्रधानमन्त्रीकै सिफारिसमा दिनेश घिमिरेलाई सरुवा गरेपछि सभामुख जिल्लिएका छन्।

एलडीओ सरुवामा आर्थिक लेनदेन भएको कुरामा आफ्नो मात्र नाम मुछिएपछि मन्त्री अर्यालले पार्टीका नेताहरुसमक्ष हरेक नेताले एउटा एउटा भ्रष्टलाई सिफारिस गुनासो गरेको जनाएको छ। यसैबीच, अरु केही जिल्लामा पनि एलडीओको सरुवा भएको छ। सरुवा हुनेमा प्रेमराज गिरी जाजरकोट, रामकृष्ण उपे्रती मध्यपुर ठिमीको कार्यकारी अधिकृत छन्। उदयपुरका मोहनमान मास्के मन्त्रालय तानिएका छन्।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com