एनके संवाददाता

मिडिया मालिकहरु कालो धन्दामा
[2011-06-09 오전 11:53:00]

नेपालका मिडिया हाउसहरु काला व्यापारी र शंकास्पद व्यक्तिहरुले चलाउन थालेपछि पत्रकारहरुले चिन्ता व्यक्त गेका छन्। जेठ १९ गते सूचना तथा संचारमन्त्री अग्नि सापकोटासँगको भेटमा अगुवा पत्रकारहरुले मिडिया हाउस चलाउने व्यक्तिहरुको बारेमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए। कोही नक्कली नोट कारोबारमा जेल पर्ने, कोही बैंक ठगीमा फरार हुने त कोही कालो धनलाई सेतो बनाउन मिडिया चलाउने गरिरहँदा मिडिया क्षेत्र बद्नाम हुन थालेको भन्दै संचारकर्मीले चिन्ता व्यक्त गरेका हुन्। धेरैजसो मिडिया हाउसहरुले सरकारको नियम कानुन नमान्ने, कामदार पत्रकारलाई तलब नदिने जस्ता विकृति पनि भित्रिएकाले मिडिया सम्बन्धी कानुनमै परिमार्जनको आवश्यकता पनि औंल्याउन थालिएको छ।

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ गोरखा विकास बैंक ठगी प्रकरणमा प्रहरीले खोजी गरेपछि फरार भएका बेला उनका मितछोरा प्रमोद सेढाईंले टेलिभिजनमा आतंक मच्चाएको चर्चा चलेको छ। गुरुङले आफू फरार भएपछि टिभीको अधिकार मितछोरा सेढाईंलाई दिएको बताइएको छ। मितबाउ फरार भएपछि गोजीमा पैसाको बिटो बोकेर हिंडेका सेढाईंले पत्रकार कर्मचारीहरुलाई 'मैले भनेको नमान्नेहरु आजैबाट बिदा हुने भन्दै पैसाको बिटो देखाउँदै हिसाब गर्न आऊ' भनेर आतंकित पारेका छन्। आफूभन्दा जुनियर र क्षमताविहीन व्यक्तिले धाकधम्की देखाउँदै आतंक मच्चाउन थालेपछि शरच्चन्द्र बस्ती जस्ता पुराना र क्षमतावान पत्रकारहरु लज्जित हुँदै हिंडेका छन्। सेढाईंको साँढा तरिकाबाट आतंकित बनेका डेक्स प्रमुख कृष्ण तिमल्सिना टेलिभिजन कार्यालय जान छाडेका छन्। संकेत कोइराला, निलवहादुर खड्का लगायतका सिनियरहरुलाई रोकेर सेढाईंले पेण्डुलम बनाइदिएका छन्। त्यस्तै तीन जना रिपोर्टरको जागिर खाइदिएका सेढाईंले आफूलाई नटेर्ने जति सबैलाई निकाल्ने धम्की दिएको उजुरी पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेको छ। तर सगरमाथामा महासंघको प्रतिष्ठान शाखा नरहेको र अधिकांश पत्रकारहरु महासंघको साधारण सदस्य समेत छैनन्। सगरमाथा टिभीका मालिक निर्मल गुरुङ १ सय ७१ करोड रुपैयाको बैंक ठगीमा परेकाले अब टेलिभिजन धेरै समय रन हुन नसक्ने चर्चा पनि चलेको छ। उता एउटा मालिक जेलमा र अर्को मालिक फरार भएपछि बन्द भएको नेशनल टेलिभिजनका मोफसलका संवाददाताहरुले एक वर्षदेखिको तलब नपाएपछि केन्द्रमा आएर आन्दोलन शुरु गरेका छन्।

नक्कली भारु नोट कारोबारको अभियोगमा नेशनलका प्रमुख संचालक युनुस अन्सारी जेलमा छन्। उता अर्का सन्चालक सुमेश्वर कुशवाह पनि फागुन १२ गतेदेखि टेलिभिजन प्रसारण बन्द भएपछि काठमाडौंका पत्रकार कर्मचारीलाई आधा तलब दिएर फरार भएका छन्। तर बाहिरी जिल्लाका चार दर्जन पत्रकारले आफ्नो पारिश्रमिक नपाएपछि पत्रकार महासंघको समर्थनमा आन्दोलन गरिरहेका छन्। महासंघले नेशनलका पत्रकारको आन्दोलनमा केन्द्रीय सदस्य मात्रिका पौडेललाई खटाएको छ। महासंघले नेशनलका संचालक सम्पर्कमा पनि नआउने र पत्रकारलाई पारिश्रमिक पनि नदिने अवस्था सिर्जना भएपछि संचार मन्त्रालय लगायत सम्बद्ध निकायमा पत्राचार गरी नेशनल टेलिभिजनका उपकरण लगायत भौतिक सामग्री चलाउनुअघि महासंघलाई जानकारी गराउन आग्रह गरेको छ। आन्दोलनरत पत्रकारहरुको तर्फबाट नेशनल टेलिभिजनको कार्यालयमा तालाबन्दी गरिएको छ। यदि सोमवारसम्म व्यवस्थापन पक्ष सम्पर्कमा नआएमा नेशनल टेलिभिजनका भौतिक सामग्री कव्जा गर्ने चेतावनी संघर्ष समितिका संयोजक टंक गैरेले दिएका छन्।

विगत एक सातादेखि बिभिन्न जिल्लाबाट काठमाडौंमा आएर आन्दोलन गरिरहेका दुई दर्जनभन्दा बढी पत्रकारहरु खाने बस्ने पैसासमेत सकिएर समस्यामा परेकोले घर रित्तो हात घर फर्किन तयार छैनन्। महासंघका अध्यक्ष शिव गाउँले, महासचिव ओम शर्मा, कोषाध्यक्ष शीतल साह र केन्द्रीय सदस्य मात्रिका पौडेललले व्यक्तिगत रुपमा पनि व्यवस्थापन पक्षसँग सम्पर्क गरेर मोफसलका पत्रकारको पारिश्रमिक भुक्तानीका लागि ताकेता गरिरहेको बताइएको छ। व्यवस्थापन पक्ष भागिरहेकाले समस्या समाधानमा लामो समय लाग्ने देखिए पनि पत्रकारको पारिश्रमिक कसैले पचाउन नसक्ने महासचिव शर्माले बताए।

यता पत्रकारको आन्दोलन चलिरहेका बेला प्रेस युनियन सम्बद्ध केही व्यक्तिले यो आन्दोलनलाई महासंघविरुद्ध प्रयोग गर्न खोजेको चर्चा पनि चलेको छ। महासंघको चुनावमा पराजय भोग्नुपरेको पीडा पोख्ने क्रममा युनियनका नेताहरुले मर्कामा परेका पत्रकारहरुलाई उचालेर पत्रकार महासंघ केन्द्रीय कार्यालय तालाबन्दी गर्नुपर्छ, महासंघमा धर्ना र अनसन बस्नुपर्छ भन्ने जस्ता कुरा गरेर स्थितिलाई गलत दिशातर्फ लैजान खोजेको महासंघका एक पदाधिकारीले बताए। महासंघका पदाधिकारीहरुले नेशनलका प्रवन्ध निर्देशक सुमेश्वर कुशवाहका दाजु एमाले सभासद रामचन्द्र प्यासी कुशवाहसँग समेत पत्रकारहरुको पारिश्रमिक दिने बिषयमा कुरा गरेको र प्यासीले टेलिभिजनमा आफ्नो २९ प्रतिशतिमात्र शेयर रहेकाले २९ प्रतिशत पारिश्रमिक दिन तयार रहेको बताएका छन्। महासंघ सम्बद्ध स्रोतका अनुसार नेशनलको बन्द रहेको कार्यालयमा करीव ६ करोड बराबरका सामग्री रहेको र ती सामग्री महासंघको जानकारी बेगर अब चलाउन नमिल्ने भएकाले पनि पत्रकारको पारिश्रमिक ढिलोचाँडो उठ्ने सम्भावना बलियो छ। एक दुई जना बाहेक अरु पत्रकारको नियुक्तिपत्र नभएकाले समस्या भए पनि, व्यवस्थापन पक्षले सबै पत्रकारहरुलाई चैत मसान्तभित्र पैसा तिर्ने लिखित प्रतिबद्धता गरेको कागज भएकाले पैसा उठाउने बलियो आधार बनेको छ। मोफसलका पत्रकारको समस्या समाधानका लागि सबैले संयुक्त पहल गर्नुपर्नेमा केही व्यक्तिले चुनावको बदला लिने नियत देखाएको चर्चा पनि चलेको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com